नबिल बैंक र मेटलाईफबीचकाे सहकार्यमा ग्राहकलाई नयाँ सुविधा, १३ घातक रोग लाग्दा ३ लाखको उपचार
काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ । उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई यस योजना अन्तर्गत रकम २ करोड १ लाख ७५ हजार रूपैयाँ दाबी भुक्तानी गरिएको छ । ग्राहकमा यस योजनाको लोकप्रियता तथा यसले पुर्याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ । उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रूपैयाँ वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्रामा व्यक्तिगत बचतखातालाई १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रूपैयाँको बीमा गरेको छ । आफ्ना ग्राहकलाई १३ वटा मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर निदान आवश्यक प्रमाण पुरा भएको अवस्थामा ३ लाख रूपैयाँको बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजार रूपैयाँको बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ । हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो । सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्ट रहेकाे बैंकले जनाएकाे छ ।
चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै
चितवन । राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिए । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् । ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए । उनका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ । हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ । आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो । राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिए। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताए। शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पुर्याउन आग्रह गरे । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिएका छन् ।
महाप्रसाद अधिकारी गभर्नर बन्न राष्ट्र बैंक ऐन नै बाधक, यस्तो छ कानुनी व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको योग्यता नपुग्ने देखिएको छ । भावी गभर्नरको रुपमा अधिकारीको नाम धेरैले लिने गरेपनि उनको शैक्षिक योग्यताको कारण कानुनी अवरोध देखिएको हो । आगामी ५ चैतमा वर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल सकिदैछ । त्यसैकारण नयाँ गभर्नर को बन्छ भन्ने वहस सुरु भएको छ । डेपुटी गभर्नरको रुपमा प्रभावकारी काम गरेका, काबिल चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय बजारमा राम्रो छवि बनाएका मृदुभाषी अधिकारीलाई सहभागितामुलक निर्णय प्रक्रियाका हिमायतिका रुपमा पनि चिनिन्छ । वित्तीय क्षेत्रले मात्रै होइन, जानकारहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री युवराज खतिवडासमेतको रोजाइमा अधिकारी छन् । यसैकारण पनि अधिकारीलाई भावी गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको थियो । तर, अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने अवस्थामा अहिले छैनन् । उनलाई नेपाल राष्ट्र बैंक ऐनले नै गभर्नर बन्न रोक्छ । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा राष्ट्र बैंक संचालकको योग्यता सम्बन्धि व्यवस्था गरिएको छ । सो दफाको उपदफा (ग) मा ‘आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको’ व्यक्ति मात्रै नेपाल राष्ट्र बैंकको संचालक हुन योग्य हुने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर भनेको संचालक समिति अध्यक्ष हो । यस्तै, डेपुटी गभर्नर पनि संचालक नै हो । सोही उपदफामा ‘कार्य अनुभव’को स्पष्टीकरण पनि दिइएको छ । स्पष्टीकरणमा भनिएको छ– ‘यस खण्डको प्रयोजनको लागि ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।’ अनुभवको आधारमा गभर्नर बन्न उनलाई कुनै वाधा अवरोध छैन । तर, कम्तीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्छ भन्ने व्यवस्था उनको लागि अनुकुल छैन । अधिकारीले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको भन्ने तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन । उनले लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि पेश गरेको कागजातमा भारतको ‘द इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ इन्डिया’बाट चार्टर्ड एकाउन्टेन्ट, विजनेस एड्मीनीस्ट्रेसन एण्ड म्यानेजमेन्ट तहको अध्ययन गरेको तथा नेपाल कमर्श क्याम्पसबाट व्याचलर्स डिग्री, एड्मीनीष्ट्रेसन एण्ड म्यानेजमेन्ट गरेको उल्लेख गरेका छन् । उनले नमुना मछिन्द्र क्याम्पसबाट आईकम गरेका छन् । अधिकारीले स्नातकोत्तर तहको अध्ययन पूरा नगरेकोले लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत बन्न नै योग्यता नपुगेको भन्दै सोही समयमा उनी विरुद्ध अदालतमा मुद्दा पनि परेको थियो । सो मुद्दाको फैसला अझै भएको छैन । अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । यसअघि डा. चिरञ्जीवि नेपाल गभर्नर बन्ने बेलामा तत्कालिन डेपुटी गभर्नर गोपाल काफ्लेसँगै अधिकारीको नाम पनि गभर्नरमा सिफारिस भएको थियो । तर, सो समयको सिफारिस उनी डेपुटी गभर्नरको हैसियतमा रहेका कारण थियो । अहिले उनी डेपुटी गभर्नर छैनन् । पूर्वडेपुटी गभर्नर भएकै आधारमा गभर्नर बन्ने योग्यता कानुनले प्रदान गरेको छैन । त्यसैकारण नेपाल राष्ट्र बैंक ऐन अनुसार अधिकारी गभर्नरको सिफारिसमा पर्ने सम्भावना पनि देखिदैन ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा महायज्ञ लगाइँदै, ५० करोड सङ्कलन गर्ने लक्ष्य
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहने छन् । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइँदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तर रुपमा अघि बढेको छ । धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए । रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । रासस
कच्चा पदार्थकाे अभावमा हाते कागज उद्योग सङ्कटमा
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको बताए । “लगानीअनुसार आम्दानी गर्न सकिएन, मुख्य समस्या कच्चा पदार्थ र उत्पादित कागजले बजार नपाउनु नै हो”, उनले भने, “कालीकोट, जुम्लाबाट लोक्ता ल्याउनुपर्छ, नजिकै लोक्ता नहुँदा ढुवानीमै ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले उद्योग घाटा बेहोर्नुपर्यो ।” लोक्ता कागज उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उद्योगबाट नोटबुक, डायरी, रजिष्ट्रार, फोटोकपी पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् । नेपाली कागजको थुप्रै महत्व भए पनि गाउँघरमा यसको बजार नहुँदा समस्या भएको उनको गुनासो छ । उनले धेरै पटक स्थानीय र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको बताउँछन् । उनले भने, “पहिला सम्भावना देखेर फरक व्यवसायका रुपमा कागज उद्योग सञ्चालन गर्ने सोच बनाएँ, अहिले लगानी नै डुब्ने अवस्था सिर्जना भयो, नगरपालिका र प्रदेश सरकारबाट बजारीकरणमा कुनै सहयोग पाइएन्, ।” साथै उनले उद्योगलाई आधुनिक औजार तथा भण्डारणका लागि भौतिक संरचना आवश्यक परेको बताएका छन्। रासस
वैदेशिक रोजगार सम्बन्धि ठगीको मुद्दा अब प्रहरी कार्यालयमा उजुरी दिन पाइने
काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीवीच समझदारी गरेको जानकारी दिएको छ । वैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौतापत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका तथा आफ्ना क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने भएको छ । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याउने छ । मानव वेचविखन सम्वन्धी मुद्दाका विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ। श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहनेछ । यस क्षेत्रमा नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने छ ।
छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारीको सातौं साधारणसभा सम्पन्न
काठमाडौं । बसुन्धरमा अवस्थित छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धितोपत्र बोर्डका नवनियुक्त अधक्ष्य भिष्मराज ढुङ्गानाको प्रमुख आतिथ्य, वडा नं. ३ का वड़ा अध्यक्ष दीपक केसी, समाजसेवी तथा वरिष्ट अधिवक्ता राम प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हो । सभाले उद्धव प्रसाद ढुंगेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवनियुक्त अध्यक्ष ढुंगेलले सेयर सदस्यहरुको शिक्षा तथा स्वास्थक़ो लागी बिसेस प्याकेज ल्याउने निर्णय गरेको बताएका छन् । छोटो समयमा नै आफ्नो शेयर सदस्यहरुलाई उच्च मुनाफा दिन सफल सहकारीले आगामी दिनहरुमा सामाजिक दायित्वलाई पनिसँगै लैजाने निर्णय गरेको छ ।
‘यु ट्युब’ मार्फत प्रदेशसभाको बैठकका गतिविधि हेर्न र सुन्न सकिने
काठमाडौं । धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘यु ट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६ गते आह्वान भएका सन्दर्भमा हालसम्म भए गरेका कार्यबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘यु ट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेशसभा बैठक सञ्चालनका गतिविधिको प्रत्यक्ष प्रसारणका लागि यो प्रविधि जडान गरिएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशसभाको यु ट्युबमार्फत वेभसाइड लग इन गरी सुन्न र हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्ड मात्र हुने गरेको थियो । प्रदेशका सबै नौवटै जिल्लामा प्रदेशसभाको सम्बन्ध स्थापना गर्नमा टेवा पुर्याउन, संसदीय गतिविधि जनतासमक्ष पुर्याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ । प्रदेशसभा बैठकद्वारा भए गरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’ स्थापनाका साथै प्रदेशसभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेशसभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ । यसैगरी प्रदेशसभा भवनको परिसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय भवनको निर्माण पूरा भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका लागि साविकमा सो दलको कार्यालय रहेको भवनलाई व्यवस्थित गरिएको छ । आगामी दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण ई-लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सिसीटिभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेशसभा सचिवालयको छ । रासस