विकासन्युज

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैंकको भनाई

टोकियो । जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ । जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ । बैंक अफ जापानले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।” बैंकले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कूल गार्हस्थ्य उत्पादन ३.३ प्रतिशत मात्र हुने जनाएको छ । तर अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति मूल्याँकन गर्न कठिन रहेको बैंकको भनाई छ । जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत पनि सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।  रासस–एएफपी

मापदण्ड विपरीत गिट्टी लोड गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

लहान । सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यस्तै बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ । सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाई–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ ।  रासस

धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टाइनमा

काठमाडाैं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ । कोरोना सङ्क्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टाइ नमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए । उनले भने–“अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ ।” भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि ३ अर्ब ४८ करोड रूपैयाँ लाग्ने जनाइएको छ । पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । शुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ ।   रासस

चुनावमा किशाेर प्रधान र चन्द्र ढकाल, आलोचनामा शेखर गाेल्छा

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बन्न चाहने किशोर प्रधान र चन्द्रप्रसाद ढकाल आफ्नो टीमसहित चुनावी मैदानमा उत्रिएका छन् । तर, यो चुनावको केन्द्रमा शेखर गोल्छा देखिए । गोल्छाले वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी प्रधानलाई खुलेर सहयोग गरेका छन् । प्रधानकाे टिमबाट कार्यसमितिमा बहुमत सदस्य निर्वाचित गराउनु गाेल्छाकाे अर्जुनदृष्टि रहेकाे छ । निर्वाचन सम्पन्न भएपछि उनी अध्यक्ष बन्ने नै हुन् । विधानतः उनी अब स्वत अध्यक्ष हुन्छन् । तर उनी चुनावमा पूर्णरूपमा सक्रिय छन् । गाेल्छाकाे सक्रियताप्रति ढकालकाे समूह असन्तुष्ट देखिएकाे छ । मंगलबार चन्द्रप्रसाद ढकाल र उनकाे समूहका पदाधिकारीकाे उम्मेदवारी घाेषणामा सबैले गाेल्छाकाे आलोचना गरे । महासंघको यो निर्वाचनमा अनौठो संयोग छ । त्यो के भने आफूसँगै वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका प्रधानलाई गोल्छाले खुलेर सहयोग गरेका छन् । र, ढकाललाई एशाेसिएट उपाध्यक्ष बनाउन उम्मेदवारीकाे प्रस्ताव फिर्ता लिएका सौरभ ज्योति चन्द्र ढकालसँग चुनावी प्रतिस्पर्धामा होमिने टीममा समाहित भएका छन् । आफ्नो टीम घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले गोल्छालाई अध्यक्ष बनाउन आफूले धेरै मेहेनत गरेको सम्झिए । ढकालको यो स्मरण सही किनपनि छ भने यसअघिको निर्वाचनमा ढकाल र गोल्छा एउटै टीममा थिए । ढकाललाई उपाध्यक्ष बनाउन गोल्छाले सहयोग गरे र गोल्छालाई वरिष्ठ उपाध्यक्षमा चुनाव जिताउन ढकालले सहयोग गरे । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले आफ्नो सहयोगका कारण नै गोल्छा अध्यक्ष बन्न लागेको आशय व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्थाप्रति महासंघ सदस्यहरुले प्रश्न उठाएर गोल्छालाई अप्ठेरो पार्न खोजेको अवस्थामा पनि आफूले त्यसो नगर्न सदस्यहरुलाई कन्भिन्स गरेको ढकालको भनाइ छ । अर्थात, ढकाल गोल्छालाई आफूले गुन लगाएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने गोल्छा ढकालका प्रतिस्पर्धी प्रधानलाई भोट माग्दै हिडिरहेका छन् । स्वतः अध्यक्ष बन्न लागेका गाेल्छा किन आलाेचनाकाे केन्द्रमा तानिदै छन् ? जानकारहरूकाे २०७४ साल कात्तिकमा  विधान संशाेधन गर्नुकाे उदेश्य वरिष्ट उपाध्यक्षलाई चुनावमा नउतार्ने, निर्वाचित कार्यसमितिमा अध्यक्षकाे पक्ष वा विपक्षकाे टिमबाट चुनाव जितेकाे भनेर कित्ताकट गर्ने अभ्यास राेक्ने, निर्वाचनमा पराजित समूहसँग र अध्यक्षबीचकाे सम्बन्ध राम्राे हाेस् भन्ने थियाे । तर विधानकाे मर्मअनुसार काम भएन । तत्कालिन बरिष्ठ उपाध्यक्ष भवानी राणाले पनि वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छालाई चुनाव जिताउन सक्रिय भूमिका खेलिन् । अहिले शेखर गाेल्छाले किशाेर प्रधानलाई चुनाव जिताउन सक्रिय भूमिका खेलेका छन् । दुबैकाे भूमिका विधानकाे मर्म विपरित नै छ । हुनतः निर्वाचनमा आदर्श पूर्ण भूमिका कमैबाट भएकाे देखिन्छ । महासंघमा अध्यक्ष भइसकेकाे व्यक्तिहरू पनि चुनावी समूहकाे पक्ष विपक्षमा सक्रिय हुने गरेका छन् ।निवर्तमान पशुपति मुरारकाले प्रधानलाई खुलेर सहयोग गरेका छन् भने पूर्वअध्यक्ष चण्डिराज ढकाल ढकाललाई खुलेर समर्थन गरेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएयट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानको टीममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् ।

उदाउँदा १० लेखकः जो विकासन्युज स्वतन्त्र लेखन प्रतियोगितामा विजयी भए

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताका उत्कृष्ट १० जना छनोट भइसकेका छन् । विकास मिडियाले सोमबार आयोजना गरेको विजेता घोषणा कार्यक्रम मार्फत् प्रतिष्पर्धामा उत्कृष्ट अर्थात् विजयी हुने १० जनाको नामावली समेत प्रकाशित गरिसकेकाे छ । तपाईं पाठक र आम नागरिकमा उत्कृष्ट हुने १० जना प्रतिष्पर्धी को हुन् भन्ने जिज्ञासा हुनु स्वभाविकै हो ।  हामीले उत्कृष्ट हुने १० जनाको विष्तृत जानकारी दिने प्रयास गरेका छौं । प्रतिष्पर्धाका लागि प्राप्त भएका सबै लेख तथा रचनाहरु उत्कृष्ट नै भएपनि प्रतिष्पर्धामा विजयी र पराजयी हुनु स्वभाविकै हो । तर पनि उत्कृष्ट भएका १० लेख तथा रचनाहरु लेख्ने लेखकहरु लेखन पेशामा अभ्यस्त भइसकेको उनीहरुका लेख/रचनाबाट प्रष्ट हुन्छ । को हुन् विजयी हुने १० प्रतिष्पर्धी ? सुवास मल्ल प्रथम पुरस्कार विजेता सुवास मल्लको स्थायी ठेगाना पुतलीबजार ३, स्याङ्जा हो । उनको पुरानो घर भने तनहुँ हो । तर उनी जन्मेको चाहिँ लम्जुङको बेसिसहरस्थित मामाघरमा हो । पोखरा विश्वविद्यालयबाट एमबीए गरेका मल्ल पोखरा विश्वविद्यालय स्नातक तहमा विकास अध्ययन विषयमा विश्वविद्यालय टपर पनि हुन् । विश्वविद्यालय टप गरेपछि उनले शिक्षा मन्त्रालयको स्कलरसिपमा जापानमा अध्ययन गर्ने मौका पाएका थिए भने यूरोपियन यूनियनको स्कलरसिपमा पोल्याण्डमा टुरिजम् म्यानेजमेन्ट विषय अध्ययन गर्ने मौका पाएका थिए । हाल उनी पोखराकै वेलनन एकेडेमीमा प्लस टुमा व्यवस्थापन विषय पढाउँछन् । उनी पोखरा विश्वविद्यालय साहित्य समाजको संस्थापक अध्यक्ष पनि हुन् । विभिन्न सामाजिक कार्यमा संलग्न ३१ वर्षिय मल्लले जटिल अवस्थामा विकासन्युजले सिर्जनात्मक कार्य गरेको बताए । ‘आयोजकले स्वतन्त्र लेखन प्रतियोगितामा निकै मिहिनेत गरेको देखिन्छ । व्यवस्थापन राम्रो देखियो । निर्णायक मण्डलमा पनि प्रशिद्ध व्यक्तिहरु राखिएको रहेछ’ उनले भने- ‘प्रतियोगितामा अत्यन्तै सकारात्मक चेतनाले भरिएको लेख रचनाहरु प्रकाशित भएकोमा पनि म धेरै खुशी भएँ,’ उनले भने । अविन ओझा दोस्रो पुरस्कार विजेता हुन् अविन ओझा । ओझाको जन्म तनहुँको दमौलीमा भएको हो । नेपालबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका ओझाले लखनउबाट समाजशास्त्रमा विद्यावारिधि र अमेरिकाबाट अन्तर्राष्ट्रिय अध्ययन विषयमा दोस्रो मास्टर डिग्री गरेका छन् । सिटी युनिभर्सिटी अफ न्यूयोर्कको योर्क कलेजमा समाजशास्त्र विषयमा अध्यापन गर्ने ओझाले लेखेका लेख रचनाहरु सन् २०१० देखि विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् । ‘यस्तो खालको प्रतियोगिता पहिला थिएन । निबन्ध वा कथा लेखन प्रतियोगिता भएका थिए, तर स्वतन्त्र लेखन प्रतियोगिता गर्ने र विधागत रुपमा उत्कृष्ट लेख रचनालाई पुरस्कृत गर्ने विकासन्युजको प्रयास पहिलो हो’ उनले भने । विकासन्युजले निर्णायकमण्डलमा राखेका पात्रहरु र उत्कृष्ट लेख रचना छनौट गर्न अपनाएको विधि धेरै राम्रो रहेको उनको बुझाई छ । यस्तो प्रतियोगिताले पुराना र नयाँ लेखकहरुलाई प्रोत्साहित गर्ने उनले बताए । धनप्रसाद पौडेल प्रतियोेगितामा तृतिय भएका व्यक्ति हुन् धनप्रसाद पौडेल । पुतलीबजार ८, स्याङ्जामा वि.सं. २०४३ साल फागुन ६ गते जन्मेका पौडेलले माध्यमिक शिक्षा स्याङ्जामै पूरा गरे । उनले पाटन संयुक्त क्याम्पसबाट एमएस्सी गरी हाल सिन्धुपाल्चोकमा सरकारी जागिरमा कार्यरत छन् । उनी कानुनका विद्यार्थी समेत हुन् । समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने धनप्रसाद यो समयमा विकासन्युजले गरेको स्वतन्त्र लेखन प्रतियोगिताले थप लेख्न प्रोत्साहन मिलेको बताउँछन् । सञ्जिव पौडेल सञ्जिव पौडेलको ‘आत्मनिर्भरताको बाटोमा’ लेख सबैभन्दा उत्कृट लेख भएको छ । उनको जन्म कास्कीको रुपा गाउँपालिकामा वि.सं. २०४२ मंसिर १९ गते भएको हो । नेपाली विषयमा स्नातकोत्तर गरेका उनी हाल पोखरा विश्वविद्यालयमै अध्यापन गराउँछन् । उनी हाल नेपाली लेखक संघ कास्कीका अध्यक्ष समेत रहेका छन् । समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने उनका लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा पनि प्रकाशन हुने गरेका छन् । तारा भट्टराई ‘आँखा अझै खुल्न बाँकी छ’ कविताकी रचनाकार तारा भट्टराईको कविता उत्कृष्ट कवितामा छनोट भएको छ । तारा भट्टराईको जन्म वि.सं. २०४३ साल बैशाख २ गते भएको हो । मोरङको सुन्दर हरैचा नगरपालिका-१२ मा जन्मिएकी तारा अहिले सरकारी सेवामा कार्यरत छिन् । उनी हाल मोरङकै बेलबारी नगरपालिकामा प्रशासन सेवा अधिकृत छैटौं तहमा सेवा गर्दै आएकी छिन् । ११ वर्षदेखि निरन्तर सरकारी जागिरमा भएपनि उनको रुचीको क्षेत्र भने पत्रकारिता र साहित्य हो । एमपीएमा स्नातकोत्तर गरेकी उनी कानुनकी विद्यार्थी पनि हुन् । उनी कोरोना भाइरसको कारण आफू धेरै तनाव र डरमा रहेको समयमा विकासन्युजले स्वतन्त्र लेखन प्रतियोगिताको आयोजना गरी लेखनमा व्यस्त बनाउने भूमिका खेलिदिएकोमा धन्यवाद प्रकट गर्छिन् । मन्दिरा मधुश्री ‘पाँचौं युग’ नामको कथा शीर्षक राखेकी मन्दिरा मधुश्रीको कथा उत्कृष्ट भएको छ । वि.सं. २०२९ बैशाख २८ गते जन्मिएकी मन्दिरा मधुश्रीको घर भोजपुर हो । मधुश्री भोजपुरको मुलाबारीमा जन्मिए पनि हाल उनी काठमाडौंमै बस्छिन् । भाषा साहित्यमा दख्खल राख्ने उनको रुचीको विषय नै साहित्य हो । उनले नेपाली साहित्यमै स्नातकोत्तर गरेकी छिन् । उनका दुई वटा साहित्यिक कृति ‘बुधनको घोडी’ कथा संग्रह र ‘मधुराग’ गजल संग्रह प्रकाशित भइसकेका छन् भने अझै केही कृतिहरु प्रकाशनको चरणमा रहेको उनी बताउँछिन् । रमेश भट्टराई सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट आएर छनोट भएको ‘हजुरबा, म र छोरी’ नाम रहेको निबन्धका लेखक रमेश भट्टराई हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा वि.सं. २०४४ साल जेठ २५ गते जन्मेका भट्टराई समसामयिक लेखनका साथै भाषा साहित्यमा रुची राख्छन् । नेपाली विषयमा पीएचडी स्कलर उनी आदर्श बहुमुखी क्याम्पसमा उप-प्राध्यापकका रुपमा कार्यरत छन् । गोपाल खनाल गोपाल खनालको ‘प्रकृति माथि न्याय गरौं, जित मान्छेकै हुनेछ’ निवन्ध विधामा उत्कृष्ट भएको छ । लेखन साहित्य र पत्रकारितामा रुची भएका खनालको ज्नम वि.सं. २०४५ असार ९ गते भएको हो । विभिन्न सञ्चार माध्यममा संलग्न भएर काम गरिरहेका उनी हाल पोखराको टप्स माध्यमिक विद्यालयमा अध्यापक छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दाङसिङ घर भएका उनी विगत १५ वर्षदेखि पोखरामै छन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने स्नातकमा पत्रकारिता विषय लिएर पत्रकारितामा आवद्ध भएका हुन् । दिपेश घिमिरे दिपेश घिमिरेको लेख सम्पादकको उत्कृष्ट छनोटमा परेको छ । रामेछापको बबियाखर्कमा जन्मेका दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उप-प्राध्यापक हुन् । समाजशास्त्र विषयमै एमफिल गरेका दिपेश हाल थप अध्ययनका लागि अमेरिकामा छन् । समसामयिक विषयवस्तु, भ्रष्टाचार न्युनिकरण र सुशासन अभिवृद्धिमा कलम चलाउने उनका लेख रचना विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा समेत नियमित प्रकाशन हुने गरेका छन् । सन्तोष तिमल्सिना लेख सामाजिक सञ्जालमा सबैभन्दा बढी सेयर भएर उत्कृष्ट हुने व्यक्ति हुन् सन्तोष तिमल्सिना । काभ्रेको बेथानचोक गाउँपालिका-२, ढुंखर्कमा वि.सं. २०४४ पुस २ गते उनको जन्म भएको हो । शिक्षाशास्त्रमा स्नातक गरेका उनी हाल विभिन्न सामाजिक सञ्जाल, पत्रकारिता र सहकारीमा पनि आवद्ध छन् । वि.सं. २०६५ सालदेखि नै पत्रकारिता सुरु गरेका उनी हाल काभ्रेकै ‘काभ्रे सन्देश’ साप्ताहिक पत्रिकामा सह-सम्पादकको भूमिकामा कार्यरत छन् । उनले काभ्रेको पार्वती क्याम्पसबाटै स्नातक गरेका हुन् ।   विजेता घाेषणा कार्यक्रमकाे भिडियाे हेर्नुस्:

किशोरीलाई ३ वर्षदेखि बलात्कार गर्दै आएका वडाध्यक्ष पक्राउ

कालिकोट । विगत ३ वर्षदेखि  १६ वर्षीया किशोरीलाई बलात्कार गर्दै आएकाे आरोप लागेका वडाध्यक्ष पक्राउ परेका छन् । कालिकाेट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । वडाध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो । उनका अनुसार वडाध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ । पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो । पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई कोल हालेर घरभित्र लगेर बलात्कार गरे ।’  उनले भनिन्, ‘विद्यालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भनेपछि मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’ उनले मिल्ने साथीलाई  सबै कुरा भनिनन्, त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिको गाँउले हुँदै परिवारलाई सबै कुरा किशाेरीले बताइन् ।

सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ८ सयमा कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ बिक्री भएको तेजावी सुन बुधबार ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार ९ सय ९५ रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रधानमन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन

भद्रपुर । कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा चारवटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट ७ करोड ७० लाख ७५ हजार रूपैयाँ बजेट आएको थियो तर कोभिड–१९ र बन्दाबन्दीका कारण ४ करोड ४३ लाख २६ हजार रूपैयाँ खर्च हुन सकेन । परियोजनाले कार्यक्रमका लागि आएको ३ करोड २७ लाख ४९ हजार रूपैयाँ मात्र खर्च गरेको छ । कतिपय रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयमै फिर्ता भएको छ । झापामा चालु आर्थिक वर्षमा परियोजना एकाइअन्तर्गत धान सुपरजोन, मकैजोन, सुपारीजोन र रबरजोन गरी चार कार्यक्रम सञ्चालनमा छन् । परियोजनाले जोनका कृषक, सहकारी र कृषिफार्मलाई कृषि उपकरण, सौर्य ऊर्जालगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापा प्रमुख रवीन्द्र सुवेदीले बताए । उनले मेचीनगर नगरपालिकास्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले स्थापना गरेको कस्टम हाइरिङ सेन्टर, कालिका सामुदायिक वन उपभोक्ता समूह, शान्तिराम चिमरियाले बनाएको रबर स्मोक हाउस, बुद्धशान्ति–३ मा स्थापना गरिएको सुपारी गोदाम घर, महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको कम्बाइन हार्भेस्टरमा अनुदान दिइएको बताए । अनुदानमा खरिद गरेका सामग्री राख्नका लागि कस्टम हायरिङ सेन्टर निर्माणमा समेत परियोजनाले अनुदान सहयोग उपलब्ध गराएको छ । परियोजनाबाट अनुदान लिएर कनकाई नगरपालिकाको आदर्श एग्रो प्रालिले कम्बाइन हार्भेस्टर र साना सिँचाइ सञ्चालन गरेको छ भने कमल गाउँपालिकाको पूर्व नेपाल कृषि सहकारी संस्था, गौरादहको मखमली कृषक समूह र महारानीझोडा साना किसान कृषि सहकारीले कस्टम हायरिङ सेन्टर निर्माण गरेका छन् । धान सुपरजोनतर्फ रु पाँच करोड ५९ लाख ७५ हजार बजेट स्वीकृत भएकामा रु एक करोड ८२ लाख ६४ हजार मात्र खर्च भएको छ । मकैजोनतर्फ १ करोड ११ लाख रूपैयाँ बजेट स्वीकृत भएकामा ५९ लाख ७२ हजार रूपैयाँ मात्र खर्च भएको छ । सुपारीजोनमा रु एक करोड एक लाख पाँच हजार बजेट स्वीकृत भएकामा रु ३६ लाख ५८ हजार मात्र खर्च भएको छ । त्यस्तै रबरजोनमा १ करोड बजेट आएकोमा ४८ लाख ५५ हजार रूपैयाँ मात्र खर्च भएको छ । सुपारी जोनको प्रशोधन उद्योग सञ्चालन सहयोग कार्यक्रमका लागि आएको ४५ लाख, मकैजोनको गोदाम घर निर्माण कार्यक्रमका लागि आएको ४० लाख, धान जोनको राइस मिल उद्योगलाई ड्रायर तथा ब्रोइलर स्थापनाका लागि आएको १ करोड र सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली जडानका लागि आएको ८० लाख बजेट आएकामा सबै बजेट मन्त्रालयमा फिर्ता भएको छ । परियोजनाअन्तर्गतका कार्यक्रमहरुको अवस्था बुझ्नका लागि जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, कृषि ज्ञान केन्द्र, चारवटै जोनका जिल्ला संयोजक र सञ्चारकर्मी रहेको टोलीले हालै स्थलगत अनुगमन गरेको थियो ।  रासस