अस्थिर व्याजदर र वित्तीय क्षेत्रमा पर्न सक्ने असर
हालको विषम अवस्थाले गर्दा वित्तीय क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा कर्जाको माग शुन्य रहेको छ । विदेशबाट आइरहेको नियमित विप्रेषण, आयातमा आएको कमी र आषाढ महिनामा भएको विकास खर्चको भुक्तानीले पनि बैकिङ क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा अधिक तरलताले बैंक वित्तीय संस्थाहरु न्युन व्याजदरमा विभिन्न कर्जाको योजनाहरु सार्वजनिक गरिरहेको र निक्षेपको व्याजदरमा समेत दिनदिनै समायोजन परिमार्जन गरिरहेको अवस्था छ । कोभिड-१९ को कारणले सरकारले गरेको लकडाउन १२० दिन पश्चात् हाल खुल्ला गरेको छ । २०७६ चैत १० गते ३५ खर्ब ३० अर्ब निक्षेप रहेको बैकिङ क्षेत्रमा २०७७ साउन ९ गते हुँदा करिब ३७५ अर्बले वृद्धि भई बैंकिङ क्षेत्रमा ३९ खर्ब ५ अर्ब निक्षेप पुगेको छ । बजारमा कर्जाको माग न्युन हुनु तर नियमित रुपमा निक्षेपमा भएको उच्च वृद्धिले गर्दा बैंकिङ क्षेत्रमा बढ्दो व्याज खर्च नियन्त्रण गर्नु चुनौतीको रुपमा देखिएको छ । कर्जा तर्फ हेर्दा २०७६ चैत १० गते ३१ खर्ब ६५ अर्ब रहेको कर्जा २०७७ साउन ९ गते हुँदा करिब ५७ अर्बले वृद्धि भई ३२ खर्ब २२ अर्ब पुगेको छ । कर्जाको वृद्धि समेत नयाँ कर्जाको माग भएर वृद्धि नभई नेपाल राष्ट्र बैंकले २०७७ बैशाख १६ गते कोभिड १९ ले असर गरेका र ऋणीको अवस्थाको आधारमा अधिकतम १० प्रतिशत सम्म थप चालु पुँजी कर्जा प्रदान गर्न सकिने सूचना जारी भएक पश्चातको कर्जा लगानीले मात्र सो कर्जा वृद्धि भएको तर बजारमा हालसम्म कर्जा माग एकदमै न्युन रहेको छ । बजारमा कर्जाको माग न्युन हुदा अधिक तरलता देखिएको छ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता समस्या समाधानको लागि भन्दै २०७७ साउन ८ गते २० अर्बको रिभर्स रिपो जारी गरेकोमा उक्त रिपोको औसत व्याजदर ०.०४६४ प्रतिशत रहनुले समेत बजारमा अधिक तरलता रहेको स्थिति देखाउँदछ । त्यस्तै यस आर्थिक वर्षमा २८ दिने र ९१ दिने ट्रेजरी विल जारी गरेकोमा उक्त दुवै ट्रेजरी विलको व्याजदर ०.५० प्रतिशत भन्दा न्युन रहनुले पनि बजारमा अधिक तरलता रहेको देखिन्छ । यसतर्फ नेपाल राष्ट्र बैंकले वित्तीय उपकरण जारी गर्दै बजारमा देखिएको अधिक तरलता खिच्नु पर्ने देखिन्छ । २०७७ असारमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.२७ प्रतिशत र वाणिज्य बैंकहरूबीचको भारित औसत अन्तरबैंक दर ०.३५ प्रतिशत रहेको छ । २०७६ असारमा यी दरहरु क्रमशः ४.९७ प्रतिशत र ४.५२ प्रतिशत रहेका थिए । दिपक न्याैपाने नेपाल राष्ट्र बैंकले भर्खरै मात्र आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले आ.व. २०७७/७८ मा मुद्रास्फिर्तिलाई ७ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य लिएको छ तर बजारमा देखिएको अधिक तरलताले गर्दा निक्षेपको व्याजदर दिनानुदिन घट्दै जाने र मुद्रास्फिर्ति भन्दा निक्षेपको व्याजदर कमी हुँदा मुद्राको क्रय शक्तिमा कमी आउने देखिन्छ । यसले गर्दा बैकिङ क्षेत्रबाट निक्षेप अनौपचारिक क्षेत्र तर्फ जाने जोखिम देखिन्छ । अनौपचारिक क्षेत्रमा निक्षेप पलायनले ल्याउन सक्ने वित्तीय अराजगता सम्बोधनको लागि समेत निक्षेप व्याजदरको समस्या सम्बोधन गरिनु आवश्यक छ । बजारमा देखिएको निक्षेपको अधिक वृद्धि तर कर्जाको माग शुन्य रहेको अवस्थामा बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाई दिनदिनै नयाँ नयाँ व्याजदर सार्वजनिक गरिरहेको छन् भने अर्काे तर्फ कल खातामा रहेको निक्षेप झिकिदिन अनुरोध गर्दै ग्राहकलाई दिन दिनै सम्पर्क गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा व्यवस्था नै गर्दै २०७७ आषाढ मसान्त सम्म वाणिज्य बैंकको कुल निक्षेपमा कल निक्षेपको मात्रा १० प्रतिशत भन्दा अधिक हुन नहुने र विकास बैंक तथा वित्तीय कम्पनीमा यस्तो प्रतिशत १५ प्रतिशत कायम गरेको थियो । २०७७ जेष्ठ मसान्तको तथ्याकं हेर्ने हो भने २७ वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकको कल निक्षेपको मात्रा १० प्रतिशत भन्दा अधिक रहेको थियोे । यसरी बैकिङ क्षेत्रमा कल निक्षेप अधिक हुँदा समेत निक्षेपको स्थायीत्व नहुने देखिन्छ । त्यस्तै विकास बैंक तर्फ हेर्ने हो भने तोकिएको १५ प्रतिशत सीमा भन्दा ६ वटाको मात्र अधिक रहेको छ । त्यस्तै वित्त कम्पनीमा ६ वटाको १५ प्रतिशत सीमा भन्दा अधिक रहेको छ । २०७७ आषाढ मसान्तको तथ्याकं प्रकाशन हुँदा सबै बैंक वित्तीय संस्थाको कल निक्षेपको मात्रा तोकिएको सीमा मै रहेको तथ्यांक प्रकाशन होला आशा गरौं । निक्षेप तथा कर्जाको व्याजलाई हेर्ने हो भने सधै व्याजदर विभिन्न वर्षहरुमा अस्थिर देखिएको छ । निक्षेपको औसत लागत २०७३ आषाढमा ३.२८ प्रतिशत रहेकोमा २०७७ जेष्ठमा पुग्दा उक्त प्रतिशत ६.१७ कायम भएको छ । साथै कर्जाको व्याजदरमा हेर्ने हो भने २०७३ आषाढमा ८.८६ प्रतिशत रहेको व्याज २०७५ आषाढमा १२.४७ प्रतिशत र २०७७ जेष्ठमा १०.४३ प्रतिशत रहेको छ । यसरी हेर्दा विगत चार वर्ष देखि नै कर्जाको व्याजदर दोहोरा अंकमा नै रहेको छ । हाल बजारमा कर्जाको माग न्युन रहेको र बैंकहरुले विभिन्न योजना सार्वजनिक गर्दै एकल अंकमा कर्जाको व्याजदर घोषणा गरिरहेका छन् । हालको अवस्थामा बजारमा अधिक तरलता देखिएतापनि आगामी दिनमा कोभिड १९ को असर न्युन भएपश्चात् विभिन्न परियोजनामा स्वीकृत भएका कर्जाको लगानी बढ्ने साथै विभिन्न परियोजना तथा व्यापार व्यवसायमा भएको मालसामान काम नलाग्ने अवस्थामा पुगिसकेको र अल्पकालिन कर्जाको माग बढ्न सक्ने ,विदेशबाट फर्किएका युवाहरु समेत स्वरोजगार तर्फ आकर्षित हुँदा विभिन्न कर्जाको माग बढ्ने भएकोले छिटै नै बजारमा तरलता समस्या देखिन सक्छ । आजको मितिमा एकल अंक ८, ९ प्रतिशतमा लगानी भएका कर्जाको व्याज छोटो अवधिमा नै १३, १४ प्रतिशत पुग्ने अवस्था आएमा सर्वसाधारणको बैंक वित्तीय संस्था प्रतिको भरोषा टुट्ने देखिन्छ । निक्षेपकोे व्याज निरन्तर घट्दो क्रममा रहेको र निक्षेप बैंक क्षेत्रबाट अनौपचारिक क्षेत्रमा गएमा पुःन बैकिङ क्षेत्रमा फर्किने सम्भावना एकदमै न्युन रहने भएकोले समेत नेपाल राष्ट्र बैंकले अनौपचारिक क्षेत्रमा निक्षेप पलायन हुने अवस्था आउन नदिन पहल कदमी लिनु पर्ने देखिन्छ । सरकारले आ.व. २०७७/७८ को बजेट वक्तव्यमा यस वर्षको आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण पेश गरेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धि हासिल गर्न बजार चलायमान हुनु आवश्यक छ । यसको लागि समेत बजारमा कर्जाको माग उच्च हुन जाँदा तरलता समस्या देखिने सम्भावना उत्तिकै रहेको छ । बजारमा बढ्दोे प्रतिस्पर्धाले गर्दा व्यवसायीको नाफामा संकुचन आउनु तर कर्जाको व्याजमा कमी नआउनाले गर्दा व्यवसायी तथा उद्यगीले व्यवसाय तथा उद्योग बाट हात झिक्न सक्ने सम्भावना समेत उत्तिकै छ । यसर्थ सरकारले मुद्रास्फिर्तिमा नियन्त्रण गरेर कर्जाको व्याजलाई उच्च हुन नदिएमा राज्यको उत्पादकत्व वृद्धि गर्न एवं रोजगारी श्रृजनामा ठुलो सहयोग हुने देखिन्छ । यसैले बजारमा देखिएको व्याजको बढ्दो उतर चढावलाई नियन्त्रण गर्न आवश्यक छ । बैंक वित्तीय संस्थाले व्याजदर निर्धारण गर्दा दुरदर्शी भएर निर्धारण गर्न आवश्यक देखिन्छ । त्यस्तै मुद्रास्फिर्ति भन्दा बचतको व्याज कम नहुने अवस्था श्रृजना गरी अनौपचारिक क्षेत्रमा निक्षेप परिचालन हुने अवस्था रोक्नु पर्ने देखिन्छ ।
सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । ‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने । सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् । नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् । नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।
पाँच दिन भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो । मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
एनआईसी एशिया बैंकका शाखाबाट अब डिजिटल रुपमा ग्राहक आफैंले खाता खोल्न सक्ने
काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्न डिजिटल अकाउन्ट ओपनिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकहरुले उक्त डिजिटल अकाउन्ट ओपनिङ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले जनाएकाे छ । यस प्रणालीमा सेवाग्राहीहरूले ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् । कम्प्युटरमा दक्षता नपुगेकाहरुकाे निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ । यसरी खाता खोल्दा ग्राहक महानुभावहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले जनाएकाे छ ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
गोदावरी । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
सुनकाे मुल्य हालसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन ताेलाकाे १२ सयले बढेर प्रतितोला ९७ हजार ५ सय पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको हाे । आइतबार सुन प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य आइतबार थियो। यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अष्ट्रेलियामा एकैदिन ५ सय ३६ नयाँ काेराेना संक्रमित भेटिए
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आइतबार एकैदिन ५ सय ३७ नयाँ संक्रमित फेला परेका छन् । याे अष्ट्रेलियामा एकैदिनमा भेटिएकाे हालसम्मकै सबैभन्दा बढि संख्या रहेकाे बताईएकाे छ । यस्तै आइतबार ७ जनाकाे मृत्यु भएसँगै भिक्टोरियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ७७ पुगेकाे छ । हालसम्म अष्ट्रेलियामा १४ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएकाे छ भने ९ हजार १ सय ७० जना निकाे भएर घर फर्किएका छन् । काेराेनाकाे कारण हालसम्म अष्ट्रेलियामा १ सय ७७ जनाकाे मृत्यु भईसकेकाे छ ।
लकडाउनमै सम्पन्न भएका महत्वपूर्ण २ सरकारी काम, कसरी सम्भव भयो भन्सार अटोमेसनमा फड्को ?
काठमाडौं । अन्तराष्ट्रिय व्यापारमा संलग्न व्यवसायीले प्रत्येक वर्ष असारमा एक्जिम कोड नविकरण गर्नुपर्छ । करिब ३० हजार सेवाग्राहीले एकैपटक एक्जिम कोड नविकरण गर्नुपर्दा भन्सार विभागमा अपेक्षाकृत बढी भीड हुने गथ्र्याे । यसपाली कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण सरकारले चैत ११ गतेदेखि नै देशव्यापी लकडाउन घोषणा गरेको थियो । असार १ गतेदेखि लकडाउन केही खुकुलो बनाइए पनि हटाइएको थिएन । सार्वजनिक गाडी गुडेका थिएनन्, निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू गरिएको थियो । उपत्यका बाहिरबाट काठमाडौं आउन सरकारी स्वीकृति आवश्यक हुन्थ्यो । एकातिर सरकारको नियन्त्रण र अर्काेतिर संक्रमण सन्त्रास । एक्जिम कोड नविकरण गर्न भन्सार विभाग र कार्यालयहरुसम्म जान सहज थिएन । त्यसमाथि पनि कोभिड–१९ संक्रमण सन्त्रासका कारण करिब २५ प्रतिशत कर्मचारी मात्रै भन्सारमा कार्यरत हुन्थे । ‘लकडाउन सुरु भएपछि हामीले कर्मचारी २ सिफ्टमा आउने व्यवस्था मिलायौं, विहान आएको कर्मचारी २ बजेतिर घर फर्किन्थे, दिउसो आएका कर्मचारीले बेलुकी कार्यालय समयसम्म काम गर्थे, यसो गर्दा करिब २५ प्रतिशत कर्मचारी कार्यालय समयमा काम गरिरहेका हुन्थे,’ भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले भने । असार लागेपछि भन्सार विभागलाई अर्काे पिरोलो थपियो । असारमा एक्जिम कोड लिन ठूलो संख्यामा सेवाग्राही विभाग तथा कार्यालयहरुमा लाम लाग्नुपर्नेछ । एक्जिम कोड नविकरण गर्न सेवाग्राही भौतिक रुपमै उपस्थित हुन अनिवार्य थियो । किनभने नविकरणको लागि नविकरण शुल्क बुझाएको बैंक भौचरको सक्कलप्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्थ्यो । ‘हामी नेपाली अन्तिम समयमा मात्रै काम गर्न थाल्छौं, एक्जिम कोड नविकरणको लागि पनि अन्तिम समयमा मात्रै सबै सेवाग्राही आउने विगतको अनुभव थियो, त्यसरी लाइन लाग्नेमध्ये एक जनामा मात्रै कोभिड–१९ संक्रमण भएको रहेछ भने त त्यसले ठूलो संकट निम्त्याउँछ भन्ने हामीलाई लाग्यो, लकडाउन सुरु भएको केही दिनपछि नै भन्सारका उपमहानिर्देशकको नेतृत्वमा जिम्मेवार पदाधिकारी रहने गरी क्वीक रेस्पोन्स टीम (क्युआरटी) गठन गरेका थियौं, त्यो टीमले लकडाउनको समयमा देखापरेका समस्या तत्काल समाधान गर्ने समन्वयकारी भूमिका निर्वाह गरिरहेको थियो, त्यही टीममा एक्जिम कोड नविकरण कसरी गर्ने भन्ने विषय उठ्यो,’ सुचना अधिकारी घिमिरेले थपे । अर्थमन्त्रालय अन्तरगतका विभाग र कार्यालयहरुमध्ये भन्सार विभाग आफूलाई अग्रपंतीको सुचना प्रविधिमैत्री विभाग भनेर दाबी गर्छ । तर, एक्जिम कोड नविकरणको लागि बैंक भौचरको सक्कलप्रति पेश गर्नुपर्ने कानुनी व्यवस्थाको कारण १ हजार र १५ सय शुल्क लाग्ने कामका लागि पनि सेवाग्राही घण्टौं लाइनमा लाग्नुपर्ने वाध्यता थियो । यही परिवेशमा क्युूआरटीमा अनलाइन शुल्क बुझाउन सकिने र त्यसलाई आधिकारिकता दिन मिल्ने उपाय निकाल्न सकिन्छ कि भनेर छलफल चल्यो । क्यूआरटीमाथि विभागका निर्देशकदेखि महानिर्देशकसम्म रहने गरी कष्टम म्यानेजमेन्ट टीम (सीएमटी) हुन्छ । क्यूआरटी र सीएमटीमा यो विषयमा गम्भीर छलफल चल्यो । विभागको आइटी टीमले केही दिनमा नै यो काम गर्न सकिने सुझाव सीएमटीलाई दियो । त्यसको लागि महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएसको सिस्टमसँग आवद्ध गर्न यी दुई निकाय समहत हुनुपर्ने आइटी टीमको तर्क रह्यो । अनि सीएमटी महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएसका अधिकारीसँग छलफलमा जुटे । विभागका महानिर्देशक सुमन दाहाल ‘हाम्रो धेरै काम अनलाइन नै हुन्छ, एक्जिम कोड नविकरणका लागि आवश्यक कागजात अनलाइन नै पेश गर्न मिल्ने र नविकरण शुल्क पनि इपेमेन्ट गर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने मात्रै देखियो, अनि हामीले महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएससँग समन्वय गरेर इपेमेन्ट गर्न मिल्ने व्यवस्था मिलायौं, आइटीको टीमले अन्य प्राविधिक काम गर्नुभयो, करिब २० दिनमा त हाम्रो सिस्टम पूरै तयार भएर कामै गर्न थाल्यो,’ सुचना अधिकारी घिमिरेले थपे । अहिले विभागले एक्जिम कोड अनलाइन नविकरण गराउन सक्ने प्रणाली सुरु भइसकेको छ । शुल्क पनि बैंक खाताबाट सोझै सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ । आन्तरिक राजस्व विभागसँग समन्वय गरेर एक्जिम कोड नविकरण गर्न चाहने व्यक्तिसँग करचुक्ता प्रमाणपत्र भए नभएको स्वाचालित रुपमा जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । एक्जिम कोड अनलाइन नविकरणको सोच कोरोना संक्रमण सन्त्रासले नै जन्माएको सरकारत्मक प्रयास हो । भन्सार अटोमेसनका कार्यक्रमहरु संचालनमा रहेपनि एक्जिम कोड अनलाइन नविकरणको कार्यक्रम त्यसमा थिएन । विभागले एक्जिम कोड नविकरण गर्ने म्याद असार मसान्तबाट बढाएर असोज मसान्तसम्म पुर्याएको पनि छ । लकडाउनै बीचमा भन्सारले अर्काे पनि राम्रो काम गरेको छ । लकडाउन अघिसम्म कुनै जहाजले विदेशबाट सामान ल्यायो भने आयातकर्ताको भन्सार एजेन्टले मेरो यो यो सामान आएको छ भनेर विभागमा लिष्ट बुझाउथ्यो । अनि मात्र भन्सार विभागलाई यो जहाजमा यो आयातकर्ताले यो देशबाट यो यो सामान आएको रहेछ भनेर जानकारी पाउँथ्यो । तर विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (त्रिवि) भन्सार कार्यालयमा गत बिहीबारदेखि आसिकुडा प्रणाली अन्तरगतकै मेनिफेष्टो मेडेल लागू गरेको छ । विभागले गरेको सुधारको यो काम भने भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना ५औं चरण अन्तरगतको हो । मेनिफेष्टो मोडल कार्यान्वयनमा आएपछि कुनै पनि जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केके सामान बोकेर आउँदैछन् भन्ने जानकारी जहाज आइपुग्नुअघि नै भन्सारलाई हुन्छ । अर्थात कुनै पनि एयरलाइन्सले विदेशबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउन उडेसँगै त्यसमा भएको सबै सामानको जानकारी भन्सार कार्यालयलाई हुन्छ । ‘मेनिफेष्टो मोडेल लागूभएपछि कुन देशबाट आउने कुन जहाजमा के के सामान आउँदैछ भन्ने जानकारी भन्सारलाई पहिला नै हुने भयो, पहिला नै जानकारी पाएपछि राजस्व जोखिम कम गर्न सहज हुन्छ, नमुना भन्सार बनाउने हाम्रो अभियानको यो एक महत्वपूर्ण फड्को हो,’ सुचना अधिकारी घिमिरेले भने । भन्सारमा मेनिफेष्टो मोडेल लागू भएपछि त्रिवि टर्मिनललाई सामान व्यवस्थापन गर्न पनि सहज हुन्छ । यस्तै गोदाममा रहेका सामान खोज्न पनि छिटै हुने भएकोले जाचापास पनि छिटो भएर लागत घट्ने अनुमान व्यवसायीको छ । विभागको नेतृत्व सुमन दाहालले सम्हालेपछि भन्सार अटोमेसनमा प्रभावकारी काम भएका हुन् ।