विकासन्युज

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

काठमाडाैं । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन् । बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए । बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । “भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ”, उनले भने, “बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।”  रासस

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् । पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ”, उनले भने, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ ।” झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा उपलब्ध गराएको रु आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एक/एक लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती शुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालीम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् । आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १ सय मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् । पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । चार युवाले शुरु गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरुआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ । हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ”, उनले भने, “हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउ/बीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।” गाउँपालिकाले गत वर्ष ५३ लाख रूपैयाँ र स्वीस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार रूपैयाँ गरी जम्मा ९८ लाख २८ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । सबै वडालाई एक/एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः कृषिमा बजेट बढाउँदै लगिने गाउँपालिका प्रमुख खड्काले बताए । परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि कृषि पेशाप्रति आकर्षित बनेका छन् । गाउँपालिको समग्र कृषि क्षेत्रको विकासका लागि गाउँपालिका प्रमुख र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ ।   रासस

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

दमाैली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् । हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।  रासस

१०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई जितिन्

काठमाडौं । इङ्ल्याण्डमा १ सय ४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो । करिब तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो । तर सय वर्ष नाघिसकेकी उनी अस्पताल जानै परेन । अब उनी पूर्ण रुपमा स्वस्थ छिन् । ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवनमा अत्यधिक समस्याको सामना गर्नुपरेको छ र आफ्नो जीवनको धेरैजसो समय बिरामी भएरै बिताएकी छिन् तसर्थ उनीसँग चुनौतीसँग लड्ने हिम्मत छ । ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरिन् त्यसपछि लामो समुद्री बाटो हुँदै सन् १९४६ मा इङ्ल्याण्ड पुगिन् । इङ्ल्याण्डमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अघि उनी बिरामी भएकी थिइन् । जब डाक्टरले उनको स्वास्थ्यबारे जानकारी दिए तब हामी अत्यधिक डराएका थियौं । हामी जहाँ बस्छौं त्यहाँ कोरोनाका कारण थुप्रैको मृत्यु भएको छ ।’ ‘तर जब मेरी हजुरआमालाई आफूलाई कोरोना पोजेटिभ भएको थाहा भयो तब उनलाई यो कुराले खासै असर पारेन’ उनी भन्छिन् । क्रिस्टलका अनुसार उनकी हजुरआमा आशाले भरिपूर्ण बलियो इच्छाशक्ति भएकी महिला हुन् र आफ्नौ दैनिकको व्यायाम निरन्तरता दिन चाहन्छिन् । (बीबीसीको सहयोगमा)

अमेरिकाको फ्लोरिडामा एकै दिन १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा कोरोना भाइरस सङ्क्रमितहरूको एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ । त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो । योसँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ । फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ । यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ । चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन् । यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ । पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन् । महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड १९ का कारण मृत्यु भएको छ । फ्लोरिडाले मे महिनाबाट कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो । जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ । रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ । गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए । उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए । पछिल्लो महिनाबाट उनले पुनस् केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन । ह्वाइटहाउसका कोरोना भाइरस सम्बन्धी कार्यदलका प्रमुख सल्लाहकार डा एन्थोनी फाउचीले सङ्क्रमित वृद्धिको क्रमले लकडाउन खुलाउन नसुझाएको भन्दै फ्लोरिडाको त्यस्तो कदमको आलोचना गरेका थिए । अमेरिकामा मास्क लगाउने विषयको निकै राजनीतिकरण भएको देखिन्छ । मास्क विरोधी मतले त्यसले व्यक्तिगत स्वतन्त्रतामा हानी गर्ने बताउने गरेका छन् । थुप्रै राज्यमा मास्क र अन्य कोरोनाभाइरससँग जुझ्ने उपायका विरूद्धमा प्रदर्शनहरू भएका थिए । अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ सङ्क्रमितहरू थपिएका छन् । सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन् । (बीबीसीबाट साभार)

प्रत्येक वडामा वाईफाईकाे व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्त्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने ।  (गोरखापत्र दैनिकबाट साभार)

विश्वभर कोरोना संक्रमितको १ करोड ३० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३० लाख २७ हजार ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७१ हजार ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७५ लाख ७५ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३४ लाख १३ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ७ सय ८२ जनामा रहेका छन् । उपचारपछि १५ लाख १७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार १ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ६६ हजार १ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ७९ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार १ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५४ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५ सय ८९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

‘गलत सञ्चार सामग्रीले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पु¥याउँछ’

काठमाडौं । केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ । सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको छ, “त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारतबीचको भावनामा गम्भीर आघात पु¥याउन सक्नेछ ।” नेपाल र भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ । आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ । त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ । त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।