विकासन्युज

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन गर्न भारत प्रस्ताव, रेल विभागले दिएन स्वीकृत

काठमाडौं। काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ”अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ” उनले भने, “कोभिड सङ्क्रमण कम भएपछि मात्रै अघि बढ्न सक्छ ।” दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो । भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । रासस

सेनाद्वारा निर्मित याेजनाहरूकाे कार्यप्रगति प्रशंसनीय, बङ्करदेखि ब्यारेकसम्म अब्बल

काठमाडाैं। कोभिड–१९ का कारण मुलुकका धेरै आयोजना अलपत्र अवस्थामा रहेका बेला सेनाद्वारा निर्मित याेजनाहरूकाे कार्यप्रगति १०२.५ प्रतिशत छ । जुन अरु आयोजनाको तुलनामा निकै प्रशंसनीय रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखिएको छ । उक्त कार्यक्रमअन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि नै पूरा गरेको छ । उक्त आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि रु १ अर्ब ८२ करोड ११ लाख ७१ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ । सेनाकै व्यवस्थापनमा निर्माणाधिन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त आयोजनाका लागि उक्त आर्थिक वर्षमा रु २५ करोड रकम विनियोजन भएको थियो । त्यस्तै कर्णाली करिडोरको ९३ प्रतिशत र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै भएको विवरण प्रस्तुत भएको छ । कर्णाली करिडोरलाई रु ३५ करोड तथा बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडकलाई ११ करोड ७५ लाख रकम छुट्याएको थियो । दार्चुला–घाँटीबगर गोरेटो ट्र्याक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । द्रुततमार्गको प्रगति ४२. ८ मात्रै     रक्षा मन्त्रालय मातहत वार्षिक लक्ष्यको ५० प्रतिशत प्रगति हासिल नभएका आयोजनाका सूचीमा द्रुतमार्ग, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुुनःनिर्माण परेका छन् । मुलुककै सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको वार्षिक कार्यप्रगति भने ४२. ८ मा खुम्चिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उक्त आयोजना अघि बढाउने सन्दर्भमा डिपीआर स्वीकृति र अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा भएको ढिलाइले प्रभाव पारेको थियो । आयोजनाको ‘होलिस्टिक प्लान र टेण्डर डकुमेन्ट’ तयारीमा बढी समय खर्चनु परेकाले पनि लक्ष्य प्राप्तिमा कठिनाइ परेको मन्त्रालयको भनाइ छ । लकडाउनका कारण आवश्यक उपकरणसहित प्राविधिक परिचालनमा परेको समस्याले पनि लक्ष्यअनुरुप प्रगति हासिल गर्न बाधा पुगेको हो । उक्त द्रतमार्गका लागि रु ४ अर्ब ४६ करोड १४ लाख बजेट विनियोजन भएको थियो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी पूर्व तयारी कार्यमा सो आवमा लक्ष्य ४०.२९ मात्रै काम भएको पाइएको छ । सो अवधिमा पूर्वाधार निर्माण समिति गठन आदेश स्वीकृत, विस्तृत अवधारण पात्रको मस्यौदामा छलफल र सांगठानिक संरचना तयार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले काभ्रेको साँगा भन्ज्याङमा ७४० रोपनी क्षेत्रफलमा उक्त विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक निर्माण हुने क्रममा रहेकाले उक्त विश्वविद्यालयको विधान विधेयकमा समावेश गर्नुपर्ने अवधारणको अध्ययन भइरहेको जानकारी दिएको छ । विश्व विद्यालय भवन र पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर)को प्रारम्भिक प्रतिवेदन तयार भएको बताइएको छ । उक्त आयोजनाका लागि रु २० करोड बजेट विनियोजन भएको थियो । भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण कार्यको उक्त आवमा लक्ष्यको ३० प्रतिशत मात्र काम भएको छ । भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी १३९ भौतिक संरचनाको लागि रु २ अर्ब ७८ करोड ९९ हजार माग भएकोमा सोअनुसार रकम विनियोजन नहुँदा जवान केन्द्रित आधारभूत भौतिक पूर्वाधार निर्माण कार्ययोजनामा नै प्रभाव परेको बताइएको छ । सो कार्यका लागि रु ८ करोड १५ लाख मात्र बजेट विनियोजन भएको थियो । ढिलो बजेट निकासा भएको र बन्दाबन्दीका कारण कामदार र सामग्री ढुवानी समस्या भएपछि लक्ष्य हासिल गर्न नसकिएको प्रगति विवरणमा उल्लेख छ । अबको बाटो  राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ्ग, खाँदवारी–संखुवासभा, दार्चुला–टिंकरलगायत आयोजनाको लक्ष्य प्राप्त गर्न आवको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी प्रदान गर्नु पर्ने मन्त्रालयको सुझाव छ । काठमाडौँ–तराई–मधेश द्रुतमार्गको खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरणसम्बन्धी विवादको यथाशीघ्र समाधान र निर्माणस्थल आसपासका वन जङ्गल, खोलानाला, खानी, ऐलानी तथा सरकारी जग्गाबाट निर्माण सामग्री स्थानीय स्तरमा उत्खनन गरी सहज रूपमा प्रयोग गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले जनाएको छ । रासस

युट्युबले हटायो दुई करोड चार लाख भिडियो, युट्युवरहरू तनावमा  

वासिङ्टन । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले १८ महिनामा दुई कराेड चार लाख भिडियाे हटाएकाे छ । सन् २०२० काे प्रथम छ महिनामा मात्र युट्युवले  एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो । कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीको तथ्यांक छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ । “समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ । युट्युब यस्ताे नीति लिएपछि दर्शक पाउनकाे लागि उत्तेजक भिडियाे बनाउने यूट्युवरहरू तनावमा परेका छन् । रासस

अध्यक्षकाे कुर्सीमा बस्दा शेखर गाेल्छालाई पछुताउन नपराेस्-गुणनिधि तिवारी

काेभिड-१९ काे महामारी नेपालीकाे घर आँगनमा पसेकाे छ । दैनिक एक हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि हुन भएकाे तथ्याङ्क सार्वजनिक भइरहेकाे छ । सरकारले लकडाउन पछि निषेधाज्ञकाे बाटाे समातेकाे छ । उद्याेग, व्यापार, सेवा सबै क्षेत्र चाैपट भएका छन् । र, काेराेनाकाे त्रास भन्दा राेजीराेटी, राेजगारी र आर्थिक संकटकाे त्रासकाे तरङ्ग ठूलाे भैसकेकाे छ । तर यतिबेला निजी क्षेत्र निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरू सुस्ताएर छन् । आवाज विहिन भएका छन् । साझा धारणा बनाउनुकाे साटाे निजी क्षेत्रकाे सबैभन्दा ठूलाे संस्था नेपाल उद्याेग वाणिज्य महासंघ आसन्न तर अनिश्चित चुनाव केन्द्रीत भइ विभाजित बनेकाे छ । निजी क्षेत्रका प्रतिनिधि अर्थात नेताहरू किन रूमलिएकाे छन्, किन सुस्ताएका छन् ?  निकासकाे खाेजीमा के कस्ता प्रयास भैरहेका छन् ? प्रस्तुत छ नेपाल उद्याेग वाणिज्य महासंघकाे जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीसँग विकासन्युजले गरेकाे विकास वहस । कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा के कस्तो प्रभाव परेको छ ? खासगरी साना व्यवसायीलाई यसले पारेको प्रभाव कस्ताे छ ? कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो अर्थतन्त्रमा निकै ठूलो असर परिसकेको छ । लामो समयको लकडाउनले हाम्रो उत्पादन र बजारको समग्र चक्र नै क्षतविक्षत पारेको अवस्था हो । लकडाउनका कारण हाम्रो पर्यटन उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । होटल, ट्राभल, एयरलाइन्स जस्ता व्यवसायमा यसको सबैभन्दा ठूलो र दीर्घकालिन असर परेको छ । त्यस्तै लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । यसले उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ । र, साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तीन तीन पटकसम्म मिति तोकेर फेरि स्थगित भएको छ । यसको तयारी कहाँ पुगेको छ र तपाइँको आफ्नै तयारीचाहिँ कस्तो छ ? अहिले कोभिड–१९ को संक्रमण दर बढ्दै गएकोले हामीले चुनावी तयारी खासै गरेका छैनौं । हाम्रो समूहगत तयारीको कुरा गर्ने हो भने सार्वजनिक कार्यक्रम नै गरेर वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा उपाध्यक्षका सबै उम्मेदवारहरु सार्वजनिक गरिसकेका छौं । सबैतिरबाट राम्रो रेस्पोन्स पनि आइरहेको छ । जिल्ला/नगरका साथीहरुसँग निरन्तर सम्पर्कमा छौं । म हिजो पनि उहाँहरुसँग प्रत्यक्ष र निरन्तर सम्पर्कमा भएकाले मेरा लागि नियमित भेटघाट जस्तै छ । मैले चुनावकै लागि विशेष तयारी नै गर्नु परेको छैन । त्यस्तै हाम्रो टिमबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको पनि नेपालका ७७ जिल्लामा नै आफ्नो व्यवसायिक नेटवर्क छ । उहाँ पनि व्यवसायकै माध्यमबाट सबै उद्यमी व्यवसायी साथीहरुको सम्पर्कमै हुनुहुन्छ । अरु साथीहरु आआफ्नो क्षेत्रमा सम्पर्क मै हुनुहुन्छ । चुनाव भए पनि नभए पनि हामीहरु सबै आआफ्नो व्यवसायमार्फत व्यवसायी साथीहरुकै बीचमा छौं । यसले गर्दा चुनावको लागि मात्र विशेष कार्यक्रम हामीले कम नै गरेका छौं । पहिलो त महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हौ । हामी निजी क्षेत्र नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन । अहिले संसारभर निजी क्षेत्रका रिसर्चरहरु रातदिन यस कोभिड १९ को भ्याक्सिन बनाउनमा व्यस्त छन् । धेरै निजी औषधी कम्पनीहरुले भ्याक्सिन उत्पादनको तयारी सुरु गरिसकेका छन् । हाम्रो देशमै पनि हेर्नुभयो भने निजी क्षेत्रले उत्पादन देखि वितरण तथा बजारीकरणसम्म यही महामारी कै बीचमा काम गरिरहेका छौं । केही अत्यावश्यक उद्योग कलकारखानाहरु अहिले पनि सञ्चालनमै छन् । कोभिडको कारण भन्दै हामीले सेवा बन्द गरेर बस्ने हो भने त य स्वास्थ्य समस्या भन्दा निकै भयावह आर्थिक तथा सामाजिक समस्या उत्पन्न हुन्छ । मानिसहरु भोकमरी र उपचार नै नपाएर मर्ने सम्भावना हुन्छ । तसर्थ हामीले अहिले पनि स्वास्थ्य सम्बन्धी सबै सावधानी अपनाएर काम गर्ने वातावरण बनाउन पर्यो भनेर भनिरहेका छौं । कृषिजन्य उत्पादनहरु, दुध, तरकारी, फलफूल, खाद्यान्न, औषधी, तेल तथा पानी जस्ता अत्यावश्यक सेवाहरु हामीले बन्द गर्न सकिदैन । यसलाई स्वास्थ्य सुरक्षाको ख्याल गर्दै व्यवस्थापन गर्दै जाने हो । लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । महामारीले गर्दा उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ, र साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् । अर्को कुरा हामी निजी क्षेत्रले मुलुकको झण्डै ५० लाख जनशक्तिलाई रोजगारी पनि दिएका छौं । अहिलेको निषेधाज्ञा तथा बन्दाबन्दीले हाम्रा उद्योग, व्यवसाय बन्द हुँदा ती व्यवसायमा रोजगार व्यक्तिको रोजगारी गुम्दा ती व्यक्तिका आश्रित परिवारले दैनिकी चलाउन समेत समस्या परेको छ । यसलाई पनि सरकारले समयमै हेर्नुपर्छ भनेका हौ । यसका लागि महासंघ जस्तो संस्था निष्कृय हुनुभएन । हामीले सम्भव भएसम्म यसको गौरबपूर्ण इतिहासलाई जोगाउदै नयाँ नेतृत्व दिउँ र यसलाई अहिलेको संकटमा व्यवसायीहरुको असल सारथीका रुपमा अगाडि बढाऔँ भनेका हौँ । तर साथीहरुले यसलाई बङ्गयाई टिङ्गयाई हामीलाई नेतृत्वमा पुग्न हतारो भएको आरोप लगाउनुभयो । आफूलाई नेतृत्व नचाहिएको ढोङ्ग पिटाउनुभयो । तर वास्तविकता त्यस्तो होइन । उहाँहरु आफू अलि कमजोर महशुश भएपछि चुनाव पछाडि सार्न खोजेको देखिन्छ । अहिले हेर्ने हो भने अधिकांश साथीहरु भर्चुअल माध्यममा भएपनि साधारणसभा गर्नुपर्छ भनेर हामीले उठाएकै लाइनमा आइसक्नुभएको छ । यसले पनि हामी सही थियौं भन्ने पुष्टी गरिसकेको छ । तर अहिलेको अवस्थामा चुनाव त सम्भव छैन नि ? हो, अहिले यस्तो अवस्थामा ठूलो जमघट सहितको चुनाव सम्भव छैन । हामी पनि सबै स्वास्थ्य सुरक्षालाई दाउमा राखेर चुनाव गरौं भनेका होइनौँ । तर चुनाव कस्तो समयमा सारिएको छ, तपाईलाई पनि राम्रोसँग थाहा छ । सरकारले तीन महिना लामो लकडाउन खुकुलो बनाउँदै लगेको थियो । सार्वजनिक यातायातहरु सञ्चालनमा आएका थिए । होटल, रेष्टुरेन्टलगायत हवाई यातायात र लामो दूरिका सार्वजनिक यातायातहरुसमेत सञ्चालनको तयारी गरिसकेको अवस्थामा उहाँहरुले एकाएक यसलाई स्थगित गरेर जानुभो । के उहाँहरुलाई यस्तो हुन्छ भन्ने पहिले नै जानकारी थियो र ? अहिले पो यस्तो भयो । तर त्यस समयमा उहाँहरुले लिएको निर्णय पूर्णरुपमा गलत थियो र आफ्नो दुनो सोझाउने बाहेक केही थिएन । मैले पहिले पनि भनी सके उहाँहरु आफू कमजोर देखिएपछि यसलाई पछाडि सार्न खोजिएको मात्र हो । खासमा चुनाव त हामीले नैतिक रुपमा जितिसकेका छौं । यसको मतलब अहिले पनि साधारण सभा गर्नुपर्छ भन्ने हो ? धेरै मुलुकमा सामाजिक दूरी कायम गरेर “न्यू नर्मल” परिवेशलाई आत्मसात गर्दै अगाडि बढेको अवस्था हो । महामारी कै बीचमा धेरै मुलुकहरुमा आम निर्वाचन समेत भए । यहाँ हाम्रो देशमा पनि दुई तीनवटा निजी क्षेत्रका संस्थाहरुले साधारणसभा सम्पन्न गरिसके । हामी आफूलाई निजी क्षेत्रको लिडर भन्ने, उद्योग व्यवसाय खोल, काम गर्ने वातावरण बनाइदिउ भन्दै हिड्ने अनि आफ्नो संस्थालाई बचाउन साधारणसभासम्म गर्न नसक्ने त होइनौं नि । हामीले पनि कुनै पनि भर्चुअल माध्यम वा जुमबाट साधारणसभा गर्न नसकिने होइन । गएको चैतभित्र साधारणसभा गरिसक्नुपर्ने थियो । अब चैत्रमा हुन नसके पनि गर्न सकिने बेलामा त गर्नैपर्छ नि । नत्र वैधतालगायतका अन्य झमेला आउन सक्छन् । त्यसैले हामी सरकारको निर्देशनको सीमाभित्रै रहेर साधारणसभा सम्पन्न गरौ भनेका हौं । महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हाैं। हामी नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन । चन्द्र ढकालसहित तपाइँकाे टिमले दवाव दिएपछि साउन २६ गतेकाे मिति ताेकिएकाे बताइन्छ । चैतमा अध्यक्ष हुनुपर्ने शेखर गोल्छालाई हतार नहुने तर  तपाइहरुकाे टिमलाई हतार हुने किन ? महासंघलाई विधानअनुसार अगाडि बढाउनुपर्छ, भोलि यत्रो संस्थामा वैधानिक संकट नआओस् र त्यो गर्विलो इतिहास बोकेको संस्था सोही कारणले क्षतविक्षत नहोस् भनेर हामीले आवाज उठाएको हो । चन्द्र ढकालले महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौं भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अर्को कुरा यस महासंकटको समयमा व्यवसायीको आवाज बोलिदिने, सुनिदिने र समाधानका लागि पहल गरिदिने नेतृत्व अझ बढी सक्रिय र सबल हुने समयमा यसलाई किन निष्कृय बनाएर राख्ने भन्ने हो । साधारणसभा कसलाई चाहिएको हो र होइन भन्ने बाहिर आएका कुराले कुनै अर्थ राख्दैन किनकी साधारणसभाको मिति तोक्ने कार्यकारिणी समितिको निर्णय सर्वसम्मतिले नै भएको हो । हामीलाई नेतृत्वमा पुग्ने हतारोका रुपमा व्याख्या किन गरिँदैछ भनेर मैले बुझ्न सकेको छैन । हामीले त विधि र पद्धतिअनुसार महासंघ चल्न सकेन भने अग्रजहरुले ठूलो मेहनत गरेर हुर्काएको र देशले नै गर्व गर्ने यत्रो संस्थामा संकट आउन सक्छ र त्यो स्थिति नआओस् भनेर नै साधारणसभाको पक्षमा आवाज उठाएका हौ । यसलाई निर्वाचनसँग मात्र जोडेर हेरिनु हुँदैन । अहिले त सबै जसो कार्यकारिणी समिति सदस्यहरुले भर्चुअल माध्यमबाट भएपनि साधारणसभा गर्नुपर्छ भनेर भनिरहनुएको छ । आखिर हामीले उठाएको ठिक हो भन्ने पुष्टी भइसकेको छ साधारणसभा र निर्वाचनकाे पृष्ठभूमिका एकले अर्काकाे सार्वजनिक रूपमा नै आलाेचना पनि भैराखेकाे छ । निर्वाचनका नाउँमा अहिले भइरहेको प्रतिस्पर्धालाई कत्तिको स्वस्थ मान्नुहुन्छ ? कुनै पनि संस्थाको नेतृत्व चयन सर्वसम्मतिले हुन सक्यो भने त्यो अन्यन्तै राम्रो हुन्छ । नेतृत्वमा जाने आकांक्षी एकभन्दा बढी हुने वित्तिकै निर्वाचनको प्रक्रियामा जानुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । महासंघ यस्तो विशाल सञ्जाल भएको संस्था हो जहाँ जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एशोसिएट सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य छन् । सबै संस्थागत प्रतिनिधित्व गर्ने साथीहरु आफैं निर्वाचनको माध्यमबाट आउनुभएको हुन्छ । यस्तो अवस्थामा संस्थाको नेतृत्व तहमा सर्वसम्मति होस् भन्ने चाहना राख्नु एउटा कुरा हो तर व्यवहारिकता हेर्दा त्यो त्यति सजिलो चाहिँ छैन । यसैले निर्वाचन हुनु र प्यानल बन्नुलाई ठूलो समस्याका रुपमा लिनु हुँदैन । बरु निर्वाचनमा एक अर्कोलाई हिलो छ्याप्ने काम भने हुनु हुँदैन । हाम्रो टिम यसमा पूर्ण सचेत छौं किनकी हामी आफ्नो योग्यता, क्षमता, अनुभव, गुण, आचरणसहित निश्चित एजेण्डाका आधारमा निर्वाचनमा भाग लिन गइरहेका छौं । यसैले अस्वस्थ प्रतिस्पर्धाको नियतिबाट महासंघलाई जोगाउन हामी सचेत छौं । महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौँ भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अहिले महामारीको यस्तो समयमा व्यवसायीहरु अभिभावक विहिन जस्ता भएका छौं । हाम्रो आवाज बोलिदिने, सुनिदिने कोही नभए जस्तो भएको छ । तपाइँको टिम घोषणा भइसकेको छ । यस टिमको सबल पक्ष के हो ? यस टिमको सबल पक्ष भनेकै निजी क्षेत्रका समस्या नजिकबाट बुझ्नसक्ने, समस्याको सम्बोधन गर्नसक्ने क्षमता राख्ने तथा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै देशले खोजेको परिवर्तनका लागि संवाहक हुनसक्ने छ । हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल देशकै एउटा प्रतिष्ठित व्यवसायी हुनुहुन्छ । उहाँमा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको व्यावसायिक अनुभव छ । यो टिम कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्नेमात्र नभइ समृद्ध नेपाल निर्माणको महाअभियानको अभियन्ताका रुपमा सम्पूर्ण निजी क्षेत्रलाई अगाडि बढाउन सक्षम हुनेछ । अर्को कुरा हाम्रो यो टीम अनुभवले खारिएको छ । विश्वासले भरिएको छ । गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हैसियत राख्छ । यसले कुनै पनि साना तथा ठूला व्यवसायिका कुनै पनि समस्याको समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । समाधान खोज्न सक्छ । राज्यलाई कन्भिन्स गर्न सक्छ र तत्काल समाधान निकाल्न सक्छ । त्यसैले म फेरि पनि दोहोर्याउँछु, चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । एकातर्फ कोरोना संकटले अर्थतन्त्र थलिएको अवस्था छ भने अर्कोतर्फ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनका नाउँमा दुई भिन्न खेमामा विभाजित छ । यसले निजी क्षेत्रलाई कमजोर बनाउँदैन ? निर्वाचनले महासंघलाई कमजोर बनाउँछ भन्ने त म मान्दिनँ तर निर्वाचनपछि पनि पुरानै तुष बाँकी राखिरहने हो भने निश्चय नै समस्या ल्याउँछ । निर्वाचनपछि महासंघमा यो वा त्यो खेमा भन्ने रहनु हुँदैन र जिम्मेवारी दिँदा पनि योग्यता, क्षमता र अनुभवका आधारमा दिइनुपर्छ । महासंघभित्रको समिति, फोरमलगायतको जिम्मेवारी कुनै लाभको पद वा बक्सिस होइन यो त स्वयसेवा गर्न दृढ इच्छाशक्ति भएका तथा क्षमतावानले नै पाउनुपर्छ । यसरी पुराना कुरा बिर्सेर अगाडि बढ्ने हो भने महासंघ पक्कै कमजोर हुँदैन र मेरो पनि यही नै प्रयास रहनेछ । निर्वाचनले त कुनै पनि संस्थालाई गतिशील बनाउँछ र नेतृत्वमा पुग्नेलाई राम्रो काम गर्नैपर्ने दबाब सिर्जना गर्ने भएकाले यसलाई सकारात्मक रुपमा नै लिन सकिन्छ ।   तपाइ जिल्ला नगर उपाध्यक्षकाे उम्मेदवार । जिल्ला नगरका प्रतिनिधिले महासंघकाे नेतृत्व भाेग माग्न मात्र जिल्ला आउँछन् । जितेपछि फोनसम्म नउठाउने भन्ने गुनासाे गरेकाे देखिन्छ । के यी गुनासा जाहेज हुन् ? हो, हामी जिल्ला नगरका प्रतिनिधिलाई धेरै पटक यसरी नै ठगिएको हामीले पनि महशुश गरेका छौं । तर तपाईले मलाई लक्षित गरेर यो प्रश्न गरेको हो भने म सधै जिल्ला नगरमै रहेर काम गरेको मानिस हुँ । म विगत १५ वर्षदेखि महासंघमा छु । मेरो देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुसँग सुमधुर सम्बन्ध छ र यो केबल चुनावले बनाएको सम्बन्ध होइन । त्यस्तै हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालकाे आफ्नै व्यवसायिक सञ्जाल छ । उहाँले वर्षैभरि मुलुकका ७७ वटै जिल्लामा व्यवसायकै शिलशिलामा आउनेजाने भइरहेको हुन्छ । हामीहरु जिल्लाका साथीहरुले बोलाएका धेरै कार्यक्रममा गइरहेका हुन्छौं । हामीले उहाँहरुको भावना बुझेका छौं, सुख दुःखमा हातेमालो गरेका छौं । म आफैं पनि सानो व्यवसायी भएको हुनाले मलाई साना व्यवसायीको समस्या अवगत छ । अहिले पनि म सक्रिय रुपमा साथीहरुका समस्या समाधानमा लागि नै रहेको छु । चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । महासंघकै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विराटनगर पुगेर अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको भनेर आरोप लगाउनु भएको थियो । याे विषयमा सिंग्गाे कार्यसमिति किन माैन बस्याे ? हो । शेखर गोल्छाले विराटनगरमा पुगेर एउटा सार्वजनिका कार्यक्रमबाटै वर्तमान अध्यक्ष राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको र महासंघको व्यवस्थापन देखेर आफूलाई लाज लागेको जस्ता अभिव्यक्ति दिनुभएको थियो । उहाँले आफू अध्यक्ष भएर आएको ६ महिनाभित्रै हर हिसाबको सम्पूर्ण अडिट गरेर सब कुरा सार्वजनिक गर्ने पनि बताउनुभएको छ । उहाँ आफै पनि वरिष्ठ उपाध्यक्ष जस्तो पदमा भएको मान्छे आफ्नै संस्थाको बारेमा किन यसरी बोल्नुभयो भन्ने सबै कार्यसमितिका व्यवसायी साथीहरुलाई लागेको छ । उहाँ एउटा गुटको नेतृत्व गरेर चुनावमा हाेमिनु भएकाे छ । भाेट तान्नकाे लागि राजनीतिमा विपक्षी दलका नेताले जस्ताे भाषण दिनु भएकाे छ । उहाँ अहिले वरिष्ठ उपाध्यक्ष जो आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । याे विषय तपाइले उहाँलाई साेध्नुहाेस्, उहाँले नै जवाफ दिनु हाेला । वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छा आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । तर उहाँ आफ्नाे टिमलाई जिताउन र तपाइहरूकाे टिमलाई हराउन कस्सिएर लाग्नु भएकाे छ । तपाइँहरु निर्वाचित हुनुभयो भने अध्यक्ष  गोल्छासँगको सम्बन्ध कसरी अगाडि बढ्नेछ ? साधारणसभापछि नेतृत्व शेखर गोल्छाले लिँदै हुनुहुन्छ । अहिलेको कोरोना संकटले थलिएको र नयाँ चुनौती थपेको अर्थतन्त्रलाई पुनर्जीवन दिएर मात्र पुग्दैन कि नेपाललाई समृद्ध बनाउने योजनाका सारथी निजी क्षेत्रलाई हेर्ने नीति निर्माताको चश्मा फेरिनै पर्छ । यसका लागि हामी निजी क्षेत्र नै एक आपसमा झगडा गरेर बस्यौं भने हाम्रो अन्तरविरोधमा अरुले खेल्न सक्छ । यसैले साधारणसभापछि महासंघमा पक्ष विपक्ष भन्ने नै हुँदैन र हुनु हुँदैन । अध्यक्षलाई सफल बनाउनु भनेको महासंघलाई पनि सफल बनाउनु हो र त्यसका लागि खुला हृदयले नै सहयोग गर्नुपर्छ र नेतृत्व लिनेले पनि फराकिलो छाती बनाउनै पर्छ भन्ने मेरो भनाइ हो । जहाँसम्म शेखरजीको को कुरा उठाउनुभएको छ यहाँले त्यो उहाँले विचार गर्ने कुरा हो । भोलि काम गर्न उहाँलाई टिम त पक्कै चाहिएला । त्यसबखत पछुतो नहोस् मात्र भन्छु म त ।

एभरेष्ट बैंकका ग्राहकलाई आरटी-पीसीआर परीक्षणमा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल) सँग सहकार्य गरेको छ । हाल कोभिड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । नगद करोबारमा पनि कोभिड-१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप-ईबीएल टच २४) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सी.डी.एल बीचको सहकार्य, बैंकका नायब-महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

नेपाल बंगलादेश बैंकले हस्तान्तरण गर्यो दुई करोड २५ लाख रुपैयाँ बराबरको जीवनरक्षक औषधि

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई करोड २५ लाख रुपैयाँ बराबरको ५ हजार थान जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला उक्त सहयोग गरेको हो । बैंककाे संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो । हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि रेन्डिसिभिर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएकाे छ । जसकाे हालको बजार मूल्य करिब दुई करोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख रूपैयाँ प्रदान गरिसकेको छ । समाज प्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।

समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आगामी शनिबार हुने भएको छ । भदौ ८ गते निष्काशन बन्द भएको कम्पनीको आईपीओ भदौ १३ गते बाँडफाँड गर्ने तयारी गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । संस्थाले गत भदौ ४ गतेदेखि ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ जसमा सर्वसाधारणको ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएकाे छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।

५ वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, मेगा सेल मेलामा ५० प्रतिशतसम्म छुट

काठमाडौं । कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ । रिचार्जरले एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो । सम्झौता अनुसार भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा उल्लेखित ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् । कार्ड नभएकाहरुले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने छन् । यसरी आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ । लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंकहरुसँग यस्तो सम्झौता गरिएको रिचार्जरले जनाएको छ । सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा सामग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार नाफा कमाउने उद्धेश्यले भन्दा पनि असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन समेत गराउँदै सामान उपलब्ध गराउन लागिएको ग्लाइडरले बताए । ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका सामान गरिद गर्न सक्ने छन् । कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै सुरक्षा उपहरणहरु, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, पर्फ्युम लगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ । सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । किस्ताबन्दीका साथै नगद भुक्तानी वा क्यास अन डेलिभरीबाट कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ वितरण गर्नेछ । भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराउने रिचार्जरले जनाएको छ । यस्तै हरेक दिन सञ्चालन हुने फेसबुक पेज लाइभ प्रश्नोत्तरमा सहभागि हुनेहरुलाई आकर्षक उपहार उपलब्ध गराइने रिचार्जरले जनाएको छ । सेल सुरु भएका दिनदेखि हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक लाइभमार्फत उपहार विजेता घोषणा गरिने बताइएको छ । रिचार्जरले कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टीभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ । रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिजार्जरबाट सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।