चुनावमा किशाेर प्रधान र चन्द्र ढकाल, आलोचनामा शेखर गाेल्छा

<p>काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बन्न चाहने किशोर प्रधान र चन्द्रप्रसाद ढकाल आफ्नो टीमसहित चुनावी मैदानमा उत्रिएका छन् । तर, यो चुनावको केन्द्रमा शेखर गोल्छा देखिए । गोल्छाले वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी प्रधानलाई खुलेर सहयोग गरेका छन् । प्रधानकाे टिमबाट कार्यसमितिमा बहुमत सदस्य निर्वाचित गराउनु गाेल्छाकाे [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बन्न चाहने किशोर प्रधान र चन्द्रप्रसाद ढकाल आफ्नो टीमसहित चुनावी मैदानमा उत्रिएका छन् । तर, यो चुनावको केन्द्रमा शेखर गोल्छा देखिए ।

गोल्छाले वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी प्रधानलाई खुलेर सहयोग गरेका छन् । प्रधानकाे टिमबाट कार्यसमितिमा बहुमत सदस्य निर्वाचित गराउनु गाेल्छाकाे अर्जुनदृष्टि रहेकाे छ ।

निर्वाचन सम्पन्न भएपछि उनी अध्यक्ष बन्ने नै हुन् । विधानतः उनी अब स्वत अध्यक्ष हुन्छन् । तर उनी चुनावमा पूर्णरूपमा सक्रिय छन् ।

गाेल्छाकाे सक्रियताप्रति ढकालकाे समूह असन्तुष्ट देखिएकाे छ । मंगलबार चन्द्रप्रसाद ढकाल र उनकाे समूहका पदाधिकारीकाे उम्मेदवारी घाेषणामा सबैले गाेल्छाकाे आलोचना गरे ।

महासंघको यो निर्वाचनमा अनौठो संयोग छ । त्यो के भने आफूसँगै वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका प्रधानलाई गोल्छाले खुलेर सहयोग गरेका छन् । र, ढकाललाई एशाेसिएट उपाध्यक्ष बनाउन उम्मेदवारीकाे प्रस्ताव फिर्ता लिएका सौरभ ज्योति चन्द्र ढकालसँग चुनावी प्रतिस्पर्धामा होमिने टीममा समाहित भएका छन् ।

आफ्नो टीम घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले गोल्छालाई अध्यक्ष बनाउन आफूले धेरै मेहेनत गरेको सम्झिए । ढकालको यो स्मरण सही किनपनि छ भने यसअघिको निर्वाचनमा ढकाल र गोल्छा एउटै टीममा थिए । ढकाललाई उपाध्यक्ष बनाउन गोल्छाले सहयोग गरे र गोल्छालाई वरिष्ठ उपाध्यक्षमा चुनाव जिताउन ढकालले सहयोग गरे ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले आफ्नो सहयोगका कारण नै गोल्छा अध्यक्ष बन्न लागेको आशय व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्थाप्रति महासंघ सदस्यहरुले प्रश्न उठाएर गोल्छालाई अप्ठेरो पार्न खोजेको अवस्थामा पनि आफूले त्यसो नगर्न सदस्यहरुलाई कन्भिन्स गरेको ढकालको भनाइ छ ।

अर्थात, ढकाल गोल्छालाई आफूले गुन लगाएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने गोल्छा ढकालका प्रतिस्पर्धी प्रधानलाई भोट माग्दै हिडिरहेका छन् ।

स्वतः अध्यक्ष बन्न लागेका गाेल्छा किन आलाेचनाकाे केन्द्रमा तानिदै छन् ?

जानकारहरूकाे २०७४ साल कात्तिकमा  विधान संशाेधन गर्नुकाे उदेश्य वरिष्ट उपाध्यक्षलाई चुनावमा नउतार्ने, निर्वाचित कार्यसमितिमा अध्यक्षकाे पक्ष वा विपक्षकाे टिमबाट चुनाव जितेकाे भनेर कित्ताकट गर्ने अभ्यास राेक्ने, निर्वाचनमा पराजित समूहसँग र अध्यक्षबीचकाे सम्बन्ध राम्राे हाेस् भन्ने थियाे ।

तर विधानकाे मर्मअनुसार काम भएन । तत्कालिन बरिष्ठ उपाध्यक्ष भवानी राणाले पनि वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छालाई चुनाव जिताउन सक्रिय भूमिका खेलिन् । अहिले शेखर गाेल्छाले किशाेर प्रधानलाई चुनाव जिताउन सक्रिय भूमिका खेलेका छन् । दुबैकाे भूमिका विधानकाे मर्म विपरित नै छ ।

हुनतः निर्वाचनमा आदर्श पूर्ण भूमिका कमैबाट भएकाे देखिन्छ । महासंघमा अध्यक्ष भइसकेकाे व्यक्तिहरू पनि चुनावी समूहकाे पक्ष विपक्षमा सक्रिय हुने गरेका छन् ।निवर्तमान पशुपति मुरारकाले प्रधानलाई खुलेर सहयोग गरेका छन् भने पूर्वअध्यक्ष चण्डिराज ढकाल ढकाललाई खुलेर समर्थन गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएयट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानको टीममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् ।

Share News