विकासन्युज

मैले पाउने मत माेटामाेटी आकलन गरिसकेँ, चुनाव जित्छु-रामचन्द्र संघई

रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी) अवार्ड समेत प्रदान गरेको थियो । यहि साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा संघईले एसोशिएट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था रहेको छ । उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनीहरु चलाईरहेको र १६ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको  त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघई निर्वाचनमा विजयी भएका श्रमिक र रोजगारदाताबीचको सम्बन्ध राम्रो बनाउने बताउनु हुन्छ । प्रस्तुत छ कोभिड–१९ले व्यवसायमा पारेको असर र आगामी निर्वाचनको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको विकास वहस । त्रिवेणी ग्रुप उद्योग, व्यापार र सेवा क्षेत्रमा ठूलो लगानी रहेको व्यावसायिक घराना हो । कोभिड–१९ र लकडाउनले व्यवसायमा कस्तो असर पारेको छ ? सर्वप्रथम त त्रिवेणी ग्रुपको बारेमा जानकारी राख्नुभएकोमा यहाँलाई धन्यवाद । कोभिड–१९ को संकट हाम्रा लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि अप्रत्याशित थियो । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई समेत यस्तो समस्या समाधान गर्न गाह्रो परेको अवस्थामा हामीलाई पनि पक्कै सजिलो त थिएन । नेपालको निर्यात क्षेत्र पुरै ठप्प भयो र अझै समस्यमा छ । नेपालले समयमै वाह्य सीमाहरु बन्द गरेका कारण कोभिड संक्रमण पनि भयावह हुने गरी फैलिन नपाएका कारण हामीले अपेक्षा गरेभन्दा कम नै प्रभाव परेको छ । तर पनि साना ठूला सबै उद्योग व्यवसायीलाई समस्या परेको छ । तीन महिनासम्म पूर्ण लकडाउनमा रहनुपर्दा हाम्रा पनि उद्योग व्यवसाय पूरै ठप्प रहे । त्यसको क्षति न्यूनीकरणका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ । हाम्रो आन्तरिक बजार त चाँडै नै रिभाइभ होला तर हामी त निकासीमूलक व्यवसायमा पनि भएकाले वाह्य बजार हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले कोभिड–१९ र लकडाउनले हामीलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक सबै प्रकारका असर पारे पनि हामी विस्तारै माथि उठ्ने प्रयासमा छौं । अब व्यावसायिक गतिविधि नियमित हुन कति समय लाग्ला ? सरकारले लकडाउनको मोडालिटी केही परिवर्तन गरेसँगै निश्चय पनि आर्थिक गतिविधि बढ्न थालेको छ । सडकमा सार्वजनिक यातायातसमेत आंशिक सूचारु भइसकेको अवस्स्थामा मानिसहरु काममा फर्किन थालेको अवस्था छ । हामीले पनि प्रशासनिक काम त सुरु गरिसकेका छौं । सेवा क्षेत्रमा पनि केही काम भइरहेका छन् तर, उत्पादन क्षेत्रमा अझै पनि समस्या छन् । आन्तरिक खपतका वस्तु उत्पादन चाँडै रिभाइभ भए पनि निकासीमूलक व्यवसायलाई केही समय लाग्छ । तीन महिना लकडाउनले घरमै बस्नुपरेका नेपालीको उत्साह हेर्दा लाग्छ कि अब चाँडै नै व्यावसायिक गतिविधि पनि नियमित हुनेछ । कोरोना भाइरस र कोभिड–१९ को अन्त्य चाँडै नहुने विश्वव्यापी अध्ययन अनुसन्धानले देखाइसकेकाले अब हामी यसको खोप वा औषधि पर्खेर बस्ने अवस्थामा छैनौं । हामीले सुरक्षात्मक उपायहरु अवलम्बन गरेर काममा फर्कने र दैनिक गतिविधि सूचारु गर्नुको कुनै विकल्प देखिँदैन । कोभिड–१९ पछि व्यावसायिक संस्कारमा कस्तो परिवर्तन आउला ? कोभिड–१९ ले अर्थतन्त्र र मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याए पनि हामीलाई धेरै कुरा सिकाएको पनि छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने देखाएको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो व्यवसाय र व्यावसायिक संस्कारमा पनि देखिनेछ । अबको व्यवसाय भौतिकभन्दा पनि बढी डिजिटल हुने देखिन्छ र सूचना प्रविधिको अधिकतम उपयोगका माध्यमले हामी अगाडि बढ्नुपर्ने देखिन्छ । उपभोक्ताको फेरिँदो रुचि र आवश्यकताका आधारमा हामी उत्पादक र सेवा प्रवाह गर्ने व्यवसायीहरु पनि चल्नुपर्छ । हाम्रो व्यावसायिक संस्कार भन्नु नै उपभोक्तामुखी हो र अहिलेको अवस्थामा उपभोक्तालाई डिजिटलका माध्यमले नै सेवा प्रवाह गर्न सकियो भने हाम्रो व्यावसायिक लागत पनि घट्न सक्छ । यसैले मलाई लाग्छ कि अब हामी परम्परागत ढंगभन्दा माथि उठ्नु जरुरी भइसकेको छ । अर्को महत्वपूर्ण विषय के हो भने कोभिड–१९ले हामीलाई आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गरेको छ । आज विश्व पुरै बन्द भएको अवस्थामा हामी आफूलाई चाहिने खाद्यन्य, औषधि, कपडा लगायत अत्यावश्यक बस्तुहरु आफैले उत्पादनु गर्नुपर्छ, कृषिलाई निकै प्राथमिकता दिनुपर्छ भन्ने सन्देश कोभिडले दिएको छ । कोभिड–१९ पछि आएको नेपाल सरकारको बजेट र राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि त्यसतर्फ जोड दिएको हामीले पाएका छौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाइँको चुनावी एजेण्डका के छन् ? हो, साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनमा मैले एशोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी दिने निर्णय सार्वजनिक गरिसकेको छु । मैले चन्द्र ढकालजी को जुन टिमबाट उम्मेदवारी घोषणा गर्ने बेलामा पनि भनिसकेको छु कि निजी क्षेत्रको सम्वद्र्धन र संरक्षणका लागि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने नै मेरो योजना हुनेछ । महासंघको सिंगो शरीरमा रक्तसञ्चार गर्ने धमनी भनेकै एशोसिएट समूह भएकाले यसलाई निर्वाध सञ्चालनमा गराउन, त्यसको गति अवरुद्ध हुन नदिन मैले आफ्नो अनुभव, ज्ञान तथा विवेकको पूर्ण उपयोग गर्नेछु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । यतिमात्र नभइ उत्पादनमूलक, सेवामूलक, व्यापार सबै क्षेत्रम म प्रत्यक्ष संलग्न रहेकाले यी क्षेत्रमा रहेका समस्या र सम्भावनाको गहिराइको ज्ञान मलाई राम्रोसँग रहेको छ । सरकारले यसै वर्ष मलाई उत्कृष्ठ निकासीकर्ताका रुपमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड प्रदान गरेको यहाँलाई स्मरण गराउँदै सम्पूर्ण निजी क्षेत्रलाई यस्तो सम्मानको लायक बनाउने मेरो ध्येय रहनेछ । मतदाताहरुले तपाइँलाई नै किन मतदान गर्ने ? महासंघमा तपाइँको योगदान के छ ? महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो र म त्यसमा प्रत्यक्ष रुपमा विगत डेढ दशकदेखि जोडिएको पनि छु । महासंघमा मैले धेरै नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव पनि छ र अब त्यो अनुभवका आधारमा मैले नेतृत्व तहमा जान खोजेको हो । विगतमा महासंघमा कार्यकारिणी समिति सदस्य मात्र रहे पनि अब उपाध्यक्षमा रहेर मेरो व्यावसायिक र संस्थागत अनुभव, ज्ञान, सीप र विवेक निजी क्षेत्रको उन्नति र समृद्धिमा लगाउने दृढ इच्छाशक्तिका कारण मैले यो निर्णय लिएको हो । विगतमा मैले व्यवसाय पनि हेर्नुपर्ने कारणले महासंघमा समय दिन सक्दिनँ कि भनेर नेतृत्व तहमा जाने इच्छा देखाइनँ तर अहिले मेरो व्यवासायमा अर्को पुस्ता नेतृत्व सम्हाल्न सक्षम भइसकेकाले म महासंघलाई पर्याप्त समय दिन सक्छु भन्ने लागेर पनि म उपाध्यक्षका लागि तयार भएको हो । मैले विगतमा रोजगारदाता परिषदको सहसभापति रहेर योगदान पु¥याएको छु । म कहिल्यै पनि कुनै समिति माग्न नेतृत्वसँग गइनँ तर दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु । यसैले एशोसिएटका विवेकशील अग्रज तथा मित्रहरुले मलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने ठानेको छु । महासंघमा एशोसिएट सदस्य नै सबैभन्दा धेरै छन् र सबैभन्दा बढी मतदाता पनि एशोसियट हुन् । तर, एशोसिएट उपाध्यक्षको हैसियत महासंघमा कमजोर छ । एशोसिएट उपाध्यक्षको अधिकार र भूमिका वृद्धि गर्न तपाइँको भूमिका कस्तो हुन्छ ? एशोसिएट उपाध्यक्षको भूमिका कम भएजस्तो त मलाई लाग्दैन । महासंघको विधान र कार्यविधिमा नै एशोसिएटको भूमिका स्पष्ट छ । तीन उपाध्यक्षमध्ये मर्यादाक्रममा तल राखिएको विषयलाई तपाइँले इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर, आफ्नो भूमिका पदले भन्दा पनि कामले देखाउने हो भन्ने मलाई लाग्दछ । असल श्रम सम्बन्ध निर्माणदेखि लगानीको वातावरण निर्माणसम्म एशोसिएटकै क्षेत्रमा पर्दछ । वस्तुगत र जिल्ला नगरका व्यवसायी साथीहरुको पनि व्यवसायको आकार बढ्ने वित्तिकै उहाँहरु आउने एशोसिएटमै हो । अर्कोतर्फ यसमा प्रत्यक्ष सदस्यता प्रणाली भएकाले भोटिङका लागि कुनै अर्को संगठनबाट निर्वाचित भएर आउनुपर्ने अवस्था पनि छैन । तपाइँले इंगित गर्नुभएको जस्तै प्रतिशतका आधारमा यस क्षेत्रको प्रतिनिधित्व कम भएको भने म स्वीकार गर्छु र यसलाई बढाउने मेरो प्रयत्न रहनेछ । यद्यपि, हामीले सामूहिक निर्णयमा विश्वास राख्नु आवश्यक छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुबीच दुई समूह बनाएर प्रतिस्पर्धा हुने गरेको छ । आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाल भर्सेर किशोर प्रधान टीमबीच प्रतिस्पर्धा हुँदैछ । तपाइँले चन्द्र ढकालको टिम किन रोज्नुभयो ? महासंघमा मैले धेरै पूर्वअध्यक्षसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । सबैका आफ्नै विशेषता छन् भने कमजोरीरहित व्यक्ति कोही पनि हुँदैन । विगतदेखि नै महासंघमा मन मिल्ने साथीहरुको टिम बनाएर निर्वाचनमा जाने प्रचलन रहिआएको हो र यस वर्ष पनि त्यसले निरन्तरता पाएको मात्र हो । निर्वाचन नभइ सर्वसम्मति भएको भए अझै राम्रो हुन्थ्यो तर स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुन्छ भने त्यसलाई पनि खराब भन्न मिल्दैन, यो प्रजातान्त्रिक संस्कार पनि हो । निर्वाचनको दिनसम्म हामी दुई समूह भए पनि निर्वाचनको परिणामसँगै हामी सबै एउटै समूह हौं । यसैले हामी अरुको कमजोरी देखाएर नभइ आफ्नो क्षमताका आधारमा निर्वाचनमा जानुपर्छ र गएका छौं । जहाँसम्म चन्द्र ढकालजीको टिममा नै किन तपाइँ जानुभयो भन्ने प्रश्न गर्नुभयो, यो त्यति ठूलो कुरा हो जस्तो पनि मलाई लाग्दैन । ढकालजीलाई हामीले शेखर गोल्छापछिको अध्यक्षका रुपमा सबल र सक्षम नेतृत्व दिनसक्ने व्यक्तिका रुपमा पाएर नै साथ दिएका हौं । उहाँले आफ्नो व्यवसायसँगै सबैखाले व्यवसायीसँग गर्ने समान व्यवहार, नीति निर्माण तहसम्मको पहुँचजस्ता विषयले सम्पूर्ण निजी क्षेत्रलाई नै फाइदा हुन्छ र महासंघको गरिमा माथि जान्छ भन्ने लागेर नै हामी सामूहिक रुपमा अगाडि बढ्न खोजेका हौं । मैले अघि पनि भनेँ कि मन मिल्ने साथीहरु एउटै टिममा हुनु स्वाभाविक हो र ढकालजी एशोसिएट समूहबाटै सदस्य र उपाध्यक्ष भइसक्नु भएकाले उहाँको अनुभवले मलाई पनि राम्रो हुन्छ र सहयोग पुग्ने भएकाले र म पनि सोही समूहको भएकाले एउटै समूहमा भएका हौं । एशोसिएटबाट तपाइँले कति मत पाउने अनुमान छ र यस क्षेत्रबाट चन्द्र ढकालले कति मत पाउने सम्भावना देख्नुहुन्छ ? कति मत पाउँछु भनेर मोटामोटी आकलन गरिसके पनि म अहिल्यै यसलाई सार्वजनिक गर्नु त्यति उपयुक्त ठान्दिनँ । एशोसिएटका सबै मतदाता विवेकशील हुनुहुन्छ र आफ्नो व्यवसायमा पनि उत्तिकै सवल र सक्षम भएकाले नेतृत्व चयनमा पनि यसैगरी विवेक पु¥याउनु हुन्छ भन्नेमात्र मलाई विश्वास छ । निश्चय पनि निर्वाचनमा जित्नकै लागि भाग लिइने हो र म त्यसमा भने विश्वास राख्दछु । अहिलेसम्म कति प्रोक्सी संकलन भए ? मलाई लाग्छ, यो प्रोक्सी भन्ने शब्द चयन धेरै भइरे पनि यो नितान्त गलत छ । व्यवसायी अग्रज तथा मित्रहरुको व्यस्तताका कारण उहाँहरु आफैं आउन सक्नुहुन्न भने उहाँहरुले प्रतिनिधि पठाउनु हुन्छ । यसैले उहाँहरुलाई प्रोक्सी नभइ प्रतिनिधि भनौं र यो हामीले संकलन गर्नेभन्दा पनि उहाँहरुले नै विधान र कार्यविधिअनुसार पठाउने हो । पठाइरहनु भएको पनि छ । यसका लागि समय सीमा पनि छ र केही दिनमै यसको आधिकारिक तथ्यांक थाहा हुनेछ । कोभिड–१९ का कारण व्यवसायीहरु आर्थिक संकटमा छन् । तपाइँहरुलाई चुनाव लागेको छ । यस्तो बेलामा भोट माग्दा व्यवसायीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ? महासंघले निर्वाचनको मिति सार्वजनिक गरेको बेलासम्म त निर्वाचन होला र ? भन्ने जुन आशंका गरिँदै थियो अहिले पूरै माहौल बनिसकेको छ । कोरोना संक्रमितको तथ्यांक पनि क्रमशः घट्दो स्थितिमा भएकाले अहिले निर्वाचन हुने अवस्था नै देखिन्छ । हामीले सामूहिक र व्यक्तिगत भेटघाटलाई विस्तारै अगाडि बढाइरहेका छौं । सबैले सकारात्मक प्रतिक्रियाहरु दिइरहनु भएकाले उत्साहित छौं । खासगरी कोरोना प्रभावित अर्थतन्त्रलाई गति दिन सरकारको बजेटले त्यति उत्साहित नरहेको निजी क्षेत्रका साथीहरु मौद्रिक नीतिबाट उत्साहित रहनुभएको पनि मैले पाएको छु । अर्थतन्त्रलाई अब लयमा फर्काउनुपर्छ र यसका लागि तपाइँ पनि निजी क्षेत्रको नेतृत्वमा आउनुपर्छ भनेर पनि मलाई उहाँहरुले भनिरहनुभएको छ । यसैले म निकै उत्साहित पनि छु । तपाइँले महासंघमा धेरै वर्ष बिताउनु भयो । कतिपय मानिसहरुले भन्छन् कि महासंघ विगतको तुलनामा कमजोर हुँदै गयो । यसको कारण के हो ? महासंघप्रति धेरैको अपेक्षा छ र विश्वास पनि । देशव्यापी उपस्थिति रहेको र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन भएकाले महासंघले निजी क्षेत्रको अभिभावकत्व लिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । महासंघमा विगतमा केही आन्तरिक समस्याका कारण कुनै विषय ठिक ढंगले सम्बोधन हुन सकेनन् होला तर यतिले मात्र महासंघ कमजोर नै भइहालेको भन्न मिल्दैन । आजको दिनमा महासंघको कुनै विकल्प छैन । उद्योग परिसंघ, चेम्बर, घरेलु लगायत सबै वस्तुगत संस्थासँग सहकार्य गरेर महासंघले नेतृत्व गरेर निजी क्षेत्रको एउटै आवाज महासंघले नै सरकारसमक्ष पु¥याउनु पर्नेछ । विगतका कमजोरीले हामीलाई शिक्षा दिएको छ र त्यो सच्याउँदै अगाडि बढ्न सकिन्छ । निर्वाचनले दुई पक्ष जन्माउँछ र झन कमजोर हुन्छ भन्ने चिन्ता पनि देखिन्छ । यो चिन्ता स्वाभाविक भए पनि हामी कुनै कार्यकारिणी संस्थामा नभइ स्वयमसेवी संस्थामा जान लागेको रुपमा सबैले बुझ्न सक्यौं भने विवादको जड बाँकी रहँदैन ।

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष, विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ । एनएमबि बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

विदेशी लगानी भित्र्याउन सजिलो हुने गरी विशिष्टीकृत लगानी कोष संशोधन गरियो

काठमाडौं । धितोपत्र बोर्डले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित व्यवस्थाले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्स्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न सहज हुने बोर्डको भनाइ छ । संशोधित विशिष्टीकृत लगानी कोष नियमावली साउन १ गतेदेखि लागू गरिएको बोर्डले जानकारी दियो । यस्तो भयो नयाँ प्रमुख व्यवस्था –विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । –प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ । –भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ । –योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ । नियमावलीको संशोधनका व्यवस्थाहरुले पूजी बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न सक्ने वोर्डको अपेक्षा गरेको छ । यस्तो छ नियमावलीको पूर्णपाठ [pdf id=228543]

तपाईको मोबाईल फोन हरायो ? दुरसंचार प्राधिकरणमा खबर गर्नुस्

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणले सर्वसाधारणहरुलाई लक्षित गर्दै ‘मोबाईल ट्रयाकिङ्ग’ सेवा ल्याएको छ । यस मोबाईल ट्रयाकिङ्ग सेवा मार्फत कसैको मोबाईल फोन हराएमा अब सहजै पत्ता लगाउन सकिनेछ । एकपटक चलाई सकेको फोनको रेकर्ड दुरसंचार प्राधिकरणमा बस्छ । यस्तै, (सेवा प्रदायक) दुरसंचार कम्पनीहरुमा समेत प्रयोग भएका फोनको रेकर्ड रहिरहन्छ । प्राधिकरणले मोबाईल फोनसेटको पहिचानको रुपमा हरेक मोबाईल फोनसेटमा रहेकाे इन्टरनेशनल मोबाईल इक्युइपमेन्ट आर्ईडेन्टिटी (आईएमईआई) बाट मोबाईलको पहिचान आफूहरुसँग रहने जनाएको छ । मोवाईल ट्रयाकिङ्ग सिस्टम मार्फत कसैले आफ्नो मोबाईल फोन हराएमा एनटीएलाई उजुरी गर्न सक्नेछन् । एनटीएले एक पटक प्रयोग भएको फोन अर्को पटक प्रयोग हुँदा सहजै पत्ता लाग्ने भन्दै कसैले हराएका फोन भेट्टाएमा तत्काल फिर्ता दिन सूचना जारी गरेको हो ।

नेपाली हवाई उडानलाई युरोपका देशहरुमा अनुमति दिन अर्थमन्त्रीको अनुरोध

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली हवाई उडानलाई युरोपका देशहरुमा उड्न अनुमति दिन अनुरोध गरेका छन् । सोमबार अर्थमन्त्री खतिवडाले नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत वेरोनिका कोडीसँग भेडवार्ता गर्दै सो अनुरोध गरेका हुन् । अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन अनुरोध गरेका हुन् । आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लागेकी राजदूत कोडीसँग भेटवार्ता गर्दै खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद समेत दिएका छन् । उनले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गरे । उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गदैं नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको उल्लेख गरे । उनले आर्थिक÷वित्तीय÷श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको कुरा जानकारी गराए । उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राखे ।

माध्यामिक तहदेखि नै बीमा पढाउन तात्यो बीमा समिति, कक्षा ११ देखि मास्टर्ससम्मको कोर्स बनाइदै

काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले विगतदेखि नै विद्यालयस्तरदेखि नै बीमा सम्बन्धी पढाई हुने व्यवस्था मिलाउन पहल गरेका थियौं, कक्षा ११ र स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम बनाएर सम्बन्धित निकायलाई दिएका पनि हौं, तर कक्षा ११ र १२ तथा स्नातक तहका सबै वर्षको पाठ्यक्रम तयार भएपछि मात्रै कोर्षमा राखिने गरिएको हुने रहेछ, त्यसैले थप गृहकार्य गर्नुपर्ने देखियो,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । समितिले चालु आर्थिक वर्षको आफ्नो वार्षिक कार्ययोजनामा बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय पनि समावेश गरेको छ । समितिले माध्यमिक, स्नातक र स्नाकोत्तर तहमा बीमा विषयको अध्ययनको व्यवस्था मिलाउन पाठ्यक्रम तयार पार्न लागेको हो । समितिले अब कक्षा १२ तथा स्नातक तह दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रम तयार पार्नेछ । यस्तै, समेस्टर प्रणालीबाट अध्ययन हुने संकायको लागि भने प्रत्येक तहका सबै सेमेस्टरको लागि पाठ्यक्रम तयार पार्नेछ । एउटा तहको सबै वर्षका वा सबै समेस्टरको पाठ्यक्रम तयार भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिकसत्रको क्यालेन्डर अनुसार पाठ्यक्रम समावेश गर्ने जानकारी प्रतिक्रिया दिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बीमा क्षेत्रको लागि योग्य जनशक्तिको अभाव भएको र जनस्तरमा बीमा सम्बन्धी ज्ञान तथा जानकारी कम भएकोले माध्यामिक तहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रमा समावेश गर्न लागिएको समितिको भनाइ छ । ‘बीमा महत्वपूर्ण विषय भएकाले यसको ज्ञान जति छिटो हाँसील गरियो उतिनै राम्रो हुन्छ, हामीले सोही कुरालाई ध्यानमा राखेर माध्यमिक तहदेखि नै बीमा विषय पाठयक्रममा समावेश गर्न पहल गरेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक रहेको बताएको छ । केन्द्रले स्वीकृत गरेपछि मात्रै विद्यालयस्तरको कोर्षमा कुनै पनि विषय समावेश हुन्छ । त्रिविसँग छलफल स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा बीमा विषय समावेश गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि सकारात्मक रहेको र अहिले छलफल चलिरहेको समितिले जानकारी दिएको छ । बीमा क्षेत्रको भ्यालुयसन गर्ने (एक्चुरी) विषय पढ्न बर्सेनि नेपाली विद्यार्थी विदेशिने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक्चुरी विषय पढ्ने विद्यार्थीको संख्या निकै रहेको जानकारहरु बताउछन् । कति लाग्छ खर्च ? एक्चुरी विषय पढ्न विद्यार्थीहरुले गणित वा तथ्यांकशास्त्र विषयमा प्लस टु गरेको हुनुपर्छ । प्लसटु सकेको विद्यार्थीले ८ वर्षमा एक्चुरीको पढाइ पूरा गर्न सक्छन् । एक्चुरी पढ्दा ४ वर्ष डिप्लोमा तथा ४ वर्षको फेलोसिप अध्ययन गर्नु पर्छ । एक्चुरी विषय पढ्न भारतमा करिब ४० लाख तथा अन्य देशमा ७० लाखसम्म लाग्ने जानकारहरु बताउछन् । नेपालमा हाल तथ्यांकशास्त्र संकाय अन्र्तगत एक्चुरीयल साइन्सका केही कोर्सहरु पढाई हुदैआएको छ । नेपालमा विए एक्चुरीयल साईन्स पढ्न ४ वर्ष लाग्छ । उक्त कोर्ष पढाइ गर्दा विदेशमा पढाइ हुने एक्ुचरीयल साइन्स पढ्न थप सहयोग पुग्छ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुसार नेपालमा एक्चुरी शिक्षा आवश्यक छ तर सो शिक्षा सुरु गर्न केही समय लाग्ने देखिन्छ । ‘अहिले नेपालमा बीमा सम्बन्धि विषयहरुमा हामीले जोड दिइरहेको अवस्था छ तर एक्चुरीयल साइन्सको हकमा नेपालमा तत्काल सुरु गर्न सकिदैन, केही समय लाग्छ नै, बीमासँग सम्बन्धि विषयहरुमा बीमा समिति तथा पाठ्यक्रमले समन्वय गरिरहेका छन्, बीमा सम्बन्धि चेतनामा वृद्धी गर्नु आजको आवश्यकता पनि हो,’ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

काठमाडाैं । मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ । सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका दुइसय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलब्ध गराएको छ । वितरित सामग्री सेटमा तार्पोलिन-१, कम्बल-२, महिलाको सारी-१, सिलाउने कपडा-१४.५ मीटर, भाँडाकुडा सेट-१, बाल्टी-१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य १० हजार रूपैयाँ रहेको छ । ‘अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ । नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए ।’ उनले भने- ‘नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौं ।’ यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ । बाढी पहिरोले आजसम्म कम्तिमा दुइहजार चारसय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारम्भिक अनुमान छ । त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घर पूर्णक्षति भएका र ५ सय ६५ घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएका छन् । यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ । ‘रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् पुर्याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।’- निर्देशक पौडेलले बताए ।

डिशहोमले २३ करोड ८५ लाखकाे आईपीओ जारी गर्ने, बढायाे प्रकृया

काठमाडौं । डिशहोम मिडिया नेटवर्क लिमिटेडले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो । अन्य समूह अन्तर्गतको यस कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । डिशहोमले गत असार ३० गते नै बोर्डमा आवेदन दिएर उक्त प्रकृया अघि बढाएको हो ।