नेपालमा भर्च्युअल साधारणसभा शुरू, जुम चलाउन सिक्दै हजुरबा पुस्ता
काठमाडौं । शनिबार १० बजेर २१ मिनेट गएको थियो । उद्योगपति पद्मा ज्योतिले आफ्नो डिभाइमा बोले–‘मेरोमा साउण्ड आएको छैन ।’ सगरमाथा इन्स्योरेन्सको नामबाट आवाज आयो–‘साधारणसभा शुरु भएको छैन ।’ केही बेरपछि सगरमाथा इन्स्योरेन्सको व्यकराउण्डका विश्वनाथ अधिकारीले भने–‘हामीले बोलेको सबै रेकर्ड हुनुपर्छ है ।’ उनले प्राविधिकलाई भनेका रहेछन् । उनले नमस्कार भन्दै सगरमाथा इन्स्योरेन्सको २३औं वार्षिक साधारणसभा जुमबाट शुरु गरे । अध्यक्ष, सञ्चालक, अथितिसहितलाई यथास्थानमा आसन ग्रहण गर्न आग्रह गर्दै साधारणसभाको बैधाननिकताबारे प्रष्ट पारे । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धर बैठकमा मास्क र पञ्जा लगाएर उपस्थित थिए । बोल्नुअघि उनले मास्क खोले र साधारणसभामा सञ्चालन समितिको तर्फबाट वार्षिक प्रतिवेदन बाचन गरे । मन्तव्य राख्दै गर्दा उनले पढेको सबै विवरणहरु स्क्रीनमा देखाएको थियो । उनले गत आर्थिक वर्ष २०७६/७७ मा सगरमाथा इन्स्योरेन्सले ११९ करोड बीमा शुल्क उठेको बताए । तर स्क्रीनमा २१९ करोड बीमा शुल्क आर्जन गरेको देखिएको थियो । अध्यक्ष मानन्धरले पछि सच्याएर पढे । कम्पनीको वार्षिक साधारणसभाको व्यानर सञ्चालक समितिको बैठक कक्षमा राखिएको थियो । बैठक कक्षमा अध्यक्ष मानन्धर, सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतसहित ७ जनाकाे मात्र उपस्थिति थियो । सञ्चालक लोकमान्य गोल्छा, निर्मला मानन्धर, बैकल्पिक सञ्चालक पद्म ज्योति घरमै बसेर जुममार्फत सहभागि भएका थिए । कार्यकक्षमा ठूलो स्क्रीनको टिभी । कार्यकक्षको भिडियो खिच्न स्ट्याडबेस अटोमेटिक क्यामरा । जुम एकाउन्ट होष्ट आफ्नै कार्यकक्षमा । साधारणसभा सञ्चालन गर्ने कम्पनी सचिव अर्को कक्षमा । जुमको स्क्रीनमा ५० जनाभन्दा बढी सहभागि थिए । फेसबुक लाइभ हेर्ने सेयरधनी २०० भन्दा बढी देखिन्थे । कम्पनी सचिवले साधारणसभामा ६२ प्रतिशत लगानीकर्ता उपस्थिति भएको जानकारी गराए । यसरी भर्च्युअली साधारणसभा गर्ने सगरमाथा पहिलो कम्पनी भएको प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले विकासन्युजलाई बताए । पाका लगानीकर्ता अमृतनाथ रेग्मीले ८० वर्षको उमेरमा पहिलो पटक भर्च्युअली साधारणसभामा सहभागी हुने मौका पाएको बताए । साधारणसभामा भाग लिने धेरै लगानीकर्ताले नयाँ अनुभव गरे । कम्पनीको वित्तीय सूचकहरु राम्रो देखियो । सञ्चालककाे भत्तामा ६ लाख ७२ हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदमा रहेका पदाधिकारीको तलव सुविधा ३ कराेड २९ हजार रुपैयाँ खर्च भएको जानकारी अध्यक्ष मानन्धरले दिए । तर सेयरधनीलाई लाभांश थिएन । सेयरधनी अमृत नाथ रेग्मीले कम्पनीको कार्यप्रगति राम्रो भएको तर रिर्पोटिङ राम्रो नभएको बताए । उनले कम्पनी नाफामा हुँदा हुँदै पनि सेयरधनीलाई लाभांश नदिएको गुनासो गरे । लगानीकर्ता गुणराज भट्टले गत वर्ष १०० प्रतिशत बाेनस दिने कम्पनीले यस पटक सेयरधनीकाे हात रित्ताे बनाउदा नराम्राे सन्देश गएकाे बताए । परम्परागत साधारणसभामा जस्तै, भर्च्युअल साधारणसभामा पनि भिआईपी सेयरधनीको रुपमा चिनिएका नियमित र पुराना अनुहारहरु नै थिए । उनीहरूकाे भनाइ पनि परम्परागत नै थियाे । त्यस मध्येका एक लगानीकर्ता डमरु बल्लभ घिमिरे साधारणसभा स्थगित नगरेको र परम्परागत शैलीमा साधारणसभा नगरेकोमा आक्रोस व्यक्त गरे । उनले सेयरधनी साधारणसभामा उपस्थिति हुन नसक्ने अवस्थामा सञ्चालक समितिले बन्द कोठामा साधारणसभा गरेको भन्दै विराेध जनाए । उनले सबै लगानीकर्ताकाे प्रतिनिधि मै हुँ भन्ने शैलीमा अाफ्ना विचार राखेका थिए । कोडिभ–१९ को महामारी, सरकारले जारी गरेको निषेधाज्ञाको कारणले साधारणसभा भर्च्यूअल गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले बताए । यस्तो साधारणसभाको बैधानिकताबारे प्रश्न उठ्छ कि ? विकासन्युजको प्रश्नमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ‘भर्च्युअल साधारणमा कम्पनी ऐनले परिकल्पना गरेको छैन । कानुन बनाउने बेलामा अहिलेको अवस्था कसैले परिकल्पना गरेको थिएन । त्यसैले हामीले कम्पनी रजिष्ट्रर कार्यालयसँग समन्वय गरेका छौं । ‘कोरम पुग्नुपर्छ । भर्च्युअल मिटिङको भिडियो रेकर्ड राखेर माइन्यूट बनाउनु’ भन्ने कम्पनी रजिष्ट्रार कार्यालयकाे सुझाव छ । हामी त्यसै गरेका छाैं’ क्षेत्रीले भने । जुम बैठकमा सहभागी हुने मध्ये केहीले म्यूट, अनम्यूट गर्न पनि छोरा बुहारी वा नातिनातिनाको सहयोग लिइरहेको प्रष्ट देखिन्थ्यो । विश्व प्रशिद्ध वैज्ञानिक डार्विनले भनेका छन्–’परिवेश अनुसार परिवर्तन नहुनेहरु लोप भएर जानेछन् ।’ डार्विनले भनेझै हजुरबुवा पुस्ता पनि परिवेश अनुसार परिवर्तन हुँदै जुमबाटै साधारणसभामा भाग लिएको देखियो । केही सेयरधनीले जुममा भाग लिँदा आफ्नो नाम राख्न समेत नजानेको र उनीहरुको डिभाइसको नाम रहेको देखियो । डिभासको नाम र लगानीकर्ताकाे खास नाम नहुँदा साधारणसभाको रेकर्ड र कम्पनी रजिष्ट्रारमा बुझाउने रिर्पोट अस्पष्ट हुने कम्पनी सचिव विश्वनाथ अधिकारीले बताए । चैतको लकडाउनपछि प्रयाः सबै नेपाली कम्पनीको सञ्चालक समितिको बैठक जुममा हुने गरेको छ । अब साधारणसभा पनि भर्च्युअल बन्दै जाने निश्चित छ । तसर्थ परिवेश अनुसार कम्पनी ऐन र कम्पनीहरुको प्रबन्धपत्र र नियामावलीहरुमा पनि परिवर्तन जरुरी छ ।
टाटा एच५ एसयूभीः सुरुवाती मूल्य करिब ६७ लाख, यस्ता विशेषताले बनायो खास
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले अघिल्लो वर्ष नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाल नेपालमा टाटा एच५ को एक्सएम, एक्सटि र एक्सजेड गरी ३ अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । ठुलो बनावट र ठुलै क्याविन रहेको यस एसयूभीको अफरोडिङ्ग क्षमता गज्जबको रहेको छ । यस कारको फिचरहरुको रुपमा जेनोन एचआईडी प्रोजेक्टर हेडल्याम्प्स, १७-इञ्च अलोए व्हिल्स लोगो प्रोजेक्सन सहितको आउटसाइड रियर भ्यू मिरर्स, एलईडी टेल लाइट्स, ८.८-इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८-वे एडजस्टेवल ड्राइभर्स सिट, ७-इञ्च कलर टीएफटी डिस्प्ले भएको इस्ट्रुमेन्ट क्लष्टर, एम्प्लिफायर सहितका ९ ओटा जेबीएलको स्पिकर जस्ता विशेषताहरु समावेश छन् । सेफ्टी फिचरको रुपमा भने एच५ मा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, रियर पार्किङ्ग सेन्सर, चाइल्ड सेफ्टी लक, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेशन, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल लगायत समावेश छन् । टाटा एच५ मा प्रयोग भएको इञ्जिन १९५६ सीसी ४ सिलिण्डर टर्बो चाज्र्ड डिजेल इञ्जिन हो जसले १४० पीएसको पावर र ३५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ६-स्पिड म्यानुअल गियरबक्स दिइएको छ भने कारले १५ केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस एसयूभीको लम्वाई ४५९८ मिलिमिटर, चौडाई १८९४ मिलिमिटर र उचाई १७०६ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर र बुट स्पेश ४२५ लिटरको रहेको छ । त्यसैगरी, ५० लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको एच५ को अगाडिको चक्काहरुमा डिस्क र पछाडिको चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । हाल नेपाली बजारमा टाटा एच५ का ३ भेरियन्टहरु मध्ये एक्सएमको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने एक्सटिको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ र एक्सजेडको मूल्य चाहिँ ७७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
बन्दाबन्दीमा महेन्द्रनगरमा हजार बढी सवारीसाधन कारबाहीमा
महेन्द्रनगर । सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ । बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए । ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । “अटोलगायत अन्य ५३ वटा सवारी साधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीमा विभिन्न स्थानमा पुगेर कोरोना भाइरसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन र मास्कलगायत साधन प्रयोग गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरिए ।” सवारी कारबाहीबाट ट्राफिक प्रहरीले रु सात लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । त्यसैगरी कोरोना कहरमा पश्चिमीनाका गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो । त्यस्तै बन्दाबन्दीमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी आठ पुरुष र एक महिला गरी नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । “दुर्घटनामा लकडाउनका समय ४७ जना घाइते भएका छन् ।” उनले भने, “अहिले पनि हामी फिल्डमा जोरबिजोर कडाइका साथ लागू गरिरहेका छौँ ।” यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ । “बन्दाबन्दीका बेला पनि मास्क नलगाएर हिँड्नेलाई प्रहरीले कारबाही गरेको थियो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “निषेधाज्ञा जारी भएपछि पनि बजार क्षेत्रमा कडाइ गर्दै लगिएको छ ।” प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँड्डुल गर्ने ८० जनालाई कारबाही गरेको छ । “हामीले मास्कसमेत सो क्रममा वितरण गरेका छौँ”, थापाले भने, “जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् ।” उनले शुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाईबुझाई छाडिएको बताए ।
उपत्यकामा सडकका बेसहारामा पनि देखिन थाल्यो कोरोना
काठमाडाैं । काठमाडौंको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिईन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै काम गरेर कमाउन सक्थिइन्, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो । आश्रमका प्रवक्ता सुमन बर्ताैला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ । विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वाभाविक भएको चिकित्सकले भनाइ छ । कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउँछन् । भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् । स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले भने, “¥याल, सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।” सडकमा रात बिताउने बेसहारामा समेत कोरोना देखिन थालेपछि उनीहरुको व्यवस्थापन थप कठिन बन्दै गएको छ । आश्रमले जोखिमका बीच उद्धार कार्य भने जारी नै राखेको छ । यहाँ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र विभिन्न रोग लागेका सहाराविहीन व्यक्तिले आश्रय पाइरहेका छन् । आवश्यक स्वास्थ्य मापदण्ड प्रयोग गरेर उद्धार गरी स्वाब परीक्षण रोपोर्टका आधारमा अहिलेसम्म उनीहरुको व्यवस्थापन हुँदै आएको छ । परीक्षण प्रतिवेदन नआउँदासम्म छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । “अहिले पनि धेरै ठाउँबाट फोन आउँछ, पिसिआर नगरेसम्म उद्धार गर्नै कठिन छ”, अधिकारीले भने, “मानिसलाई परीक्षणको मतलब हुन्न, तत्कालै उद्धार गरेन भने रिसाउनेहरु पनि छन्, तै पनि हामी जोखिम मोलेर मनोरोगीको संरक्षणमा अहोरात्र खटिँदै आएका छौँ ।” उक्त संस्थाले बन्दाबन्दीपछि मात्रै १७० जनाको उद्धार गरेको, उद्धारका क्रममा असङ्गठित क्षेत्रमा मजदूर सडकमा आइपुगे । उनीहरुको अवस्था दयनीय देखेर आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खाना खुलाउने अभियानसमेत चलाउँदै आएको छ । सडकमा बस्ने बेसहारा जत्तिकै भोकभोकै मर्ने अवस्थामा मजदूरहरु देखेपछि त्यो पीडा देख्न नसकेर नियमित खाना खुवाउन थालिएको अध्यक्ष अधिकारी बताउँछन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा वृद्धि भइरहेको छ । यस्तो अवस्थामा आफन्त र छिमेकीलाई दुःखविमार वा अप्ठेरो पर्दा सघाउ पु¥याउन सक्ने अवस्था छैन । मलामीको अभाव भएको, आफन्तकै शव व्यवस्थापन कठिन भएको र सरकारले शव व्यवस्थापन गर्न खोज्दा कतिपय स्थानमा समुदायले विरोध गरेका घटना सार्वजनिक भइरहँदा सडकका बेसहारामा पनि सङ्क्रमण देखिनु अर्काे चुनौती हो । सडकमा अलपत्र पर्ने असहाय मानिसतर्फ कसैले ध्यान पु¥याउनै सक्दैनन् । ध्यान पुगे पनि वास्ता गरिँदैन । त्यसरी अलपत्र परेका मानिसको उद्धार र व्यवस्थापनमा सक्रिय रहेको आश्रमको सेवामा समेत सङ्क्रमणले चुनौती थपिदिएको छ । पन्ध्र जिल्लाका २२ शाखामार्फत सेवा दिँदै आएको उक्त आश्रम स्थापनाको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरिरहँदा यसरी सडकबाट उठाइएका एक हजारभन्दा बढीलाई परिवार फेला पारेर पुनःस्थापित गराइसकिएको छ । हाल एक हजार १०० जनाले सेवा पाइरहेका छन् । अहिलेसम्म चार हजारभन्दा बढीको उद्धार भएको जनाइएको छ । रासस
चितवनमा ४७ वर्षीया महिला सङ्क्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।
कृषिमा दोब्बर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउन सुझाव
काठमाडाैं । सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोग तथा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयोजनमा वाग्मती प्रदेश र प्रदेश नै ५ का प्रदेशसभा सदस्य, नीति आयोगका पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग गरिएको बेभिनार सम्मेलनमा सहभागी वक्ताहरुले विदेशबाट आयातीत ऊर्जाको निर्भरताको अन्त्य गर्न स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतहरुको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने तथा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि ऊर्जाको उपयोगमा जोड दिनुपर्ने खाँचो औँल्याए । कार्यक्रममा प्रदेश ५ को भौतिक पूर्वाधारमन्त्री वैजनाथ थारुले मुलुकमा सङ्घीयता लागू भएपछि तेस्रो बजेट कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखी नगरी व्यावसायिक रुपमा विस्तार गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रदेश सरकारले स्वच्छ ऊर्जाको प्रवद्र्धन गरी कृषिमा अनुदान, प्रविधि र बजारीकरणका लागि जोड दिइएको उल्लेख गरे । वाग्मती प्रदेशका नीति आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले ऊर्जा विकासको आधारभूत पक्ष भएकाले सङ्घीय र प्रदेश सरकारबीच समन्वय गरी एकीकृतरुपमा विकास आयोजनाहरु सञ्चालन गरिएको उल्लेख गर्दै यसमा प्राज्ञिक, विकास साझेदार संस्था, सामुदायिक संस्था र निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताए । प्रदेश ५ का नीति आयोगका सदस्य डा विष्णु गौतमले विगतमा उज्यालोका लागि ग्रामीण क्षेत्रमा जडान भएका सौर्य प्रणालीहरु अहिले राष्ट्रिय प्रशारण पुगेपछि त्यतिकै मिल्किएकाले तिनलाई पम्पिङमा उपयोग गर्न सकिएमा सिँचाइ सुविधा नपुगेका ठाउँमा कृषि उत्पादन बढाउन सकिने धारणा राखे । उनले प्रदेशमा एलपिजीको खपत ३० प्रतिशतलाई घटाएर २० प्रतिशतमा ल्याउने गरी नवीकरणीय ऊर्जाको प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु दमाकुमारी शर्मा, रमा अर्याल, विशाल खड्का, इन्द्रमाया गुरुङ, सन्तबहादुर प्रजा, निमा लामा, जगत खड्का र मुनु सिग्देलले नवीकरणीय ऊर्जा र कृषिलाई एकीकृत रुपमा अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहबाट सम्पादन हुनुपर्ने कार्यहरुमा जोड दिए । कृषिलाई निर्वाहमुखीबाट निर्यातमुखी बनाउन उत्पादन, भण्डारण र बजारीकरणमा ऊर्जाको उपयोग बढाउन आवश्यक रहेको उनीहरुको भनाइ थियो । सरकारहरुले मल, बिउ, सिँचाइ, प्रविधिमा दिने अनुदान पर्याप्त नभएको, वास्तविक किसानसम्म पुग्न नसकेको र कृषिलाई ऊर्जासँग एकीकृत गर्ने योजना र कार्यक्रम बन्न नसक्दा ८४ प्रतिशत जनता कृषिमा संलग्न रहेर पनि खाद्यान्न, तरकारी तथा मासु विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको भन्दै आगामी दिनमा दोब्बर उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम र योजना ल्याउन उनीहरुको सुझाव थियो । सो अवसरमा पूर्वमन्त्री गणेश साहले ऊर्जा, प्रविधि र जनशक्तिको विकास गरी कृषिमा आधुनिकीकरण गर्न सकिएमा सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हाँसिल गर्न सकिने बताए । हरित तथा समावेशी नेपाल कार्यक्रमका प्रवन्धक ऊर्जाविद् इन्दिरा शाक्यले जबसम्म महिला आर्थिकरुपमा सशक्त हुँदैनन् तबसम्म उनीहरुको सशक्तीकरण हुन नसक्ने भएकाले विकासका हरेक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउन, आर्थिक स्रोतमा पहुँच राख्न र ऊर्जा एवं प्रविधिको उपयोगमा सक्षम तुल्याउन कार्यक्रमले जोड दिए । परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिले आर्थिक विकास, वातावरण संरक्षण र जनजीविकामा सुधार ल्याउन सकिने भएकाले तीनवटै सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य र समन्वयको खाँचो औँल्याए । कार्यक्रममा प्राक्टिकल एक्सनका मन्जरी श्रेष्ठले प्रभावकारी ऊर्जा योजना तयारी तथा कार्यान्वयनका लागि स्थानीय सरकारहरूको भूमिका, मीनविक्रम मल्लले नेपालमा ऊर्जा पहुँच वृद्धि गर्न अनुदानको भूमिका र प्रभावकारिता र पूजा शर्माले कृषिमा ऊर्जाको महत्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा संविधानले स्थानीय सरकारहरूले नवीकरणीय ऊर्जा परियोजनाहरूको योजना तर्जुमा साथै कार्यान्वयन, व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमनको अधिकार पाएकाले त्यसअनुसार योजना र कार्यक्रम सञ्चालन गनुपर्ने, पाँच वर्षमा कृषिमा दोब्बर उत्पादन को लागि कृषि मूल्य श्रृङ्खलामा ऊर्जाको प्रयोग अथवा यान्त्रीकरणका लागि ऊर्जा पहुँच, उपयुक्त नीति, वित्तीय स्रोतको व्यवस्था क्षमता अभिवृद्धि र सरोकारवालाहरुबीच समन्वय, सहकार्य तथा सूचना प्रवाहमा जोड दिइएको छ । यस्तै नवीकरणीय ऊर्जा प्रविधिको बजारमा निजी क्षेत्रकोे सहभागिता बढाउँदै सन् २०३० सम्म सबैका लागि पर्याप्त, दिगो, भरपर्दो र सुरक्षित आधुनिक ऊर्जाको सुनिश्चितता गर्न सरकारले अनुदानको विकल्पमा अर्को भरपर्दो विकल्पको खोजी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् । धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए । “सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ”, उनले भने, “तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।” उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।
नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु
काठमाडाैं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना सङ्क्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १० वर्ष मुनिका उमेर समूहका सङ्क्रमित मर्नेको सङ्ख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् । यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार देशभर ९२७ जना कोरोना सङ्क्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए । प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी सङ्क्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना सङ्क्रमित मुक्त जिल्ला हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४२२, प्रदेश नं २ मा तीन हजार ८६२, वाग्मती एक हजार ६१२, गण्डकी प्रदेश १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नं ५ मा १७ सङ्क्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताए । शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५७४, प्रदेश नं २ मा पाँच हजार ६५३, वाग्मती प्रदेश ५५४, गण्डकी प्रदेश ४४५, प्रदेश नं ५ मा एक हजार ५००, कर्णाली प्रदेश ४१५ तथा सुदूरपश्चिममा ८९४ जना रहेको छ । यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५३६, प्रदेश नं २ मा चार हजार ५१७, वाग्मती प्रदेश ९६६, गण्डकी प्रदेश एक हजार ६८८, प्रदेश नं ५ मा चार हजार ७०८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७८९ जना रहेको छ । शुक्रबारसम्म विश्वभर कोरोनाबाट आठ लाख ३६ हजार ११२ जनाको ज्यान गइसकेको छ । हालसम्म कोरोनाबाट विश्वभर दुई करोड ४६ लाख ५४ हजार ९६५ जना सङ्क्रमित भएकामा एक करोड ७१ लाख १३ हजार ७६३ जना निको भएर घर फर्किसकेका छन् । दक्षिण एसियाली देशहरुमध्ये भारतमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ३४ लाख ६१ हजार २४०, पाकिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९५ हजार ५३, अफगानिस्तानमा कूल सङ्क्रमितको सङ्ख्या ३८ हजार १४०, बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ६ हजार ७९४, माल्दिभ्समा कूल सङ्क्रमितको सङ्ख्या सात हजार ४६९, श्रीलङ्कामा कूल सङ्क्रमितको सङ्ख्या दुई हजार ९८९ तथा भूटानमा कूल सङ्क्रमितको सङ्ख्या १८४ जना रहेको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेहरुमा दक्षिण एसियाली देश भारत ६२ हजार ७१३, अफगानिस्तान एक हजार ४०२, पाकिस्तान ६ हजार २८३, बङ्गलादेश चार हजार १७४, माल्दिभ्स २८ तथा श्रीलङ्कामा १२ जना छन् । कोरोनाबाट हालसम्म भूटानमा कसैको पनि ज्यान गएको छैन । भूटानमा हाल ६५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । नेपालमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन् । उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए । काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् । बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् ।