विकासन्युज

विद्यालय निरीक्षकसँग ४ कराेड ५४ लाखकाे अकूत सम्पत्ति, विशेष अदालतमा मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए । रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले भूमिसुधार कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्णबल्लभ ठाकुरले रु १३ हजार बराबरको घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । जग्गा स्रेस्ता कायम गरिदिने बहानामा उनले घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेले, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई सेवाग्राहीसँग रु आठ लाख ५० हजार बराबरको घुस लिएको अभियोग लागेको छ ।

राज्यसँग लडेर होइन, संवाद गरेर भूमिका खोज्नुपर्दछ

विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गैरहेका छौं त्यो चार महिना अघि गर्दथ्यौं । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्योहोर्नु पर्यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुपर्यो । कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझ कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो । कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्य सम्वन्धी चुनौति र दोस्रो आर्थिक चुनौति । स्वास्थ्य सम्वन्धी चुनौतिलाई सरकारले सामाना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । तर आर्थिक चुनौति भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामाना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउने बाहेक अर्को विकल्प छैन । कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न तपाईं हाम्रो व्याक्तिगत पहल मात्रै काफी हुँदैन् । त्यसलाई प्रभावकारी रुपमा सामाना गर्न हामीबीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रुपमा हाम्रा पूर्खाले हामीलाई नेपालको सबैभन्दा शसक्त त्यो फोरम उपहारमा दिएका छन् । त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रुपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ । तपाईँहरुको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा चार महिना अघि नै औपचारिक घोषणा गरिसकेको छु । तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन्, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टीमको जरुरत पर्दछ । आज हामी त्यो टीमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं । र म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु । हाम्रो टीममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनुहुनेछ । बायाँबाट क्रमशः पूर्व अध्यक्ष चण्डिराज ढकाल, रामचन्द्र संघाइ, चन्द्रप्रसाद ढकाल, गुणानीधि तिवारी र उमेशलाल श्रेष्ठ महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ । हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ । टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ । तपाईंलाई दुस्ख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ । आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन् र ? आज हामी चुनावमा छौं, स्वभाविक रुपमा हाम्रो टीमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस । विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरी सम्झनुहोस् । अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ? तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ? सुन्दैछु, अहिले फेरी तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ?, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ? भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरी उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् । म भन्छु, उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस् । हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौं । म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं । हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो । तपाईंहरु आफै मनन गर्नुहोस्, तपाईंहरु आफैले मूल्याङ्कन गर्नुहोस् । त्यो टीम छान्ने वा यो टीम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो । स्वभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ । चार महिना अघि मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टीम बन्नेछ । यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ । मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ? मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ? आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ । यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं । सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो । यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामी भित्र विश्वास जगाउन हो । हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ । हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ । मैले मेरो घोषणा सभामा पनि भनेको थिएँ,  ‘निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।’ औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं । जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिश चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको ब्यवसायिक करमा उद्योग बाणिज्य संघलाई ३०÷७० को सहभागिता लागू गर्न पहल गर्नेछौं । निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता बिकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगम, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नेछ । हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्ने छौं । कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं । अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन् । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरुलाई अपिल गर्दछु । (नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यक्त गरेको विचार)

स्यानिटाईजर दर्ताको समय थप गरेको प्रति नेपाल औषधी उत्पादक संघकाे विराेध

काठमाडौं । स्यानिटाईजर दर्ताको लागि सरकारले गरेको ३ महिना समय अवधी थपको नेपाल औषधी उत्पादक संघले विरोध गरेको छ । संघले मंगलबार यसको विरोध गर्दै औषधि व्यवस्था विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ । स्वास्थ्यको मन्त्रिस्तरिय बैठकले असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको गरेको थियो । दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हुने संघका महासचिव विप्लप अधिकारीले बताए । संघले यो निर्णय तत्काल फिर्ता लिन माग राखेको छ । यसअघि अाफुहरुले स्वास्थ्यमन्त्रीलाई नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुँदे माग सहित पत्र बुझाइसकेको संघले जनाएको छ । स्वास्थ्यमन्त्रीले औषधि परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने बचन दिएको र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको अधिकारीले बताए । तर एक्कासि स्यानेटाइजरको दर्ता समय थपले आफुहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको अधिकारी बताउँछन् । ‘हाम्रो यो आन्दोलन भोलि पनि जारि रहने छ ,भोलि सम्म पनि हाम्रा मागको सुनुवाई नभए पर्सि बाट थप कडा आन्दोलनमा जाने छौ,’ उनले भने । कोरोना भाइरसको सङ्क्रमणको बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघको भनाइ छ।

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र रु ९५.७७ लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित मात्र रु १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् । साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्छन् ।

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण

काठमाडौं । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई सङ्क्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कसरी प्रदेशसभामा कोरोना छि¥यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा तिवारीले बताए । सङ्क्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अत्यन्तै सुरक्षामा राखिएको प्रदेशसभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारमा त्रास बढेको छ ।

तनहुँ पहिरो अपडेट: मृतकको सङ्ख्या ११

दमौली । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यो सँँगै तनहुँमा पहिराले पुरिएर निधन हुनेको सङ्ख्य ११ पुगेको छ । यसअघि सोमबार दश जनाको शव फेला परेको छ । व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ । पहिराले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजको श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै ५ वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थाापा र निजको श्रीमती १९ वर्षीया मनिसरा थापा, व्यास नगरपालिका–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अन्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको पहिराले पुरिएर मृत्यु भएको थियो । पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका–८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडकको निमार्ण कार्य क्षति दावी स्वरुप राष्ट्रिय बीमा कम्पनीले भुक्तानी गर्यो ४६ लाख रुपैयाँ बढी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दावी स्वरुप ४६ लाख ८३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले सम्वन्धित कम्पनीका प्रतिनिधीलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत जटही जनकपुर सडक विस्तार तथा स्तरोन्नति कार्य निर्माण व्यवसायी लामार डाँफे र धुकुछुबाट भइरहेको थियो । र, उक्त सडकको बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरिएको थियो । गत वर्ष २०७६ असार २६, २७ र २८ को अबिरल वर्षाको बाढीले सडक खण्डको विभिन्न स्थानहरुमा पानी जम्मा भई निर्माण सामाग्रीहरु लगायत सडकको निमार्ण कार्य समेतमा क्षति भई दावी परेकोमा बीमा कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

आइएमईबाट पैसा पठाउँदा तुरुन्तै बैंक खातामा जम्मा हुने

काठमाडौं । आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै(रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् । पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महक्तवपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।