विकासन्युज

फेरी घट्याे सुनकाे मूल्य

काठमाडाैं । सुनकाे मूल्य फेरी घटेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर  ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ९७ हजार २ सय रूपैयाँ थियो। त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।

नलगाड जलविद्युत्: २ अर्बभन्दा बढी मुआब्जा वितरण सम्पन्न

hydroजाजरकोट । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । मुआब्जावापत आयोजना प्रभावितलाई कूल रु दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ उपलब्ध गराइएको छ । आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा तीन हजार ९३३ कित्ता अर्थात् चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गरेको छ । साविकका जग्गाधनीलाई प्रतिरोपनीको रु छ लाखका दरले मुआब्जा रकम उपलब्ध गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । मुआब्जा पाउनेको नामावली २०७६ भदौ २७ गते सार्वजानिक गरिएको थियो । आयोजनाको विद्युत्गृह क्षेत्र नलागाड नगरपालिका–७ र बाँधस्थल बारेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ नं वडामा पर्छ । नलगाड वातावरणमैत्री, डुबान क्षेत्र कम रहेको, जलाशयको आयु दिगो हुने, खेतीयोग्य जमिनको न्यून क्षति हुने र भौगर्भिक अवस्था मजबुत भएको आयोजना मानिएको छ । आयोजनाका कारण एक हजार २०० घरधुरीका सात हजार स्थानीयवासी मात्र प्रभावित हुनेछन् । मुआब्जा वितरण सकिएपछि घरटहराको क्षतिपूर्ति वितरण हुनेछ । त्यसका लागि करिब रु ४० करोड कम्पनीको खातामा आइसकेको छ तर घरटहराका लागि उक्त रकम अपुग हुने देखिएको छ । “हाम्रो मूल्याङ्कनमा बाँधस्थलका करिब ५०० घरटहराका लागि रु एक अर्ब खर्च लाग्ने देखिएको छ”, इञ्जीनियर पदम थापाले भने । मुआब्जा वितरणलगायतका काम धमाधम भए पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नबन्दा निर्माणको काम केही समय धकेलिने उनको भनाइ छ । यसरी बन्दैछ आयोजना नलगाड आयोजना बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको छ । कर्णाली प्रदेशकै महत्वको रूपमा हेरिएको यो आयोजनाको लागत कम खर्चिलो र निर्माण गर्न सजिलोसमेत रहेको ऊर्जाविज्ञहरू बताउँछन् । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरिसकेको छ । चार सय १७ मेगावाट क्षमता रहने नलगाड जलविद्युत् आयोजना निर्माण शुरू गर्न जापानी व्यवसायी एवं जाइकाले यो आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि रु १२३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत रु ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । यो आयोजनाको निर्माण छ वर्ष छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । जलाशयको उचाइ २१० मिटर र चौडाइ ५४५ मिटर फराकिलो रहनेछ । आयोजनाको जलाशय भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । निर्माणका क्रममा केही पर्यावरणीय पक्षमा सम्झौता गर्नु परे पनि यो आयोजना निर्माण भएपछि हरित ग्यास उत्सर्जन घट्ने र सात लाख १७ हजार टन कार्बन उत्सर्जन कटौती हुनेछ । चार वर्ष बित्यो अझै बनेन डिपिआर दश वर्षअघि सम्भाव्यता अध्ययन प्रतिवेदन पूरा भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शुरु भएकै ४ वर्ष बितिसकेको छ । समयमै डिपिआर नहुँदा जलविद्युत् कम्पनी निर्माणले गति लिन नसकेको हो  । अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्टेन्ट प्रालि जेभीले डिपिआरको जिम्मा पाएका छन् । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डिपिआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग रु एक अर्ब ११ करोडमा सम्झौता गरेको थियो । सम्झौताअनुसार तोकेको समयमा डिपिआर पूरा नहुँदा पटकपटक म्याद थप हुँदै आएको छ । इञ्जीनियर थापाका अनुसार कम्पनीले डिपिआरअन्तर्गतका अरू काम पूरा गरे पनि विद्युत्गृह क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । कोरोना सङ्क्रमणको डरले कम्पनीमा आबद्ध विदेशी नागरिक कार्यक्षेत्रमा आउन नसक्दा डिपिआरको काममा थप ढिलाइ भएको छ । विद्युत् उत्पादनगृहमा अझै १०० मिटरभित्र सुरुङ खन्न नै बाँकी छ । छ वर्षसम्म बनेन नलगाड जलविद्युत् आयोजना निर्माणका लागि चाहिने विद्युत् आपूर्तिका लागि निर्माण गरिन लागिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर बन्न सकेको छैन । डिपिआर निर्माणको जिम्मा लिएको कन्सल्टेन्टको लापरवाहीका कारण चार/पाँच मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआरको काम अझै अपुरो रहेको हो । डिपिआर निर्माणको जिम्मा डिजाइड कन्सल्टेन्ट नयाँ बानेश्वरले लिएको छ । उक्त कम्पनीले डिपिआरका लागि रु ७८ लाखको ठेक्कामा रु ४३ लाख भुक्तानी लिए पनि अझै काम पूरा गर्न सकेको छैन । सम्झौताअनुसार दुई वर्षभित्र बुझाउनुपर्ने प्रतिवेदन छ वर्ष बित्दासमेत कम्पनीले बुझाएको छैन ।

२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनिसंक्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् । कास्कीमा दुई सङ्क्रमितमध्ये एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् । लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका सङ्क्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताइन्छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित एक हजार ९३६ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ । हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । प्रदेशमा अहिलेसम्म ४१ हजार ३९१ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४५५ मा संक्रमण देखिएको छैन । पछिल्लो समय यहाँका प्रयोगशालामा दैनिक एक हजार हाराहारीमा परीक्षण हुने गरेकाले नतिजा आउन बाँकी नमूना ‘पेन्डिङ’ रहेको छैन । रासस

लिवर्टी इनर्जीकाे माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना अन्तिम चरणमा

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । उनले भने, “कोरोना भाइरसले असर नपारेमा करिब आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने आयोजनाको लक्ष्य छ ।” विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो । सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए । आयोजनाको निर्माण अवधि थपिँदा लागत पनि रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ । यस आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ । यी सबै आयोजनाको निर्माणपश्चात वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यस्तै जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन छन् ।

वर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आव २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ । नीतिगत सुधार र सुशासन प्रवद्र्धनमा गहन कार्य भएका छन् । अन्तरनिकाय संस्कृति संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुर्ननिर्माणको काम भएको छ । भर्चुअल बैठकमार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पूँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए । “कोभिड–१९ महामारीका कारण पुस/माघ महिनादेखि असार/साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पूँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ”, मन्त्री भट्टराईले भने । मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ सङ्घीय संसद्मा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ । मन्त्रालयको आव २०७५/०७६ मा कूल बजेट रु ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । आव २०७६/०७७ मा रु २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आव २०७५/०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो । यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय गौरवका आयोजनाको उल्लेख्य प्रगति मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पार्यो । त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो । तथापि महामारीकै बीच मन्त्रालय मातहतका राष्ट्रिय गौरवको आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको छ । यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीका बीच निरन्तर भए । भैरहवा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा छ । पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीन देखि छ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा विलम्ब भएको जनाइएको छ । भूकम्पछिको पुनःनिर्माणमा तीव्रता भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति भएको छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ । सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको छ । हालसम्म ११ तला बनिसकेको छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको छ । एक सय २७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ । मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ । बहुप्रतीक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको छ । निगमको सम्पत्ति ५४ अर्ब १७ करोड राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कूल सम्पत्ति रु ५४ अर्ब १७ करोड रहेको छ । त्यस्तै रु ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति रु आठ अर्ब २३ करोड रहेको छ । यस बीचमा निगमले महत्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान शुरु गरेको छ । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ । निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए ।

नेपाल इन्स्याेरेन्समा ईश्वर पाेखरेल नियुक्त, नेपाल बैंककाे अडानपछि मर्ज प्रकिया राेकियाे

काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलाे बैंकहरूमा काम गरेकाे अनुभव छ  । त्यसैगरी इन्स्याेरेन्सकाे नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीकाे लागि खुला प्रतिस्प्रर्धा गरेकाे हाे । नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्चरकाे प्रकिया राेकिएपछि नेपाल इन्स्याेरेन्स कम्पनी आक्रामक रूपमा अगाडि बढ्ने याेजना बनाएकाे छ । नेपाल इन्स्याेरेन्स र  आईएमई जनरल इन्स्याेरेन्सबीच मर्जबारे प्रवर्द्धकबीच छलफल भएकाे तर नेपाल इन्स्याेरेन्सकाे संस्थापक प्रवर्द्धक नेपाल बैंकले नेपालकाे पहिलाे बीमा कम्पनी भएकाेले याे कम्पनीकाे नाम छाेडेर मर्ज हुन तयार नभएकाे अडान लिएपछि मर्जकाे विषयमा छलफल पनि हुन छाेडेकाे स्राेतले बतायाे । पहिला ४० प्रतिशत सेयर नेपाल बैंककाे भएपनि अहिले १५ प्रतिशत छ । यस कम्पनीकाे मुख्य प्रवर्द्धक आईएमई ग्रुप हाे । यसअघि दुबै कम्पनीले साधारणसभाबाट मर्जमा जाने निर्णय गर्नुकाे साथै मर्जर कमिटि बनाएर छलफल अगाडि बढाएकाे थिए । दुबै कम्पनीकाे विजेनश, नेटवर्थ, पुँजी, बजारमा सेयर मूल्य उस्तै भएकाेले स्वाप रेसियाेमा पनि प्रवर्द्धकबीच माेटामाेटी सहमति भएकाे तर नामकाे विषयमा कुरा नमिलेकाे स्राेतकाे भनाइ छ ।

सीडीएससीको नवनियुक्त सीईओ आचार्यले गरे पदबहाली, यस्ता छन् प्राथमिकताका कामहरू

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् । गत सोमबार(भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । करिब ११ महिनादेखि रिक्त रहेकाे सीडीएससीकाे सीईओ पदमा आचार्य खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनले अब आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नाे कार्यभार सम्हाल्ने छन् । यससँगै, विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे याेजना रहेकाे छ । जसअन्तर्गत सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने काम उनकाे प्राथमिकतामा रहेकाे छ । सम्बन्धित समाचारः सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता  पूर्व बैंकर आचार्य सिडिएससीको सीईओमा नियुक्त

आज गोर्खाली सेनासँग मकवानपुरले हारेकाे दिन, यसरी भागे राजा दिग्बन्धन र उनकाे परिवार

वाग्मती । आज भदौ ९ अर्थात् नेपाल एकीकरणको शुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन । दुई सय ५८ वर्ष पहिला आजकै दिन गोर्खाली सेनाले समृद्ध र विशाल भएर पनि बाँडफाट र अंशबण्डामा अल्झिएको मकवानपुरलाई परास्त गरी विशाल नेपाल निर्माणको शुरुआत गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको योजना बनाएर युद्धहरु लडेपछि स्वतन्त्र र ठूलो राज्य कब्जा गरेर नेपाल एकीकरणको वास्तविक शुरुआत गरेको दिन थियो भदौ ९ । पृथ्वीनारायणले यसअघि कान्तिपुर मातहतको नुवाकोट, पाटनअन्तर्गतको माल्टा तथा मकवानपुरका इपा, कुलेखानी आदि क्षेत्र कब्जा गरेर गोर्खा राज्यमा मिलाएको भए पनि स्वतन्त्र राज्य मकवानपुर भने पहिलो पटक विसं १८१९ भदौ ९ गते जितेका हुन् । नेपाल एकीकरण जायज थियो र आवश्यक पनि थियो भनेर मानिसकेपछि आजको दिन पनि नेपाल एकीकरणको स्वर्ण दिनको रुपमा मान्नुपर्ने र मनाइनुपर्ने इतिहासका खोजकर्ता केदार न्यौपाने बताउनुहुन्छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार यो लडाइँ गोर्खाले नजितेको भए नेपाल एकीकरण हुने सम्भावना टर्न सक्थ्यो । त्यसो हुँदा आजको नेपालको स्वतन्त्र अस्तित्वसमेत नहुने सम्भावना प्रबल हुन्थ्यो । त्यसैले भदौ ९ गते नेपालको इतिहासको महत्वपूर्ण दिन हो । विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्णका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा पर्यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पुैयाउने गरी भनेको इतिहासमा थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए । उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानि हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको इतिहासबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डालाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई उसले चुनौती दिएको थियो । कान्तिपुर नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा आफ्नै राज्यलाई नकारात्मक प्रभाव पर्ने देखेर पनि गोर्खालाई सहयोग गरेन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ मा भाइ शूरप्रतापको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शूरप्रतापसँगै भाइ महोद्दामकीर्ति र दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण गर्यो । इतिहासका जानकार न्यौपानेका अनुसार मकवानपुरका राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए । कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो तापनि मकवानपुरे सैनिकले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै लडाइँ हारे । लडाइँ हारिने डरले राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए । आठ घण्टाको सङ्घर्षपछि मकवानपुरमा गोर्खाले कब्जा जमायो । काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतिक महत्वको स्थान रहेकाले उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले आक्रमण गरेको थियो । विसं १८१९ आजकै दिन मकवानपुर पृथ्वीनारायणको अधिकारमा आएको थियो । विसं १८१९ असोजसम्म मकवानपुरका अरू ससाना स्वशासित क्षेत्र पनि पृथ्वीनारायणको कब्जामा आए । मकवानपुरगढी मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन । पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघाराैं शताब्दीमा मकवानपुर शक्तिशाली सेना राज्य बनिसकेको थियो भनेर लेखेको छ । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेन वंशावलीअनुसार विसं १,५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको शुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र, चन्द्रका छोरा रुद्र र रुद्रका छोरा मुकुन्द भएको उक्त वंशावलीमा उल्लेख छ । मकवानपुरको अध्ययन गर्न २०२७ सालमा पुरातत्व विभागका अभिलेख विशेषज्ञ अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ । प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि सो गढीमा दलभञ्जन, गजपति, चन्द्र रुद्र सेन राजा भएको उल्लेख गरेको छ । केही नाममा फरक र तिथिमितिमा एकरुपता नहुँदा अधिकांश इतिहासकारको मत बाझिएकाले ठोस र आधिकारिक धारणा निर्माण हुन सकेको छैन । अधिकांश इतिहासकारको मत भने मुकुन्द सेनले राजकाज त्यागी सन्न्यास धारण गर्नेक्रममा विशाल सेन राज्यलाई आफ्ना चार छोरा र दुई नातिलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङका भागमा मकवानपुर पर्न गयो । विसं १६१० मा लोहाङले आफ्ना पुर्खा तुला सेन निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भएका थिए । रासस