विकासन्युज

अब काठमाडौं महानगरपालिकाकाे सेवा एकै स्थानबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो । आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो । ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि रु करिब रु २९ लाख खर्च गरिरहेको छ ।

सेयर धितो राखेर कर्जा लिने हो ? यी बैंकले ल्याए आकर्षक स्कीम

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयर धितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि भनेको छ । यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो । मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम आकर्षक स्कीम ल्याउन थालेका छन् । हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले सेयर धिताे कर्जा याेजना सार्वजनिक गरिसकेका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्ताे व्याजदरमा कर्जा दिने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन आकर्षक स्कीम ल्याएको हो । इन्भेष्टमेन्ट बैंकले एक वर्षसम्म व्याजदर परिवर्तन नहुने गरी ९.९९ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने स्कीम ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले ९.३२ प्रतिशत ब्याजदरमा सेयर धितोमा ऋण दिने भएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले ९.४९ प्रतिशत व्याजदरमा सेयरको धितो कर्जा दिने भएको छ । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा पाउन सक्ने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले ९.८९ प्रतिशत व्याजदरमा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा दिने भएको छ । यी कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने बैंकले जनाएको छ । साथै, यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् । सनराइज बैंक सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा (लोन एगेनिष्ट सेयर) दिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला सेयर कर्जा योजना ल्याएकाे छ । यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । यस सेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन् । बैंकले दुई दिनमै उक्त ऋण स्वीकृति गर्ने छ । नेपाल एसबिआई बैंक एसबिआई बैंकले १४.२५ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । साउन १ गतेबाट लागू हुने गरी उक्त सुविधा दिन थालेको हो । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले १४.२१ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौं । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । बन्दाबन्दी खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने योजनामा छन् । विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहँुदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टिन बस्नुपर्ने नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनका अनुसार प्राटोकलले हवाई जहाज कम्पनी, होटल, रेष्टुँरा तथा अन्य पर्यटनसँग सम्बन्धित कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटन नेपाल छिरे पछि तत्कालै के गर्ने भन्ने अन्योलले विदेशी नेपाल आउन चाहे पनि तत्काल आउने सम्भावना कम रहेको छ । व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । चार महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ । अहिले पनि अल्पाइन क्लबका सदस्य, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेका अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उनको भनाइ छ । पदयात्रा वा पर्वतारोहणमा जाँदा सामाजिक दूरी कायम रहने भएकाले नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान प्रकृतिसँग रम्न चाहने भएकाले उसलाई आउनासाथ कसरी त्यहाँ कसरी लैजाने भन्ने टुङ्गो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ । शुरुआती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकताबमोजिम कर्मचारीलाई तालीम दिइसकेका रेष्टुराँ तथा बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । अहिले पूर्णरुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उनले बताए । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । उडान खुलेपछि विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण सिर्जना हुनेछ । रासस

भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो

चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो। ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। वेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। रासस

नेपाल प्रहरीको प्रवक्ता परिवर्तन

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता परिवर्तन भएका छन् । नयाँ प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी बुधबार देखि तोकिएको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी निरजबहादुर शाही थिए ।

सञ्चालनमा आए सौराहाका होटल

भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ । यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए । उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो । होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए । यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको बताए । उनले भने, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् । होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  ।

मुस्ताङसंँग सम्पर्क टुट्यो

बलेवा। बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिन भयाे । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र प¥यो । “हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ”, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।” जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्टनै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उनले भने, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।” सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ । सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । “खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भने, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।” मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो”, प्रजिअ अर्यालले भने, “कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।” सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए । “किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ”, उहाँले भने, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उनले बताए । मुस्ताङको आलु पोखरा, काठमाडौँलगायतका ठूला शहरमा निर्यात हुन्छ । “भण्डार गरेर राख्दा किसानलाई फाइदा हुँदैन, गाजर कुहिने सम्भावना छ”, उनले भने, “यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।” ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उनले बताए । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उनको भनाइ छ । “भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन” अध्यक्ष थकालीले भने, “स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।” मौसम सफा भए जहाजमा आउजाउ महँगो भाडा तिरेर गर्न सकिने भए पनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उनको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको सङ्घका अध्यक्ष तुलाचन बताउँछन् ।

राखेपका सदस्य सचिव सिलवालद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन् । राखेपको १९ औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताए । नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उनले बताए । खेलकुदलाई खेलकुदका रुपमा मात्रै सिमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उनले बताए । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो । शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेका थिए । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुँनेछ ।