घरेलु उद्योग र ट्याक्सी चालकले पनि पुनरकर्जा पाउने, व्याजदर ५ प्रतिशत मात्रै

<p>काठमाडौं । घरेलु तथा साना उद्योग संचालन गर्ने र ट्याक्सी तथा टेम्पो चलाउन ऋण लिएका व्यक्तिले पनि पुनरकर्जा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पुनरकर्जा कार्यविधिमा ट्याक्सी तथा टेम्पो चालकले पनि ५ प्रतिशत व्याजको पुनरकर्जा सुविधा लिन पाउने व्यवस्था गरिएको छ । ‘व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने [&hellip;]</p>

काठमाडौं । घरेलु तथा साना उद्योग संचालन गर्ने र ट्याक्सी तथा टेम्पो चलाउन ऋण लिएका व्यक्तिले पनि पुनरकर्जा सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पुनरकर्जा कार्यविधिमा ट्याक्सी तथा टेम्पो चालकले पनि ५ प्रतिशत व्याजको पुनरकर्जा सुविधा लिन पाउने व्यवस्था गरिएको छ ।

‘व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन,’ कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकले सवारी कर्जामा पुनरकर्जा सुविधा उपलब्ध नगराउने व्यवस्था गरेको पनि व्यक्तिगत नाममा कर्जा लिइ ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गर्नेहरुले पनि पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ ।

लघु, घरेलु तथा साना उद्यमले पनि पाउने

नेपाल राष्ट्र बैंकले दिने पुनरकर्जालाई ती प्रकारमा वर्गीकरण गरेको छ ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिएको छ । यस्तै, विशेष पुनरकर्जा बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने भनिएको छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिने कार्यविधिमा उल्लेख छ ।

यसबाहेक नेपाल राष्ट्र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

व्याजदर

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको व्याजदर ५ प्रतिशत तोकिएको छ । ऋणीले यस्तो कर्जा प्रयोग गरे वापत बैंक तथा वित्तीय संस्थाहरुलाई ५ प्रतिशत व्याज दिनुपर्छ भने बैंक वित्तीय संस्थाहरुले त्यो ५ प्रतिशतमा ३ प्रतिशत आफूले राखेर बाँकी रहेको २ प्रतिशत व्याज नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्छ ।

विशेष पुनरकर्जाको व्याजदर ३ प्रतिशत छ । भने साधारण पुनरकर्जाको व्याज पनि ५ प्रतिशत नै छ ।

कति समयलाई पाइन्छ ऋण ?

एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुदैन ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ ।

कतिसम्म पाइन्छ ऋण ?

नेपाल राष्ट्र बैंकबाट आह्वान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकबाट आह्वान गरी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

कसरी पाइन्छ ऋण ?

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकले देहाय बमोजिमको प्रक्रियाबाट पुनरकर्जा प्रदान गर्नेछः

(१) प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

(क) एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ ।

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्रमा बैंक तथा वित्तीय संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउनेगरी निवेदन पेश गर्न सक्नेछन् ।

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुनरकर्जा स्वीकृत गर्न सकिनेछ ।

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सो रकमको प्रवाह बजारको अवस्था, इजाजतपत्रप्राप्त संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा उपलब्ध गराउनेगरी वितरणको तालिका बनाई सोही अनुसार प्रवाह हुनेछ ।

(ङ) स्वीकृत पुनरकर्जा रकम भुक्तानी हुनुअघि बैंक तथा वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले आवश्यक कागजात सहित तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी इजाजतपत्रप्राप्त संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।

(च) तमसुकको प्रक्रिया सम्पन्न भई बैंक तथा वित्तीय संस्थाले भुक्तानी प्राप्त गरे पश्चात सम्बन्धित सबै ग्राहकलाई पुनरकर्जा बापत प्रदान गर्नुपर्ने व्याजदर सुविधा पुनरकर्जा अवधिभर प्रदान गर्नुपर्नेछ ।

(३) ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा देहायको प्रक्रिया अवलम्बन गरी पुनरकर्जा उपलब्ध गराइने छ ।

(क) पुनरकर्जाको लागि बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूवाट आवेदन आह्वान गर्नेछ ।

(ख) उक्त आह्वानमा तोकिएको समयावधि भित्र पुनरकर्जा आवश्यक पर्ने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले निवेदन पेश गर्न सक्नेछन् ।

(ग) एकमुष्ट पुनरकर्जाको लागि निवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी निर्णय गर्नेछ । यसरी पुनरकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्न सकिनेछ ।

(घ) एकमुष्ट पुनरकर्जा स्वीकृत भएपछि सम्बन्धित ‘घ’ वर्गका संस्थामा सो रकमको प्रवाह, बजारको अवस्था, संस्थाको तरलताको अवस्था आदिलाई दृष्टिगत गरी एकै पटक वा विभिन्न समय–अन्तरालमा अलग अलग किस्तामा प्रवाह गर्न सकिनेछ ।

(ङ) बैंकबाट स्वीकृत रकम भुक्तानी हुनुअघि सम्बन्धित ‘घ’ वर्गका संस्थाले बैंक समक्ष आवश्यक कागजात सहित तमसुक लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ ।

(च) ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको अख्तियार प्राप्त अधिकारीले तमसुक लगायतका सम्बन्धित कागजातमा हस्ताक्षर गर्नुपर्नेछ । यस्तो अख्तियारी ‘घ’ वर्गका संस्थाको प्रमुख कर्जा अधिकृत वा सो भन्दा माथिल्लो स्तरको कर्मचारीलाई प्रदान भएको हुनुपर्नेछ ।
(छ) तमसुकको प्रक्रिया सम्पन्न भई बैंक तथा वित्तीय संस्थाले भुक्तानी प्राप्त गरे पश्चात यस्तो पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन गर्नुपर्नेछ ।

कस्तो व्यवसायमा पाइन्छ ऋण ?

(१) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि (क) सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु.१५ लाखसम्मका कर्जाहरू, (ख) प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटना अघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु.१५ लाखसम्मका कर्जाहरू, (ग) प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, (घ) वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, (ङ) कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, (च) कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, (छ) तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाहरु, (ज) बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू ।

(२) विशेष पुनरकर्जाका लागि (क) सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, (ख) न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, (ग) रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, (घ) वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु,

(ङ) कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु ।

(३) साधारण पुनरकर्जाका लागि (क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू, (ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू ।
(ग) कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू । (घ) तोकिएका उद्योगलाई प्रवाहित कर्जाहरु ।

कस्तो व्यवसायमा पाइदैन ऋण ?

पुनरकर्जा सुविधाका लागि अयोग्य हुने कर्जाहरुमा (१) कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू । तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिनेछैन ।

(२) व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु ।
(३) पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु ।
(४) चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरु ।
(५) बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु ।

कार्यविधि यस्तो छ

[pdf id=228801]

Share News