नेपाल एसबिआई बैंकका ग्राहकलाई टेस्ला क्लिनिकमा विशेष छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा. लिमा १० प्रतिशतसम्म छुट हुने भएको छ । एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त क्लिनिकले कार्ड प्रयोग गरे बापत उक्त छुट दिने भएको हो । क्लिनिकले उक्त ग्राहकलाई प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशतदेखि १० प्रतिशत छुट प्रदान गर्ने गरी एसबिआई बैंकसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एक वर्ष नपुग्दै भत्कन थाल्याे बौद्ध क्षेत्रको सडक
काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उनले बताए । सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो । चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला शुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरेपनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ । यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको पर्यटन व्यवसायी निमा लामाले बताए । काठमाडौँ महानगरपालिका वडा नं. ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ । टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ । हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानी समेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ । महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताए । निर्माण व्यवसायीलाई सडकका विषयमा जानकारी गराउन पटकपटक स्थानीय सरकारका तर्फबाट सम्पर्क गर्दा समेत फोन नउठाउने गरेको गुनासो समेत उनले गरे । हायात होटलको अघिको सडकमा विगतदेखि नै भित्रबाट आउने पानीका कारण सडक बिग्रने गरेको वडा कार्यालयले जनाएको छ । यो समस्या समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरे पनि होटलले टेरेको छैन । वार्षिक रुपमा नेपाल आउने लाखौँ पर्यटक बौद्ध क्षेत्रमा घुम्न जाने गरेका छन् । सडकमा होटल एवं अन्यत्रका बाटाबाट लगाइने पानीका कारण खाल्डा खुल्डी भई पानी जम्ने गरेको छ । आरुबारी, तीनचुल र महाँकाल क्षेत्रको वर्षाद्को भेल बौद्धको मूल सडकमा झर्छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले पाँच वर्ष अघि गरेको ठेक्का अनुसार यहाँको सडक बिस्तार भएको हो । निर्धारित समयमा ‘साइट क्लियर’, पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्ने लगायत समस्याका कारण काम सम्पन्न हुन सकेको थिएन । तेस्रो पटक थपेको यो सडकको म्याद पनि गत चैतमै सकिएको छ । बन्दाबन्दीमा म्याद सकिएका आयोजनालाई छ महिना थप्ने निर्देशानुसार असोजसम्म बढाउन लागिएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “करिब पाँच किमी यो सडकमा आसफाल्ट गर्न बाँकी छ, हायात अघि र विभिन्न स्थानमा बाटोबाट पानी आउने ठाउँमा खाल्डा खुल्डी भएको छ, हायातको पर्खालबाट सडकमा पानी खस्ने प्वाल बनाइएको रहेछ, सडक सुधारका लागि यो समस्या समाधान गर्न पहल गरेका छौँ”, उनले भने । सडकमा निर्माण व्यवसायीले काम गर्दा कतै पनि आयोजनाले सूचनापाटी समेत नराखेकाले सडक निर्माण सम्बन्धी वास्तविक जानकारी पाउनबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । आयोजनाका अनुसार रु ३५ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको सडकमा ८० प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको छ । कात्तिकसम्ममा सडकको काम सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । यस सम्बन्धमा प्रतिक्रियाका लागि युनाइटेड बिल्डर्सका प्रबन्ध निर्देशक सुकुन्तलाल हिराचन र हायात रिजेन्सी होटललाई पटक पटक सम्पर्क गरे पनि फोन उठेन ।
भोलिदेखि काठमाडौं उपत्यकाका ८ रुटमा साझाका २६ बस चल्ने
काठमाडौं । बिहिबारदेखि काठमाडाैं उपत्यकाकाे ८ रुटमा साझाकाे गाडी चल्ने भएकाे छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडाैं उपत्यकाकाे ८ रुटमा गाडी चलाउने निर्णय गरेकाे हाे । साझाकाे पहिलाे रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क र दाेस्रो रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ रहेकाे छ । यस्तै तेस्रो रुट गोदाबरी, लगनखेल हुँदै रत्नपार्क र चाैथाे रुट लामाटार, लगनखेल हुँदै रत्नपार्क रहेकाे छ । साझाकाे पाँचाैं रुट लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट र छैठाैं रुट लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क रहेकाे छ । यसका साथै साताैं रुट रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु र आठाैं रुट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेकाे छ ।
ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध, अब रेमिटेन्स कारोबार सिधै बैंकमा जम्मा हुने
काठमाडौं । ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध भएको छ । यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल आईपीएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस इपेमेन्ट, कनेक्ट आरटीजिएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ , सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी÷पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु रहेका छन् । ईजीलिंक रेमिटेन्स प्रा.लि सन् १९९९ मा स्थापना भएको अग्रणीे रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पुर्याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पुर्याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।
काेराेनाबाट राैतहटमा ३६ वर्षिय पुरुषकाे मृत्यु
काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । राैतहटमा उपचारकाे क्रममा रहेकाे एक ३६ वर्षिय पुरुषकाे काेराेनाकाे कारण मृत्यु भएकाे हाे । उनकाे बुधबार दिउँसाे २:३० बजे मृत्यु भएकाे स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनकाे परिवारकाे सदस्य काेभिड १९ बाट मृत्यु भएकाे दाजुकाे लागि अन्तिम संस्कार गर्न भारतकाे बैगलाेर गएका थियाे । उनीहरु असार २४ गते नेपाल फर्की राैतहटकाे परहवा क्वारेन्टिनमा बसेकाे गाैतमले बताए । असार २९ गते रुघाखाेकी, ज्वाेराे तथा सास फेर्न समस्या अाएपछि उनलाई साेहि दिन नारयणी अस्पताल विरगंजमा भर्ना गरिएकाे र परीक्षण गर्दा असार ३१ गते काेराेना पुष्टि भएकाे थियाे । बुधबार थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे र त्यही मृत्यु भएकाे गाैतमले बताए । याेसँगै नेपालमा काेराेना लागेर मृत्यु हुनेकाे संख्या ३९ पुगेकाे छ । हाल नेपालमा १७ हजार १ सय ७७ जनामा काेराेना पुष्टि भएकाे छ भने ११ हजार २५ जना निकाे भएर घर फर्किसकेका छन् ।
चौंथो वर्षमा प्रवेश गरेकाे अवसरमा स्पर्स लघुवित्तले गर्यो विभिन्न कार्यक्रम
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । “उधमशीलता संगै आत्मनिर्भरता” भन्ने मुल नाराका साथ स्थापना भएकाे यस संस्था असार २९ गतेका दिनदेखि चौथो वर्षमा लागेको हो । यस उपलक्ष्यमा संस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले सञ्चालनमा रहेको २० वटै शाखा कार्यालयहरु मार्फत सदस्यहरुलाई हात धुने साबुन तथा सेनीटाइजर वितरण गरेको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को लक्षण, रोकथाम तथा सावधानी बारे प्रत्येक केन्द्रमा जनचेतनामुलक सामग्रीहरु वितरण गरेको छ । साथै, यस प्रकोपबाट आफु पनि बाँच्न र अरुलाई पनि बचाउन बिशेष गरि सर सफाइमा ध्यान दिनुपर्ने भएकोले पटक पटक साबुनपानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै संस्थाले सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा सेनीटाइजर वितरण गरेको छ । संस्थाको १० जिल्लामा करिब १७ हजार ५०० सदस्य रहेका छन् ।
काठमाडाैं उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित
काठमाडाैं । काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ७ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ६५ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । आज नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ६९७ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार १ सय ७७ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २५ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, ६९७ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार १ सय ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २५ रहेकाे छ । अर्थात हाल ६ हजार १ सय १४ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ९८ हजार ८ सय २९ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार १ सय १३ जना आईसाेलेसनमा रहेका छन् ।