विकासन्युज

पहिलोपटक प्रधानाध्यापक परीक्षामार्फत छनोट

जाजरकाेट । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा रु पाँच हजार जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६ गते नियुक्ति दिन लागिएको छ । विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको नगरप्रमुख विशाल शर्माले जानकारी दिए । सबै प्रअलाई पाँच वर्षका लागि करार सम्झौता हुने नगरप्रमुख शर्माले जानकारी दिनुभयो । सम्झौताअनुसार न्यूनतम काम नगरे बर्खासीको बाटो पनि खुलै राखिएको छ । प्रअले साविकको प्रअ भत्ताको २०० प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन् । प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नुपर्ने र रु पाँच हजार जरिवाना तिर्नुपर्ने छ । विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रअको कामको मूल्याङ्कन गर्ने छ । मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ । मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख शर्माले बताए । नगर शिक्षा ऐनअनुसार प्रअ छनोट गरिएको भन्दै उनले सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिए । रासस

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ आैँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । उनले भने, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छाैँ । हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन् ।” गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए । लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनले भने, “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छाैँ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए । विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि.सं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो ।

अबकाे चुनावमा विदेशमा रहेका नेपालीले कार्यथलाेबाटै मतदान गर्न पाउने

टेक्सस । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताए । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताएका हुन् । उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे । राजनीतिक अधिकार भन्नाले के के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन नसकेका विषयमा नागरिकतासम्बन्धी ऐन कानून निर्माणको चरणमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अप्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर शङ्का नगर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताए । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्ने उल्लेख गरे । उनले हरेक नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कूटनीतिक नियोग रहेका देशमा त्यहीँ नियोगकाट वा नभएको अवस्थामा गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा मतदान केन्द्र बनाएर भए पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैँको नेपाली हुने भएकाले सधैँ नेपाली हुनका लागि गैरआवासीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । पूर्वमन्त्री अनिलकुमार झाले गैरआवासीय नेपाली भनेर फरक व्यवहार गर्न नहुनेमा जोड दिँदै आवासीय र गैरआवासीय बीचको विभेद हटाउनुपर्ने बताए । एनआरएनए आइसिसी सदस्य शङ्कर खड्काको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र पुरुषोत्तम बोहोराको सहजीकरणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय महेन्द्र यादव र प्रदीप पौडेल, एनआरएनए आइसिसीका उपाध्यक्ष डा बद्री केसी, सल्लाहकार हरिबोल भण्डारीलगायतले नागरिकतासँग जोडिएका कतिपय प्रष्ट हुनुपर्ने विषयमा व्यापक छलफलपश्चात् सबैको सहमतिमा संसद्को अब बस्ने बैठकबाट नागरिकता विधेयक पास हुनुपर्नेमा जोड दिए । रासस

विनोद चौधरी १० दिनमा कोरोनामुक्त

काठमाडाैं । उद्योगी  तथा काँग्रेस सांसद विनोद चौधरी कोरोनामुक्त भएका छन् । १० दिनपछिकाे परिक्षणमा काेभिड-१९ काे रिपाेर्ट नेगेटिभ  आएकाे चाैधरीले बताएका छन् । उनले भदाै १२ शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण भएको जानकारी गराएका थिए भने भदाै २० आफू काेराेना मुक्त भएकाे जानकारी गराएका छन् । ‘तपाईहरूकाे उत्कट माया र प्रेरणाले मलाई १० िदनसम्मकाे एकान्तबासमा ठूलाे उर्जा दियाे । त्यही उर्जाकै कारण म आज काेराेनाकाे संक्रमणबाट मुक्त भएकाे छु’ उनले शनिवार ट्ववीटमा लेखेका छन् । काेराेना संक्रमण भएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । तर डाक्टरको सुझाव अनुसार आइसोलेसनमा बसेको थिए ।    

१७ अर्ब डलरको मोबाइल गेम बजार, पब्जीको विकल्प भनिएकाे अक्षय कुमारको फौजी कस्तो छ ?

काठमाडौं । एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी जस्तै’ मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यो गेमको उदेश्य बजारमा खाली देखिएको स्थान भर्नु हो, जुन लोकप्रिय चिनियाँ एप पब्जीमाथि भारतले प्रतिबन्ध लगाएपछि सिर्जना भएको छ । बैंगलुरुमा रहेको एनकोर गेम्स नामक कम्पनीले यस्तो एउटा गेम बनाउँदैछ, जुन सिधै पब्जीको प्रतिस्पर्धी मानिएको छ । कम्पनीले यो गेमको नाम फौजी दिएको छ । यो गेम अंग्रेजी महिनाको आगामी अक्टोम्बरसम्ममा बजारमा आउने बताइएको छ । कम्पनीका सहसंस्थापक विशाल गोडलले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो गेमको नाम ‘फेयरलेस एण्ड युनाइटेड गार्ड्स (फौजी) रहेको बताए । उनका अनुसार यो गेम बनाउनका लागि केही महिनादेखि नै काम भइरहेको थियो । यो गेमको पहिलो लेवल गलवान उपत्यकामा आधारित रहेको उनको भनाइ छ । गलवान उपत्यकामा नै चीन र भारतका सैनिकबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो । सो झडपमा भारतका कम्तिमा पनि २० सैनिकको मृत्यू भएको बताइएको थियो । त्यही समयदेखि वास्तविक नियन्त्रण रेखालाई लिएर भारत र चीनबीच तनाव भइरहेको छ । यही गतिरोधको बीचमा भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले बताएका १ सय १८ अन्य मोबाइल एपमाथि गत बुधबार प्रतिबन्ध लगाएको थियो । पब्जी (प्लेयर अननोन्स व्याटलग्राउण्डस्) गएको केही वर्षदेखि भारमा असाध्यै लोकप्रिय मोबाइल गेम बनेको छ । भारतीय युवामा यो गेमप्रति असाध्यै लगाव रहेको बताइएको छ । त्यसैकारण पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति सामाजिक संजालमा तिब्र आलोचना पनि भएको छ । आलोचकका अनुसार फौजीको मद्दतबाट भारतीय कम्पनी एनकोर गेम्स जनताको देशभक्तिकाको भावनामा भुलाउने प्रयास गरिरहेको छ । ‘यो मोबाइलबाट हुने कुल आम्दानीको २० प्रतिशत रकम भारतका लागि सहिद हुने सैनिक परिवारलाई प्रदान गरिनेछ,’ कम्पनीका सहसंस्थापक विशाल गोडलले भने । फौजी गेम बनाउनका लागि अभिनेता अक्षय कुमारको सहयोग रहेको बताइएको छ । यो गेमको फौजी नाम पनि अक्षय कुमारले नै राखेको कम्पनीले बताएको छ । अभिनेता अक्षय कुमारले पनि हिजो (गत शुक्रबार) फौजी गेमसँग सम्बन्धी ट्वीट गरेका छन् । यो गेम सुरु भएको केही दिनमा नै करिब २० करोड मोबाइल युजरले यो गेम डाउनलोड गर्ने कम्पनीको अनुमान छ । के हो पब्जी ? पब्जी एक लोकप्रिय मोबाइल गेम हो, जुन विश्वव्यापी रूपमा खेल्ने गरिएको छ । भारतमा पनि यसका प्रशंसकहरू धेरै छन् । यो गेम एक जापानी थ्रिलर फिल्म ‘व्याटर रोयल’बाट प्रभावित भएको हो, जसमा सरकारले विद्यार्थीहरूको एउटा समूहलाई जबरजस्ती मृत्युदण्ड दिन पठाउँछ । पब्जीमा, करिब १ सय खेलाडीहरू टापुमा प्यारासुटको सहायताले झर्छन्, हतियारहरू फेला पार्छन र एक अर्कालाई तबसम्म मार्छन्, जबसम्म तीमध्ये एक मात्र बाँकी हुन्छ । सुरुमा यो गेम दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएको हो । यसको डेस्कटप भर्सन दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । पछि चिनियाँ कम्पनी टेनसेटले नयाँ नाम र केही परिवर्तनका साथ मोबाइल संस्करण बजारमा ल्यायो । विश्वमा पब्जी खेल्नेमध्ये भारतमा करिब २५ प्रतिशत रहेको बताइन्छ । चीनमा १७ प्रतिशत र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता छन् । धेरै जनाले एकैपटक खेल्न मिल्ने यो खेलमा केही पैसा खर्च गर्नुपर्ने हुन्छ । र, नयाँ हतियार किन्नको लागि कुपन खरीद गर्नु पर्छ । गेम यस्तो तरिकाले डिजाइन गरिएको छ कि तपाईं जति धेरै खेल्नुहुन्छ, त्यति रमाइलो हुनेछ । थप खेल्नको लागि कूपन र हतियारहरू खरीद गर्नुपर्छ, जसले गेम अझ रोमान्चक बनाउँछ । यो गेममा फ्रि रुम पनि हुन्छ । यसका विभिन्न लेवलहरु छन् । फरक ठाउँमा बस्ने मानिसहरूले यो गेम एकै साथ खेल्न सक्छन् र एकैसाथ स्ट्रिमिङ पनि हुन्छ । गेम बजार सन् २०१९ मा विश्वभर १६ अर्ब ९० करोड अमेरिकी डलर बराबरको यस्तो गेमको बजार थियो । यसमध्ये चीनको मात्रै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको हिस्सेदारी रहेको बताइन्छ । दोस्रो स्थानमा अमेरिका, तेस्रोमा जापान र त्यसपछि बेलायत र दक्षिण कोरिया रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तथ्यांक स्टाटिस्टाडटकमको हो । यो उद्योग भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । तर अहिले पनि यो १ अर्ब डलरभन्दा कम छ । राजस्वको हिसाबले भारत विश्वको ५औं देशभित्र पनि पर्दैन । तर, बाँकी देशहरुका लागि निश्चय नै उदीयमान बजार हो । (बीबीसी हिन्दीको सहयोगमा)

रिद्धि सिद्धि सिमेन्टद्धारा ६२ जना काेराेना संक्रमितहरुलाई सहयाेग

हेटाैंडा । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल हेटौंडाकाे गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको विभिन्न सामाग्री सहयाेग गरेको छ । कम्पनिले संक्रमितहरुले फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कप लगायत विभिन्न सामाग्री सहयाेग गरेको हाे । रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैव तयार रहने बताए ।  

उपत्यकामा शनिबार ४०८ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ३२६, ललितपुरको ३७ र भक्तपुरको ४५ जना रहेको गौतमले बताए । आज देशभर १ हजार ४१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

नेपालभर आज १ हजार ४१ काेराेना संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् भने आजसम्म ७ लाख ५७ हजार ९ सय ६३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १५६६ जना निकाे भएसँगैं  हालसम्म २७ हजार १ सय २७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा 9 जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २८० पुगेकाे छ ।