एलआईसीको सेयर बेच्ने भारत सरकारको घोषणा, ८ देखि १० खर्ब भारू उठाउने लक्ष्य
काठमाडौं । भारत सरकारले भारतीय जीबन बीमा निगम (एलआईसी) को सेयर विक्री गर्ने बताएको छ । सरकारी स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सरकारी स्वामित्वका कम्पनीको सेयर विक्रीबाट २१ खर्ब भारु उठाउने बताइएको छ । यही क्रममा एलआईसीको सेयर बेच्न लागिएको हो । भारत सरकारले जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गर्दै सन् १९५६ मा बेग्लै ऐन ल्याएको एलआईसी स्थापना गरेको थियो । जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गरेको ६४ वर्षपछि शतप्रतिशत सरकारी लगानीको कम्पनीकै सेयर विक्री गर्ने तयारीमा भारत सरकार छ । सो कम्पनीको कति प्रतिशत सेयर विक्री गर्ने भन्ने बारेमा भारत सरकारले केही बताएको छैन । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले एक समाचारमा एलआईसीको ८ देखि १० खर्ब रुपैयाँ बराबरको सेयर भारत सरकारले बेच्न सक्ने अनुमान गरेको छ । भारत सरकारले सेयर विनिबेसबाट उठाउने लक्ष्य राखेको २१ खर्ब भारुमध्ये एलआईसी र आईडीबीआई बैंकको सेयर विक्रीबाट ९ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको बीबीसीले एल्लेख गरेको छ । भारतको जीबन बीमा बजारमा एलआईसीको सेयर हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारत सरकारले सन् २००९ देखि राजस्व घाटा कम गर्न सरकारी कम्पनीको सेयर बेच्दै आएको छ ।
यामाहाले शुरू गर्दै नयाँ अभियान, बाइककाे एफआइ प्रविधि र कार्बरेटर बारे जानकारी दिने
काठमाडौं । यामाहा टू ह्वीलर्सको आधिकारीक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेजले नयाँ अभियान शुरू गर्ने भएकाे छ । इन्टरप्राइजेजले मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआइ) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक उक्त अभियानको थालनी गर्न लागेकाे हाे । फ्युल इन्जेक्टेड(एफआइ) इन्जिन र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इसियु मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ । अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्र्याइसकेको हो । यो प्रविधि एफ जेड सिरिजहरु, आर-सिरिजहरु र हालसालै मात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ । यामाहाले भर्खरै आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर बजारमा छाप छोड्न सफल भएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्रमा १३०० किमि र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको प्रमर्फेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो । एफआइ प्रविधि भएका कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो । यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउँछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ । साथै, कम लागतको मर्मतबाट लाभ दिने बारे जानकारीका पाउन आवश्यक रहेको मोरङ अटो वक्र्सका बजार आधिकारीले बताए ।
सानिमा बैंकसहित दुई संस्थाको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सानिमा बैंकको कूल ८० लाख एक हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ । आइतबारको बजारमा दुबै संस्थाको सेयर मूल्य बढिरहेको छ । साढे १ बजेसम्म सानिमा बैंकको सेयर मूल्य ८ रुपैयाँले बढेर प्रतिकित्ता ३५५ रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिसम्म गरिमा विकास बैंकको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनसेललाई पुँजीगत लाभकर नबुझाउँदासम्म थप फ्रिक्वेन्सी नदिन संसदीय समितिको निर्देशन
काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई थप फ्रिक्वेन्सी नदिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले १८०० व्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिन लागेको थियो । एनसेलको सेयर खरिद विक्री प्रक्रियामा सरकारलाई बुझाउनु पर्ने पुँजीगत लाभकर बाँकी रहेको कारण समितिले यस्तो निर्देशन दिएको हो । आज (१९ माघ) बसेको समितिको बैठकले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेपछि मात्रै एनसेललाई सो फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । प्राधिकरणले नयाँ फ्रिक्वेन्सी दिने प्रक्रिया अगाडि बढाइरहेको समयमा समितिको यस्तो निर्देशन आएको हो । प्राधिकरणले एनसेललाई नयाँ फ्रिक्वेन्सी दिनको लागि कर प्रशासनसँग आवश्यक समन्वय पनि गरिसकेको छ । केही दिन अगाडि मात्रै प्राधिकरणले ठूला करदाता कार्यालयमा पत्राचार गर्दै एनसेलले तिर्नु बुझाउनु पर्ने कर तिरेनदिएको जानकारी मागेको थियो । प्राधिकरणले मागेको जानकारीमा ठूला करदाता कार्यालयले किस्ताबन्दीमा कर तिर्ने सुविधा माग गरेको र सोही अनुसार किस्ताबन्दी रुपमा कर तिरिरहेको विवरण सहितको जानकारी प्राधिकरणलाई गराएको थियो । एनसेलले पुँजीगत लाभकर वापत बुझाउनु पर्ने कुल २२ अर्ब ४४ करोड ९७ लाख ९५५ रुपैयाँ ५ पैसाबाट हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । उसले बुझाउन बाँकी रहेको १८ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यसम्ममा किस्तामा बुझाउन माग गर्दै ठूला करदाता कार्यालयमा निवेदन दिएको छ ।
बुद्ध एयरले शुरू गर्याे काठमाडौ-राजविराज दैनिक उडान
सप्तरी । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई रु दुई हजार ५०० न्यूनतम भाडादर कायम गरिएको छ । पहिलो उडान लिएर राजविराज ओर्लेको विमानस्थलका चालक दल सहित यात्रुलाई शनिबार सप्तरी उद्योग वाणिज्य सङ्घ र राजविराज नगरपालिकाले स्वागत गरेका थिए । पर्यटकको आवागमनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने सङ्घका अध्यक्ष अरुण प्रधानले बताए । सो अवसरमा राजविराज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शहर भएकाले यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । राजविराज विमानस्थलमा सो एयरलायन्सले दैनिक उडान सेवा शुरु गरेसँगै यात्रुलाई राहत मिल्ने विश्वास गरिएको छ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई थप हवाई सुविधा पुग्ने कम्पनीका प्रवक्ता रुपेश जोशी जानकारी दिए । उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समयतालिका निर्धारण गरिएको स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए । कम्पनीका अनुसार काठमाडौँबाट राजविराजको उडान अवधि करीब ३५ मिनेटको हुनेछ । राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेका थिए । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माणकार्य सम्पन्न भएसँगै विसं २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । ६० मिटर चौडाइ तथा ९० मिटर लामो एप्रोन रहेको राजविराज विमानस्थलमा ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी वे रहेको छ । यहाँबाट छिन्नमस्ता, वराहक्षेत्र, कोशीटप्पु, सलहेश बहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएको छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने जानकारी दिइएको छ । रासस
आइएफआरसीकाे महासचिव पदमा पहिलो नेपाली चापागाईं नियुक्त
काठमाडाैं । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन् । उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व हुन् । महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उनलाई सो पदमा निर्वाचित गरेको थियो । उनले प्राप्त गरेकाे मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गरेकाे जनाइएको छ । बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन् । सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ । लिखित तथा मौखिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट सो पदमा छनोट गर्दछ । उनको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ । विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ । युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पुर्याएको जनाइएको छ । हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ थिए । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएको परिवारमा उनी हुर्किएका थिए। अहिले ५२ वर्षमा हिँडिरहेका छन् । उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गरेका थिए । भारतबाट खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन गरेका उनले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उनी प्रवेश गरेका थिए । उनले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाए । सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए । चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पुर्याउन उनले नै नेतृत्व प्रदान गरे । विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उनी १४ गते काठमाडौँ आइ अन्तरराष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए । महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो । उहाँ पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बनेका छन् । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उनले जानकारी दिए । रासस
प्रभावकारी बन्याे स्थानीय पाठ्यक्रम, विद्यार्थी संस्कारी बन्न प्रेरित
सुरुङ्गा । बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको स्थानीय पाठ्यक्रम निकै प्रभावकारी देखिएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत (निजी) सहित ७४ वटा विद्यालयमा आचरण सचेतना शिक्षाको पठनपाठन हुँदै आएको छ । नगरपालिकाले गत आव २०७५/७६ मा रु छ लाख बजेट विनियोजन गर्दै ‘आचरण सचेतना शिक्षा’ नगरका सबै विद्यालयमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शैक्षिकसत्र २०७६ देखि लागू भएको छ । स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू भएपछि विद्यार्थीलाई संस्कार संस्कृति सिकाउन सहज भएको अनारमनी प्राथमिक विद्यालयका प्रधानाध्यापक टङ्क कटुवालले बताए । ‘आचरण सचेतना शिक्षा’को पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रीतिरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने सवारी नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने हानी नोक्सानीलगायत विषयवस्तुलाई समेटिएकाले व्यावहारिक शिक्षा सिकाउन सहज भएको प्रधानाध्यापक कटुवालको भनाइ छ । कक्षा ३ र ४ मा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएको पुस्तकभित्र पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकासलाई समेत समेटिएकाले विद्यार्थीको आनीबानी सुधार्नसमेत सहज भएको प्रधानाध्यापक कटुवालले बताए । उनले भने, “सानै उमेरदेखि यो खाले शिक्षा विद्यालयमा विद्यार्थीलाई सिकाउने हो भने विद्यार्थी संस्कारी बन्ने रहेछन् ।” विद्यार्थीलाई घरपरिवार, आफन्त, शिक्षक, आफूभन्दा ठूला र सानासँगको व्यवहार सिकाउन नगरपालिकाले लागू गरेको ‘आचरण सचेतना शिक्षा’ अत्यान्त प्रभावकारी भएको न्युटन्स एजुकेशन एकाडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाइले बताएका छन् । उनले भने, “सानै उमेरदेखि सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियम जस्ता विषयवस्तुसमेत यो पाठ्यक्रममा समेटिएकाले यो शिक्षा विद्यार्थीका लागि अति प्रभावकारी देखिएको छ ।” नगरपालिकाले भने ‘आचरण सचेतना शिक्षा’ लागू गर्दै विद्यार्थीलाई सभ्य र संस्कारयुक्त बनाउन सकिने अपेक्षा राखेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रयोगात्मकरूपमै विद्यार्थीलाई शिक्षा दिन सकिने गरी पाठ्यक्रम निर्माण गरिएकाले यो शिक्षा प्रभावकारी र नतिजामुखी हुने बताए । उनले भने, ‘‘परिकल्पनामा बालबालिकाको नैतिक, व्यावहारिक र व्यक्तित्व विकाससहितको विद्यालय शिक्षामा गुणात्मक परिर्वतन गर्न यो पाठ्यक्रम लागू गरिएको हो ।’’ नगरले लागू गरेको स्थानीय पाठ्यक्रमलाई प्रत्येक शैक्षिक सत्रमा कक्षा वृद्धि गर्दै लगिने भएको छ । आचारण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्म पठन–पाठन हुने गरी नगरपालिकाले तयारी गरिरहेको नगर शिक्षा अधिकृत तीलचन भण्डारीले बताए । नगरपालिकाले अरु सबै विषय उत्तीर्ण गरेपनि आचरण सचेतना शिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीलाई माथिल्लो कक्षा पढ्न नपाउने नीति लिएको बताइएको छ । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना शिक्षा’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन भइरहेको छ । नगरपालिकाले विद्यालयमा भएकै शिक्षकलाई तालिम दिएर यो विषय लागू गरेको जनाएको छ । विद्यालयमा पढेका तथा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसँगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने नगर शिक्षा अधिकृत भण्डारीले बताए । बिर्तामोड नगर क्षेत्रमान अहिले कक्षा ३ र ४ का पाँच हजार विद्यार्थीले आचारण शिक्षा लिइरहेका छन् । आचरण शिक्षा व्यवहार उपयोगी र आवश्यक रहेको अभिभावकको भनाइ छ । आचरण सचेतना शिक्षा शुरु भएसँगै विद्यार्थीको दैनिकी र व्यवहारमा सकारात्मक परिवर्तन आएको सरस्वती माध्यमिक विद्यालय बिर्तामोड–५ बुट्टावारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुगंघ कन्दङ्वाले बताए । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको सङ्घीय ढाँचाअन्तर्गत स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्थाअनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई उपयोग गर्दै बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको बताइएको छ । प्राथमिक विद्यालय पाठ्यक्रमले प्राथमिक तह भर स्थानीय तहमा मातृभाषा/स्थानीय विषयगत पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार अहिले बिर्तामोड नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गर्दै लागू गरेको हो । रासस
मुक्तक मेलामा तेह्र नारी स्रष्टाले गरे रचना वाचन
काठमाडौं । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको हो । कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरेर सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्न पाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए । वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे । कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए । कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए । वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रङ्खला हो ।