विकासन्युज

निफ्राले शून्यमा झार्यो खराब कर्जा, वितरणयोग्य नाफा ५३.७७ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २८.५३ प्रतिशत घटेर ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७६ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेर २ करोड २२ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत घटेर १ अर्ब १० करोड ३५ लाख २ हजार रुपैयाँ र सञ्चालन नाफा २८.४२ प्रतिशत घटेर ९२ करोड २ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५२ लाख ४८ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ०.२३ प्रतिशत र कर्जा लगानी १६.५१ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७३.५५ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा शून्यमा झारेको छ । जबकि गत वर्षको चैतमा ०.२१ प्रतिशत खराब कर्जा थियो । बैंकका अनुसार आधार दर ६.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.०५ प्रतिशत थियो ।  बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर ३.९७ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा छ ।

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पुर्याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । ‘पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् । पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो’, उनले भने, ‘गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ।’ जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् ।  वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ ।  फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ। यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् ।  गुरुङकाअनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक/सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।  चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए । ‘छुर्पीको निर्यातमा कहिलेकाहीँ समस्या आउने गरेको छ। तर बिक्री राम्रै भइरहेको छ’, उनले भने, ‘अहिले याक चिज उत्पादन भइरहेको छ। यसको बजार पनि राम्रै छ। तर मूल्य वृद्धि हुनुपर्छ।’ याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ ।  उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ । ‘गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ। चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो’, गुरुङले भने, ‘तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ। यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ ।’ यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घ्यूसमेत महोत्सवमा राखिएको थियो । असाध्यै मेहनत पर्ने भएकाले भेडाको घीउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ । ‘भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ । माग अत्यधिक छ तर, घीउ उत्पादन गर्न कठिन पर्ने गरेको छ’, उनले भने, ‘यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो ।’ विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ। महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् । महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ । रासस 

लौका किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, टाटेसिमी प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु २२०, तीते करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिन्डी प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ५५, सक्खरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५५, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १४०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, कागती प्रतिकेजी ३६०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाटी (चाइनिज) प्रतिकिलो रु ३६०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी अकबरे प्रतिकिलो रु ३५०, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

सीमा कडाइप्रति बिस्कुट उद्योगी खुशी, राजस्व २ सय करोडबाट बढेर ३०० करोड पुग्ने

काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले सीमा व्यवस्थापन कडा बनाउने सरकारको कदमप्रति स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा स्वदेशी उद्योग संरक्षण तथा उत्पादनमुखी अर्थतन्त्रलाई मजबुत बनाउन सरकारले लिएको निर्णय सकारात्मक भएको उल्लेख गरिएको छ ।  नेपालमा हालसम्म ४० वटा बिस्कुट उद्योग स्थापना भए पनि १७ वटा मात्र सञ्चालनमा रहेको र २३ वटा बन्द अवस्थामा रहेको संघले जनाएको छ । संघका अनुसार बिस्कुट उद्योगमा करिब १० हजार प्रत्यक्ष र १ लाख अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ भने करिब १ लाख ५० हजार किसान यस क्षेत्रसँग आबद्ध छन् । उद्योगको कुल कारोबार १,५०० करोड रुपैयाँभन्दा बढी भए पनि सीमावर्ती क्षेत्रमार्फत हुने अवैध आयात वार्षिक ६०० करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ । अवैध आयातका कारण स्वदेशी उत्पादनको बजार खुम्चिएको र कच्चा पदार्थ भने कर तिरेर आयात गर्नुपर्ने अवस्थाले उद्योग थप दबाबमा परेको संघको भनाइ छ । यस्तो अवस्थामा सीमा कडाइ, कर छली नियन्त्रण र नियमअनुसार मात्र आयात हुने व्यवस्था उद्योग, रोजगारी र राजस्वका लागि लाभदायक हुने उल्लेख गरिएको छ । संघले अवैध आयात रोक्न सकेमा उद्योगबाट संकलन हुने प्रत्यक्ष कर हालको करिब २०० करोड रुपैयाँबाट बढेर ३०० करोड रुपैयाँसम्म पुग्न सक्ने तथा थप ५ हजारभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने दाबी गरेको छ । पहिले पनि सीमा कडाइपछि स्वदेशी बिस्कुटको माग बढेको, बन्द उद्योग पुनः सञ्चालनमा आएको र राज्यकोषमा योगदान वृद्धि भएको अनुभव रहेको भन्दै संघले यस्तो नीति दीर्घकालीन रूपमा निरन्तर लागू गर्न सरकारसँग आग्रह गरेको छ । संघले विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा अनिवार्य बिल जारी गर्ने व्यवस्थाको पनि स्वागत गरेको छ । साथै, उपभोक्तालाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र व्यापारी तथा खुद्रा विक्रेतालाई पहिले नेपाली उत्पादन राख्न आग्रह गरिएको छ । ‘नेपाली उत्पादन किन्नु भनेको रोजगारी जोगाउनु, किसानलाई प्रोत्साहन गर्नु र देशलाई आत्मनिर्भर बनाउनु हो,’ संघले जनाएको छ ।

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ९० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गर्ने भएको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड–२ बिक्री खुला गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड-२को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गर्ने जनाएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना १२ वर्षे बन्दमुखी प्रकृतिको हुनेछ । निष्काशन गरिने कुल १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ । लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । उक्त फण्डको निष्काशन तथा बिक्री प्रबन्धक पनि सिद्धार्थ क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

उच्च शिक्षा सुधारका लागि आज प्रधानमन्त्री र उपकुलपति छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा आमन्त्रित गरिएको छ । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, तिनका समाधानका उपाय तथा तत्काल समाधान गर्न सकिने विषयहरूबारे विस्तृत छलफल हुने जनाइएको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । साथै पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित रहनेछन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा सहभागी हुनेछन् । त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि छलफल हुने कार्यक्रम छ । साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन् । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन् । सरकारले उच्च शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान र सुधारका उपाय खोज्न यो छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

याम्बालिङ्ग हाइड्रोले वैशाख १६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा २१ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा छिटोमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।