विकासन्युज

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क र नाफा दुबैमा वृद्धि, जगेडामा साढे ३ अर्ब रुपैयाँ सञ्चित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १९.८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा २७ अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको हो । कम्पनीको बीमा शुल्कसँगै खुद नाफामा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले ५२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, खुद दाबी भुक्तानी भने अघिल्लो वर्षको भन्दा २ अर्बले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको । जुन अघिल्लो वर्षमा ७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च २२ करोड ४५ लाख रुपैयाँबाट बढेर २४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ भएको यस कम्पनीको जीवन बीमा कोषमा ८७ अर्ब रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ६५ अर्ब रुपैयाँ सञ्चित रहेको थियो । त्यस्तै, जगेडा कोषको रकम बढेर ३ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ती कोष पनि बढेर ५५ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ । हालसम्म कम्पनीले कूल १३ लाख ४ हजार ६३२ वटा बीमालेख कायम गरी एक खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ४० हजार २ सय ४३ वटा दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको कम्पनीले एक अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

एभरेष्ट बैंककाे नाफा २ अर्ब ४९ करोड, लाभांश क्षमता कति ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ४९ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा १८.२६ प्रतिशत कम नाफा गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो । बैंकको असार मसान्तसम्मको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब रहेको थियो भने बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ०.२२ प्रतिशत एनपीएल रहेको बैंकको १३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको छ । बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६७ करोड  रूपैयाँ गरेको जनाएको छ । गतवर्षको नाफाको आधारमा बैंकले सेयरधनीलाइ दिन सक्ने  लाभांशकाे क्षमता करिब २० प्रतिशत छ । यस्तै, एभरेष्ट सीसीडी रेसियो ६८.५७ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत र कष्ट अफ फण्ड ६.११ प्रतिशत रहेको छ । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ ।

अब ट्याक्सीको भाडा एपबाटै तिर्न सकिने, माछापुच्छ्रे बैंकसँग भयाे सम्झाैता

काठमाडौं । इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजी एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका हुन् । सो सम्झौतापछि इजी ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजी ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजी एस्योरेन्स प्रा. लि.ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ । सम्झौतापछि बोल्दै इजी ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ‘हामीले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने । मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजी ट्याक्सी र बैंकबीच सम्झौता भएको हो । जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ । इजी ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।

कामना सेवा विकास बैंकका ग्राहकलाई उपाय सर्भिसेसको सेवामा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले उपाय सर्भिसेस मार्फत प्रवाह गरिने सेवामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हाे । यससँगै बैंकका ग्राहकले उपाय सर्भिसेजबाट आवश्यक पर्ने विभिन्न सुविधा लिदाँ विशेष छुट सहित सहुलियत दरमा सेवा पाउनेछन् । साथै उपाय सर्भिसेजले बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु समेत दिने छ । यो सहमति अनुरूप कामना सेवा विकास बैंकबाट कर्जा सम्बन्धी सेवा लिने ग्राहकहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेज मार्फत विशेष छुट सहित सहज र छरितो रुपमा सेवा लिन सक्नेछन् । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् । उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, मालपोत/नापी कार्यालयबाट प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

काठमाडाैं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक सार्वजनिक भइसकेका छन् । सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ-सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको हो । गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरबाट देखापरेको नव कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ । अन्तर्रराष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, ओइसीडी, सीपीआरलगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय-समयमा परिवर्तन गर्दै लगेका छन् । नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । फरक फरक आर्थिक संस्थाहरूले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेहरू गरेका छन् । प्रायः ती अध्ययनहरू अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ-सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ । कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो । यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकले विश्वास लिएका छन् । लेखक बुढाथोकी विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न  रहेका छन् ।

अब बिना झन्झट वाइफाइ चलाउन सकिने, एनसेलले ल्यायाे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा

काठमाडौ । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ । अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो । ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ । “सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,” एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । “घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।” यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक रु ४३० रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढि जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् । अल्ट्रा वाइफाइ सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहँुच सुनिश्चित गराउने उदेश्य लिएको छ । इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

प्रविधिमा फड्को मार्दै माछापुच्छ्रे बैंक, नेपालमै पहिलो पटक भित्र्यायाे ‘वी च्याट’ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट’ वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रा. लि. सँगको सहकार्यमा उक्त ‘वी च्याट’ वालेट संचालनमा ल्याएको हो । उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि ‘वी च्याट’ वालेटबाट भुक्तानी गर्न सक्नेछन् । बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।