सरकारले यी तीन अस्पताललाई काेराेना अस्पताल बनायाे
काठमाडौं । सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।
८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ)को शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । साथै, कम्पनीकाे सेयर बाँडफाँड भने सम्भवतः बेलुकासम्म हुन सक्ने क्यापिटलले जनाएकाे छ । ‘हामीले प्रिअलोटमेन्ट गरी बाेर्डमा रिपाेर्ट पठाएका छाैं । उताबाट अनुमति आयाे भने आजै बाँडफाँड हुन्छ । आज अनुमति आएन भने साेमबारसम्ममा बाँडफाँड गर्छाैं ।’, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुर्व तिमल्सिनाले विकासन्युजसँग भने । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।
नेपालमा काेराेनाबाट मृत्यु हनेकाे संख्यामा पनि नयाँ रेकर्ड, सतर्कता अपनाउन आग्रह
काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड देखिएको छ । आज देशका विभिन्न ठाउँमा कोरोना भायरसबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । आज सम्म ११ जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको थिएन । आज मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएकोले थप सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
काठमाडौंमा कोरोना संक्रमितको नयाँ रेकर्ड, हालसम्मकै बढी
काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना भाइरस संक्रमितकाे नयाँ रेकर्ड देखिएकाे छ । काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएकाे छ । तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ५० जनामा संक्रमण देखिएको हो । त्यसैगरी ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ९ सय २७ जनामा काेराेना देखियाे
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जहाँ खोला तर्न पैसा तिर्नु पर्छ
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिकरुपमा आवतजावत गर्दै आएका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि अहिलेसम्म निर्माण सकिएको छैन । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् । मानिस, सवारीसाधन र सामान तार्न रु १०० देखि रु ३०० सम्म तिर्नुपर्ने अवस्था छ । बेलडाँडीका स्थानीय बासिन्दा जगत चौधरीले खोला तर्न पनि शुल्क तिर्नुपर्ने बाध्यता अझै हट्न नसकेको बताउनुभयो । लामो दूरी तय गरेर खोलासम्म पुग्दा बाढीको पानी नघट्दा घर फिर्ता हुनुपर्ने अवस्थासमेत व्यहोरेको अर्का स्थानीय सियाराम रानाले बताए। चार वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा थन्किएर बस्ने गरेका छन् । ती सवारी पानीको सतह घटेपछि मात्रै गन्तव्यतर्फ जाने गरेका छन् । कूल ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि रु छ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोलाले बेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छुट्याएको छ । रासस
छाउनीमा एक कर्मचारीमा काेराेना देखिएपछि पोखरेल र बादल आइसोलेसनमा
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् । उनीहरुको अब चाँडै पिसिआर परिक्षण पनि हुने बताइएको छ । उनीहरु आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक पनि भदौ १८ गते सम्मका लागि स्थगित भएको छ ।
५ लाख ६७ हजारले पाए रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर, साढे २० हजारकाे हात खाली
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज बाँडफाँड भएको छ । जस अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले कम्पनीको सेयर पाएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले ५६ लाख ७० हजार कित्ता सेयर हात पारेका छन् । बाँकी २० हजार ५ सय ९ जना आवेदकको भने हात खाली भएको छ । गत भदौ ४ गतेदेखि ८ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आबेदन परेको थियो । जसमध्ये ५ लाख ८७ हजार ५ सय ९ वटा आवेदन योग्य भएका छन् भने बाँकी एक हजार ९ सय ५५ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट २ कराेड २९ लाख २६ हजार १० कित्ता सेयरकाे लागि आवेदन परेकाे थियाे । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ४.०४ गुणाले बढी हो । इन्स्योरेन्सले सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।