बाढी र पहिरोमा ८५ जनाको मृत्यु, ४५ बेपत्ता
काठमाडौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए । विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढी पहिरोबाट अति जोखिम क्षेत्रका रुपमा रहेको जानकारी दिँदै गृहमन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ । बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको जानकारी दिए । उनले भने, “विगत १० वर्षको मनसुनको अध्ययन विश्लेषण गर्दा मनसुन शुरु भएको ३० दिनको पहिलो अवधि बाढी पहिरोका हिसाबले डरलाग्दो हुने गरेको छ ।” बाढी पहिरोका जोखिमलाई दृष्टिगत गरी विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाउँदै मन्त्रालयले विभिन्न स्थानमा राहत र उद्धार सामान व्यवस्थापन गोदाम र मानवीय सहायता केन्द्र स्थापना गरेको जनाएको छ । बाढी पहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहँु र सखुवासभा जिल्लामा जनधन को क्षति भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो । भूकम्पले धाँजा बनाएको पहाड, लगातार धेरै वर्षात् र अवैज्ञानिक तवरमा हुने विकास निर्माणले बाढी पहिरोका घटनालाई बढाउन सहयोग पु¥याएको मन्त्रालयको भनाइ रहेको छ । बाढी पहिरोबाट धनजन क्षति भएका परिवारलाई भूकम्प पीडितलाई दिइएको राहत र सहयोगअनुरुपकै विधि र प्रक्रियाका आधारमा राहत उपलब्ध गराउने सरकारले तयारी गरेको छ । सो अवसरमा सांसदहरुले राहत र उद्धारका योजना राम्रा भए पनि कार्यान्वयन फितलो रहेकाले तीन तहकै सरकार र स्थानीय नागरिकको समन्वयमा प्रभावकारी राहत र उद्धारका कार्यक्रम गर्न सरकारलाई सुझाव दिए । अज्ञानता र कमजोरीले जनधनको क्षति भएको छ: गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको बताए । उनले भने, “विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, मानिसले सिर्जना गरेको हो, अज्ञानता र कमजोरीका कारण धनजनको क्षति हँुदै आएको छ । जनधनको रक्षाका लागि सरकारले प्रभावकारी कदम चालिरहेको छौ । ” अव्यवस्थित बसोबास क्षतिको मुख्य कारक हो भन्दै गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका घटनाको गहन समीक्षा गरेर वस्तुवादी नीति बनाइने दृढता व्यक्त गरे ।
नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो । बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा निजको पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । बैंकले असार २९ गते बैकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ
राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई दियो एक करोडसम्मकाे अनुदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरे वापत विभिन्न कम्पनीलाई अनुदान रकम दिएको छ । बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत तीन कम्पनीलाई उक्त रकम हस्तान्तरण गरेको हो । सो अन्तर्गत बैंकले अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार एक सय एकतीस रुपैयाँ र गोइन्का स्टील प्रा.लि. लाई पाँच लाख ६० हजार चार सय रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरेका छन् । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्स्क्यिुटिङ एजेन्सी (पीईए) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरु देबेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेसप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।
लक्ष्मी बैंकको पाँचाैं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो पाँचाैं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएकाे छ । यो नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा थप सुदृढ बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
काठमाडाैं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित
काठमाडाैं । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ जना र ललितपुरका ५ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । साेमबार नेपालमा १ सय ४४ जना काेराेना संक्रमित थपिएका छन् भने १७ सय ५ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ९ सय ४५ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार २ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ४४ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ९ सय ४५ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १० हजार २ सय ९४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ८९ हजार ३ सय ७१ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय १३ जना आईसाेलेसनमा रहेका छन् ।
घरबेटीका कुरा कसले सुन्ने ?
काठमाडाैं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले विभिन्न पेशा व्यवसायमा आवद्धहरुले धेरै समस्या भइरहेको गुनासो गरिरहेका छन् । कोठाभाडामा बस्ने सर्वसाधरण नगरिकदेखि ठूलो उद्योगधन्दा व्यापार व्यवसाय गर्दै आएका मानिसहरु घरभाडा तिर्न, बैंकको ऋण तथा किस्ता तिर्न समस्या भइरहेको गुनासो गरिरहेका छन् । कोरोना भाइरसको त्रासले धेरै मानिसहरु भाडामै बस्दै आएको कोठा छोडेर अन्तै जान थालेका छन् भने व्यवसायीहरुले गर्दै आएको व्यवसाय बन्द नै छ । अहिले सबैले आफु बस्दै र भाडामा लिएर व्यवसाय गर्दै आएकाहरुले घरबेटीलाई भाडा छुटको माग गरिरहेका छन् । लकडाउनको कारण सबै क्षेत्र समस्यामा परिरहेको बेला सबैले घरबेटीलाई भाडा छुट गर्न आग्रह गरिरहेका छन् भने स्यवयं सरकारले पनि घरबेटीहरुलाई भाडामा बस्नेलाई घरभाडा छुट गर्न भनिरहेको छ । चौतर्फि रुपमा भाडा तिर्न नसकेर समस्या भइरहेका समाचारहरु बाहिरिए पनि घरबेटीको समस्या र उनीहरुले भोग्नु परेको चुनौतीहरु भने न कसैको प्राथमिकतामा परेका छन् नत बोल्ने प्रयास नै गरेका छन् । तर, काठमाडौंमै यतिखेर धेरै घरबेटी समस्यामा परेका छन् । भाडामै बस्नेहरुबाट आएको पैसाले आफ्नो रोजीरोटी चलाउनेहरु अहिले ठूलो समस्यामा परेका हुन् । भाडमा बस्नेहरु कोठा छोडेर अन्तै अर्थात आफ्नै घर गएपछि र कतिले लकडाउन भन्दै भाडा नै नदिएपछि घरबेटी पनि अहिले समस्यामा परेका छन् । यस्तै समस्या अहिले काठमाडौं मैतिदेवीका उमरेश यादवलाई परेको छ । घरुमा भाडामा बस्दै आएका अरुको पैसाबाट जिविका चलाउने अमरेशका घरमा भाडामा बस्नेहरु अहिले घर गएपछि उनको भाडा आउन रोकिएको छ । लकडाउन भएको पनि तीन महिना बितिसक्दा पनि उनले भाडा पाएका छैनन् । उनको घरमा धेरै जसो विद्यार्थीहरु बस्छन् । अहिले शैक्षिक संस्थाहरु बन्द हुँदा सबै विद्यार्थीहरु घर गएका छन् । उनले उनीहरुबाट भाडा पनि पाएका छैनन् । ‘मैले भाडाबाट आएको पैसाले नै जिविका चलाउने हो, भाडा नपाएको अब ४ महिना बित्न लाग्यो, भाडामा बस्नेलाई फोन गरेपनि आएपछि दिन्छौं भन्छन्, पैसा आउने अन्य कुनै स्रोत पनि छैन,’ उनले भने । १५ वर्ष अगाडि उनले तराईको जग्गा बेचेर काठमाडौंमा घर लगाएका थिए । अन्य कुनै आम्दानीको स्रोत नभएका उनी ६ जनाको परिवार कोठा भाडाबाट नै चलाइरहेका छन् । मासिक ३०÷४० हजार रुपैयाँ भाडा पाइरहेका उनको करिब डेढ लाख रुपैयाँ भाडा उठेको छैन । उनी भन्छन्, ‘सरकारले भाडामा बसेकालाई भाडा छुट देउ भन्छ, हामीले भाडा नपाएको पनि ४ महिना भइसक्योे, कसरी छुट दिने ?’ यस्तै, सोही ठाउँका बस्दै आएका रत्न चालिसेको समस्या पनि त्यस्तै छ । ७ वटा कोठा भाडामा दिँएर जिविकापार्जन गर्दै आएका उनको घर आजभोली खाली छ । देशमा चैत ११ गते लकडाउन भएपछि उनको घरमा भाडामा बस्दै आएकाहरु गाउँ गइसकेका छन् । बाँकी रहेकाहरु पनि भाडा छुट हुनु पर्छ भन्दै आएको उनले बताए । मासिक ५०/६० हजार भाडा माउँदै आएका चालिसे अहिले २०/३० हजार भाडा पाउनु पर्ने भएपनि त्यही पनि नपाएको गुनासो गर्छन् । लकडाउनपछि गाउँमा घर हुने गाउँ नै गए । व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि भाडा तिर्न सकेका छैनन् । जसको मारमा भाडाबाट जिविकोपार्जन गर्नेहरु परेका छन् । भाडा देउ भन्दा पनि भाडामा बस्नेले अनेक समस्या देखाएर भाडा नदिने गरेको उनीहरुको भनाई छ । काठमाडौं महानगरपालिकाले भाडा छुट दिने घरबेटीलाई एक महिनाको सम्पत्ति करमा केही छुट गर्ने घोषणा गरिसकेको छ । तर, पनि घरबेटीहरुले त्यसको कार्यान्वयन गर्न सकेका छैनन् । मासिक पाउँदै आएको रकम पनि केही घटेर आउँदा र त्यसैमा छुट पनि दिन नसकिने उनीहरुको तर्क छ । घरबेटीहरुले भाडामा बस्नेबेला भाडावालहरुसँग सम्झौता नगर्नाले पनि भाडा दिन सकिँदैन भन्दा चुपचाप लाग्नु बाहेकको बिकल्प नरहेको उनीहरुको भनाई छ । महानगर पालिकाले भने अनिवार्य रूपमा भाडामा बस्नेले लिखित सम्झौता गरी त्यसको छायाप्रति वडामा दर्ता गराउन पहिले नै भनिसकेको छ । तर, त्यसको कार्यान्वयन नहुँदा बेलाबेला धेरै घरबेटीहशरु समस्यामा पर्ने गरेको महानगरका एक अधिकारी बताउँछन् ।
ग्लोबल आइएमई बैंकले बाग्मती प्रदेशलाई दियो १० लाख रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कोभिड(१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।