विकासन्युज

आज यी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।  यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।  देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

बढ्दो सम्बन्ध विच्छेद, अधिकारको उपयोग कि विकृति ?

नारायण न्यौपाने काठमाडौं । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म  काठमाडौं जिल्ला अदालतमा २ हजार ९०७ वटा सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता भएकामा १ हजार ३९ मुद्दाको फैसला भइसकेको छ ।   विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्ध विच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या १ हजार ९४७ रहेको छ । सर्वोच्च अदालतको  २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वोच्च अदालतमा ११९ र उच्च अदालतमा १ हजार ५४१  सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सोही आवमा ३३ हजार ५० वटा मुद्दा फर्छ्यौट भएकामा ९ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन । त्यसमध्ये जिल्लाबाट ४१ हजार ७९ वटा मुद्दा फर्छ्यौट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आव २०८०/८१ मा ४० हजार ३२० वटा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा दर्ता भएकामा ३१ हजार ७५२ मुद्दा फर्छ्यौट भएको थियो भने ८ हजार ५६८ मुद्दा छिनोफानो हुन सकेन । यहाँ उल्लेखित तथ्याङ्कले के देखाउँछ भने पछिल्लो समय सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको सङ्ख्या एकदमै बढेको छ । बदलिँदो विश्व परिस्थितिको प्रभाव, आधुनिक नेपाली समाज र परिवारमा देखिने सामान्य मतभेदमा पनि सम्बन्धविच्छेद गरिहाल्ने प्रवृत्तिले सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकृत दीपक श्रेष्ठका अनुसार बैंकिङ कसुर र चेक अनादरपछि सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । कतिपय परिवारमा श्रीमान/श्रीमतीबीच सामान्य खटपट हुना साथ सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेको देखिएको छ । वैदेशिक रोजगार, परिवारको असहमतिमा हुने प्रेम-विवाह, अन्तर जातीय विवाह, आधुनिकता, अर्काको नक्कल गर्ने प्रवृत्ति, कुटपिट, माना चामल र हेरचाह नगरेको, नेपाली समाजमा खस्कँदै गएको संस्कार र संस्कृति तथा दम्पती बीचको मतभेदले पनि सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अनुमान गरिएको छ । अधिवक्ता गोकुल दवाडी वैदेशिक रोजगारी, आर्थिक अभाव, पारिवारिक तनावजस्ता कारणले सम्बन्ध विच्छेदको सङ्ख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘रिट निवेदन लिएर अदालतमा पुगेका सबैको सम्बन्ध विच्छेद भइहाल्छ भन्ने होइन, ५० प्रतिशत जतिको हुन्छ भने केही दम्पतीले मेलमिलाप गरेर फर्केका उदाहरण पनि छन् ।’ अध्ययन र रोजगारीका लागि ‘टिपेन्डेन्ट भिसा’मा जाने कतिपय युवा जोडीले त विवाह गरेको महिना दिन नपुग्दै दाम्पत्य सम्बन्ध अन्त्यका लागि फिरादपत्र लिएर अदालत आउँछन् । सूचना अधिकृत श्रेष्ठले विदेश जान प्रेम विवाह हतारमा गर्ने, परिवारलाई थाहा नहुने अनि कतिपय सामाजिक आस्था र परिवारको सहमति बेगर भएका कारण पनि सम्बन्ध विच्छेद भएको पाइन्छ । त्यसो त ज्येष्ठ नागरिक भइसकेका र बाँकी जीवनका लागि सहारा चाहिने उमेरमा पनि सम्बन्ध विच्छेद गरेका घटना प्रशस्तै छन् । हजुरबुबा-हजुरआमा उमेरका पनि सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेको कानुन व्यवसायी बताउँछन् । सम्बन्ध विच्छेदका मुद्दामा दुवै पक्ष सहमत भएमा काठमाडौं जिल्ला अदालतले दुई दिनमै निर्णय सुनाउन सक्ने व्यवस्था मिलाएको छ । अदालतमा सम्बन्ध विच्छेदका लागि आउने मध्ये कतिपय श्रीमतीसँगै बस्न सक्दिनँ भनेर आउँछन् भने केही श्रीमानले अंश दिन नपर्ने भनी निवेदनमा माग दाबी गरेको पाइन्छ । अधिकांश जोडीका बीचमा भने बच्चा र अंशका विषय मेलमिलापमा पुग्न र मुद्दालाई न्यायिक निरुपणमा पुर्याउन मुद्दा लम्बिने गरेको पाइन्छ । सम्बन्ध विच्छेदका लागि मुद्दा परेपछि अर्को पक्षलाई २१ दिन म्याद दिएर जानकारी गराउने, जवाफ आएपछि दुवैलाई मेलमिलापमा पठाउने र यस्तो मुद्दा एक वर्षसम्म राखेर छलफल गराउन सकिने कानुनी व्यवस्था छ । जेनजी आन्दोलनका बेलामा एकै दिनमा पनि त्यस्ता मुद्दालाई किनारा लगाइएको थियो । तर हतारमा गर्दा कागजमा त्रुटि हुने कारणले दुई दिनमा मात्रै छिनोफानो गर्ने गरिएको सूचना अधिकृत श्रेष्ठ बताउँछन् । परिस्थितिजन्य अवस्थामा त्यस्ता मुद्दा अधिकृत वारेसमार्फत पनि दर्ता गर्न सकिने छ । त्यो अवस्थामा अधिकांशमा अंश नलिएर छोडपत्र गरेको पाइन्छ । यो सङ्ख्या ३० वर्ष उमेर समूहको बढी छ । नातिनातिना खेलाउने उमेरका हजुरबुबा-आमा पनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेका छन् । त्यस्ता कतिपय श्रीमतीले श्रीमान्लाई तपाईँको साथ र संरक्षण  नरहे पनि सिन्दूर कायम रहोस् भन्ने गरेका छन् । त्यस्तो अवस्थामा श्रीमान् श्रीमतीमध्ये सम्पत्तिमा छोराछोरी कसका पक्षमा छ भन्ने अवस्थाले सम्बन्ध निर्धारण गर्छ । अधिवक्ता शरदचन्द्र गौतमका अनुसार अदालतमा रिट निवेदन लिएर आउने मुद्दामध्ये सम्बन्ध विच्छेदको सङ्ख्या धेरैमा पर्छ । पहिलेजस्तो सात जन्मसँगै बस्ने, धर्म र पापसँग जोडिएको नभई विवाहलाई एउटा करारका रूपमा लिने प्रचलन बढेको उनले बताए । देशको आयआर्जन वैदेशिक विप्रेषणमा निर्भर भएको र वैदेशिक रोजगारीका कारण श्रीमान् वा श्रीमती विदेशमा रहनुपर्ने बाध्यताले पनि केही हदसम्म सम्बन्ध विच्छेद बढ्नुमा कारकतत्वको भूमिका निर्वाह गरेको अधिवक्ता गौतमको भनाइ छ । जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न आएकी एक युवतीले भनिन्, ‘साथीमार्फत ऊ (श्रीमान) सँग चिनजान भयो । त्यसपछि प्रेम विवाह भयो । छोरी अहिले छ वर्षकी भई । म  २२ वर्षकी भएँ । पहिले ऊ होटलमा काम गर्थ्यो, पछि उसले काम छोड्यो । लागूऔषध सेवन गरेर हैरानी दिन थालेपछि सुरक्षित हुन सम्बन्ध विच्छेदका लागि आएकी हुँ ।’ अधिवक्ता ऋषिकेश श्रेष्ठका अनुसार वैदेशिक रोजगारीका हिसाबले श्रीमान् श्रीमतीसँगै बस्न अनुकूल नभएको र त्यसले उब्जाएको आशङ्का र फाटोले पनि सम्बन्ध विच्छेदका घटना बढाएको छ । उनले भने, ‘सम्पत्ति सुरुमा श्रीमतीको नाममा राख्ने अनि कतिपय स्वतन्त्रताप्रति आशङ्काको दृष्टिले हेर्ने प्रवृत्तिले यस्ता घटनाको बढोत्तरी भएको छ । नव युवापुस्ता विदेश जान अदालती दर्ता विवाह गर्ने अनि सम्बन्ध विच्छेदमार्फत सम्बन्ध अन्त्य गर्ने प्रचलन पनि देखिएको छ ।’ भाइबुहारीको सम्बन्ध विच्छेद मुद्दाको तारेख लिन काठमाडौं जिल्ला अदालत आइपुगेकी नुवाकोटकी एक महिलाले भनिन्, ‘भाइ विदेश बस्थ्यो, घरायसी कुरा नमिलेर पाँच÷छ वर्षदेखि बुहारीले घर छाडेर हिँडेकी छ ।’ अधिवक्ता सृजना कँडेलका अनुसार सम्बन्ध विच्छेदका लागि ५० वर्ष उमेर समूहमाथिको सङ्ख्या पनि उल्लेख्य छ । उनी भन्छिन्, ‘केही दिनअघि मात्रै धादिङकी ७० वर्षीया महिला र ७३ वर्षीय पुरुषको सम्बन्ध विच्छेद भयो । श्रीमानले दुईवटी सँग पहिले पनि सम्बन्ध विच्छेद गर्नुभएको रहेछ ।’ ती ७० वर्षीया वृद्धाले दुई दिन भएपनि श्रीमानसँग ‘डिभोर्स’ गर्छु भनेको अधिवक्ता कँडेलले सुनाइन् । उनले १५ वर्ष अघिसम्म सम्बन्ध विच्छेदको मुद्दा अदालतमा न्यून हुने गरेको बताइन् । हाल त्यो सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्लो पुस्ता झन् आफू स्वतन्त्र भएर बस्न र घरपरिवारबाट मुक्त हुन चाहन्छ । उनीहरूमा किन दबाबमा बस्ने भन्ने सोच छ । अदालत परिसरमा नाति च्यापेर बसेकी एक महिलाले भनिन्, ‘म जेठी श्रीमती हुँ । यो उमेरमा श्रीमानले कान्छी ल्याएर बसेको छ । छोरो बाहिर छ, हामीलाई घरमा आएर कुटपिट गर्नुहुन्छ । अदालतले पनि हामी जस्ता पीडितलाई छिटो न्याय दिलाउनुपर्छ । अहिले अंश र माना चामलका लागि दाबी गर्न आएकी हुँ ।’ अधिवक्ता राजन केसी सम्बन्ध विच्छेदमा खासगरी प्रेम विवाह, गरिबी, आर्थिक, रोजगारीलगायत पढाइलेखाइमा एकअर्काबीच अन्तर तथा सामाजिक अवस्थाले समेत प्रभाव पारेको बताउँछन् । सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा महिलाले दर्ता गरेमा अदालतले पीडामा परेको अनुमान गरी छिटो निष्कर्षमा पुग्छ । पुरुषले हालेको अवस्थामा फैसला भएको सङ्ख्या कम छ । उनले भने, ‘श्रीमान् र श्रीमती तीन वर्षसँगै नबसेको, खान लाउन नदिएको, मानसिक यातना दिएको जस्ता विषय जोडेर मुद्दा हाले पनि न्यायालयले भरसक परिवारको बिछोड होइन, जोड्ने काम गर्नुपर्छ भन्ने मान्यता राख्छ । धेरै मेलमिलाप हुनसक्ने सम्भावना पनि हुन्छ ।’ ‘ट्रेन्ड’कै रूपमा बढ्दो सम्बन्ध विच्छेदको दर हेर्ने हो भने कानुनी अधिकार प्रयोग गरी स्वतन्त्रता चाहनेको सङ्ख्या बढेको हो या स्वतन्त्रताका नाममा विकृतिले प्रोत्साहन पाइरहेको हो भन्ने विषयमा भने समाजशास्त्रीय कोणबाट अति सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने देखिएको छ । रासस

१९.११ अर्बमा ११० मेगावाटको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सोलुखुम्बु को माप्य दुधकोशी गाउँपालिका-२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा-४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ ।  आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रति वर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् । विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ । आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लो पटक अर्धजलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।  आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ । आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट २ हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ ।  आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टेसन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ बराबर रहनेछ । प्रवर्द्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँ बराबर रहेको छ । आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आज अक्षय तृतीया पर्व, अष्टदलमा १६ सामाग्री राखेर भगवान विष्णुको पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।  गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा तोयराज नेपाल बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । ‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ,’ उनले भने ।  आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ । शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँछन् ।

काठमाडौं-ढाका नियमित उडान गर्दै निगम, दिल्ली रुटमा सातामा १० उडान

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए ।  बङ्गलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ । त्यसैगरी निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप ३ दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौं-दिल्ली-काठमाडौं साताको १० उडान भइरहेको छ ।  कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धि मूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।   

गरिबका छोरीबुहारी व्यथाले छट्पटाउँदा अनमीको भर, २४ घण्टा नै सेवामा खटिन्छिन् टीकादेवी

काठमाडौं । सिरहाको नरहा गाउँपालिका-४ वर्छवामा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । सामान्यतया एउटा व्यवस्थित प्रसूति गृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ । भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूति गृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको ९ महिनामा यहाँ केवल १९ जनाले मात्र सुत्केरी सेवा लिएका छन् । तीमध्ये ११ जना स्थानीय ‘सदाय’ समुदायका विपन्न महिला हुन्, जो अन्यत्र जान आर्थिक वा भौगोलिक रूपमा असमर्थ थिए । वर्छवा स्वास्थ्य चौकीका प्रमुख महेश कुमार रजक स्वास्थ्यकर्मी अभावले रातको समयमा निकै चुनौती हुने बताउँछन् । उनले भने, ‘दिउँसो कार्यालय समयमा त हामी अन्य कर्मचारी पनि हुन्छौं, केही सहज हुन्छ । तर सुत्केरी गराउन प्रायः राति आउँछन्, जुन बेला एक जनाको भरमा सम्भव नै हुँदैन । कहिलेकाहीँ उहाँ (अनमी) पनि बिदामा बसेको बेला त संस्था नै खाली हुने अवस्था छ ।’ वर्षौदेखि सेवा दिइरहेकी अनमी टीकादेवी ढुङ्गेलले पनि एक्लै काम गर्दाको सकस सुनाउँदै भनिन्, ‘दिउँसो त्यति समस्या हुँदैन, तर रातको समयमा एक्लै सुत्केरी गराउनुपर्दा डर र जोखिम दुवै हुन्छ । कोही नभएपछि बिरामीको सेवाका लागि जे-जति सकिन्छ, गरिरहेकै छु ।’ प्रसूति गृहमा कर्मचारी अभाव देखाइरहँदा नरहा गाउँपालिकाले भने स्वास्थ्यका प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा खटाएको छ । स्वास्थ्यतर्फका सिनियर अहेव अरुण कुमार सिंहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने अर्का कर्मचारी बैजनाथ साहलाई ५ नम्बर वडाको सचिव बनाइएको छ । यतिमात्र होइन, अन्य तीन जना स्वास्थ्यकर्मीलाई कुनै ठोस जिम्मेवारी नदिई स्वास्थ्य शाखामा ‘काज’मा राखिएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत आदित्य कुमार कर्ण भने जनशक्ति अभावलाई नै मुख्य कारण भएको बताए । उनले भने, ‘हामीसँग स्वास्थ्यतर्फका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो । हामी व्यवस्था मिलाउँदैछौँ, चाँडै थप जनशक्ति पठाउने प्रयास गर्नेछौँ ।’ प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको कार्यक्षेत्रभन्दा बाहिर राख्दा दुर्गमका महिलाहरू सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेको स्थानीयको गुनासो छ । स्थानीय सकलदेव यादवले भने, ‘पालिकाले पहुँचवाला स्वास्थ्यकर्मीलाई वडा र जिन्सी शाखामा आराम गराएर राखेको छ, तर हामीजस्ता गरिबका छोरीबुहारी सुत्केरी व्यथाले छट्पटाउँदा एउटा अनमीको भर पर्नुपर्छ । यो त सिधा सिधा हाम्रो स्वास्थ्यमाथि खेलबाड हो ।’ एक्लो अनमीको भरमा चल्ने यस्तो सेवाले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम देखिएको स्थानीय बताउँछन् । उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्थापन गरी प्रसूति गृहलाई पूर्ण क्षमतामा चलाउन माग गरेका छन् ।

१ हजार घरलाई पुग्ने गरी ४३ लाखमा बन्दैछ लिफ्ट खानेपानी आयोजना

काठमाडौं । पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट गरी खानेपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला-तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको हो । सो आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका मोदी गाउँपालिका-६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज हुने अपेक्षा गरिएको छ । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । उत्खनन गरिएको पानी भन्डै एक किलोमिटरमाथि डाँडामा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए । यो आयोजनाबाट १ हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्कालका लागि अति समस्यामा परेका २०० घरपरिवारमा विस्तार गरिने भएको छ । आयोजनाका लागि मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका ३ लाखको श्रमदान गरी कुल ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने जनाइएको छ । बोरिङ गरेको स्थानभन्दा ३०० मिटरमाथि रहेको देउराली, मणी र पहरे गरी तीन स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरी घरघरमा वितरण गरिने छ । मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुइवटा शाखा ट्याङ्की १ हजार ५०० लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिनाअघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी रहेको पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आव्हानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।  चालु आर्थिक वर्षभित्रै सबै घरमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । 

रास्वपाका विभागहरूले पाए नयाँ जिम्मेवारी, कुनमा को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विभागका रिक्त पदमा नेताहरूलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नीति विचार विभाग प्रमुखमा संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै सदस्यमा सांसद सुशान्त वैदिकलाई मनोनयन गर्ने निर्णय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  त्यस्तै केन्द्रीय प्रशिक्षण विभागमा ६ जना सदस्य मनोनीत गरिएको छ । जसमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमिल्सिना र सुजनकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा कमल खनाल, तोरण विक र उदय सापकोटालाई पार्टीले मनोनीत गरेको छ ।  प्रवास नेपाली सम्पर्क विभागको प्रमुखमा पार्टी सचिवालय सदस्य दीपकराज बोहरा मनोनीत भएका छन् । उक्त विभागमा यसअघि पार्टी उपसभापति डीपी अर्याल रहेका थिए । उनी सभामुख भएपछि उक्त पद रिक्त रहेको थियो ।  महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीको आज बसेको बैठकले महाधिवशेन कार्यविधि मस्यौदा समिति गठन गर्ने  समेत निर्णय गरेको छ । जसको प्रमुखमा पार्टी महामन्त्री बुर्लाकोटी रहने र बाँकी सदस्य पछि थप गर्ने गरी निर्णय भएको छ ।