नेपाल इन्सोरेन्सद्धारा शिक्षक–विद्यार्थीको कोरोना बीमा
कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए । “विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।” प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गरे ।
काेराेनाकाे कारण नेपालमा थप ३ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका बिरामी थिए । यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरु र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
अजोड इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि किनबेच गर्न पाइने
काठमाडौं । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सो सम्बन्धि सोमबार(साउन १२ गते) कम्पनी र नेप्सेबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको एक लाख कित्ता सेयर सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरि जम्मा एक लाख कित्ता सेयर वितरण भई नेप्सेमा सूचीकरण भएको छ । यससँगै कम्पनीको सूचीकृत भएको सेयर मंगलबारदेखि दोश्रो बजारमा किनबेच हुने छ ।
काठमाडाैं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ र ललितपुरकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय २१ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८७, ललितपुरकाे ८५ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
नेपालमा थप १ सय ३९ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १६ हजार ३ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६२६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयकाे सबै परीक्षा स्थगित
काठमाडाैं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। साेमबार विश्वविद्यालयले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो। विज्ञप्तीमा भनिएकाे छ, ‘कोरोना संक्रमणका कारण केही जिल्लाहरुमा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यि सबै कुराहरुले मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाकाे तालिकाहरु प्रकाशित गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो । यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।
भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा निर्माण हुने
काठमाडाैं । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लगाएको हो । ऊर्जामन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्बद्ध सरोकारवालाको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए । बैठकमा उहाँले सङ्घ, प्रदेश र स्थानीय तह तथा सरकारी निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारणसमेतको लगानी रहने गरी लगानी मोडालिटी प्रस्ताव गरेका हुन् । मन्त्री पुनको लगानी प्रस्तावमा सहमति जुटेको ऊर्जा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवालका अनुसार सङ्घबाट २६ प्रतिशत, कर्णाली प्रदेश सरकारबाट २० तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट पाँच प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ । यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार भएको भेटवालले बताए । उक्त लगानी शेयरमार्फत हुनेछ । उक्त आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । भेरी नदीको ४० घनमिटर (प्रति सेकेण्ड) पानी बबईमा फर्काएर यो आयोजनाको निर्माण हुनेछ । त्यसबाट ४६.८ मेगावाट विद्युत् उत्पादन हुनेछ हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । ‘हेडवक्र्स’ तथा विद्युत् गृह निर्माण शुरु भएको छ । आर्थिक वर्ष २०७९/८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री पुनले बताउनुभयो । आयोजना निर्माणको जिम्मेवारी मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागलाई दिइएको छ । आयोजना निर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापन तथा सञ्चालन भने शेयरधनी सङ्घ, प्रदेश, स्थानीय तह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत हुनेछ । त्यसका लागि नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी’ नामको सार्वजनिक कम्पनी स्थापना गरिने भएको छ । आयोजना निर्माणको संशोधित लागत रु ३३ अर्ब १९ करोड छ । त्यसमा सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि दुई प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ । आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक रु तीन अर्ब १० करोड तथा विद्युत्बाट रु तीन अर्ब २३ करोड गरी रु छ अर्ब ३३ करोड आम्दानी हुने अनुमान गरिएको छ । सचिवको नेतृत्वमा समन्वय समिति आयोजनालाई समन्वयात्मक रूपमा सञ्चालन गर्न भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना समन्वय समिति गठन गरिने भएको छ । मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने समितिमा कर्णाली प्रदेशका प्रमुख सचिव, प्रदेश–५ सरकारका प्रमुख सचिव, जलश्रोत तथा सिँचाइ विभागका महानिर्देशक, बबई सिँचाइ आयोजनाका आयोजना निर्देशक र भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सदस्य रहनेछन् । उक्त समितिले आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्ने छ । कामलाई तीव्रतामा अघि बढाउनुस् : मन्त्री पुन बैठकमा मन्त्री पुनले दैवीप्रकोप तथा कोभिड–१९ महामारीका कारण आयोजना निर्माण कार्य प्रभावित भएको भन्दै उक्त अवधिमा हुन नसकेका कामलाई तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिए । “दैवीप्रकोप र कोभिड महामारीका कारण आयोजनाको काममा अवरोध पुगेको छ”, उनले भने, “रोकिएको अवधिको समेत क्षतिपूर्ति हुने गरी तीव्रतामा काम अगाडि बढाउनुपर्छ ।”