विकासन्युज

काेराेनाभाइरसकाे कारण स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै कर्णाली

कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या आइसियू र २६ वटा भेन्टिलेटर थपिएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा हाल २० शय्या आइसियू र सात वटा भेन्टिलेटर जडान गरिएको छ । योसँगै अस्पतालमा आइसियूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पु¥याइएको छ । सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ । यसअघि आइसियू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आइसियू शय्या १० र भेन्टिलेटर छ पुु¥याइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आइसियू र भेन्टिलेटर सेवा थिएन । सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो । हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटर जडान गरिएको छ । डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ । त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ । सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताए । “स्थापनाको वर्षौंसम्म आइसियू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महिनामै ती सेवा सञ्चालन गरेका छन्,” उनले भने, “गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो ।” मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । आइसियू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरु गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा २५ शय्या आइसियू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आइसियू र छ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर, हुम्लामा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर थप गरिएको छ । त्यस्तै कालीकोटमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, दैलेखमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई शय्या आइसियू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई शय्या आइसियू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार शय्या आइसियू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३०४ बर्थिङ सेन्टर सञ्चालित छन् । यसैबीच, कर्णालीका सबै जिल्लामा सहज अक्सिजन पु¥याउने उद्देश्यले सुर्खेतमा ठूलो क्षमताको अक्सिज प्लान्ट शुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट शुरु गर्न थालिएको बताए । यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो । अक्सिजन प्लान्ट शुरु गर्न ठूलो क्षमताको मेसिन ल्याइएको छ । कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेका छैनन् । झण्डै रु. तीन करोडको लगानीमा अक्सिजन प्लान्ट शुरु हुन थालेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ । रासस

गुराँस लाइफ इन्स्योरेन्सले घटायो लाभांशदर, अब कति दिन्छ ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफुले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो । परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त बोनसमा लाग्ने कर वापत ५१ लाख ८३ हजार ५ सय ५८ रुपैयाँ(कर प्रयोजनका लागि मात्र) नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बीमा समितिले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुनः पेश गर्न निर्देशन दिए अनुसार बैठकले उक्त लाभांशमा परिमार्जन गरेको हो । यससँगै सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुुक्ता पुँजीको १३.१०१५ प्रतिशतले हुन आउन १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश बोनस सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ ।

देख्दा लाग्छ यो देशमा सरकार छैन (मुक्तक)

लेखक १.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।। सिटामोल नपाएर मर्नु पर्छ जनताले दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।? २. सर्प पाल युवा फाल चमत्कार हुन्छ यस्तै यस्तै कदम चाल चमत्कार हुन्छ ।। जनताले बिरोध गर्न सक्छन् भ्रष्ट बन्यौ घाँस हाल मुख टाल चमत्कार हुन्छ ।। ३. राम्रा होइन हाम्रालाई छानिन्छ र पो त यहाँ गलतलाई सहि मानिन्छ र पो त ।। देशका लागि केही गर्न खोज्नेलाई पनि समर्थन होइन खुट्टा तानिन्छ र पो त ।। ४.सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन समृद्धिको लहर छ कतै हार छैन ।। बिपत्तिमा मौन सत्ता जोगाउन मै ब्यस्त देख्दा लाग्छ यो देशमा सरकार छैन ।। ५.गुुजारा चलाउन मृत्युसँग खेलिरहनुु परेको छ हेर्नुुस् निमुुखाले समस्या झेलिरहनुु परेको छ ।। गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि मन नलागे नि भ्रम साँचेर ठेलिरहनुु परेको छ ।। खनालगाउँ नुवाकोट, हाल पोखरा ११ [email protected]

फेरी घट्याे सुनकाे मूल्य

काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुनकाे मूल्य तीन सयले घटेर ९६ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ३ सय रुपैयाँले घटेर तोलको ९५ हजार ६ सय रुपैयाँ कायम छ । आज आइतबार चाँदीकाे मूल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ ।

कोभिड १९ का कारण विश्वभर २ सय नेपालीको मृत्यू, ३५ हजार संक्रमित

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो । यस्तै नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्य २७ हजार १ सय २७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ । नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ । ५६ हजार ७ सय ७७ जनाको उद्धार कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्यजारी रहेको छ । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ । महामारीमा एनआरएनएको महत्वपूर्ण भूमिकाः मन्त्री ज्ञवाली मध्यपूर्वका ४ देशमा लागू हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे । विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनको भनाई थियो । नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए । छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमणपछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले कोभिड –१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । संघको सक्रियतामा शुक्रवार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

‘प्राकृतिक जीवनशैली बिताए कोरोना जस्ता भाइरसबाट बच्न सकिन्छ’

काठमाडाैं । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताए । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले समेत मन्द विषको काम गरेका छन्”, उनले भने । जैविक कृषिसँगै योग, प्राकृतिक चिकित्सा पद्धतिका उपचार शैली बिर्सँदासमेत आधुनिक पद्धतिका औषधिका माध्यमबाट आएको ‘साइड इफेक्ट’ ले समेत रोग भित्र्याएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख रहेका पोखरेलको भनाइ छ । आधुनिक चिकित्सा पद्धति शल्यक्रिया र आकस्मिक रोगका लागि फलदायी भएको उल्लेख गर्नुहुँदै उनले अन्य स्वास्थ्य समस्यामा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति राम्रो रहेको अनुभव सुनाए । “जुनसुकै उपचार पद्धतिका राम्रा कुरा ग्रहण गरी नराम्रा कुरालाई त्यागिदियौँ भने हामी आरोग्यता प्राप्त गर्न सक्छौँ, कुनै पनि पद्धतिको अन्ध समर्थन गर्नुपर्दैन, सबै रोगको उपचार जडिबुटीमै भएकाले त्यसलाई चिन्नुपर्छ”, पोखरेलले भने । मानिसको सुत्ने, उठ्ने समयलगायत जीवन शैलीले पनि विभिन्न प्रकारका रोग आउने गरेकाले सचेत हुन उनले आह्वान गरे । इन्टरनेटलाई दुरुपयोग गरेर घण्टौँ झुम्मिँदासमेत मानिस अनेक रोगका शिकार बनिरहेकाले सन्तुलित जीवन शैली रहेको परम्परागत पद्धतिको पुनःस्थापना गर्न पोखरेलले ध्यानाकर्षण गराए । रासस

गिर्दो विश्व अर्थतन्त्र र योजना विहिन नेपाल

कोरोना महामारीका कारण विश्वका अधिकांश देशको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । अहिलेसम्म प्रकाशित विवरण अनुसार नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिदैन । तर यो अवस्था लामो समय टिक्नेवाला छैन । किनकी कोभिडको कारण सहरी अर्थतन्त्र चौपट भएको छ । व्यवसायीहरुको अनुसार ९० प्रतिशत उद्योगहरु बन्द वा सीमित क्षमतामा चलेका छन् । सार्वजनिक यातायात बन्दा हुँदा, रासायनिक मल बजारमा किन्न नपाइदा कृषि अर्थतन्त्र पनि प्रभावित हुने प्रष्ट देखिएको छ । समय कुर्नुमात्र पर्छ, चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक बन्ने निश्चित छ । छिमेकी देश भारत र विश्वको सर्व शक्तिमान राष्ट्र अमेरिकाको अर्थतन्त्रमा देखिएको संकटले विश्व अर्थतन्त्रमा कस्तो असर पर्दैछ भन्ने संकेत गरिसकेको छ । भारतको अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ । यो इतिहासमै पहिलो पटक हो । विगत एक दशकसम्म लगातार ७/८ प्रतिशतले बढिरहेको भारतीय अर्थतन्त्र कोरोना भाइरसका कारण तीव्र यति धेरै खुम्चिएको हो । भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ । उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ । माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ । त्यस्तै, संयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर पनि झण्डै १० प्रतिशतले ऋणात्मक भएको छ । अमेरिकाको अर्थतन्त्र सर्वाधिक ऋणमा डुबिसकेको छ । यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो । बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ । आगामी दशकमा राष्ट्र ऋण करिब १३० खर्ब डलर पुग्नेछ । आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको छ । व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ । कर्पोरेट राजस्व पनि ३४ प्रतिशतले घटेको छ । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्त राज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो । कोरोनाको असर जसरी अमेरिकामा देखिएको थियो, भारतमा देखिएको थियो, नेपालमा पनि त्यसरी नै फैलिदैछ । ४० हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण भईसकेको छ । चार महिनाको बन्दाबन्दीपछि आंशिक रुपमा खुलेको बजार एक महिना पनि नचल्दै निषेधाज्ञाको शिकार भएको छ । विज्ञ अर्थमन्त्री युवराज खतिवडा कोरोना महामारी पछिको ६ महिनासम्म केही पनि नगरी राजीनामा दिएर हिडेका छन् । कोराना महामारीकै बीचमा उनले प्रस्तुत गरेको बजेट सामान्य अवस्थाको भन्दा कत्ति पनि फरक आएन । सरकारको नीति तथा कार्यक्रमले एक जना नेपाली पनि कोभिडको कारण मर्नु नपर्ने झूटो प्रतिवद्धतामा सीमित रह्यो । यो संकटमा जनजीविकाको रक्षा कसरी गर्ने, आर्थिक जोखिम कसरी न्यूनिकरण गर्ने भन्ने सम्बन्धमा सरकारसँग न प्लान १ छ, न विकल्प २ छ, न विकल्प ३ छ । केही पनि छैन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मान्छे भेला गर्न, भेला गर्न नपाए नेपाल टेलिभिजनबाट लाइभ गरेर उखान टुक्का सुनाउँदै ठिक छ । अर्थमन्त्री युवराज खतिवडा ‘म जान्ने, अरु केही पनि नजान्ने’ सुत्रको मलामी गैहाले । नयाँ अर्थमन्त्री को आउने हुन् र अबको दिशा के हुने हो भन्ने अनिश्चित छ ।

१० वटा भेन्टिलेटर थप्दै भरतपुर अस्पताल

चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ । यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको उनले जानकारी दिए । मन्त्रालयले सो प्रयोजनका लागि तीन करोड बजेट पठाएको छ । अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । तिवारीले भने, “हामी महावीर पुनको स्वास्थ्य आविष्कार केन्द्रमा बिग्रिएका दुई भेन्टिलेटर पनि पठाउँदैछौँ ।” ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताए । उनले भने, “एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।” अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये छ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ । अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उनले जानकारी दिए । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शय्या नपाउने समस्या बढेपछि अस्पतालमा छ शय्याको सघन उपचार कक्षसहितको १७५ शय्या आइसोलेसन पुर्याइएको हो । उनका अनुसार थप भएका आइसोलेसन शय्यामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शङ्कास्पद देखिएकालाई ३५ रहने गरी आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधीन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइँदै छ । यसमा ४८ शय्या हुनेछ । अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए । सङ्क्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै बाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । गम्भीर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिने उनले बताए । उनका अनुसार सङ्क्रमणमुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भइसकेको छ । अस्पतालले एकीकृत आकस्मिक सेवालाई निरन्तरता दिँदै आइरहेको छ । यसअघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै चार शय्या तयार पारिएको छ । ती शय्यामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । सङ्क्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउँछन् । उनले भने, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधैँ तत्पर छ ।” अस्पतालकका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हालसम्म अस्पतालले २४७ सङ्क्रमितको उपचार गरेको छ । तीमध्ये ७४ अहिले पनि अस्पतालमा उपचाररत रहेको उनले जनाकारी दिए । सङ्क्रमितमध्ये नौ जनाको अस्पतालमा मृत्यु भएको छ । चौध जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ । भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालाले हालसम्म २१ हजारभन्दा बढी नमूना परीक्षण गरिसकेको छ । चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका नमूना प्रयोगशालामा परीक्षण हुँदै आएको पौडेलले जानकारी दिए । गत महिनासम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो । रासस