विकासन्युज

१५ किलाे सुन प्रकरण: हतियार फ्याँकेर भागेको घटना शङ्कास्पद

काठमाडौं ।  राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र स्ुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ । मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै पहिचान हुनसकेको छैन । जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो । त्यसपछि बाटामै कपडाको झोला फ्याँकेर गाडी भागेको थियो । प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको छ । अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनले छानबिन समिति गठन गरिएकाले प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख पोखरेलका अनुसार गाडीको भने पहिचान भइसकेको छ । उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्रामका २६ थान र ५०० ग्रामको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिम्मेवारी दिइएको छ ।

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ को मृत्यु

rainकाठमाडाैं । केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपद्मा परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ । कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात ले ज्यान गुमाएका र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिए । उनका अनुसार उद्धारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन । बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन् । कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको र बढी पश्चिम क्षेत्रमा पानी परेको जानकारी दिए । काठमाडौँमा राम्रो वर्षा नभए पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । यसअघि न्यूनचापीय रेखा नेपालको नजिक थियो । अहिले बढी पूर्वी क्षेत्र नजिक छ । यसअघि पश्चिम क्षेत्रमा बढी मनसुन सक्रिय हुँदा केही ठाउँमा भारी वर्षा भएको छ । धनगढीमा मात्रै १६७ मिलीमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पूर्वी भागमा वर्षा भएको र मध्य भागमा भने केही कम वर्षा भएको छ । आज धनगढीमा १९८ मिलीमिटर वर्षा मापन गरिएको छ । विराटनगरमा ३३ दशमलव आठ, ताप्लेजुङमा १९ र सिमरामा १७ मिलीमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज भने न्यूनचापीय रेखा नेपालको पूर्व नजिक रहेकाले मनसुन पूर्व र मध्य भागमा बढी सक्रिय हुने देखिएको मौसमविद् मानन्धरले बताए । धेरैजसो स्थानमा मौसम बदली भए पनि भारी वर्षा भने एक/दुई स्थानमा मात्रै हुने सम्भावना रहेको छ । प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका केही क्षेत्रमा आज बढी पानी पर्ने बताइएको छ । शुक्रबार भने प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा बढी मनसुन सक्रिय हुने जनाइएको छ । अन्य प्रदेशमा पनि मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस

नेकपा विवादले कार्यकर्ता निराश: दुई अध्यक्षले उत्साह जगाउने विश्वास

काठमाडाैं ।  “कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला, आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ”, गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्नुभएको भनाइ हो यो । सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ, त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो । पार्टीको अहिलेको विवादले चरम निराशा छाएकाले नेतृत्वले सुझबुझ ढङ्गबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनाई प्रदेशसभा सदस्य बरालको छ । “तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ”, बरालले भने, “अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुशीको खबर दिनुहुने विश्वास छ ।” कास्कीको माछापुछ्रे गाउँपालिका–२ सार्र्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीले कम्युनिष्ट पार्टीमा चार दशकभन्दा बढी समय खर्चिए । उनको घर पञ्चायतकालमा नेकपाका नेता वामदेव गौतम, स्व जीवराज आश्रित, किरण गुरुङलगायतका नेताहरुको ‘सेल्टर’ थियो । विसं २०३४ देखि तत्कालीन नेकपा मालेमा आवद्ध भएर शिक्षणसहित पार्टी राजनीतिमा लागेका उनी ७५ वर्षको उमेरमा समेत सक्रिय हुनुहुन्छ र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने तथा पार्टी नफुट्नेमा विश्वस्त रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उनले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेताहरुलाई समेट्नुपर्ने उनको भनाइ छ । लामो समय स्वतन्त्रता र परिर्वतनका लागि सङ्घर्ष गरेका, पार्टी निर्माणमा आफ्नो जीवन समर्पण गरेका नेताले नेतृत्व गरेको पार्टी विभाजन नहोला भनेर भित्रैबाट लागे पनि अहिलेको विवाद बढ्दै गएर पार्टी विभाजन हुने हो कि भन्ने चिन्ताले भने आफूलाई सताइरहेको क्षेत्री बताउँछन् । उनले भने, “आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए । अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू/आफू शक्तिका लागि लड्न थाले”, क्षेत्री भने, “अझै पनि समय छ स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौँ ।” नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोेकिनुपर्ने बताउँछन् । “कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्तिमार्फत नेतृत्वलाई एकताबद्ध हुन आग्रह गरिसकेका छौँ”, पौडेलले भने । राष्ट्रिय युवासङ्घका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्लो तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी कामसमेत प्रभावित भएको बताए । दुई अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात गरेर जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको म्याण्डेटअनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै आम जनताको सपना साकार पार्नुपर्ने बताए । उनले भने, “कम्युनिष्ट पार्टीलाई जनताले दिएको मतको कदर गरेर सरकार सञ्चालन गर्नुपर्दछ, पार्टी विभाजनको कुनै पनि गुञ्जायाससमेत कार्यकर्तालाई सह्य छैन ।”

सेलपेबाट पेमेन्ट गर्दा ५० प्रतिशतसम्म पैसा फिर्ता पाइने

काठमाडौं । सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म क्यास ब्याक पाइने छ । ग्राहकले साउन १६ गतेका दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा उक्त सुविधा पाउने भएका हुन् । सेलपेले एनीभर्सरी अफर अन्तर्गत उक्त अफर ल्याएको हो । यो अफरको लाभ लिनको लागि आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ । यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने छ ।

सुनकाे मूल्य ९९ हजार पुग्याे

काठमाडाैं । सुनकाे मूल्य ताेलाकाे ९९ हजार पुगेकाे छ । बिहिबार ताेलाकाे ५ सयले बढेर प्रतितोला ९९ हजार पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य बुधबार थियो। यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका कुल ४४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत कुल ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार थप ९ जनामा संक्रमण पुष्टि भएसँगैं प्रहरी प्रधान कार्यालय कुल ४४ जनामा संक्रमण पुष्टि भएको हाे । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले प्रहरी प्रधान कार्यालयका कुल ४४ जनामा संक्रमण देखिएकाे बताएका हुन् । उनीहरु सबैलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको उनले बताए ।  

रोजगारी सृजना गर्न परिसंघले अघि बढायो ‘मेक इन नेपाल’को अवधारणा

काठमाडौं । नेपाल उद्योग परिसंघले थप रोजगारी सृजना गर्न ‘मेक इन नेपाल’को अवधारणा अघि बढाएको छ । अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सृजना गर्न र स्वदेशी उत्पादनमा गौरव गर्दै यसको प्रवद्र्धन गर्नको लागि परिसंघले उक्त अवधारणालाई अघि बढाएको हो । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्दै परिसंघले यस अवधारणाले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने बताएको छ । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले आत्मनिर्भर हुन सक्ने उद्योगहरुको सम्बन्धमा परिसंघको धारणा राखेका थिए । त्यसैगरी, परिसंघले सरकारसँग सदैव सहकार्य गर्दै आइरहेकोले परिसंघले अनुसन्धान सेलको स्थापना गरी अनुसन्धानका कार्यहरु अगाडी बढाएकोले आगामी दिनमा सरकारलाई आवश्यक पर्ने उद्योग व्यवसाय क्षेत्रका अद्यावधिक तथ्यांकहरु उपलब्ध गराउन सहज हुने बताएका छन् । उद्योगी व्यवसायीहरुका मागहरुलाई धेरैहदसम्म सम्बोधन गरेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले आगामी दिनमा पनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताए । हाल उद्योग सञ्चालनका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्य देशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।

‘जलविद्युत उत्पादकलाई प्रतिघण्टा सवा ३८ करोड रुपैयाँ नोक्सान’

काठमाडाैं । देशमा विभिन्न समयमा विद्युत उत्पादन तथा विकासको वहस हुने गर्छ । नेपालको सम्भाव्य विद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट र आर्थिक तथा प्राविधिक सम्भाव्य विद्युत उत्पादन क्षमता ४३ हजार मेगावाट रहेको भन्ने गरिन्छ । जलविद्युत उत्पादनको प्रचुर सम्भावना हुँदा पनि कुल उर्जा खपतमा विद्युतको अंश ३.२ प्रतिशत मात्र रहेको छ । विद्युत प्रणालीका तीन महत्वपूर्ण पक्ष उत्पादन प्रसारण र वितरण प्रभावकारी नहुँदा विद्युत उत्पादक र स्वयमं सरकारलाई पनि नोक्सान भइरहेको सरकारी प्रतिवेदनहरुले पनि पटक-पटक उल्लेख गर्दै आएका छन् । जलविद्युत कम्पनीहरुले समयमै काम सम्पन्न गरेपनि नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणहरु देखाउँदै प्रसारण लाइन निर्माण नगर्दा उत्पादकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको उनीहरुले बताउँदै आएका छन् । सरकारी महालेखा परिक्षक कार्यालयले पनि आफ्नो ५७औं वार्षिक प्रतिवेदनमा जलविद्युत उत्पादकहरुलाई समस्या हुनुको मुख्य कारण प्रसारण लाइनको निर्माण देखाएको छ । एकातर्फ प्रसारण लाइन समयमै निर्माण नहुँदा उत्पादकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको अवस्था छ भने अर्को तर्फ स्वयमं नेपाल सरकारले पनि भारतबाट महँगो बिजुली किन्नु पर्ने अवस्था वर्षेनी सिर्जना हुँदै गएको प्रतिवेदनले देखाउँछ । प्रसारण लाइनको काम छिटो छरितो नहुँदा नेपालमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत बिक्री गर्न नसकी भारतबाट आयात गर्नुपर्ने अवस्था आएको सरकारी महालेखा परिक्षक कार्यालयको प्रतिवेदले पनि उल्लेख गरेको छ । महालेखापरीक्षक कार्यालयको पछिल्लो वार्षिक प्रतिवेदनका अनुसार निजी लगानीको विद्युत उत्पादनको नमुना सर्वेक्षण गर्दा कम प्रसारण क्षमता भएको लाइनबाट बढी विद्युत प्रवाह गर्नुपर्ने, प्रसारण लाइनको नियमित मर्मत सम्भार र गुणस्तर जस्ता कारणले उत्पादित सबै बिजुली प्रयोग हुन नसकेको निष्कर्ष निकालिएको छ । सो प्रतिवदेनमा प्रसारण लाइन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको काम सन्तोषजनक नभएको पनि प्रष्ट लेखिएको छ । प्रतिवेदनमा निर्माणाधीन १७ विद्युत प्रसारणलाइन तथा सवस्टेसन आयोजनाको प्रगतिको विश्लेषण गर्दै प्रतिवेदनले प्राधिकरणको कामप्रति असन्तोष जनाएको हो । प्रतिवेदनमा १५ महिनामा सम्पन्न गर्नुपर्ने आयोजना ९ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको उल्लेख गरेको छ । त्यसैगरी म्याद बाँकी रहेका ६ आयोजनामा पनि ७५ प्रतिशतभन्दा बढी अवधि बितिसक्दा पनि २५ प्रतिशतभन्दा कम प्रगति भएका २, २५ देखि ५० सम्म प्रगति भएका २, ५० देखि ७५ प्रतिशत प्रगति भएको एउटा छ । निर्माणाधीन १७ प्रसारणलाइन तथा सवस्टेसन आयोजनामध्ये सुरु सम्झौता म्याद समाप्त भएका ११ आयोजनामा २५ प्रतिशतभन्दा कम प्रगति भएका ३, २५ देखि ५० सम्म प्रगति भएका ४, ५० देखि ७५ प्रतिशत प्रगति भएका १ र ७५ प्रतिशतभन्दा माथि प्रगति भएका ३ छन् । प्रसारणलाइन समयमा सम्पन्न नहुँदा निर्माण लागत बढ्ने, उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिन नसकी विद्युत खेर जाने र ठेक्का तोडिएको अवस्था छ । यसरी प्रसारण लाइन निर्माणमा समस्या हुँदा विद्युत उत्पादकहरुले ठूलो आर्थिक भार व्यहोर्नु परेको प्रतिवेदनमा लेखिएको छ । सो प्रतिवेदनका अनुसार निजी क्षेत्रका १८ आयोजनाबाट उत्पादित कुल विद्युतमध्ये वार्षिक ९५.६१ गिगावाट प्रतिघण्टा बिक्री गर्न नसकेको अवस्था छ । ९५.६१ गिगावाट प्रतिघण्टा विद्युत खरिद सम्झौता (पीपीए) को औसत ४ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टाका दरले उत्पादकलाई ३८ करोड २४ लाख ५९ हजार नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कुल अर्थतन्त्रको हिस्सा हो । ९५.६१ गिगावाट प्रतिघण्टा विद्युत खरिद सम्झौता (पीपीए) को औसत ४ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टाका दरले उत्पादकलाई ३८ करोड २४ लाख ५९ हजार नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कुल अर्थतन्त्रको हिस्सा हो । विद्युत अभाव हटाउन उक्त ९५.६१ गिगावाट प्रतिघण्टा भारतबाट खरिदका लागि औसत ८ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टका दरले ७६ करोड ४९ लाख १९ हजार भुक्तानी गरेको देखिन्छ । प्रसारण लाइनका कारण उत्पादित सबै बिजुली खरिद गर्न नसक्ने एकातिर छ भने अर्कोतिर भारतबाट महँगोमा बिजुली किन्दा १ खर्ब १४ करोड ७४ लाख रुपैयाँ राज्यलाई नोक्सानी हुन गएको बुझिएको छ । यसै कारण नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन मर्मत र सम्भार तथा गुणस्तरमा ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाएको छ । उत्पादकहरुले सम्झौता गरेको समयभन्दा ढिला निर्माण कार्य गरे नेपाल विद्युत प्राधिकरणलाई ५ प्रतिशत जरिवाना स्वरुप तिर्नु पर्छ भने प्राधिकरणले पनि भनेकै समयमा प्रसारण लाइन निर्माण नगरे सो निर्माण कम्पनी तथा आयोजनालाई ५ प्रतिशत क्षतिपुर्ति दिनुपर्छ । आयोजना समयमै सम्पन्न गर्दा पनि प्रसारण लाइन निर्माण नगर्दा उत्पादकहरुलाई ठूलो आर्थिक क्षति हुने उनीहरुको भनाई छ । उनीहरुले अर्बौं लगानी गरेर निर्माण गरेको आयोजना लामो समयसम्म प्रसारण लाइन निर्माण नगरिँदा त्यो ५ प्रतिशतले क्षतिपुर्ति गर्न नसकिने प्रवर्द्दकहरु बताउँछन् । स्वतन्त्र ऊर्जा उत्पादकसँग गरिएको पीपीए दर बमोजिम आयोजना समयमा नै सम्पन्न भए पनि प्रसारणलाइनको अभावमा राष्ट्रिय वितरण प्रणालीमा विद्युत जोड्न नसक्दा प्राधिकरणले ५ देखि ४५ प्रतिशतसम्म क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ । प्रसारण निर्माणमा ढिदाई हुँदा निजी विद्युत उत्पादकहरुलाई मात्र नेपाल विदुत प्राधिकरणले पनि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने हुन्छ । प्रसारण लाइन नबन्दा एकातिर उत्पादकलाई क्षतिपुर्ति दिनु पर्छ भने अर्कातर्फि भारतबाट महँगो मूल्य तिरेर बिजुली किन्नुपर्ने अवस्था आउँछ । यसमा प्राधिकरणलाई प्रतियुनिट औसत ४ रुपैयाँका दरले गणना गर्दा १२ करोड ३४ लाख ४८ हजार नोक्सानी हुन जान्छ । हाल निजी क्षेत्रका ९० आयोजनाबाट उत्पादित ६ सय १८ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ  । कुलमान घिसिङ भन्छन्ः प्रसारण लाइनमा समस्या छ तर महालेखाले भनेजति होइन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखा परिक्षकले भनेजति समस्या र नोक्सानी प्राधिकरणमा नभएको बताएका छन् । प्रतिवेदनमा उल्लेख गरेको जति क्षति प्राधिकरणलाई नहुने उनको भनाई छ । अहिले कोरोना भाइरसको कारण ६ महिनादेखि काम नभएको, बन कटानी तथा जग्गा अधिग्रहणमा समस्या भएको कारण प्रसारण लाइन निर्माणमा समस्या भएको बताउँदै महालेखा परिक्षक कार्यालयले भनेजति समस्या र आर्थिक नोक्सानी व्यहार्नु नपरेको उनको भनाई छ । ‘महालेखा परिक्षकको कार्यालयल उल्लेख गरेजति समस्या हाम्रोमा छैन, त्यही भएर हामीले त्यसमा कमेन्ट पठाएक छौं, उहाँहरुले केही कुरा थप्नु भएको छ, त्यति समस्या हाम्रोमा छैन,’ उनले भने । प्रवर्द्धककले नाेक्सानी ब्यहाेर्नु पर्ने मु्ख्य कारण नै प्रसारण लाइन हाे: सुर्यप्रसाद अधिकारी  रुग्ण जलविद्युत आयोजनाका संयोजक सुर्यप्रसाद अधिकारी प्रसारण लाइनको समस्याको कारण जलविद्युत प्रवद्र्धकहरुले धेरै नोक्सानी ब्यहोर्नु परेको बताउँछन् । पुरानो प्रसारण लाइनबाट विद्युत उत्पादन गर्ने विद्युत उत्पादन गर्ने विद्युत गृहहरु थपिँदै गएका गइरहेको र त्यसको मर्मत सम्भार नभएकोले पनि अर्को समस्या देखिन थालेको उनको भनाई छ । ‘पुराना प्रसारण लाइनको सुधार पनि भइरहेको अवस्था छैन, नयाँ बन्ने प्रसारण लाइन पनि बनिरहेका छैनन्, यसले विद्युत उत्पादन गर्ने प्रवद्र्धकलाई धेरै नोक्सान भइरहेको छ,’ उनले भने । ‘अहिले निजी क्षेत्रका १ सय ४० मेगावाटका साना परियोजनाहरुमध्ये ४० मेगावाटको विद्युत उत्पादन पनि हुन सकेको अवस्था छैन, नेपालमा प्रसारण लाइन नबनेकै कारण भारतबाट महँगोमा बिजुली ल्याउनु परेको छ, यसले देशलाई पनि धेरै घाटा भइरहेको छ,’ उनले भने । उत्पादन घाटा हुँदा त्यसको प्रत्यक्ष मारमा जलविद्युत प्रवद्र्धकहरु पर्ने गरेको उनको भनाई छ । ‘प्रसारण लाइन कहिले सम्म बनाउने हो भनेर प्रासधकरणले समय तोक्दैन, तर निर्माण आयोजनालाई भने समय तोक्छ । उत्पादन घाटा हुँदा त्यसको प्रत्यक्ष मारमा जलविद्युत प्रवद्र्धकहरु पर्ने गरेको उनको भनाई छ । ‘प्रसारण लाइन कहिले सम्म बनाउने हो भनेर प्रासधकरणले समय तोक्दैन, तर निर्माण आयोजनालाई भने समय तोक्छ, उनी भन्छन् ‘त्यो समय भित्र बनाउन नसक्यो भने जरिवाना तिराउँछ, वर्र्षौंंसम्म प्रसारण लाइन नबनाउँदा प्रवद्र्धकलाई समस्या आउँछ ।’ वषौंदेखि आयोजनाको लागि प्रसारण लाइन निर्माण नगरिँदा ५ प्रतिशत क्षतिपुर्तिले आयोजना नधानिने उनको भनाई छ । जलविद्युत निर्माण कार्यमा धेरै समस्या तथा अवरोधहरु हुँदा पनि प्रवद्र्धकले समयमै काम सकेको उनको दावी छ । प्रसारण लाइन छिटो छरिो निर्माण गर्नुको सट्टा प्राधिकरणले भारतबाट हमँगो बिजुली आयात गरिरहेको जलविद्युत प्रवद्र्धकहरुको भनाई छ । नेपाल विद्युत प्राधिकरणले भारतसँग वार्षिक ३ सय ५० मेगावाट विद्युत ल्याउने भनेर को पीपीए गरेको छ । प्राधिकरणले स्वदेशी जलविद्युत प्रवद्र्धकभन्दा भारतलाई दुई गुणा बढी पीपीए दरमा बिद्युत आयात गर्छ । क्षतिपूर्ति निर्धारण गर्दा लिइने आधारहरु कमजोर हुनु, समय सापेक्ष जग्गाको मूल्याङ्कन हुन नसक्नु, कृषियोग्य भूमी हुनु, निर्माण क्षेत्रमा आवास क्षेत्र, औधोगिक क्षेत्र, शहरी क्षेत्र, वन क्षेत्रको स्पष्ट रुपमा सिमांकन नहुनुका साथै क्षतिपूर्तिको मूल्याङ्कन आधार तय नहुँदा प्रसारण लाइन नर्माणमा सस्या हुने गरेको छ । समाधानकाे उपाय के ? देश विकासको एक महत्वपूर्ण पक्ष र आधार भनेको जलविद्युत हो । जलविद्युत बिना अन्य पक्षको विकास सम्भव हुन कठिन नै हुन्छ । विद्युतको माग, उत्पादन र बजारीकरणलाई अध्ययन गरी समस्याहरुको समाधान गर्न आवश्यक छ । विद्युत विकासको उक महत्वपूर्ण पक्ष भनेको प्रसारण लाइन हो । प्रसारण लाइना निर्माणलाई उच्च प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । विद्युत प्रसारण लाइन विना उत्पादित विद्युत खेर जाने भएकोले समयमै निमार्ण कार्य सम्पन्न गर्नु आजको आवश्यकता हो । विद्युत प्रसारण लाइन निर्माणको क्रममा उत्पन्न हुने अवरोधलाई समयमै पहिचान गरी प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले औंल्याएका प्रभाव न्यूनिकरणका कार्यक्रम समयमै सम्पन्न गर्नुपर्दछ । प्रभावित समुदायका जायज र उचित मागलाई समयमै सम्बोधन गरी विवाद बढ्न दिनु हुँदैन । निर्माणकार्य ढिला हुंदै जाँदा थप जटिलताहरु बढ्दै जाने हुन्छ । तसर्थ, यथोचित र जायज मागलाई आयोजना, सरकारी निकाय र अन्य सरोकारवाला निकाय बीच समन्वयात्मक ढंगबाट समयमै संबोधन हुनु पर्दछ । प्रसारण लाइन निर्माणबाट हुने फाइदा र जोखिम न्यूनिकरण बारे सम्बन्धित क्षेत्रका बासिन्दालाई सूचनामुलक तालीम कार्यक्रम संचालन गरी चेतना बढाउनु पर्दछ ।