विकासन्युज

टाटा एच५ एसयूभीः सुरुवाती मूल्य साढे ५८ लाख, यस्ता विशेषताले बनायो चर्चित

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । नेपालमा टाटा एच५ को एक्सइ, एक्सएम, एक्सटि र एक्सजेड गरी ४ अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । ठुलो बनावट र ठुलै क्याविन रहेको यस एसयूभीको अफरोडिङ्ग क्षमता गज्जबको रहेको छ । यस कारको फिचरहरुको रुपमा जेनोन एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, १७-इञ्च अलोए व्हिल्स लोगो प्रोजेक्सन सहितको आउटसाइड रियर भ्यू मिरर्स, एलईडी टेल लाइट्स, ८.८-इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८-वे एडजस्टेवल ड्राइभर्स सिट, ७-इञ्च कलर टीएफटी डिस्प्ले भएको इस्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबीएलको स्पिकर जस्ता विशेषताहरु समावेश छन् । सेफ्टी फिचरको रुपमा भने एच५ मा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, रियर पार्किङ्ग सेन्सर, चाइल्ड सेफ्टी लक, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेशन, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल लगायत समावेश छन् । टाटा एच५ मा प्रयोग भएको इञ्जिन १९५६ सीसी ४ सिलिण्डर टर्बो चाज्र्ड डिजेल इञ्जिन हो जसले १४० पीएसको पावर र ३५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारले १५ केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस एसयूभीको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर र बुट स्पेश ४२५ लिटरको रहेको छ । त्यसैगरी, ५० लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको एच५ को अगाडिको चक्काहरुमा डिस्क र पछाडिको चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । हाल नेपाली बजारमा टाटा एच५ का ४ भेरियन्टहरु मध्ये एक्सइको मूल्य ५८ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको मूल्य ६५ लाख ९९ हजार रुपैयाँ, एक्सटिको मूल्य ७० लाख ९९ हजार रुपैयाँ र एक्सजेडको मूल्य चाहिँ ७५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने- अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा राजश्व सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागु भएको ४ महिना भित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् । अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानिय प्रदेश तथा संघीयमा दोहोरो र फरक मापदण्ड, भंसार मुल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पूख्र्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखिकरण लगायतमा जोड दिए । उनले नेपालमा संघियता लागू भएपछि चेम्बर पनि पहिलेको जस्तो एकात्मक संरचनामा रहनु सान्दर्भिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृतवदायी भूमिका र अभियानमा जोडिन चाहनु भएपछि स्थापित अवसरमा आउनुहुँदा राजश्व सम्बन्धी समस्या एंव सुझाब सम्बन्धित आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवशायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवशायलाई प्रबद्र्धन गर्ने बताएका छन् । उनले कर प्रणाली स्वंय कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवशायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भिसिटिएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे । उनले भिसिटिएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् । भन्सार विभागका निमित्त महानिर्देशक श्याम प्रसाद भण्डारी वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडी बढी सकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफु तैयार रहेको बताए । सोहि अवसरमा आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जिल्ला/नगर चेम्बर अफ कमर्सका अध्यक्षज्यू तथा पदाधिकारीहरुले उठाउनु भएको प्यान जारी गर्ने अधिार जिल्ला चेम्बरलाई दिने बारे गृहकार्य गरेर माथिल्लो निकायमा पुर्याउने बताए । साथै, कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नु पर्ने, करको लागत, दूरी र समय घटाउन कार कार्यालयहरु बढाउने वा कारदनाता सेवा कार्यालयको स्तरोन्नती गरी आन्तरीक राजश्व कार्यलय गर्ने तर्फ सोच भइ रहेको बताए । कर चुक्ता प्रणाली पूर्ण अपरेसनको माध्यमद्धारा लिन सकिने प्रयोगकर्ता मैत्री भैसकेको बारेमा प्रचार प्रसार जरुरी रहेको बताउँदै कर कायाृल्य सम्म जानुनपर्ने स्थितीको सृजना गर्ने तर्फ विभाग लागि रहेको बताए ।

सामुदायिक वनका अध्यक्षसहित १३ विरुद्ध मुद्दा दायर

काठमाडौं । समान्यतया समुदायको हितका लागि भनेर स्थापना गरिएका सामुदायिक वनका पदाधिकारी नै अवैध कार्यमा संलग्न हुन्छन् भनेर उपभोक्ताले पत्याउँदैनन् । तर, सामुदायिक वनका पदाधिकारी र सरकारी कर्मचारीको मिलेमतोमा ठूलो आर्थिक हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा देखिएको छ । सामुदायिक वनको रुख अवैध ढङ्गले कटान गरी बिक्री गरेको पाइएपछि आयोगले सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह, मकवानपुरका अध्यक्ष तथा जिल्ला वन कार्यालय हेटौंडाका तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरुविरुद्ध एक करोड ५२ लाख २९ हजार ३२६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, तत्कालीन सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जैसवाल र नारायणबहादुर कार्की भ्रष्टाचारमा संलग्न रहेका छन् । त्यस्तै तत्कालीन रेन्जर राजु लामा, तत्कालीन फरेष्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षकद्वय किरणकुमार क्षेत्री र धनलाल यादव, वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो । उनीहरु सबैलाई समान एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । आयोगले डिभिजन सडक कार्यालय प्यूठानका डिभिजन प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनविरुद्ध रु २० घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट निर्माण भइरहेको सडकको भुक्तानीका लागि बिल पेस गरेकामा कामको विवरण घटाइ उनीहरुले घुस लिएको आरोप लागेको छ । गत मङ्सिर २४ गते इन्जिनियर महर्जनले नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टमा सेवाग्राहीलाई बोलाइ घुस मागेको आयोगको अनुसन्धानबाट खुलेको छ । यस्तै आयोगले आजै नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध पनि मुद्दा दायर गरेको छ । नाता प्रमाणित तथा औषधोपचारको सिफारिश गरिदिने भन्दै वडाध्यक्ष मगरले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । यसैगरी साविक कलैया नगरपालिका–७ को पन्नादेवी कन्या उच्च माध्यामिक विद्यालयका प्रधाननाध्यापक सुनरपतिकुमारी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको आर्थिक कारोबार गर्दा झुठ्ठा बिल भरपाइँ बनाएको, नक्कली कागजात तयार पारी सरकारी स्रोतबाट प्राप्त १२ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ । रासस

नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशकबीच छलफल

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ८ सदसिय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरबीच फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे छलफल भएको छ । उक्त छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहँदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताएका छन् । सोही क्रममा उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गरेका छन् । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा वस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरेका छन् । सोही क्रममा उनले सरकारको समृद्धिको नारालाई सबै क्षेत्रले भरथेग गर्नु पर्ने विचार व्यक्त गरेका छन् । सो छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीकक्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउनु हुदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानु पर्ने धारणा राखे । सोहि क्रममा उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताएका छन् । बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउनु हुँदै अब नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने कुंवरले बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

सेलपे सेवाको कारोबार सीमा थप, मासिक पाँच लाख रुपैयाँ

काठमाडौं । सेलपे सेवाले आफ्नो मासिक काराबारको सीमा रकम थपेको छ । बैंकलले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो कारोवारको सीमा रकम अधावधिक गरेको हो । यससँगै ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण गर्दा मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन् । त्यस्तै, नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सक्ने छन् । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो ।

मेगा बैंकले उपत्यकामा खोल्यो थप ४ वटा एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा गरी ४ वटा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । यससँगै अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । हाल बैंकको उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।

मेरुदण्डीय पक्षघात समुहलाई ग्लोबल आइएमई बैंकको सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

जसले जति पायाे त्यति खान हुन्छ ग्रीन टी ? के हाे सही तरिका ?

काठमाडाैं । ग्रीन टी धेरै मानिसको लागि स्वस्थ जिवनशैलीको प्रतिज्ञा दिने पेय पदार्थ हो । यसमा धेरै मात्रामा ऐन्टीअक्सीडेण्ट हुने गर्दछ, जसले शरीरको कोषलाई क्षति हुनबाट बच्न मद्दत गर्दछ । ग्रीन टीले शरीरको बोसोलाई पगाल्ने, सास गन्हाउनलाई कम गर्न, मुटुरोगबाट बचाउने, शरीरको विषाक्त हटाउने, पाचनशक्ति राम्रो बनाउने र ढल्कदो उमेरले बाहिरी रुपमा पार्न प्रभावलाई कम गर्न मद्दत गर्दछ । साथै शुद्ध अर्गानिक ग्रिन टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई पनि बढाउँछ। तर, ग्रीटीले माथि उल्लेखित फाईदा गर्छ भन्दैमा जति पायाे त्यति खानु उपयुक्त होला ? स्वास्थ्य विज्ञहरुका अनुसार यस्तो गर्नु स्वस्थकर हुँदैन । प्रस्तुत छ ग्रीन टी कसरी खाने भन्ने विषयमा आहार विशेषज्ञ मिनाकुमारी शाहसँग कुरा गरेर तयार पारिएको हेल्थ टिप्स : दिनमा दुईदेखि ३ कप ग्रीन टीमा उच्च मात्रामा एन्टिअक्सिीडेण्ट र यसमा प्राकृतिक बोटबिरुवामा आधारित टानिन र फेल्भोनोईड जस्ता तत्व पाईन्छ । यसको अधिक सेवन विष बराबर हुनसक्छ वा यसले कलेजोलाई क्षति पुराउन सक्छ । यस्तै, यसले पत्थरी हुने सम्भावना पनि बढाएर जान्छ । त्यसैले दिनमा कहिले पनि दुईदेखि तीन कपभन्दा बढि ग्रीन टीको सेवन नगर्नुहोस् । खाली पेटमा नखानुहोस् तपाईको दिनको सुरुवात क्याफिनबाट गर्दा तपाईलाई बढि तागत प्राप्त हुन्छ । तर, यसले तपाईको पेटको सन्तुलन बिगार्न सक्छ । त्यसैले ग्रीन टीको सट्टा दिनको सुरुवात मनतातो पानी, कागती र मह अथवा फलफूलको साथ सुरु गर्नुहोस् । खानापछि तुरुन्तै पनि नखानुहोस् धेरै मानिसहरु खाना लगतै ग्रीन टी पिउने गर्छन् । तर, यसो गर्नाले यसले शरीरको पौष्टिक अवशोषण क्षमता रोक्न सक्छ । यसको मतलब तपाईले खाएको खानेकुराको पोषण ग्रीन टीमा भएको क्याफिन र टानिनले अवरोध सिर्जना गरी राम्रोसँग समाहित हुँन दिँदैन । साथै, यसले ग्यास्ट्रिक रसलाई पनि पातलो पार्न सक्छ, जसले पाचन प्रणाली बिगार्न सक्छ । त्यसैले खानाको ४० देखि ४५ मिनेट अघि वा पछि मात्र ग्रीन टी पिउन उत्तम हुन्छ । राति नपिउनुहोस् राति अबेला ग्रीन टी नखानुहोस्, किनभने यसले तपाईको निन्दाउने समय बिगार्नको साथै तनाव बढाउन सक्छ । ग्रीन टी ब्याग पुनः प्रयोग नगर्नुहोस् पहिले प्रयोग गरेको ग्रीन टी ब्यागमा धेरै मात्रामा क्याफिन हुने गर्दछ, जसले नियमअनुसार ग्रीन टी ब्यागभन्दा ग्रीन टीको पात प्रयोग गर्न सबैभन्दा उत्तम मानिन्छ । साधा पानी धेरै पिउनुहोस् ग्रीन टी एक मुत्रवर्धक पनि हो, जसले लगातार पिसाब लाग्ने गराउन सक्छ । त्यसैले तपाईले आफ्नो शरीरमा पानीको कमि हुन नदिनलाई पानीको सेवन गरिरहनुहोस् । कम रक्तचाप भएको व्यक्तिले नखाने कम रक्तचाप भएको व्यक्तिले कहिले पनि ग्रीन टी खानुहुदैन । यसले शरीरको ईनर्जीलाई चाढै पगाल्ने र शरीरमा तागत कम हुने हुनाले रक्तचाप कम भएको व्यक्तिले कहिले पनि ग्रीन टीको सेवन गर्नुहुदैन ।