विकासन्युज

‘राष्ट्रिय ललितकला प्रदर्शनी’ वैशाखमा हुँदै, ललितकर्मीले फागुन १४ गतेभित्र कलाकृति बुझाइसक्नु पर्ने

काठमाडौं । आगामी बैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७७’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठानको आयोजना हुन लागेको उक्त प्रदर्शनीमा नेपालभरिका ललितकलाकर्मीको सहभागिता रहनेछ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७७’ मा सहभागि हुने ललितकलाकर्मीले फागुन १४ गतेभित्र प्रतिष्ठानको कार्यालय नक्सालमा कलाकृति बुझाउनु पर्ने छ । प्रदर्शनीमा ७ विधाका ललितकलाकर्मीे सहभागिता हुन सक्छन् । परम्परागत चित्रकला, आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा सिर्जनात्मक कलाका विधा अन्तर्गतमा कलाकृति प्रदर्शनीमा राखिने छन् । प्रत्येक विधाका १/१जनाको दरले ६० हजार रुपैयाँ राष्ट्रिय ललितकला पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यस्तै विशेष पुरस्कारका लागि दुई जनाको दरले २५ हजार रुपैयाँ दिइने व्यवस्था आयोजकले गरेको छ ।

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताएका छन् । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे । आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।रासस

निक्षेपको व्याज बढाउँदा नेपाल बैंकको नाफा ३० करोड रुपैयाँ घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा यो वर्षको ६ महिनामा नेपाल बैंकको नाफा ३० करोड ९१ लाख रुपैयाँ कम देखिएको छ । बैंकले निक्षेपकर्तालाई दिने व्याज बढाएको कारण नाफा घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको बैंकको खुद व्याज आम्दानी घटेको देखाउँछ । गत वर्षको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । निक्षेपमा बढी व्याज दिएकै कारण बैंकको खुद व्याज आम्दानी करिब १७ करोड रुपैयाँ घटेको छ । बैंकको व्याज आम्दानी भने बढेको छ । गत वर्षको ६ महिनामा ५ अर्ब २५ लाख रुपैयाँ व्याज आम्दानी भएको थियो । यो वर्षको ६ महिनामा व्याज आम्दानी ५ अर्ब ७४ करोड १७ लाख रुपैयाँ छ । व्याज आम्दानी करिब ७४ करोड रुपैयाँ बढ्दा पनि व्याज खर्च बढेका कारण खुद व्याज आम्दानी घटेको हो । गत वर्षको ६ महिनामा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको बैंकले यो वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ महिनामा बैंकको व्याज खर्च नै १ अर्ब रुपैयाँभन्दा बढी छ । निक्षेपमा दिने व्याज बढेका कारण बैंकको व्याज खर्च बढेको हो । यस्तै, बैंकको व्याज अन्तर (स्प्रेड) दर पनि घटेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको व्याज अन्तर यसवर्षको पुस मसान्तमा आइपुग्दा ४.४४ प्रतिशतमा सिमित भएको छ । गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ गरेको छ । बैंकसँग १ खर्ब १७ अर्ब १२ करोड २८ लाख रुपैयाँ निक्षेप छ भने ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा तथा लगानी छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ निक्षेप र ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । एक वर्षको बीचमा बैंकको निक्षेप करिब ८ करोड रुपैयाँले घटेको छ भने कर्जा तथा लगानी करिब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी बढाएको छ । बैंकको खराब कर्जा अनुपात २.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुदात २.७४ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि ११४.६१ प्रतिशत रकम बैंकले राखेको छ । कष्ट अफ फण्ड गत वर्षको पुस मसान्तमा ३.५८ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तमा बढेर ५.१९ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तमा ७१.४७ प्रतिशत रहेको निक्षेप कर्जा अनुपात बढेर ७४.९३ प्रतिशत पुगेको छ । आधार दर ६.०६ बाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।

२८ दिनदेखि बन्द काठमाडौं विश्वविद्यालयकाे सात सङ्कायमा मात्र खुल्यो ताला

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर (टिटिसी) प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो । विश्वविद्यालयमा सञ्चालित सातै सङ्कायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा. डा. कन्हैया झाले जानकारी दिए । उनका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन । केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले संयुक्त रुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो । “सोमबारको बालुवाटार भेलामा शिक्षामन्त्रीले तालाबन्दी खोल्नुस्, पठनपाठन रोक्नु भनेको अपराधजस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौँला भनेपछि आन्दोलनरत पक्षले आज बिहान ९ बजे आंशिक रुपमा मात्रै तालाबन्दी खोल्नुभयो”, उनले भने । हिजोको विशेष छलफलमा केयू प्रशासनले प्राध्यापक र कर्मचारी सङ्घका प्रतिनिधिलाई छलफलमा नराखेको र छलफलमा बसेका प्रतिनिधिलाई जबर्जस्त बाहिर पठाएको विरोधमा उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दीे नखुलाइएको सङ्घका अध्यक्ष डा वेदमणि जानकारी दिएका छन् । उनले भने, “विशेष सभामा लगेका कार्ययोजनाबारे भएको छलफलमा हामीलाई सहभागी नगराउनु खेदजनक छ, त्यसैले हाम्रा कार्ययोजना सकारात्मक सम्बोधन नभएसम्म तीनवटा कार्यालयको तालाबन्दी खोल्दैनौँ ।” यसअघि केयू प्रशासनले आन्दोलनरत पक्षलाई ‘माग सम्बोधन गर्ने’ आश्वासन दिँदा २१ दिनपछि ताला खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलनमा छन् । विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका छन् । सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास जस्ता माग राखेको छ ।रासस

ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु, दुई गम्भीर घाइते

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालले जानकारी दिएका छन् । दुर्घटनामा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते भएका छन् । घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

मुलुककै पहिलो मल उद्योग १७ वर्षदेखि बन्द, भवन चमेराको बासस्थानमा परिणत

भद्रपुर । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ । उद्योगको कार्यालय र भवनहरु जङ्गल र झाडीले छोपिएपछि सुनसान कारखाना भवन चमेराको बासस्थानमा परिणत भएको हो । उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारहरुसँग मिलेर उद्योग सञ्चालन गरेका थिए । उद्योग सञ्चालनका लागि नेपाल सरकारको स्वामित्व रहेको कृषि विकास बैंकबाट सञ्चालकहरुले रु २५ करोड ऋण लिएका थिए । चारआली–भद्रपुर सडकको छेउमा, गोरखकाली सिमेन्ट उद्योग र सेन्चुरी सिमेन्ट उद्योगको बीचमा चार बिघा जमीनमा रहेको सो उद्योगमा छ साना–ठूला भवन रहेका छन् । “भवनभित्र रहेका जेनेरेटर र मेसिनका पार्टपुर्जा केही पनि छैनन्”, उद्योगको रेखदेखको जिम्मेवारी लिएका स्थानीयवासी गोपाल तिम्सिनाले भने, “सबै सामान चोरी भइसके, खोक्रो भवन मात्र बाँकी छ ।” उद्योगको वरिपरि इँटाको पर्खालले घेरिए पनि कार्यालय परिसरभित्र वनमारा झार, तीते र विभिन्न जातजातिका वनस्पति उम्रिएर जङ्गलमा परिणत भएको छ । भवनका प्रायः कोठाहरुमा चमेराको बासस्थान रहेको चौकीदार दीपक राजवंशीले बताए । राजवंशीलाई एक वर्षअघिदेखि मासिक रु १० हजार तलब दिएर चौकीदारको जिम्मेवारी दिइएको छ । “घरतिरबाट खेदाइएको हात्ती कहिलेकाहीँ रातभर यही बस्छन्”, राजवंशीले भने, “उद्योग क्षेत्र नै जङ्गलजस्तो भएकाले गाउँलेले लेखेटेका जङ्गली हात्ती पर्खाल भत्काएर पस्ने गरेका छन् ।” उद्योगले भारतबाट भित्र्याएको रासायनिक मललाई प्याकेजिङ मात्र गरेर नेपाली ब्राण्डमा बेच्न थालेपछि लुना मलको बजार छिट्टै खस्किएको थियो । मल अलोकप्रिय भएपछि उद्योग तत्कालै बन्द भएको स्थानीय जानकार बताउँछन् । कृषि विकास बैंकको ऋण तिरिदिएर काठमाडौँ निवासी नीरकुमार श्रेष्ठले रु सात करोडमा १४ महिनाअघि सो उद्योग आफ्नो नाममा बनाएका थिए । श्रेष्ठले हाल इटहरीका एक व्यवसायीलाई छालाको ज्याकेट बनाउने उद्योगका लागि बिक्री गर्ने प्रक्रियामा रहेको बुझिएको छ । अर्को मल उद्योग पनि बन्द झापाको भद्रपुर नगरपालिका–५ मा उद्योगी सुवोध कोठारी, दीपक पोखरेल, बुद्धि घिमिरे र ओम अग्रवालको संयुक्त लगानी खोलिएको एभरेष्ट केमिकल एण्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि पनि बन्द भएको छ । आठ वर्षअघि रु चार करोडको लगानीमा स्थापना गरिएको सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले मिश्रित दानादार धनवर्षा मल उत्पादन गर्दै आएको थियो । आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक बुद्धि घिमिरेले बताए । एक बिघा १४ कठ्ठा जमिन खरीद गरेर सञ्चालनमा ल्याइएको सो उद्योगको मल बनाउने मेसिन काम नलाग्ने अवस्थामा पुगेको छ ।रासस

लक्ष्मी बैंकको नाफा ९० करोड, गत वर्षभन्दा २५ प्रतिशत धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले खुद नाफा २४.७६ प्रतिशतले बढाएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७ करोड ८३ लाख रुपैयाँ संचालन नाफा गरेको लक्ष्मीले यो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ संचालन नाफा गरेको छ । बैंकमा सर्वसाधारणको निक्षेप ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप छ । यस्तै, कर्जा तथा लगानी ८५ अर्ब ५ करोड २५ लाख रुपैयाँ छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप ८० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ थियो भने ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । लक्ष्मीले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ व्याज आम्दानी गरेको । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कष्ट अफ फण्ड ७.२१ प्रतिशत, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ । साथै पुस मसान्तसम्म बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत छ ।

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाइँ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा रहेको थियो । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ । कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्ट आईपीएस र विभिन्न बैंकिङ च्यानलहरुबाट यी भुक्तानीहरु गर्न सक्नेछन् । प्रारम्भिक रुपमा प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ति बुझाउनुपर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन । साथै, पछिल्लो तहमा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परीक्षण शुल्क, कम्पनी नवीकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाइन मार्फत भुक्तानी गर्न सकिने छ ।