नेपालीको उद्धारका लागि दुई एयरलायन्सले आजबाट शुरु गरे चार्टर्ड उडान
काठमाडाैं । कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ । उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ । कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् । रासस
पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३ सय ४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ । पहिरो गएको स्थल निरीक्षणका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई एक दिनअघि त्यसतर्फ लागकाे खराब मौसमका कारण सङ्खुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्याएको क्षतिका बारेमा बुझी सबैलाई एकसाथ जुट्न आग्रह गरेर फर्किए । यसैगरी पहिरोको निरीक्षण गर्न सङ्घीय सांसद राजेन्द्रप्रसाद गौतम, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायतको टोली पुगेको थियो । यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानीलगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याटलगायत ५ सय किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेका नेपाली काँग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए । रासस
कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताए । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् । “अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौं”, संरक्षण अधिकृत बरालले भने, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौं ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ । यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ । किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ । कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो । यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । यो समुद्री सतहदेखि २ हजार मिटरदेखि २ हजार ५ सयसम्मको उचाइमा पाइने गरेको बताइन्छ । यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताए । उनले भने, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उनले बताए । सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिए । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उनको भनाइ छ । रासस
दीपाश्रीलाई माफि दिन राजेश हमालले गरे दर्शकसँग आग्रह
काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक संजालमा गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन हमालले अपिल गरेका छन् । उनले करिब ९ मिनेट लामो भिडियोमा दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन भनेका छन् । कोरोनाको महामारीसँगै नेपालको राजनिति तथा सामाजिक एवं कला क्षेत्रमा पनि टिकाटिप्पणी भइरहेको जानकारी दिँदै आफूलाई सहकर्मी साथीले सार्वजनिक मञ्जमा भनेका कुराप्रति दर्शकको प्रतिक्रिया मात्र नभई आक्रोसलाई ध्यानमा राख्दै आफ्ना कुरा राखेका हुन् । दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ? भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन । र्हेनुहोस् भिडियो फेसबुक लाइभमा नायक राजेश हमालले राखेका कुराहरू
विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा
पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् । श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते गिरफ्तार गरिएको थियो । श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको भनीे पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पिडीत बालिका छ महिनाको गर्भ रहेको पाइएको छ । यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् । रासस
सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती
काठमाडाैं । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक साता बितिसक्दासमेत सञ्चालनमा नआउँदा नागरिकलाई समस्या परेको छ । जिल्लामा जारी बन्दाबन्दी खुला भए पनि यातायातका साधन नखुल्दा समस्या भएको स्थानीय लोकमणि गौतमले गुनासो गरे । साउन १ गतेदेखि यातायात सञ्चालन गर्ने विषयमा भएको छलफलमा अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न व्यवसायी सहमत नभएको यातायात व्यवसायी घनश्याम बस्नेतले बताए । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस क्षेत्रका बैंकहरुसँग छलफल गरी चार महिनाको किस्तापछि दिलाउने तथा समय थपका लागि पहल गर्ने र मजदुरहरुको कोरोना बीमा ५० प्रतिशत उपमहानगरपालिकाले व्यहोर्ने जनाउनुभएको व्यवसायी बस्नेतले बताएका छन् । ‘‘नगरप्रमुखले साउन १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्यो भनेर छलफल गर्नुभएको थियो, तर तत्काल हामीहरुले यातायात सञ्चालन गर्न सक्दैनाैं भनेका छौं”, उनले भने । व्यवसायीहरुले लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनुपर्नेलगायतका माग राखेको यातायात व्यवसायी निमकुमार श्रेष्ठले जानकारी दिए । सरकारले असार २५ गते सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भए पनि सो निर्णयअनुसार सवारीका साधन सञ्चालन नहुँदा समस्या उत्पन्न भएको छ । रासस
एमयूको रजिष्ट्रारका लागि १९ जनाको आवेदन
काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् । विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा डा केशरसिंह राना, पूर्व डिन प्रा डा दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा डा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ । रासस
नयाँ उद्धार उडान तालिका सार्वजनिक, साउन ६ पछि नयाँ प्रक्रिया लागु गर्ने
काठमाण्डौ । झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन यता रोकिएसँगै सरकारले फेरि आजदेखि उद्धार उडान सूचारू गरेको छ । यसअघि दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आजदेखि साउन ६ गतेसम्मकाे उद्धार उडान तालिका सार्वजनिक भएको छ । विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्तीका लागि विभिन्न देशबाट याे हप्ता ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नै कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुँदैछ । नेपाल एयरलाइन्स कुनमिङ्गबाट, सिल्क एयर सिङ्गापुरबाट र मलेसियन एयरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । भने यूएईको आबुधाबीबाट हिमालय एयरलाइन्सका दुई जहाज नेपाली लिन जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ । एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्सले १६ वटा र नेपाल एयरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एयर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् । हालसम्म अलपत्र परेका करिब २७ हजार नेपाली स्वदेश फर्किएका छन् ।