विकासन्युज

बैंकमा तरलता प्रशस्त छ, ब्याज तिर्ने समयावधि थपिन्छः गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेकोले व्याज तिर्ने समयावधि पनि थपिने बताएका छन् । सोमबार संसदको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारेको छलफलका क्रममा उनले बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब २ करोड तरलता प्रशस्त रहेको बताएका हुन् । यस्तै, उनले पुनर्कर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने पनि बताएका छन् । उनले पुनर्कर्जा प्रदान गर्न राष्ट्र बैंकले कार्यविधि तयार पारिसकेको बताउँदै यसले उद्योग तथा रोजगारीको क्षेत्रमा ठूलो सहयोग पुर्याउने बताए । मौद्रिक नीति मार्फत कर्जाको ब्याजदर तिर्ने समय थपको व्यवस्था गर्ने उनको भनाई छ । ‘मौद्रिक नीति मार्फत ब्याज पुँजीकरण गर्ने नीति आउँछ, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण हुन्छ, थप कर्जा प्रवाह गर्ने नीति आउँछ, साना तथा मझौला व्यवसायीलाई सहजीकरण गरिन्छ,’ उनले भने । यस्तै, उनले नयाँ मौद्रिक नीतिले आन्तरिक उत्पादन र रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने, विकासमूलक क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्नेलगायतका व्यवस्था गनमा जोड दिने बताए । मौद्रिक नीति मार्फत डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने कुरा पनि प्राथमिकतामा परेको उनको भनाई छ । उनले कार्यक्रममा राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स नदिने पनि बताएका छन् । उनले लाइसेन्सको प्रक्रियामा रहेकालाई समेत लाइसेन्स नदिने बताएका हुन् ।

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका छन् । अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र १ हजार ७ सात ५४ जनाको मृत्यु भएको छ ।   रासस–एएफपी

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ ।  बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो । उनले १७ किलोमा तीनदेखि ३ दशमलब ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको बताए । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए । सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दासमेत कोही पनि नआएको बताए । प्राविधिकरुपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्नसक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको हो । भासिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो । यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।   रासस

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला ९३ हजार ३ सयमा काराेबार

काठमाडाैं । सुन हालसम्मकै उच्च मूल्यमा काराेबार भइरहेकाे छ । आइतबार प्रतितोला ९२ हजार १ सय रूपैयाँमा काराेबार भएकाे सुन साेमबार प्रतिताेला ९२ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार प्रतिताेला ९१ हजार ८ सय ६५ रूपैयाँ काराेबार भएकाे तेजावी सुन आइतबार प्रतिताेला ९१ हजार ६ सय ६० रूपैयाँमा काराेबार भएकाे थियाे । आइतबार प्रतिताेला ९ सय ८० रूपैयाँमा काराेबार भएकाे चाँदी १० रूपैयाँ बढेर ९ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

राष्ट्र बैंकलाई सीबीफीनकाे सुझावः सेयरधितो कर्जा ८० प्रतिशत पुर्याऔं, व्यक्तिगत ऋणकाे सीमा हटाऔं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सेयर मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गर्नु उपयुक्त हुने बताएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिदै परिसंघले यस्तो धारणा राखेको हो । परिसंघको प्रतिनिधिले आइतबार (असार २८ गते) नेपाल राष्ट्र बैंकका गभर्नर सहितका पदाधिकारीलाई भेटी यस्तो सुझाव दिएको हो । संघले सेयरधितो कर्जा (मार्जिन लेन्डिङलाई ८० प्रतिशत पुर्याउन सुझाव दिएको छ । अहिले सेयर मूल्यको ६० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले मार्जिन कर्जालाई ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघले कोरोना महामारीको कारण विश्वभरको आपूर्ति प्रणाली ध्वस्त भएको र अर्थतन्त्र पुनरुत्थानका लागि विभिन्न देशले विभिन्न प्रकार राहत कार्यक्रम ल्याएको नेपालमा पनि प्रभावकारी कार्यक्रम आउनु पर्ने आवश्यकता औल्याएको छ । परिसंघले पर्यटन र निर्यातमुलक उद्योगमा शतप्रतिशत पुनरकर्जा पाउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएको छ । जलाविद्युत लगायतका क्षेत्रलाई ५० प्रतिशत पुनरकर्जा पाउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिइएको छ । यस्तै, विश्वभर पुँजी संकलन गर्ने प्रतिस्पर्धा नै चलेको अहिलेको अवस्थामा गैरआवाशीय नेपालीले नेपालमा पुँजी भित्र्याउन सहज हुने प्रकारको नीतिगत व्यवस्था आवश्यक रहेको परिसंघको भनाइ छ । राष्ट्र बैंक स्रोतका अनुसार परिसंघले रियलस्टेट कर्जामा अहिलेको व्यवस्था पुनरावलोकन गरी सीमा बढाउन सुझाएको छ । हेजिङ गाइडलाइनमा सहजीकरण गर्न पनि परिसंघले भनेको छ । बैंक तथा वित्तीय संस्थाले एउटै व्यक्ति वा संस्थालाई दिने कर्जाको सीमा सम्बन्धी अहिलेको व्यवस्था पनि हटाउनु उपयुक्त हुने सुझाव दिइएको छ । कोरोना भाइरस संक्रमणको सन्त्रास महामारीका कारण कम्पनी, उद्योग तथा फर्महरुको अवस्था कमजोर भएकोले केही समयको लागि क्रेडिट रेटिङमा केही सहुलियत दिने व्यवस्था मिलाउनु पर्ने परिसंघको भनाइ छ । यस्तै, रेमिटान्सलाई पूर्ण रुपमा बैधानिक माध्यमबाट आउने व्यवस्था मिलाउन पनि परिसंघले सुझाव दिएको छ । अहिलेसम्म नेपाल भित्रने रेमिटान्स करिब ६० प्रतिशत मात्रै बैधानिक माध्यमबाट आएको प्रसंग कोट्याउँदै परिसंघले शतप्रतिशत बैधानिक माध्यमबाट आउने व्यवस्था गर्नको लागि श्रम सम्झौतामा नै बैंक तथा वित्तीय संस्थामार्फत रेमिटान्स पठाउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा प्रत्येका बैंकका सबै शाखाले कम्तिमा १० जनालाई ऋण दिनै पर्ने व्यवस्था गरेको छ । बजेटको सो व्यवस्था कार्यान्वयन गर्दा बैंकहरुको खर्च बढी हुने भएकोले त्यसको लागि राष्ट्र बैंकबाट केही सहुलियत वा विकास बैंक र फाइनान्स कम्पनीमार्फत बाणिज्य बैंकहरुले पनि यस्तो कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरहित उच्चअधिकारीसँगको सो भेटमा परिसंघका अध्यक्ष पवन गोल्यान सहित नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संचालक केशबबहादुर रायामाझी, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरण्यलाल प्रधान र परिसंघका महानिर्देशक गोपाल प्रसाद तिवारी सहभागी थिए ।

देवः विकासलाई प्राप्ती गरी कुमारी बैंकले शुरु गर्यो एकीकृत कारोबार

काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा)ले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । यससँगै कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप १२४ अर्ब, कूल कर्जा प्रवाह ११२ अर्ब रुपैयाँ तथा सेयर पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखारएटिएम विस्तारित तथा बैंकिङ्ग सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ ।

सांसद आचार्यले गराए आफ्नो निर्वाचन क्षेत्रका ५ सय जनाको निःशुल्क कोरोना बीमा

काठमाडौं । रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ स्थानीय पेशाकर्मीको निःशुल्क कोरोना बीमा गराएका छन् । नेपाली कांग्रेसबाट विजयी सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बीमा गराएका हुन् । उनले प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गराएका हुन् । बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ । समाजमा अग्रपंतीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको निःशुल्क बीमा गराएर मनोबल उच्च बनाउने पहल गरिएको सांसद आचार्यले बताए । ‘कोभिड १९ जित्न मनोबल दह्रो हुन आवश्यक छ, विभिन्न पेशामा आवद्ध रहेका जिम्मेवार व्यक्तिहरु नै कोरोनाको डरले काम गर्न पछि हटे भने थप समस्या सिर्जना हुन्छ भन्ने मलाई लाग्यो, सोही कारण बीमाको आवश्यकता देखें,’ सांसद आचार्यले विकासन्युजसँग भने । उनले बीमा गराउनको लागि सार्वजनिक आव्हान नै गरेका थिए । उनको आव्हान स्वीकार गरेर सम्पर्क आएका सबैको बीमा गराएको आचार्यको भनाइ छ । उनी गत निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका हुन् । आचार्य नेपाली काँग्रेसका नेता हुन् । कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ । उक्त बीमा गराउदा ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क तिरिएको सांसद आचार्यले जानकारी दिए । काम गर्ने क्रममा सबैको मनोवल उच्च रहोस भन्ने उद्देश्यले कोरोना बीमा आवश्यक मानिन्छ । अहिले विश्व नै कोरोना महामारीको संकटमा गुज्रिरहेको छ । यस्तो अवस्थामा बीमा गर्दा बिमितलाई कोरोनाको त्रासले दैनिकीमा पार्ने असर कम हुने अनुमान गरिन्छ । कोरोना बीमामा बिमितको पीसीआर परीक्षणमा पोजेटिभ देखिने वित्तिकै दाबी भुक्तानी हुन्छ । अन्य रोगहरुको विरुद्ध बीमा गर्दा भने अस्पतालबाट जारी भएका कागजात, सक्कली बिल पेश गरेपश्चात दाबी–भुक्तानी दिने गरिन्छ । तर, कोरोना बीमामा रिर्पोट पोजेटिभ आउँने वित्तिकै दाबी भुक्तानी हुने व्यवस्था मिलाइएको छ । कोरोना बीमामा ५० हजार रुपैयाँ बराबरको लागि ५ सय रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा गर्न १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।

चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति

बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १ सय ४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ । यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो ।चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । चीनको याङ्चेसहितका कैयौं नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ । बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरे ।  रासस/एएनआई