विकासन्युज

मनराम फाउण्डेसनद्वारा पुस्तकालय तथा पुरस्कार हस्तान्तरण

काठमाडौ । मनराम फाउण्डेसनको नवौं स्थापना दिवस सम्पन्न भएको छ । यस वर्ष विकट जिल्लाका २१ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । काठमाण्डौंमा भएको कार्यक्रमको प्रमुख अतिथी अमेरिकी राजदुत र्यान्डी बेरीले विद्यालयका प्रतिनिधिलाई पुस्तकालय हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत र्यान्डी वेरीले अमेरिकन कम्पनी हिमालयन कर्पोरेसनले नेपाली समाजको शैक्षिक स्तर सुधार गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै आफ्नो पनि पृष्ठभूमि शिक्षण पेशा नै रहेको र समाज रुपान्तरणमा शिक्षाको महत्व कति हुन्छ भन्ने आफूलाई व्यवहारिक ज्ञान रहेको बताए । कर्पोरेसनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा खेलेको योगदानमा अमेरिकी जनता र सरकारको सहयोग रहने समेत बताएका छन् । नेपालको ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गर्न पाउँदा कर्पोरेसन गौरव गर्दछ भन्दै हिमालयन कर्पोरेसनका अध्यक्ष सुजन कुमार श्रेष्ठले सिइओ सुमन श्रेष्ठले घोषणा गरेको एक प्याकेट डगच्यु एक विद्यार्थी अभियान अन्तरगत संकलित रकमको सहयोगले आज यो सम्भव रहेको बताए । फाउण्डेसनले नौ वर्षको अवधिमा मुलुकका सबै जिल्लामा लाइवेरी पुर्याई सकेको छ । १५४ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनका साथै संखुवासभाका कक्षा पाँच सम्मका विद्यार्थीलाई निःशुल्क कपी कलम,कम्प्युटर समेत सहयोग गरी सात करोड भन्दा बढीको सहयोग गरिसकेको समेत उनले जानकारी दिएका थिए । सोही कार्यक्रममा मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्य पुरस्कृत गरिएको थियो । मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)द्वारा स्थापित पुरस्कार सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्त रुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

चामलकाे ताैलमा ठगि भेटिएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द

बुटवल । थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजकाे काराेबार बन्द गराएकाे छ । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए । बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन गरेकाे थियाे । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा इण्डष्ट्रिजका सञ्चालक कृष्णबहादुर थापाले उद्योगमा भएका कमजोरी तत्काल सच्याएर गुणस्तरीय खाद्यान्न बिक्री गर्ने प्रतिबद्धता जनाएका छन्। बजारमा प्लास्टिकको चामल भित्रिएको गुनासो आएपछि प्रशासनले खाद्य उद्योग र पसलहरुलाई लक्षित गरेर बजार अनुगमन थालेको हो । अनुगमनमा जिप्रका रुपन्देहीका अधिकृत पोखरेल, वाणिज्य कार्यालयका नारायण पन्थी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पद्मराज भुसाल, बुटवल उपमहानगरपालिका कार्यालयका टोपलाल शर्मा, नेपाल प्रहरीका प्रकाश चौहान तथा पत्रकारहरुको सहभागिता थियो । रासस

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट मिल्ने भएको छ । एनआईसी एसिया बैङ्क र सामसुङ मोबाइल बिच भएको सहमति अनुसार एनआईसी बैङ्कका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा छुट दिने भएको हो । सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट बैङ्कका ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । सेवाग्राहीहरूले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी विभिन्न सामान खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटेल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटले तथा ३२० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।

टिएनटि १५० आईः बेनेलीको मोडर्न फिचर्स सहितको प्रिमियम लुकिङ्ग बाइक

काठमाडाैं । ‘बेनेली टिएनटि १५० आई’ मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन बेनेलीकै अर्को मोडेल ‘टिएनटि ३०० आई’ सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा रहेको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आई मा हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएल्स, फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल लगायतका फिचरहरु दिइएका छन् । यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ । १३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ । बेनेली मोटरसाइकल्सको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकेर बिक्रीवितरण गर्दै आइरहेको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो ।

ट्राफिक छैन भनेर नियम उल्लंघन गर्दै हुनुहुन्छ ? ध्यान दिनुस् घरमा चिट पुग्ला

काठमाडाैं । सीसीटीभी क्यामेराबाट निगरानी गरेर सवारी साधन कारबाही गर्ने प्रक्रिया पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । सडकमा नियम उल्लंघन गरेर सवारी चलाउने चालकलाई सीसीटीभीबाट निगरानी गरेर कारबाही गर्ने कार्य प्रभावकारी बन्दै गएको हो । सवारी साधनको वृद्धिसँगै बढेका चुनौतीका कारण पनि ट्राफिकले सीसीटीभी क्यामेरा निगरानीलाई प्राथमिकताका साथ हेरिरहेको छ । वि.स २०७३ सालदेखि सीसीटीभी क्यामेराबाट निगरानी शुरु गरेकोे कार्यले सवारी दुर्घटनामा पनि उल्लेख्य सुधार गरेको महानगरीय ट्राफिक महाशाखाल जनाइएको छ । सीसीटीभी क्यामेरा शुरु गरेको केही वर्षमै ट्राफिक प्रहरीले धेरै सवारी साधनलाई कारबाही गरिसकेको महाशाखाले जनाएको छ । विभिन्न बिधी तथा पद्धती लागु गरेर ट्राफिक प्रहरीले सवारी निगरानीमा तिब्रता दिएको हो । महाशाखाका प्रहरी प्रमुख भिम प्रसाद ढकालले सीसीटीभी क्यामेराको निगरानीबाट ट्राफिक प्रहरीलाई धेरै सहयोग भएको बताए । यसले सडकमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई पनि कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण सघाउ पुगेको उनको धारणा छ । काठमाडौं उपत्यका विभिन्न स्थानमा राखिएका कतिपय सीसीटीभी क्यामेराहरु सरकारी तबरबाट सञ्चाालित छन् भने कतिपय स्थानिय समूदायले नै राखेका छन् । ती सीसीटीभी क्यामेराहरु महानगरीय प्रहरी आयुक्तको कार्यालय र ट्रफिक मुख्यालयबाट हेर्न सकिन्छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले निगरानी गर्छ, त्यसपछि हामी यातायात कार्यालयमा बुझ्छौं, त्यो सवारी साधन कसको हो त्यहाँबाट सम्र्पक नम्बर ल्याएर उसलाई सम्पर्क गरेर कार्यालयमा बोलाउँछौै वा उसैको घरमा चीट पठाउँछौं । सवारी चालकहरु ट्राफिक छैन भनेर नियम उल्लंघन गर्ने मनाशायलाई हटाउन सफल भएका उनको भनाइ छ । अझ प्रभावकारी बनाउने कुरामा महाशाखा लागेको उनको भनाइ छ । महाशाखामा एउटा कन्ट्रोल रुम छ । एउटा आयुक्त कार्यालयमा छ । ‘पहिला त चालक सरप्रराईज हुन्छन, नियम उल्लंघन गरेन भनेर जिद्धी गर्छन, तर फुटेज देखाएपछि स्विकार गर्छन्,’ उनले भने । व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्ने उपत्यका भित्रको अव्यवस्थित ट्राफिकलाई व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको ढकालको भनाइ छ । उनले कन्ट्रोल रुम निर्माण गर्नका लागि सरोकारवाला निकायमा योजना पेश गरिसकेको बताए । यसले पनि ट्राफिकलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ । जसले काठमाडौं उपत्यकाको ट्राफिकलाई निगरानी गर्नेछ । व्यवस्थित कन्ट्रोल रुम निर्माण कार्य दुई चार महिना भित्रै सम्पन्न हुने उनले बताए । सरकारले खरिद गरेर राखेका सीसीटीभी बाहेक समुदायबाट सञ्चालित वा जडान गरेका सीसीटीभीहरु कन्ट्रोल रुमबाट हेर्न सकिने उनको भनाइ छ । १ हजार ७ सय ठाउँमा सीसीटीभी क्यामेरा महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा करिब १ हजार ७ सय सीसीटीभी क्यामेरा जडान गरिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका सीसीटीभीको निगरानीबाट प्रहरीले हाल सवारी साधनहरुलाई कारबाही गरिरहेको छ । सडकमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकहरुलाई सीसीटीभी क्यामेराले निगरानी गरी राखेको हुन्छ । ट्राफिक प्रहरीले त्यही फुटेज हेरेर सवारी चालकलाई बोलाएर वा घरमा चीट काटेर कारबाही गर्ने गरेको छ । ठूला घटना मात्र नभई स–साना घटनाबारे थाहा पाउन र सवारी चालकलाई जवाफदेही बनाउन सीसीटीभी प्रभावकारी भएको ढकाल बताउँछन् । अझै यसलाई प्रभाव कारी गर्नको लागि विभिन्न ठाउँमा क्यामेरा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । हाल उपत्यकाभरि करिब १४ सय ट्राफिक प्रहरी रहेका छन् । २०/२५ जनाले मात्रै सीसीटीभी क्यामेरा निगरानी गर्ने गरेको ढकाल बताउँछन् । ६ हजार सवारी चालक कारबाहीमा महानगरीय ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षको पुुस मसान्तसम्म ६ हजार २ सय १० जना सवारी चालक सीसीटीभी क्यामेराको निगरानीबाट कारबाहीमा परेका छन् । सडकमा ट्राफिक प्रहरी नभएको समयमा ट्राफिक नियमको उल्लंघन गर्ने चालकलाई महाशाखाले कारबाही गरेको हो । लेन मिचेको, सडक संकेत पालना नगरेको, सडक चिह्न हेका स्थानमासमेत सवारी साधन मनपरी फर्काएको, तीब्र गतिमा सवारी कुदाएको, जथाभावी रुपमा जहाँ पायो त्यहीँ यात्रु चढाउने र झार्ने जस्ता नियम उल्लंघन गर्ने सवारी चालकलाई महाशाखाले कारबाही गरेको हो । वि.स २०७३ सालदेखि सीसीटीभी राखी त्यसैबाट निगरानी गरेर महाशाखाले चालकलाई कारबाही शुरु गरेको थियो । तर, तथ्याकं राख्न भने २०७४ बाट शुरु गरिएको हो । महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ सय २१ जना सवारी चाल सीसीटीभी क्यामेराबाटै निगरानी गरेर कारबाहीमा परेका थिए । आर्थिक वर्ष २०७५/०७६ त्यो संख्या बढेर ८ हजार ३ सय ३० पुगेको थियो । ढकालले त्यस्ता नियम उल्लंघन गर्ने सवारी चालकालाई दुई सय रुपैयाँदेखि १० हजारसम्म जरिवाना तिराउने गरेको बताए । १६ करोड ३८ लाख राजस्व संकलन महानगरीय ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको पुुस मसान्तसम्म १६ करोड ३८ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, हर्न बजाएर सवारी साधन चलाउनेलगाययत कार्यमा संलग्न सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो ।

कैलाश विकास बैंकले कर्णाली प्रदेशका विद्यार्थीलाई दियो छात्रवृत्ति

काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेशको कालीकोट जिल्लाका सामुदायीक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटको पहलमा कालीकोट जिल्लाका सामुदायीक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिब, जेहन्दार, आर्थिक अवस्था दयनिय भएका र आगलागी पीडित परिवारका केही विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ती प्रदान गरेको हो । यसबाट पैसाको अभावले उच्च शिक्षा अध्ययनबाट वञ्चीत हुनु पर्ने अवस्थाका विद्यार्थीलाई केही मात्रामा भए पनि सहयोग हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी वित्तीय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । यस बैंकले हालसम्म ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । अब केही दिनमै प्राईम कमर्सियल बैंकसँग एकिकृत कारोवारको तयारीमा रहेको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोवाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सि-आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

कृषि क्षेत्रमा आश देख्नेका लागि निराश बनाउँदिन, यो मेरो बाचा भयो– कृषिमन्त्री भूसाल

काठमाडौं । कृषि तथा पशुपन्छी  विकास  मन्त्री घनश्याम भुसाललेे कृषि क्षेत्रमा अवसर  तथा आश चाहनेहरूलाई आफूले निराश नबनाउने बताएका छन् । मंगलबार  मन्त्रालयमा  पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सो कुरा बताएका हुन् । समग्र कृषि क्षेत्रका समस्यालाई समाधान  गरेर अगाडि बढ्ने उनको भनाई छ । ‘कृषि क्षेत्रमा धेरै समस्या छन्, म अझैं बुझ्दै छु, यस क्षेत्रमा देखेका सयौं सपनाहरुलाई साकार पार्ने छु,’ उनले भने । भूसालले कृषिमा उत्पादन र उत्पादकत्व बढाउन तत्पर भएको धारणा राखे । उनी झन्डै दुई महिनादेखि कृषि मन्त्रालय सम्हालिरहेका छन् ।

पर्यटन बाेर्डकाे सीईओमा धनञ्जय रेग्मी नियुक्त

काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मेदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो। तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए। छनोट उपसमितिले नयाँ सीईओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।