विकासन्युज

बैंक तथा वित्तीय संस्थाले सीएसआर कोषको रकम साउन मसान्त भित्रै कोरोना कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा बाँकी रकम साउन मसान्त भित्रै नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी एक निर्देशिका जारी गर्दै सो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाको २०७७ असार मसान्तमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा बाँकी रहेको सम्पूर्ण रकम २०७७ साउन मसान्तभित्र नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नु पर्नेछ ।’- निर्देशिकामा भनिएकाे छ।

सांग्रिलाकाे घर कर्जा याेजनामा कोरोना र दुर्घटना बीमा दुबैको सुविधा पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा ‘सांग्रिला घर कर्जा’ योजना सार्वजनिक गरेको छ । एक वर्षसम्म व्याजदर घटबढ नहुने गरी बैंकले उक्त योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

अब घर घरमै स्वास्थ्य परिक्षण हुने, सजिलो मेडसले शुरु गर्यो यस्तो सेवा

काठमाडौं । अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले साउन १३ गते(आज)बाट आफ्नो कार्य संचालन गरेकाे छ । कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने उद्देश्यले विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर उक्त सेवा संचालन गरेकाे हाे । पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडाैं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने कम्पनीकाे उद्देश्य रहेकाे छ । यो सबै काम मैतिदेवी स्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कम्पनीका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराईले जनाएका छन् । बैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको हो। विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडाैंका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्‍याउन सकिने कम्पनीकाे प्रतिवद्धता रहेकाे छ ।

अब ६५ वर्षभन्दा बढी उमेरको व्यक्ति पनि बैंककाे सीईओ बन्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई एक आपसमा गाभ्न र गाभिनका लागि भूमीका खेल्ने ६५ वर्ष नाघेको बैंकको प्रमु्ख कार्यकारी अधिकृत पुनः सीईओमा नियुक्त हुन पाउने व्यवस्था ल्याएको छ । नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०७७आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सम्बन्धि नीति सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो । यसभन्दा अगाडि ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त÷पुनः नियुक्त हुन योग्य नहुने व्यवस्था रहेको थियो । अब भने २०७८ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने गरी राष्ट्र बैंकले व्यवस्था गरेको छ । बैंकहरुलाई मर्जमा जान प्रोत्साहन गर्नका लागि केन्द्रिय बैंकले सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले वर्गीकरण गर्यो कोरोनाले असर पारेका व्यवसाय, अति प्रभावितले पाउने छन् यस्तो सुविधा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालको कुन व्यवसायमा के कस्तो असर पर्यो भनेर किटान गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएका सुविधा कार्यान्वयन प्रयोजनका लागि व्यवसायमा परेका असरको आधारमा वर्गीकरण गरेको हो । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को असर परेका व्यवसायलाई ३ वर्गमा विभाजन गरेको छ । व्यवसायलाई अतिप्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी ३ वर्गमा विभाजन गरिएको छ । अति प्रभावित क्षेत्र १. पर्यटन (क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि, (ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, (ग) साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत, (घ) गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार २. हवाई तथा पर्यटकीय यातायात; ३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस; ४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ; ५. रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा) ; ६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु । जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण; ७. कुखुरापालन व्यवसाय ; ८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय; ९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ; १०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक अति प्रभावित व्यवसायले ऋणमा कस्तो सुविधा पाउँछन् ? कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना तथा न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिनासम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाई संचालक समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ र ग्रेस अवधि थप गरिएका कर्जाहरुको मासिक विवरण यस बैंकमा पेश गर्नु पर्नेछ । यसरी थप भएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण नगरी ग्रेस अवधि भित्र कम्तीमा ३ किस्तामा भुक्तानी हुने गरी असुलीको व्यवस्था गर्नु पर्नेछ र तोकिएको तालिकाबमोजिम भुक्तानी गर्ने ऋणीसँग कुनै किसिमको पेनाल व्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाइने छैन । कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङकन गरी ऋणीको लिखित कार्ययोजना अनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी तोकिएका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण गर्न सकिने छ । यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०७७ पुस मसान्त भित्र गरिसक्नु पर्नेछ भने यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा २०७६ पुस मसान्तमा सक्रिय कर्जाहरुको लागि न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी २०७७ असार मसान्तमा असल वर्गमा वर्गीकरण गर्न सकिनेछ । यसरी कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनु पर्नेछ । कोभिड–१९ को कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न÷संचालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन÷संचालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्ममा देहायबमोजिम ग्रेस अवधि थप गर्न सक्नेछन् । मध्यम प्रभावित क्षेत्र १. खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय २. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ३. यात्रुवाहक स्थल यातायात ४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ९. वन तथा खनिजजन्य उद्योग १०. निर्माण व्यवसाय ११. औषधि उत्पादन १२. छपाइ, प्रकाशन तथा संचार गृह १३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा १४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय मध्यम प्रभावित क्षेत्रले कस्तो सुविधा पाउँछन् ? कोभिड–१९ बाट मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न छुट दिइएको छ । न्यून प्रभावित क्षेत्र १. उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना २. अनलाईन (इकमर्स) मा संलग्न व्यवसाय ३. खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय ४. दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण ५. आयात जन्य व्यापार ६. पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय ७. औषधि बिक्री वितरण ८. विज्ञापन सेवा ९. इन्टरनेट, दुरसंचार सेवा प्रदायक कम्पनी १०. मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय ११. ट्रक, ढुवानी व्यवसाय ज्ञद्द. सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय । न्यून प्रभावित क्षेत्रले कस्तो सुविधा पाउँछन् ? कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न पाउने छन् ।

कर्मचारी सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट ऋण लिएका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने भएका छन् । कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यम (कनेक्ट आईपीएस इपेमेन्ट) बाट माछापुच्छ्रे बैंक खातामा भुक्तानी गर्न सक्ने भएका छन् । यससम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया शुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ । बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

विशेष बन्दै पशुपति नाथः १ करोड धार्मिक पर्यटक भित्र्याइने, आर्यघाटलाई आर्या तीर्थ बनाइने

काठमाडाैं । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ । विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गर्नुभएको पशुपति क्षेत्रको २६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा गुरुयोजनामा समेटिएको कोषले जनाएको छ । क्रिश्चियन धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । कोषका पूर्वसदस्य सचिव एवंं गुरुयोजना विज्ञ चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनाको अवधारण र सिद्धान्त सञ्चालक परिषद्बाट पारित भएर संस्कृति मन्त्रालय पुगेसँगै कानून, अर्थलगायत सरोकार भएका मन्त्रालयको स्वीकृति लिई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भएको जनाइएको छ । आगामी ५० वर्षसम्म पशुपति क्षेत्रमा आउने भक्तजनको अनुमान गरी पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना बनाइएको उनले बताए । “पशुपति क्षेत्रमा आउने पर्यटकका सवारी पार्किङका लागि तिलगङ्गा पुलमुनिको उकालोबाट जमिनमुनि पार्किङ स्थल निर्माण गर्ने, तिलगङ्गाबाट चाबहिलसम्मको चक्रपथ अन्यत्र सार्नुपर्ने, यहाँको सडकलाई सम्पदामैत्री सडकका रुपमा विकास गरिनुपर्ने प्रस्ताव गुरुयोजनामा गरेका छौँ”, उनले भने । कोषले गौशालाबाट रातोपुल हुँदै रुद्रमती किनारै किनार वा कोटेश्वरबाट जडीबुटी हुँदै गोठाटार, जोरपाटी हुँदै चक्रपथ घुमाउन पनि गुरुयोजनामार्फत माग गरेको छ । पशुपति क्षेत्रबाट जाने चक्रपथका कारण तिलगङ्गा पुलमुनिको बज्रेश्वरी मन्दिर जीर्ण बनेको छ । तान्त्रिकरुपमा ठूलो महत्वको मन्दिर भएपनि बज्रेश्वरीलाई चक्रपथले समस्यामा पारेको स्थानीयवासी बताउँछन् । हाल पशुपति आउने भक्तजन गुह्येश्वरी मन्दिरसमेत नजाने अवस्था छ । पशुपति क्षेत्रका विषयमा विस्तृत सूचनासमेत नभएर भक्तजनले यहाँका दर्शनीयस्थलमा पुग्न नसकेको निष्कर्ष निकाल्दै कोषले हाल महानगरीय प्रहरी वृत्त गौशाला रहेको स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गर्न प्रस्ताव गरेको छ । पशुपतिनाथ मन्दिर रहेको क्षेत्रलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गर्न पशुपति हिन्दू विश्वविद्यालय, पशुपति गौशाला, पशुपति अस्पताल, पशुपति वृद्धाश्रमजस्ता सामाजिक काम गर्ने संरचनालाई तीन किलोमिटर पर गोठाटारमा रहेको कोषको ५ सय ३४ रोपनी क्षेत्रफलमा स्थापना गर्ने सोच अघि सारिएको सदस्य सचिव ढकालले जानकारी दिए । पशुपति क्षेत्रको श्लेषमान्तक वनबाट विश्वरुप क्षेत्रसम्मको जङ्गल माँसिएर कङ्क्रिटको चिहान बनिरहेकामा त्यसलाई समेत कोषले व्यवस्थित गर्ने भएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रमा क्रस राखेर चिहान निर्माण भइरहेकाले यसलाई रोक्न प्रस्ताव गरिएको पूर्वसदस्य सचिव गौतमले बताए । वाग्मतीको शुद्ध जलले पशुपतिनाथको स्नान गरिँदै आएकामा तीसको दशकदेखि नै नदी प्रदूषित भएपछि पशुपति क्षेत्रमै निर्माण गरिएको इनारबाट हाल स्नान गरिँदै आएको छ । नदी शुद्ध बनाई वाग्मतीकै जलबाट भगावान्को स्नान गराउने योजना पनि कोषले अघि सारेको छ । पशुपति क्षेत्रको गुह्येश्वरी नजिकै पोखरी निर्माण गरी हिउँदमा पनि वाग्मतीमा बहाव बढाउन लागिएको छ । यसले पशुपति आउने धार्मिक पर्यटकमा पशुपतिको सौन्दर्यता पुनःस्थापित गर्न सकिने कोषको विश्वास छ । पशुपति विद्वत परिषद्को अवधारणा पशुपतिनाथलाई राष्ट्रदेवका रुपमा पुजिने भएकाले धर्म, संस्कृतिको संरक्षण गर्ने, यस विषयमा आउने विवाद समाधान गर्न विशिष्ट विद्वान्लाई समेटेर पशुपति विद्वत परिषद् गठन गर्ने प्रस्ताव गुरुयोजनामा गरिएको छ । पशुपति क्षेत्रमा गरिने विकास निर्माण, यस क्षेत्रमा बस्नेले पालना गर्नुपर्ने आचरणको र पशुपति क्षेत्रमा आउने तीर्थयात्रीको समेत मापदण्ड निर्माण गरेर लागू गरिने छ । पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको खोज अनुसन्धानका लागि पशुपति अध्ययन केन्द्रको स्थापनासमेत गरिने भएको छ । केन्द्रलाई साधन, स्रोत सम्पन्न बनाएर अघि बढाइने छ । पशुपतिको सम्पदा क्षेत्रमा विकास निर्माण गर्दा अनिवार्य रुपमा सम्पदा प्रभाव मूल्याङ्कन गरिने पूर्वसदस्य सचिव गौतमले बताए । पशुपति क्षेत्रमा रहेका ५ सयभन्दा बढी मठ मन्दिरमा वैदिक र तान्त्रिक दुवै पद्धतिबाट भगवान्को पूजा आराधना गरिन्छ । दुवै पद्धतिलाई संरक्षण गर्ने कोषले जनाएको छ । पशुपति क्षेत्रमा रहेका विभिन्न सम्प्रदायका धार्मिकस्थललाई संरक्षण गर्ने नीति पनि कोषले लिएको छ । मित्रपार्कमा रहेको जोस्मनी मठलाई संरक्षण गर्न लागिएको छ । लोप भइसकेको चतुःषष्ठि लिङ्ग तीर्थ यात्राको अध्ययन अनुसन्धान गरी त्यसलाई पुनःअघि बढाउने अभियानको नेतृत्व पनि कोषले गर्ने भएको छ । यसका लागि वाग्मती प्रदेश सरकारसँग पनि सहकार्य गर्न लागिएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो । यसअघि कोषले करिब ४० वर्षदेखि बन्द रहेको वाग्मती तीर्थ यात्रालाई तीन वर्ष अघि निरन्तरता दिएको थियो । आर्यघाटलाई आर्या तीर्थका रुपमा विकास गरिने पशुपतिको आर्यघाट क्षेत्रलाई आर्या तीर्थका रुपमा विकास गरिने भएको छ । आदिकालदेखि आर्या तीर्थका रुपमा प्रसिद्धस्थललाई विगतमा श्री ५ र श्री ३ को परिवारका सदस्यको निधन हुँदा शवदाह गर्ने स्थलका रुपमा विकास गरिएको पूर्वसदस्य सचिव गौतमले जानकारी दिउ । “राजतन्त्रको अन्त्य भई सबै नागरिक समान भइसकेको अवस्थामा विशिष्ट नागरिकको दर्जा दिई शवदाह गर्ने परम्परा कति उचित छ रु यसैले यहाँका दुई चितालाई पनि भष्मेश्वरघाटतिर क्रमशः स्थानान्तरण गर्ने योजना अघि सारिएको हो, शिव, वराह पुराणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको घाटस्थल पनि पशुपतिनाथ मन्दिरको दक्षिणतिरको भष्मेश्वर घाट नै हो, यी ग्रन्थमा भगवान् शिवले मेरो दक्षिणतिर प्राण त्याग गर्नेले मुक्ति पाउँछ भन्नुभएको छ”, उनले भने । आर्यघाटमा ब्रहमनाल छ । जहाँ पशुपतिनाथलाई स्नान गरेको जल झर्छ । यो जलले मृतकको शरीर स्नान गराइन्छ । यस्तो स्थललाई विस्तार गरिने कोषले जनाएको छ । आर्यातीर्थ क्षेत्रमा मृगेश्वरलगायत महत्वपूर्ण तीर्थस्थल छन् । पशुपति दर्शन विधि अनुसार दर्शनका लागि प्रवेश गर्दा यहाँ दर्शन गरेर मात्र पशुपतिनाथको मूल मन्दिर प्रवेश गरिन्छ । यस्तो क्षेत्रमा शवलाई सुताएर विधि गर्दा मलामी र दर्शनार्थी एकै स्थलमा हुनाले दुवैलाई असर गरिरहेकाले व्यवस्थित गर्न आवश्यक रहेको पूर्वसदस्य सचिवसमेत रहनुभएका गुरुयोजना विज्ञ गौतम बताउनुहुन्छ । वातावरणीय रुपमा समेत विद्युतीय शवदाह गृहको माग बढिरहेकाले ती स्थानमा पनि पशुपतिनाथलाई स्नान गरेको जल पाइपबाट लैजाने गरी योजना बनाइएको छ ।

कोराेना रोकथामकाे लागि सरकारले गरेको काम नदेख्नेलाई मोतिविन्दु लागेकाे छ- स्वास्थ्यमन्त्री

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए । उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताएका हुन् । उनले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको बताएका हुन् । उनले भने, ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’ कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको उनले बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले बताए । उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा भने नियन्त्रण भित्रै रहेको बताए । सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले बताए । वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मूटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्नेगरी सेवालाई प्रभावकारी बनाउन समेत उनले निर्देशन दिए । राज्यको तर्फबाट कमि कमाजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउन समेत वीर अस्पताललाई आग्रह गरे । अस्पताल भित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताए । जनताले सरकारलाई हेर्ने ऐनाको रुपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।