होटल सञ्चालनको तयारीमा पोखराका पर्यटन व्यवसायी
पाेखरा । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “अहिले हामी होटल सञ्चालनको आन्तरिक कार्यमा जुटेका छौँ, लामो समयको बन्दले होटलको आन्तरिक मर्मतसम्भार, सरसफाइ, कर्मचारी व्यवस्थापनको पक्ष अहिलेको प्राथमिकतामा राखेर होटल सञ्चालनको पूर्व तयारीमा जुटेका छौँ ।” पोखरामा करिब ७०० पर्यटकीय होटल रहेका छन्, तीमध्ये सङ्घमा आवद्ध ४०० होटल रहेको उनले जानकारी दिए । उनले भने, “सङ्घ मातहतका सबै होटललाई सञ्चालनको पूर्व तयारीमा जुट्न भनेका छौँ, यसैबीचमा हालै आएको मौद्रिक नीति र त्यसको कार्यान्वयनको पक्षमा पनि हाम्रो ध्यान जानेछ । मानसिक रुपमा तयारी छौँ, आर्थिक समस्या समाधानको खोजी पनि अहिले गर्नेछौँ ।” उनले अहिले ‘अफ सिजन’ भएकाले अक्टोबर नोभेम्बर पर्यटकीय मौसमका लागि कसरी अगाडि बढ्ने र पर्यटकलाई कसरी भित्र्याउने भन्ने रणनीति पनि तय गरिने बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले साउन १५ गतेदेखि होटल सञ्चालन भन्दा पनि सञ्चालनको पूर्व तयारीमा जुट्ने बताए । “कोभिड–१९ को प्रभावले लामो समयसम्म बन्द होटल रेष्टुरेन्ट सञ्चालनमा आउन अझै दुई वर्ष समय लाग्छ, अहिले आन्तरिक व्यवस्थापनको कार्य हुनेछ ।” उनले पहिलो चरणमा आन्तरिक व्यवस्थापन, दोस्रो चरणमा मौद्रिक नीति कार्यान्वयन र तेस्रो चरणमा सरोकारवालासँग बसेर आन्तरिक र बाह्य पर्यटकलाई कसरी सुरक्षित तरिकाले भित्र्याउने र पर्यटन प्रर्वद्धनलगायतका विषयमा केन्द्रित रहने बताए । उनले अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपाल सरकारले पनि पर्यटकका लागि मापदण्ड बनाएर पर्यटनमैत्री वातावरणका लागि पहल थाल्नुपर्ने बताए । उनले भने, “नेपाल भ्रमण वर्षलाई लक्षित गरेर खर्बौको लगानी यस क्षेत्रमा भएको छ । अब विकल्पको खोजी भएन र व्यवसायी आर्थिक र मानसिक रुपमा विचलित हुन पुग्नेछ, पर्यटन यस क्षेत्रको समृद्धिको आधार हो । तसर्थ व्यवसाय जोगाउनु तीनै तहका सरकारको उत्तिकै दायित्व हो । यसतर्फ सरकारले चासो दिएर मौद्रिक नीतिको पूर्ण पालना गर्दै पर्यटक मैत्री वातावरण बनाउनुपर्छ ।” उपाध्यक्ष भट्टराईका अनुसार पोखरामा होटल तथा रिर्सोट ७०० रहेको त्यसमा आफ्नो लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको छ भने १२ हजार २९८ ले रोजगारी पाएका छन् । त्यसैगरी रेष्टुरेन्ट तथा बारमा एक अर्ब आफ्नो लगानी र तीन अर्ब बैंकको लगानी रहेको छ भने एक हजार ५०० ले रोजगारी पाएका छन् । पोखराका साना तथा मझौला व्यवसायीको ६५ प्रतिशत योगदान रहेकाले उल्लेख गर्दै व्यवसायीलाई बचाउन न्यून ब्याजदर पाँच प्रतिशत भन्दा कम बिना धितो व्यवसाय सञ्चालन कर्जा दुई वर्षसम्म उपलब्ध गराउने बजेट तथा नीति व्यवस्था गर्न परिषद्ले महानगरसँग आग्रह गरेको बताए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटन व्यवसायी अग्नि कँडेलले सधैँभरि बन्दाबन्दी समस्याको स्थायी समाधान नभएकाले अब सुरक्षाको विधि पालना गरेर पर्यटन क्षेत्र चलायमान गराउनुपर्ने बताए । उनले भने “अब विकल्प छैन, पर्यटन क्षेत्रको खर्बौंको लगानी डुब्दैछ, अब कोभिड–१९ को जोखिमबाट जोगिन स्वास्थ्य सतर्कता पूर्णरुपमा अपनाएर अघि बढ्नुपर्छ, लामो समयको बन्दाबन्दीले धेरैलाई ‘मोनोटोनस’ बनाएकाले आन्तरिक र बाह्य पर्यटक ‘रिफ्रेसमेन्ट’को लागि घुम्न लालायित छन् । सरकारले सुरक्षाका प्रत्याभूति दिनुपर्छ ।” उनले अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपालमा कोभिड–१९ बाट जोगिन उच्च सतर्कताको प्रत्याभूतिको सन्देश दिन सोहीअनुरुपको हवाई सेवा सञ्चालन कार्यविधि तयार गर्नुपर्ने बताए ।
बामदेव गौतमको प्रस्ताव: पाँच वर्ष ओली नै प्रधानमन्त्री, मन्त्रिपरिषद् पुर्नगठन गरौं
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि ६ बुँदे प्रस्ताव पेस गरेका छन । मंगलबार उपाध्यक्ष गौतमले दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याएका हुन् । उनले प्रधानमन्त्रीले गर्ने काममा पार्टीले हस्तक्षेप नगर्ने, परामर्शमा मन्त्रिपरिषद् पुर्नगठन गर्नु पर्ने प्रस्ताव गरेका छन् । यस्तै उनले महाधिबेसनसम्म अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष सहित अध्यक्षको भूमीकामा हुनु पर्ने, पार्टीको एकता महाधिवेसन सहमतिका आधारमा आयोजना गर्ने, अबदेखि पार्टीका कार्यक्रम पार्टी कार्यालयमै गर्ने प्रस्ताव अगाडि सारेका छन् ।
निजी आवास पुनःनिर्माणमा ८५ प्रतिशतले बुझे दोस्रो किस्ता
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले मात्र पहिलो किस्ता बुझेका छन् । त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ । देशका अति प्रभावित १४ जिल्लाका कूल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ कोे घर निर्माण सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ । कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । “प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ, सो बमोजिम समायावधि थपिन पनि सक्छ”, उनले भने । विसं २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो । रासस
मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढेको बताइएको छ । मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव २ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।
कोरोना सन्त्रासकै बीच घरजग्गा जोड्ने कि नयाँ व्यवसाय गर्ने ? यस्ता छन् बैंकले ल्याएका स्कीम
काठमाडौं । कोरोना सन्त्रासकै बीच घरजग्गा जाेड्न चाहने र नयाँ व्यापार व्यवसाय गर्न चाहनेलाई अवसर स्वरूप विभिन्न बैंक तथा वित्तीय संस्थाले नयाँ याेजना ल्याएका छन् । उनीहरूले आफ्ना ग्राहकलाई लक्षित गरि ‘घर जग्गा कर्जा’ र ‘नयाँ साना तथा मझौला उद्योग(एसएमई) कर्जा’ योजना सार्वजनिक गरेका हुन् । कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यो योजना ल्याएका हुन् । उक्त याेजना सार्वजनिक गरेकामध्ये सबैभन्दा सस्ताे घर कर्जा नबिल बैंकले दिने भएकाे छ भने एभरेष्ट बैंकले सबैभन्दा सस्ताेमा एसएमई कर्जा दिने भएको छ । यससँगै, कर्जा लिन चाहने ग्राहकले निम्न बैंककाे जुनसुकै शाखा कार्यालयबाट सजिलै कर्जा पाउन सक्ने छन् । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा एसएमई लोन दिने भएको छ । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा पाउन सक्नेछन् । आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । नबिल बैंक नबिल बैंकले घर कर्जामा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत व्याजदरमा ऋण दिने भएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले चाडपर्व योजना अन्तर्गत घर कर्जा र साना तथा मझौला उद्योग कर्जा पनि रहेको छ । बैंकले ८.२५ प्रतिशत व्याजदरमा घर कर्जा र ८.२५ प्रतिशत व्याजदरमा साना तथा मझौला उद्योग कर्जा दिने भएको छ । उक्त योजना आउदो श्रावण १५ देखि कार्तिक १४ गतेसम्म लागु हुने छ । हिमालयन बैंक हिमालयन बैंकले ८.४९ प्रतिशत व्याज दरमा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जा दिने भएको छ । दश वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । यी कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने बैंकले जनाएको छ । साथै, यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् । सनराइज बैंक सनराइज बैंकले ८.९५ प्रतिशत व्याजदरमा सनराइज घर कर्जा (सनराइज होम लोन) योजना ल्याएको छ । यस अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि घर निर्माण, घर तथा जग्गा खरिद गर्नको लागि ऋण लिन पाउने छन् । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले साउन १ गतेबाट लागू हुने गरेर ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार बैंकले १४.२५ प्रतिशत व्याजदरमा एसएमई र होम लोन दिने भएको छ । महालक्ष्मी विकास बैंक महालक्ष्मी विकास बैंकले उद्यमशील कर्जा अन्तर्गत घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक र उद्यम गर्न इच्छुकलाई विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंक सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।
सरकारी अस्पतालका प्रमुखले निजीमा काम गर्न नपाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने भएका छन् । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई आधार मानेर यो व्यवस्था लागू गरेको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै निकाय, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई साेअनुसार परिपत्र गरिएका छन् । त्यसैगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफू कार्यरत संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने पनि परिपत्रमा उल्लेख छ।
फेरी बढ्याे सुनकाे मूल्य, प्रतितोला ९८ हजार २ सय
काठमाडौं । मंगलबार पनि सुनको मूल्य प्रतितोला ९८ हजार २ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन ताेलाकाे ७ सयले बढेर प्रतितोला ९८ हजार २ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । साेमबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो। यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
एनसेलले पुल्चाेक क्याम्पसलाई दियाे २४ लाख रुपैयाँ
काठमाडाैं । एनसेलले याे वर्षकाे छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गत पुल्चोक क्याम्पसलाई २४ लाखको चेक हस्तान्तरण गरेको छ । कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार रकम रु २४ लाखको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो । सो नगद रकम एनसेलका प्रतिनिधीले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् । ‘‘एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ । मेहनती र जेहनदार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेल प्रति सधै आभारी छौं, ” क्याम्पस प्रमुख प्रा.डा. पौडेलले भने । “कोभिड–१९ ले सिर्जना गरेको परिस्थितीले गर्दा औपचारिक कार्यक्रम सम्भव नभएपनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं ।” पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गरिन्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ । विगत ७ वर्ष देखि प्रदान गरिदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका बारेमा आफ्नो अनुभव साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका आदरणीय प्राध्यापकहरु प्रति आभारी छौं । यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाई दिन चाहन्छौं । व्यवसायिक सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको अभिन्न अंग रहँदै आएको छ र यसै अन्तर्गत ईन्जिनियरिङ्ग विधामा युवा प्रतिभाको प्रोत्साहन गर्ने एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई २०८० सालसम्म निरन्तरता दिन पाएकोमा हामी धेरै खुसी छौं । शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर हाम्रा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।” यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले प्रत्येक वर्ष ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ । गतवर्ष एनसेलले २०८० साल सम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्र्न ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान गरी रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो । एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।