व्यावसायिक च्याउखेतीतर्फ महिला, थोरै लगानीमा मनग्य आम्दानी

<p>काठमाडौं । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि सप्तरीको सुरुङगा नगरपालिका–२ तेतहरी महिला च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । उनीहरु समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा महिला समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको महिला किसान बताउँछन् । “च्याउखेती गरेर मासिक आठ हजारदेखि १० हजार रूपैयाँसम्म आम्दानी गर्दै [&hellip;]</p>

काठमाडौं । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि सप्तरीको सुरुङगा नगरपालिका–२ तेतहरी महिला च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । उनीहरु समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा महिला समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको महिला किसान बताउँछन् ।

“च्याउखेती गरेर मासिक आठ हजारदेखि १० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको छु”, सुरुङगा नगरपालिका–२ तेतहरीकी अञ्जना सिंहले भने, “च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।” उनलाई यतिबेला बजारसम्म च्याउ पुर्याउन भ्याइनभ्याई भइरहेको छ । आफ्नै जग्गामा च्याउखेती गर्दै आएकी अञ्जनालाई कतिबेला च्याउ टिप्ने र बजारसम्म पुर्याउने भन्ने हतारो भइरहेको छ ।

सामान्य लेखपढ गर्न मात्र जानेकी सिंहले अहिले आफ्नो जग्गामा च्याउ उत्पादन गरी गाउँ नजिकैको कदमाहा, दौलतपुर, भेडिया, शिशुवारीलगायतका बजारमा पु¥याएर राम्रो आम्दानी गर्दै आएको बताइन् । केही वर्षअघिसम्म कुनै काम गर्न नजानेको भन्दै परिवारका सदस्यबाट अपमानजनक व्यवहारको पीडा खेप्दै आएकी सिंहले च्याउखेती गरेर राम्रो आम्दानी गर्न थालेपछि अहिले परिवारमा मात्र होइन, उनको प्रशंसा गाउँभरि नै हुन थालेको छ ।

करीब तीन वर्षदेखि व्यासायिकरूपमै च्याउ गर्न थालेकी हुन्, “ कुनै दिन त एक हजार रुपैयाँसम्म पनि बिक्री भइहाल्ने गरेकाले च्याउखेतीबाट आफू सन्तुष्ट रहेको छु ।” स्थानीय महिला समूहमा आबद्ध भएकी अञ्जना त्यही समूहकै माध्यमबाट च्याउखेतीको तालीम लिएर व्यावसायिक रूपमै च्याउखेती शुरु गरे । च्याउखेतीबाटै परिवारको गुजारासँगै छोराछोरीलाई उच्च शिक्षामा पढाउँदै आएको अञ्जनाले बताइन् ।

सोही ठाउँकै पविता चौधरीले पनि करीब दुई वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय सप्तरीबाट तालीम लिएर व्यावसायिकरूपमै च्याउखेती गर्न थालिन् । विनाकाम अरुको विषयमा कुरा काटेर समय बिताउँदै आएकी पविता लालीगुँरास सामाजिक परिवारमा आबद्ध छिन् । उनले भनिन्, “त्यत्तिकै कुरा काटेर समय बिताउनुभन्दा केही काम गरेर आम्दानी गर्ने सोच पलाएपछि च्याउखेतीतर्फ आकर्षित भएकी हुँ ।”

च्याउ खान स्वादिष्ट र स्वस्थ्यकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले सप्तरीका बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । च्याउको मूल्य महङ्गो भएकाले सप्तरीका बजारमा च्याउको बिक्री कम भए पनि आफूले उत्पादन गरेको च्याउ व्यापारीमार्फत काठमाडौंसहित देशका विभिन्न शहरमा पुग्ने गरेको पविताको कथन छ ।

थोरै लगानीमा लोभलाग्दो आम्दानी हुन थालेपछि अञ्जना र पविता मात्रै होइन, सो ठाउँका अधिकांश महिलाले च्याउखेतीलाई नै आम्दानीको मुख्य आधार बनाएका छन् । महिला यसरी व्यावसायिकरूपमै च्याउखेती गर्न थालेपछि अहिले यो बस्तीको परिचयसमेत फेरिएको छ । महिलाले च्याउ उत्पादन गरेरै आम्दानी गर्न थालेपछि यो बस्तीलाई च्याउ बस्तीका रूपमा समेत चिनिन थालिएको स्थानीयवासी बताउँछन् ।

च्याउ खेतीलाई एउटा नगदे बाली तथा व्यावसायिक पेशाको रूपमा लिएर च्याउखेती गर्दै आएका छौँ, अञ्जनाले भनिनन्, “समयअनुसार धान, गहुँ र अन्य तरकारी खेतीसमेत गर्छौ बाँकी समयमा हामी च्याउखेती गर्दै आएका छौं।” आम्दानीको राम्रो उपाय पाएपछि अहिले सो बस्तीका महिला मासिक १ सयका दरले मासिक बचतसमेत गर्दै आएकी छन् । समूहमा आबद्ध सदस्यले आयआर्जनका लागि च्याउखेतीका साथै गाउँमा अधिकारमुखी अभियानसमेत सञ्चालन गर्दै आएको अञ्जनाको कथन छ ।

शुरुमा हामीलाई च्याउखेतीबारे जानकारी थिएन, समूहका अध्यक्षसमेत रहनुभएकी अञ्जनाले भनिन्, “जब सामाजिक परिवारमा आबद्ध भएर, त्यहीमार्फत समूहमै च्याउखेतीसम्बन्धी तालीमसँगै सहुलियतदरमा च्याउको बीउ उपलब्ध भएपछि हामी च्याउखेतीमा जोडिएका हौं ।”

घरकै काममा सीमित रहँदै आएकी यहाँका महिलामा पछिल्लो समय देखिएको परिवर्तनबाट अरु ठाउँका महिलाले पनि पाठ सिकेर व्यावसायिकरूपमा अघि बढ्न सके महलिाप्रतिको सामाजिक दृष्टिकोणमा समेत परिवर्तन आउने स्थानीय बुद्धिजीवी रामप्रसाद चौधरीको भनाइछ । रासस

Share News