काेराेनाकाे कारण नेपालमा थप ३ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे भएकाे जनाएकाे छ । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन । उनी निरन्तर भारत आवतजावत गरिरहने र उनमा ज्वराे र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको र अवस्था गम्भिर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो । यस्तै पर्साको विरगञ्ज—७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । साथसाथै पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
निर्मला हत्या प्रकरण: एसपीसहित आठ प्रहरीलाई सफाई
काठमाडाैं । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा खेपिरहेका एसपीसहितका ८ जना प्रहरीले सफाई पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले आज उनीहरुलाई सफाइ दिएको हो । निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकद्वय अंगुर जिसी (तत्कालीन सिआईबी), डीएसपी ज्ञानबहादुर सेठी (तत्कालीन जिल्लाका डीएसपी), प्रहरी निरीक्षकद्वय एकिन्द्रबहादुर खड्का र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट (तत्कालीन वडा प्रहरी इञ्चार्ज), प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।
नेपालमा थप २ सय ७४ जनामा कोरोना पुष्टि, २२७ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् भने आजसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २२७ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
‘ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ, उनको विकल्पमा कोही छैन’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो । मन्त्री भट्टले भने, ‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’ पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए । सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने उनले बताए । मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरु खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमति मै टुंगो लाग्ने बताए ।
काठमाडाैं उपत्यकामा ४५ जनामा देखियाे कोरोना, हालसम्म ५ सय ३२ मा पुष्टि
काठमाडाैं । काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४१, ललितपुरकाे २ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ५ सय ३२ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ९०, ललितपुरकाे ९१ र भक्तपुरकाे ५३ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण २१ निर्णय
काठमाडाैं । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण २१ निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ रसुचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवरनज खतिवडाले बैठकले महत्वपूर्ण २१ निर्णय गरेको बताएका छन् । बैठकले नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। यस्तै, बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको हो । विपत्मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ । यी हुन् अन्य निर्णयहरु:
एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने सरकारकाे निर्णय
काठमाडाैं । एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरकाे छ । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय जानकारी दिए। वर्षायाममा बढ्दो बाढीको जोखिम व्यवस्थापनका लागि खर्च जुटाउन सरकारले एशियाली विकास बैंकसँग सहयोग माग्ने भएको छ। बाढी जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन एडीबीसँग सहयोग माग्न लागिएको हो। अर्थ मन्त्रालयका अनुसार बाढी नियन्त्रणसँग सम्बन्धित पूर्वाधार निर्माण र पूर्वाअनुमान क्षमता विकासका लागि स्रोत दबाबमा परेपछि एडीबीसँग सहयोगका लागि वार्ता थालिएको छ।
अब नारायणगढ–मुग्लिन सडकमा जाने सबैले पैसा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ?
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। ‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ उनले भने।