म्यानपावरको ठगी आँटः ३ दाजुभाइबाट साढे १५ लाख खाइदिए, नक्कली कागज थमाएर दुतावास पठाए
काठमाडौं । विदेश पठाइदिन्छु भन्दै म्यानपावर कम्पनी गल्फ रिक्रुमेन्टका संचालक कृष्णबहादुर तामाङले एकै परिवारका ३ दाजुभाइसहित ४ जनाको साढे १५ लाख रुपैयाँ ठगी गरेका छन् । तामाङले ओखलढुंगाका विष्णुबहादुर कार्कीका ३ दाजुभाइ र उनका साथी अजय परियारको साढे १५ लाख रुपैयाँ ठगी गरेका हुन् । वैदेशिक रोजगार विभागमा भेटिएका कार्की र परियार विभागका महानिर्देशकको प्रतिक्षामा थिए । वैदेशिक रोजगारीमा लागि चेक रिपब्लिक पठाउने भन्दै गल्फ रिक्रुटमेन्टका संचालक तामाङले विष्णुसहित उनका भाइहरु विक्रम र सन्तोष तथा साथी अजय परियारबाट १५ लाख ५० हजार रुपैयाँ लिएको कार्कीले जानकारी दिए । तर, पैसा लिए पनि उनीहरु विदेश जान पाएका छैनन् । तामाङले आफूले पैसा मात्रै लिएनन्, विष्णुका भाइहरुलाई अन्तरवार्ताको लागि भन्दै प्लेनबाट भारतको राजाधानी नयाँ दिल्ली पनि पठाए । चेक रिपब्लिककको दुतावास नेपालमा नभएकोले अन्तरवार्ताका लागि नयाँ दिल्ली जान भनिएको विष्णुले बताए । ‘तपाईंहरु विदेश जाने कन्फर्म भयो, चेक रिपब्लिकको दुतावास नेपालमा छैन, अन्तरवार्ताको लागि नयाँ दिल्ली जानुपर्छ भने, अनि भाइहरु विक्रम र सन्तोष दिल्लीमा रहेको चेक रिपब्लिकको दुतावास पुग्दा पो हामीलाई दिएको कागजात नक्कली रहेको र आफूहरु ठगिएको थाहा पायौं,’ विष्णुले भने । यसरी ठगिएको थाहा पाएपछि पीडितले संयुक्त रुपमा गत १६ साउनमा विभागमा उजुरी गरेका थिए । विभागले ४० दिनभित्रमा समाधान गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि आजसम्म समस्याको समाधान नभएको अजय परियारले बताए । यसरी फसे विष्णु कार्की बुबाको माध्यमबाट २०७५ साल जेठ महिनामा म्यानपावर व्यवसायी कृष्णबहादुर तामाङ्गसँग जोडिए । तामाङ्ग गल्फ रिकुमेन्टका संचालक थिए । ओखलढुंगा घर भएका विष्णु कार्कीका बुबालाई तामाङ बैदेशिक रोजगारीका नेपालीलाई विदेश पठाउँछन् भन्ने थाहा थियो । पीडक तामाङ र पीडित दुबै पक्ष ओखलढुंगा जिल्लाको छिमेकी गाउँपालिकाका बासिन्दा हुन् । छिमेकी गाउँका तामाङले विष्णुका बुबासँग चेक रिपब्लिकमा कामको लागि राम्रो अवसर आएको हुँदा तीनै जना छोरालाई रोजगारका लागि पठाउन आग्रह गरेका थिए । सबै बुझ्दा उनलाई राम्रै लाग्यो । आफ्ना तीन जना छोरासँगै छोराका साथी अजय पनि सँगै जाने भए । र, त्यसको लागि तामाङले मागेअनुसार सुरुमै प्रतिव्यक्ति १÷१ लाख रुपैयाँका दरले रकम पनि बुझाए । तामाङले पैसा माग्दै गए । र, ४ जनाले नै गरी १५ लाख ५० हजार रुपैयाँ बुझाए । यस्तो रकम बुझाएपछि तामाङले अन्तरवार्ताको लागि भन्दै दिल्ली पठाएका थिए । वैदेशिक रोजगारी जाने क्रममा म्यानपावरबाट ठगिएको भने यो पहिलो उजुरी हैन । पछिल्ला दिनहरुमा विभागले नयाँ रोजगारका गन्तव्य खोज्नुका साथै अनलाइनबाटै ई–स्टीकर, ई–टोकन तथा मेसेजिङ्ग प्रणाली लागू गरे पनि ठगीको संख्या भने घटेको छैन । अघिल्लो वर्षको अनुपातमा म्यानपावरबाट ठगीमा परेका पीडितका उजुरी ३५ प्रतिशत बढेका छन् । गत आर्थिक वर्षको यो समयसम्म ५ सय ४८ वटा उजुरी दर्ता भएका थिए भने यस वर्षको सोही अवधिभित्र ७ सय ५३ वटा उजुरी विभागमा परेका थिए । म्यानपावर मर्ज भएपछि झन समस्या विष्णु कार्कीसहित पीडितले रकम बुझाएको गल्फ रिक्रुमेन्ट म्यानपावर अहिले अस्तित्वमा छैन । सो म्यानपावर साधनासँग मर्ज भयो । कार्की परिवार र परियारसँग पैसा लिने गल्फका कृष्णबहादुर तामाङ अहिले सम्पर्क विहिन छन् । साधनाको व्यवस्थापन नमराज तामाङले सम्हालेका छन् । मर्जर भएसँगै गल्फ रिकुमेन्ट म्यानपावरको खातामा रहेको ४ लाख रुपैयाँ साधना म्यानपावरमा आएको छ । बाँकी रकम गल्फका कृष्णबहादुरसँगै रहेको साधनाले बताउने गरेको छ । कृष्णबहादुरले लिएको पैसा व्यक्तिगत भएकोले संस्थागत रुपमा दायित्व आफूमा नसर्ने नमराजले बताए । ‘गल्फले ४ लाख रुपैयाँ दिन बाँकी रहेको देखिन्छ, त्यति पैसा दिने हो भने म तयार छु, अरु रकम लिनुपर्नेछ भने कृष्णबहादुरको व्यक्तिगत लेनदेनको कुरा हो, उहाँसँगै कुरा गर्नुपर्छ, म र साधनासँग जोडिने विषय होइन,’ नमराजले भने । ऋण तिर्नका लागि गाँउको जग्गा नै बेच्नु पर्यो ३ भाइ छोरा विदेश पठाउँन विष्णुका बाबुले गाउँमै २५ प्रतिशत व्याजमा ऋण लिएका थिए । ऋण लिएर बुझाएको पैसा कृष्णबहादुरले खाइदिए । साहूँले ताकेता गरेपछि ओखलढुंगाको चम्पादेबीमा रहेको आफ्नो जग्गा जमिन बेचेर ऋण तिरेको विष्णु कार्कीले बताए ।
माघ १७ गतेदेखि ‘नेपाल उड इन्टरनेशनल एक्स्पो’ हुँदै, विभिन्न देशका १५० बढि स्टल राखिने
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै यी दुई संस्थाले आगामी माघ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा उक्त एक्स्पो आयोजना गर्न लागेकाे जानकारी गराएका हुन् । उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएका छन् । यस अन्तराष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिने छ । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ । उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरुमा सोसाइटी अफ नेपलिज आर्टिटेक्ट(सोना), सोसाइटी अफ कन्सल्टिङ आर्टिटेक्सरियल एण्ड इन्जिनियरिङ फर्म(एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एशोसियसन अफ नेपाल (आईडीईए नेपाल) रहेका छन् । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गजआर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ । नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य उद्देश्य रहेकाे आयोजकले जानकारी दिएका छन् । त्यस्तै, प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग गर्छ । साथै, यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएका छन् ।
सिभिल बैंकको थप शाखा पोखराको शिवचोकमा
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक-१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बैंकको उपस्थिति बिना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना बचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्यकतालाई केन्द्रविन्दुमा राख्ने बताएका छन् । साथै, आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने उनले बताए । सिभिल बैंकले ५२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ ।
प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा सम्पन्न, मर्जरमा जान अख्तियारी प्रदान
काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १२ लाख रुपैयाँ रहेकाे छ । यस्तै अधिकृत पुँजी १० करोड र जारी पुँजी ८ करोड रुपैयाँ छ । कम्पनीले पुँजी वृद्धि गर्न हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई हकप्रद सेयर गर्न आह्वान गरेको प्रबन्ध निर्देशक बिमल तिवारीले जानकारी दिए । कम्पनी गत आर्थिक वर्षमा १ लाख १९ हजार ४ सय रुपैयाँ नोक्सानमा छ । सेयर बजारको खस्कँदो अवस्थामा समेत ठूलो नोक्सानी हुनबाट कम्पनीलाई जोगाउन सकेको प्रबन्ध निर्देशक तिवारीले बताए । साथै, कम्पनीले आगामी वर्ष बुटवल, नारायणगढ र जनकपुरलगायतका सहरमा शाखा विस्तार गर्ने जानकारी दिएको छ ।
निर्माण व्यवसायीहरु बिना समृद्ध मुलुक बनाउन नसकिनेः उप-प्रधानमन्त्री पोखरेल
काठमाडौं । उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरुको रचनात्मक सहयोग बिना समृद्ध मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरुका समस्यहरु समाधानका लागि पहल गर्ने बताए । महासंघको २१ औ साधारणसभाको भक्तपुर घोषणा पत्र बुझ्दै उप-प्रधानमन्त्री पोखरेलले व्यवसायीहरुका मागका विषयमा मन्त्रीपरिषद्मा छलफल गरिने जानकारी दिए । भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या समाधानका लागिपहल गरिदिन अनुरोध गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको २१ र्औ साधारण सभाबाट पारित भएको ३१ बुँदे घोषणा पत्र तथा निर्माण व्यवसायीहरुको वर्तमान समस्यहरुको बारेमा जनाकारी गराएको थियो । उक्त घोषणा पत्रमा समेत रहेको सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी रु. २ करोडको सट्टा रु. ५ करोड सम्मको निर्माण कार्य खरिदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने तर २ करोडभन्दा माथिको ५ करोड सम्मको निर्माण कार्यको लागि पाँच वर्ष पुरानो कम्पनीले र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीन वटा प्याकेजसम्मको निर्माण कार्य गर्न मिल्नेव्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको थियो । “विगत ३-४ महिनाको अवधिमा व्यवसायीका करीब २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको छ” सो को सुरक्षाको लागि सम्बन्धीत निकायहरुमा पहल गरिदिन अध्यक्ष सिंहले आग्रह गरेका थिए । प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्रजी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उप-महासचिव टंकप्रसाद चौलागाई (नीतिगत), केन्द्रीय सदस्य उज्वल गौतम महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।
हुण्डाईको ब्राण्ड र टेक्निकल लाइसेन्सिङ्ग अधिकार हामीले लिईसक्यौं- निराकार श्रेष्ठ
निराकार श्रेष्ठ- कार्यकारी निर्देशक, लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. सरकारको नीतिका कारण सन् २०१८ र २०१९ नेपाली अटो बजारको लागि प्रतिकूल समय रह्यो । बैंकमा कर्जा लगानी योग्य पुँजीको अभाव, उच्च व्याजदर, निजी सवारी किन्न बैंकबाट ५० प्रतिशतमात्र कर्जा लिन पाउने नीतिगत व्यवस्थाले यो बजारलाई खुम्च्यायो । पछिल्लो समय कर तिरेको आयको ५० प्रतिशत रकमले मासिक किस्ता तिर्न पुग्नेलाई मात्र सवारी कर्जा दिन सकिने राष्ट्र बैंकको निर्देशन पछि यो क्षेत्रमा थप त्रास छ । बजारको बास्तविक अवस्था के हो ? कार जीप सेगमेन्टमा नेपाली बजारमा लिडर ब्राण्ड हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलका कार्यकारी निर्देशक तथा नाडा अटोमोवाईल्स एसोशिएशन अफ नेपालका कार्यसमिति सदस्य निराकार श्रेष्ठसँग नेपालको अटोबजार र हुण्डाईको बजार अवस्थाबारे कुराकानी गरेका छौं । हुण्डाई आफै गाडी उत्पादन गर्ने भनेर लक्ष्मी मोटर कर्पोरेशन प्रा.लि. दर्ता गरेको ६ महिनाभन्दा बढी भयो । नेपालमै गाडी उत्पादन गर्नेतर्फ प्रक्रिया कहाँ पुग्यो ? त्यसमा लामो प्रक्रिया छ । हामीले कम्पनी दर्ता गर्यौं । ब्राण्ड अनरसित त्यसको ब्राण्ड लाइसेन्सिङ्ग, टेक्निकल लाइसेन्सिङ्ग लियौ । रोयल्टी लगायतका विषयमा पनि सहमति लिईसकेका छौं । हामी अहिले विशेषगरी २ कुरामा फोकस छौं । एउटा भनेको हामीले आन्तरिक अध्ययन गर्ने र योजना बनाउने काम गरिरहेका छौं । दोस्रो, एसेम्ब्लीङ गर्ने उद्योगका लागि सरकारले कस्तो नीति अपनाउने भन्ने विषयमा सरकारसँग छलफलमा छौं । मोटर उत्पादन गर्ने उद्योग सञ्चालनमा आउन पक्कै पनि लामो समय लाग्छ । मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्ने प्रक्रिया अगाडि बढाएको छ । उसले हुण्डाई ब्राण्ड उत्पादन गर्न लागेको भन्ने खालका समाचार पनि आएका छन् । वास्तविकता के हो ? हामीले हुण्डाई मोटर्ससँग ब्राण्ड लाइसेन्सिङ्ग र टेक्निकल लाइसेन्सिङ्ग लिईसकेका छौं । रोयल्टीको विषयमा पनि समझदारी भईसकेको छ । यस अवस्थामा अरु कम्पनीले नेपालमा हुण्डाई ब्राण्डको उत्पादन गर्ने कुरा हल्ला मात्र हो । त्यसमा कुनै सत्यता छैन । अहिले हुण्डाईको बजार अवस्था कस्तो रहेको छ ? पोहोर साल भन्दा इन्डष्ट्रिमा ग्रोथ डाउन छ । तर हाम्रो चाहिँ थोरै वृद्धि (स्लाइट्ली ग्रोथ) भएको छ । हुण्डाईको नयाँ सेग्मेन्टतर्फ प्रवेश र इलेक्ट्रिक भेहिकलतर्फ राम्रो पकड भएकोले पहिलेभन्दा ३/४ प्रतिशत ग्रोथ भएको देखिन्छ । एक्जिस्टिङ्ग लाइनअप सिमिलर रह्यो, ग्रोथ चाहिँ नयाँ प्रोडक्टबाट भयो । नयाँ प्रोडक्टमा भेन्यु र स्यान्ट्रो आयो र इलेक्ट्रिक तर्फ चाहिँ कोना आयो । इलेक्ट्रिक गाडी कति गइरहेको छ ? आए जति गइरहेको छ, सन् २०१९ मा २४० युनिट जति बेच्यौं । भेन्यु कति बिक्री भयो अहिलेसम्म ? भेन्यु लञ्च गरेको ५ महिना भयो र लगभग ७०० युनिट जति बिक्री भयो । स्यान्ट्रो चाहिँ कति बिक्री भयो ? ६०० प्लस । स्यान्ट्रो धेरै वर्षको ग्याप पछि आएको हो, यो वर्ष अझै बेटर होला । नेपालमा इन्ट्री लेभल सेग्मेन्टनै खुम्चिएको छ । नेपालमा के भएको हो बुझ्न गाह्रो छ । भारतमा चाहिँ सबैभन्दा ठूलो हिस्सा इन्ट्री लेभल सेग्मेन्टले ओगटेको छ । नेपालमा इन्ट्री लेभलभन्दा मिड लेभल सेग्मेन्ट चाहिँ धेरै बिक्री हुन्छ । २० लाख देखि ३० लाख मूल्य सम्मका गाडी यहाँ कम बिक्री हुन्छ भने ३५ देखि ५० लाखको रेञ्जका गाडीहरु चाहिँ बढी बिक्री भएको पाइन्छ । नेपालीहरुको साइकोलोजी भनेको एक पल्ट लिने हो, बरु थपथाप गरेरै राम्रै लिने हो भन्ने खालको हुन्छ । ग्राहकहरु पनि शोरुममा आउँदा एउटा बजेट दिमागमा लिएर आउँछन् तर त्यो भन्दा बढि मूल्य कै गाडी किनेर जान्छन् । भारतमा चाहिँ जुन बजेट लिएर शोरुम पुग्छन् त्यो भन्दा पनि कममै काम सिध्याउँछन् । किन नेपालीहरु महँगो गाडी किन्छन् ? यसको इकोनोमिक फ्याक्टरले काम गरेको छ कि सोसियल फ्याक्टरले ? यो मुख्यतः सोसियल फ्याक्टर हो । नेपालीहरुले आफ्नो क्षमता कति छ त्यो नहेरी देखासिकीबाट गाडी किन्न खोज्छन् । आफ्नो साथी वा छिमेकीले जस्तो गाडी किन्यो, ठ्याक्कै त्यस्तै गाडी आफू पनि किन्छु भन्ने मानसिकता नेपालीहरुमा पाइन्छ । हुण्डाईको कुन गाडीमा बढी क्रेज छ ? अहिले त क्रेटा नै हो । क्रेटा हामीले जुन बेला भित्र्यायौं, यसको प्राइस, साइज, डिजाइन र फिचरहरुलाई बढी मन पराइयो । हाल क्रेटाको बजार मूल्य कति छ ? अहिले क्रेटाको शुरुवाती मूल्य ४७ लाख रुपैयाँ छ । बढीमा ६१ लाख रुपैयाँसम्मको प्राइस रेञ्जमा उपलब्ध भइरहेको छ । यसमध्ये कति मूल्यका क्रेटा चाहिँ बढी बिक्री भइरहेको छ ? ५० लाखदेखि ५५ लाख रुपैयाँ रेञ्जको चाहिँ बढी बिक्री भइरहेको छ । क्रेटाको यस्तो क्रेज हुनुको कारण के होला ? यसको कारणमा क्रेटाको प्राइस पोइन्ट र यसले प्रदान गर्ने युटिलिटीलाई लिन सकिन्छ । पहिले मान्छेले एसयूभी चढ्ने रहर पूरा गर्न त्यति सजिलो थिएन । त्यो चढ्नुपर्दा पनि ८० देखि ९० लाख रुपैयाँको रेञ्जमा जानुपर्ने थियो । ५० लाखमा एउटा फुल एसयूभीले दिनसक्ने सम्पूर्ण विशेषता क्रेटाले दिएको हुनाले नै यसको क्रेज बढ्न पुगेको हो । अहिलेसम्म क्रेटा कति बिक्री भयो ? क्रेटा नेपाल भित्रिएको यो छैटौं वर्ष हो र हालसम्म करिब ७ हजार बिक्री पनि भइसकेको छ । पछिल्लो समय क्रेटामा माग बढेको छ कि घटेको छ ? स्थीर छ । दोस्रो वर्ष चाहिँ हाइ थियो तर त्यस पछाडि चाहिँ स्टेवल छ । क्रेटा अलि महँगो लाग्नेहरुका लागि भेन्यु राम्रो अप्शन बन्यो तर यति हुँदा पनि क्रेटाको सेल्स चाहिँ घटेको छैन । हुण्डाई बेच्न थालेको कति वर्ष भयो ? हामी अहिले ११ औं वर्षमा छौं । यो दौरानमा तपाईंको कर्पोरेट लाइफमा धेरै परिवर्तन आयो, के भन्नुहुन्छ ? सबै बिजनेस बढि नै रहेको छ । हुण्डाईको पनि राम्रै देन छ त्यसमा । कुनै वर्ष घट्छ, कुनै वर्ष बढ्छ, कुनै वर्ष नराम्रोसँग घटेको वर्ष पनि छ । जस्तै नाकाबन्दी र भूकम्प गएको वर्ष । त्यसबेला कम्पनीको टर्नओभर नै ५० प्रतिशतमा झरेको अवस्था थियो । त्यसपछिको वर्ष फेरि त्यतिनै ग्रोथ पनि भयो । एउटा वर्ष बढेको छ भने अर्को वर्ष घटेको छ । कार तथा जीप सेग्मेन्टमा हुण्डाईको सेयर कति छ बजारमा ? आज हामीसँग कुनै पनि त्यस्तो अर्गनाइजेशन अथवा इन्टिटी छैन जसले डाटा राखेर हरेक ब्राण्डको बजार हिस्सा प्रत्येक वर्ष पब्लिस गर्छ । सबै ब्राण्डले आँकलन नै गर्ने हो । मलाई लाग्छ हामी शुरुवाती दिनहरुमा जुन स्थानमा थियौं अहिले पनि त्यहिँ नै छौं अथवा त्यो भन्दा थोरै माथि उक्लेका छौं । किनभने त्यो बेलामा हुण्डाईका विशेषगरी साना गाडीहरु मात्र थिए । तर आजको दिनमा विभिन्न सेग्मेन्टका प्रोडक्टहरु छन् जस्तै स्यान्ट्रो, आइ१०, ग्र्याण्ड आइ१०, आइ२०, आइ२० एक्टिभ, भेन्यू, क्रेटा, टुशन लगायत छन् । करेन्ट सेल्सको आधारमा प्यासेन्जर सेग्मेन्टमा हामी आफूलाई स्पष्ट रुपमा नम्वर १ भनेर दावी गर्छौं । ठ्याक्कै फिगरमा भन्नुपर्दा कति होला ? ठ्याक्कै नम्बरमा क्लेम गर्ने अवस्था अहिले छैन । स्वतन्त्र सर्भे भयो भने राम्रो हुन्छ । अटो बजार तत्काल वृद्धि हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? यो २०२० चाहिँ मैले अप ट्रेण्ड नै देख्छु । किनभने सरकारले पनि यो कुरा रियलाइज गरेको छ कि अटोमोवाइल सेक्टर खुम्च्याएर ओभरअल कन्ट्रिकै रेभिन्यूलाई हानी पुग्न गयो । सरकारले कस्तो नीति अपनाउदा अटो बजार विस्तार हुन सक्छ ? सरकार अटो लोनमा अलिकति सफ्ट हुने कुुरा देखिएको छ । अहिले ५० प्रतिशत छ, अब चाहिँ बढेर ६५ प्रतिशतसम्म जाला कि भन्ने आशा छ । र, भरखरै सरकारले अपनाएको ट्याक्सेवल इन्कमको ५० प्रतिशत ईएमआई हुनेगरी मात्रै कसैले लोन लिन पाउने कुरामा पनि केहि परिवर्तनको प्रस्ताव आएको छ । त्यसमा इन्कम सेल्फ डिक्लियरेसनलाई पनि मान्नु पर्छ भन्ने माग धेरै तिरबाट आएको छ । कसैको इन्कम सजिलै देखाउन मिल्ने अवस्था हुँदैन, जस्तो घर वहालमा दिने घरधनीहरुको । यदि यी कुराहरुमा सुधार भयो भने अटोमोवाइल सेक्टरको नेपालमा ग्रोथ हुन्छ । हुण्डाईले आफ्नो नयाँ उत्पादन औरालाई बजारमा ल्याउँदैछ, यसको बारेमा केहि भनिदिनुस् न । औरा एउटा ‘बि’ सेग्मेन्टको क्म्प्याक्ट सेडान कार हो र यो नेपाल आइपुग्न केहि समय लाग्छ । यसको प्राइसिङ्ग डिटेल अहिले बाहिर आइसकेको छैन । यसले अहिले बजारमा उपलब्ध हाम्र्रै मोडेल ‘एक्ससेन्ट’ को ठाउँ लिने छ । यसले मारुती सुजुकीको डिजायर, होण्डाको अमेज र फोर्डको अस्पायर लगायतसँग प्रतिष्पर्धा गर्नेछ । अलिकति बजारीकरणको कुरा गरौं । हुण्डाईले राजधानीको पनि केन्द्रविन्दु दरवार मार्गमा शो रुप खोल्न लागेको हो ? होइन, त्यहाँ शोरुम बन्दैन । त्यसलाई बस हामीले हाम्रो मोडेल डिस्प्ले गर्न बनाएको मात्र हौं । त्यहाँबाट गाडी किनबेचको काम हुँदैन । तर ग्राहकले त्यहाँ गएर मोडेलहरुको बारेमा बुझ्न र हेर्न भने पाउँछन् । किन्न चाहानेलाई हामी त्यहाँबाट अरु शोरुममा रिफर गर्छाैं । दरबारमार्गमै मोडल डिस्प्ले खोल्नु पछाडिको उद्देश्य के हो ? यसको मुख्य उद्देश्य भनेकै ब्राण्ड भिजिबिलिटी बढाउनु हो । हामी सबैको नजरमा बसिराख्न खोजेका हौं जसले गर्दा हाम्रो उत्पादन बारे कौतुहलता पलाओस् र जान्न इच्छुक हुन् । यी सबै कुराले अल्टिमेट्ली ब्राण्डलाई नै फाइदा पुग्ने हो । दरबारमार्ग भनेको हाइ ट्राफिक एरिया हो । साथै, उच्च स्तरको आम्दानी भएको मानिसहरु आवतजावत गर्ने र समय बिताउने एरिया पनि दरवारमार्ग हो । त्यही भएर हामीले त्यो ठाउँलाई महत्व दिँदै त्यहाँ आफ्नो उपस्थिति जनाउन खोजेका हौं । एउटा शोरुम निर्माण गर्न कति खर्च लाग्छ ? शोरुम निर्माण गर्न धेरै नै खर्च लाग्छ । एउटा २५०० देखि ३००० स्क्वार फिट जति एरिया भएको साधारण शो रुम खोल्न पनि ५ देखि ६ करोड रुपैयाँ खर्च हुन्छ । तर, काठमाडौं बाहिरका शोरुमहरुमा भने अलि कम लागत पर्न जान्छ । हाम्रो सबैभन्दा महँगो शोरुम चाहिँ नक्शालमा रहेको छ । त्यसको एरिया ४५०० स्क्वायर फिटको रहेको छ र त्यसमा लगभग १० करोड रुपैयाँ लगानी भएको छ । नक्शाल शोरुमको सञ्चालन खर्च कति आउँछ मासिक ? त्यहाँ लगभग २२ जना जति कर्मचारी रहेका छन् । त्यो शोरुमको सञ्चालन खर्च मासिक करिब ३० लाख रुपैयाँ हुन्छ । अहिले बैंकिङ्ग क्षेत्रपछि कर्मचारीलाई सबैभन्दा बढी तलव खुवाउने क्षेत्रको रुपमा अटोमोवइल क्षेत्र आउँछ । कर्मचारी खर्च पनि धेरै आउँछ । गाडीको शोरुम राख्दा ठाउँ पनि प्राइम लोकेशन हुनुपर्यो । भाडा पनि महँगो हुन्छ । विजुली, सरसफाइ, मेन्टिनेन्स खर्च धेरै आउँछ ।
बाउन्स चेक भुक्तानी गर्न लगाउने राजेन्द्र बुढाथोकीलाई १५ दिन कैद, ५ लाख जरिवाना
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १ का राजेन्द्र बुढाथोकीलाई बाउन्स चेक भुक्तानी गर्न लगाएको आरोपमा १५ दिन कैद र ५ लाख जरिवाना गरिएको छ । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा उक्त जरिवाना गर्ने फैसला गरेको हो । अदालतले उनलाई असोजमा जरिवना गर्ने फैसला गरे पनि उनी फरार रहेका थिए । तर केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार ओखलढुङ्गाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई कैद भुक्तानको लागि मंगलबार केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ । पीडित मधु बुढाथोकीको जाहेरीले उनी बैंकिङ कसुरमा कारागर चलान भएका हुन् । उनले पीडित बुढाथोकीलाई व्यवसायको लागि रकम आवश्यक पर्यो भने ५ लाख रुपैयाँ ऋण मागेका थिए । तर, उनले पटकपटक आलटाल गरी रकम फिर्ता नगरेको बुझिएको छ । उनले पीडित बुढाथोकीलाई बैंक अफ काठमाण्डूको आफ्नो खातामा भुक्तानी लिनु भनी चेक दिएको तर उक्त चेक सटही नभएपछि पीडित बुढाथोकीले कारवाहीका लागि उजुरी गरेका थिए । हाल उनी काठमाडौं महानगरपालिकाको वडा नं २६मा बस्दै आएका छन् ।
होटल र रेष्टुराँकाे स्तरीकरण गर्न स्टिकर टाँस्ने अभियान शुरू
लहान । सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, न्यायिक उपभोक्ता मञ्चलगायतका कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको रोहवरमा स्टिकर टाँस्ने अभियान थालिएको हो । राजविराजस्थित १७ वटा होटल र रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत प्रदान गरिएको थियो । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकोमा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुराँलाई अति उत्तम तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणीमा राखी स्टिकर टाँसिएको छ । त्यस्तै ६५ देखि ७९ सम्म लाई सन्तोषजनक र ५० देखि ६४ सम्म अङ्क ल्याउने होटल रेष्टुराँमा सामान्य लेखिएको स्टिकर टाँस गरिएको छ । सामान्य स्टिकर पाएकाले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले जानकारी दिएका छन् ।रासस