ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी र सुनसान सडक
ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी । विहीबार राताे मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्केका स्थानीयबासी र प्रहरीबीच झडप भएकापछि शुक्रवार कर्फ्यु जारी गरिएकाे छ । प्रकाश माथेमा/एएफपी
अर्थविदको नजरमा खतिवडाको कार्यकालः सफल कि असफल ?
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन् । २ वर्ष ६ महिना मन्त्री पदमा रहेर काम गरेका खतिवडाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएसँगै उनको मन्त्री पदको यात्रामा विराम लागेको छ । खतिवडा २०७४ फागुन १४ गते जसरी अर्थमन्त्रीका रुपमा भित्रिएर वाहीवाही पाएका थिए बाहिरने बेला भने उनले त्यो सौभाग्य पाउन सफल भएनन् । देशको अर्थतन्त्र बुझेका व्यक्ति नेपाल सरकारको अर्थमन्त्रीमा आउँदा जसरी आम सर्वसाधारणहरुले शब्दको स्वागत गरेर भित्र्याएका थिए, बिदाईको समयमा भने त्यो माहोल देख्न पाइएन । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षलगायत पदमा रहेर राम्रो काम र छवि बनाएका कारण उनी अर्थमन्त्रीमा नियुक्त हुँदा धेरैले मन पराए । आर्थिक तथा मौद्रिक क्षेत्रमा आफ्नो अनुभव र योग्यताको आधारमा अर्थ मन्त्रालय चलाउँदा यसअघिका अर्थमन्त्रीले भन्दा खतिवडाले नयाँ छाप छाड्ने अपेक्षा धेरैको थियो । उनीसँग सर्वसाधारणदेखि अर्थविदहरुको समेत धेरै अपेक्षा थियो । तर, बाहिरिने बेला भने उनले आफ्नो त्यो छाप कायम गर्न सकेनन् । सायद सबैभन्दा बढी नै नागरिकमा वितृष्णा उब्जाएर बाहिरने मन्त्री खतिवडा हुन सक्ने अनुमान धेरैको छ । खतिवडा आजै सिहँदरवारबाट बाहिरिसकेका छन् । उनले अर्थमन्त्रीको पदमा रहेर जति काम गरे त्यो भने विस्तारै बुझिँदै र त्यसको समिक्षा पनि हुँदै जानेछ । तर, उनीे सर्वसाधारणको मात्र होइन उनकै पार्टी नेकपा भित्रका अधिकांश नेताहरुको समेत तिता बनेका छन् । त्यो बन्नुको एउटै कारण हो उनको रुखो बोली र कार्यशैली । उनी कसैको कुरा नसुन्ने प्रवृतिका कारण खतिवडा सफल हुन नसकेको उनलाई नजिकबाट चिन्ने अर्थतन्त्रका विज्ञहरु बताउँछन् । फलस्वरुप उनी प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अन्यका प्रिय पात्र कहिल्यै बन्न सकेनन् । जसका कारण उनी दिन प्रतिदिन आलोचित र विवादित बन्दै गए । अर्थविद डा.डिल्लीराज खनाल अर्थमन्त्रीको कार्यकालमा खासै सकारात्मक परिवर्तन नभएको बताउँछन् । ‘जुन रुपमा पार्टीको चुनावी प्रतिवद्धता र प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको नारा तथा लक्ष्य थियो, त्यसमा केही पहल भएका छन् । तर, आधारभुत समस्यामै समाधान र सुधार भएन,’ उनले भने । जुन रुपमा खतिवडामा सबैको अपेक्षा थियो सो अनुरुपको काम नभएको उनको भनाई छ । खतिवडा वैदेशिक व्यापार सन्तुलन, संघीय मितव्ययिता कायम, ब्युरोक्राटिकहरुसँगको सम्बन्ध र आफ्नै समकक्षीहरुसँग राम्रो सम्बन्ध राख्न नसकेरै उनले गर्न खाजेको काम पनि सफल हुन सकेन । डा. खतिवडा अर्थमन्त्री भइसकेपछि तीनवटा बजेट ल्याए । तीन वटै बजेट पुरानै ढर्राको भएको अर्थविज्ञहरुलाई मात्र होइन सर्वसाधारण समेतलाई आभास भयो । देश विकासमा तथा आर्थिक चलायमानमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ तर उनले निजी क्षेत्रसँगको सम्बन्ध समधुर बनाउन सकेनन् । जसले गर्दा उनको यो साढे २ वर्षको कार्यकालमा सरकारले गर्ने विकास खर्चमा कुनै सुधार आएन । अर्थतन्त्र बुझेका अर्थमन्त्रीको कार्यकालमा उत्साहित हुने किसिमको राजश्व उठ्न सकेन । सरकारले बनाउने नीति नियम तथा प्रशासनिक सुधारमा कुनै आशालाग्दा सुरुवात उनीबाट हुन सकेनन् । बजेट अनुसार खर्च नहुने, विकास खर्च गर्न नसक्ने दशकौं पुरानो रोगमा उनी पनि लत्पतिए । खतिवडाकै कार्यकालमा आएको कोरोना महामारीले देशको जीडीपीलाई संकटतर्फ उन्मुख बनायो । परिणाम स्परुप उनी अभागी र असफल अर्थमन्त्रीमा गणना हुन पुगे । कोरोना भाइरस संकटको समयमा उद्योगी व्यवसायीलाई बजेटमार्फत राहत ल्याउँछन् भन्ने धेरैको अपेक्षा थियो । उनले उल्टै असन्तुलित बजेट ल्याएर आफूलाई झन् बढी असफल भएको महसुुस सबैलाई गराए । उद्योगी व्यवसायीले राहतका लागि राष्ट्र बैंकको मौद्रिक नीति कुर्नु पर्यो । बजेट भाषणमै उनले धेरै सामानमा कर बढाए । त्यसले व्यवसायीको पारा ततायो । उनले विद्युतीय गाडी, गर गहना, मदिरा तथा सुर्तिजन्य पदार्थमा कर बढाएपछि धेरै व्यवसायीहरु उनीप्रति झन् असन्तुष्ट बने । उनले बजेट सार्वजनिक गर्दा आफ्नो पारिवारिक सम्बन्ध रहेको विशाल ग्रुपलाई नै सहज हुने खालको भन्सार दर तोकेको पनि आरोप लाग्यो । उनले चकलेटमा १० प्रतिशत दर घटाएका थिए । त्यस दिनदेखि विज्ञ अर्थमन्त्री चकलेट प्रेमीमा रूपान्तरित भए । उनले करदाताहरुलाई जेठ २५ गतेसम्म कर बुझाउन र कर नबुझाए कारवाही गर्ने निर्णय गराए । त्यस निर्णयले अर्थमन्त्री खतिवडाको झन चौतर्फी विरोध भयो । लकडाउनको अवधिमा सम्पूर्ण उद्योग व्यवसाय बन्द रहेको अवस्थाका कसरी कर तिर्ने भन्दै व्यवसायीहरु निकै आक्रोशित बने । चौतर्फी दबावपछि उनले पुनः कर तिर्ने म्याद थपे । त्यति मात्र होइन सेयर बजारका लगानीकर्ता र जानकारहरुले समेत अर्थमन्त्री खतिवडाकै कारण सेयर बजारमा गिरावट आउने गरेको आरोप बेला बखत लाउने गरेका छन् । पुँजीबजारका लगानीकर्ताका सामु उनी कहिल्यै राम्रो देखिएनन् । उनी जुन कार्यक्रममा अतिथिको रुपमा गयो त्यही कार्यक्रममा आयोजकको खिसी अर्थात गाली नै गर्ने व्यवहारका कारण उनी निजी क्षेत्रका राम्रा अर्थमन्त्री कहिल्यै बन्न सकेनन् । अर्थशास्त्री डा. अच्युत वाग्ले पनि डा. खतिवडाको काम औसतभन्दा तल रहेको बताउँछन् । ‘डा. खतिवडाको काम औसतभन्दा तल रह्यो, अपेक्षाहरु पूरा भएनन्, अवसरहरु सदूपयोग भएनन्,’ उनले भने । यसका साथै उनी वित्तीय संघीयताको कार्यान्वयनमा खतिवडा बाधक बनेको बताउँछन् । अन्य कसैको सर सल्लाह लिन उनी तयार भएनन्, उनले आर्थिक सूचकहरु आफू अनुकुल तोडमोड गरे,’ उनले भने । यस्तै खतिवडाले आफ्नो पेशागत इमान्दारिता पनि सदुपयोग नगरेको वाग्लेको भनाई छ । यस्तै अर्थविद डा. चन्द्रमणी अधिकारी पनि खतिवडाले आफ्नो विज्ञताको प्रयोग गर्न नसकेको बताउँछन् । ‘म व्यक्तिभन्दा पनि पार्टीको कुरा गर्छु, नेपाल कम्युनिष्ट पार्टीको सरकार गठन भएर आएपछि जनताको धेरै अपेक्षा थियो, अर्थतन्त्रले गति लिन्छ भन्ने आशा थियो, तर, अहिले त्यो कुनै अपेक्षा पुरा हुन सकेन,’ उनले भने । अधिकारीले सरकारले लिएका विभिन्न नीतिहरु राम्रा भएपनि कार्यान्वयनको पक्ष भने राम्रो नभएको बताए । ‘पहिले तयार बिनाका आयोजना बजेटमार्फत आउँन्थे त्यो परिपाटीको अब अन्त्य हुन्छ, राष्ट्रिय गौरवका आयोजनाको काममा सुधार हुन्छ, करमा पनि सहज हुन्छ भन्ने अपेक्षा नागरिकमा थियो तर विज्ञ खतिवडाले त्यसपट्टी कुनै ध्यान दिएनन्,’ उनले भने । व्यापार घाटा कम हुन्छ भन्ने नीति लिएको थियो, प्रतिव्यक्ति आय बढ्ने भन्ने कुरा थियो । ती कुनै पनि कुरामा सुधार नभएको उनको भनाई छ । खतिवडाले ल्याएका तीनै बजेट परम्परागत किसिमकाे भएको अर्थविदहरुको भनाई छ । खतिवडाको प्रयास धेरै कुरामा खतिवडा आलोचित तथा विवादित भएपनि केही पक्षमा भने उनले सुधार गर्ने प्रयास तथा पहल पनि गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन धेरै पहल तथा प्रयास गरे जुन गत वर्षदेखि केही लयमा आएको छ । नेपालको आयात घट्ने र निर्यात बढ्ने चलन उनकै कार्यकालमा शुरु भयो । अब त्यसलाई निरन्तरता दिन आवश्यक छ । साथै, खतिवडाले आफ्नो कार्यकालमा करमा पारदर्शीत गर्ने प्रयास पनि गरे । उनकै कार्यकालमा अनिवार्य प्यान कार्डको व्यवस्था पनि शुरु भयो । उनले भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू गर्ने जस्ता कामहरु पनि गरे । उनले विलासी वस्तुहरु आयातमा निरुत्त्साहित गरे । विलासी वस्तुहरु आयात गर्दा लाग्ने भन्सार बढाए । यसका साथै उनी विदेशी दाता रिझाउन पनि सफल भए । उनले आफ्नो कार्यकालमा दातृ संस्थाहरुबाट धेरै ऋण लिन सफल भए । खतिवडाले बजेटमार्फत स्वदेशी उद्योग प्रवद्र्धन गर्नुका साथै वस्तुको आयातमा प्रतिबन्धनै लगाए पनि उनी नागरिकको मानसपटलमा बस्ने मन्त्री बन्न सकेनन् । समग्रमा खतिवडाको आगमन जुन रुपमा भएको थियो, आम नागरिकले गरेको अपेक्षा भने उनले पूरा गर्न सकेनन् ।
‘विद्यालय खोल्ने अवस्था छैन, वैकल्पिक शिक्षा पद्धतिको तयारीमा छाैं’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिएका छन् । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वारा आज(शुक्रबार) आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय लागिरहेको बताए । शिक्षक गुणात्मक नभए शिक्षा गुणात्मक हुन नसक्ने मन्त्री पोख्रेलको भनाइ छ । उनले वैकल्पिक पद्धतिमा जान स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री, शिक्षाविद् तथा प्रधानमन्त्रीसँगसमेत छलफल भएको जानकारी दिए । उनले विद्यालय खोल्न सकिने अवस्था नरहेको र शिक्षकलाई प्रविधिमैत्री बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । शिक्षामन्त्री पोखरेलले वैकल्पिक पद्धतिका लागि चार विधि यही भदौ २० अनुमोदन हुने जानकारी दिए । वैकल्पिक पढाइका लागि गत जेठमा निर्देशिका बनेको र असारमा लागु भएको बताइएको छ । वैकल्पिक पढाइका लागि पाठ्य पुस्तक, सहयोगी अध्ययन सामग्री दिने टेलिभिजन, केबल र अनलाइन, रेडियो तथा छापामार्फत पढाइ सञ्चालन भइरहेको छ । “शैक्षिकसत्र खेर जान नदिन पाठ्यक्रम विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भइरहेको छ ।” उनले भने ।
कोरोना भाइरस तातो पानी तथा गुर्जो खाएर निको हुन्छ भन्ने भ्रम मात्रै हाे- स्वास्थ्य समिति
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताए । शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामहरुको विषयमा भएको छलफलमा उनले आफुलाई विज्ञ भनेर चिनाउने मान्छेहरुले समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न आग्रह गरेका छन् । संघीयता सुरु हुनु भन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उनले बताए । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भएपनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताइन् । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनले बताएकी छिन् । स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उनले बताइन् । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उनले बताइन् । प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको बताउँदै उनले नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको बताइन् । समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले छलफलको आयोजना गरेको हो ।
अर्थमन्त्री खतिवडाले दिए राजीनामा, अबकाे भूमिका के ?
काठमाडाैं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुना्र । मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ । तर, भोलि शनिबार परेकोले उनले आजै साँझ राजीनामा दिएका हुन् । डा। खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ ग्रहण गरेका थिए । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन । सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । पुनःनियुक्तिको ६ महिने कार्यकाल भोलि नै सकिने भएपछि उनले आजै राजीनामा दिएका हुन् । उनी पहिलो पटक २०७४ फागुन १४ गते नेपाल सरकारको अर्थमन्त्रीका रुपमा नियुक्त भएका थिए । उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । अन्तः नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गर्यो । त्यससँगै उनको मन्त्री बन्ने यात्रामा विराम लागेको हो । खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै उनको नेकपा भित्र के भूमिका रहन्छ भन्ने पनि वहस शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेको चर्चामा छ ।
उद्योग विभागमा नयाँ फाइल बन्द, सबै काम अब अनलाइनबाट
काठमाडौं । उद्योग विभागले संरचनागत सुधारको कार्यलाई जोड दिएको छ । उद्योगीले नयाँ उद्योग दर्ता, पुराना उद्योग नविकरण लगायत उद्योगबाट हुने सबै कार्य अनलाइनबाट गर्न सक्ने गरि संरचना र प्रणालीमा सुधारकाे काम गरिरहेकाे विभागका महानिर्देशन जीवलाल भुसालले बताए । कम्पनी रजिष्ट्रार कार्यालयले धेरै वर्ष पहिले नै अनलाइन प्रणाली लागू गरेपनि त्यहाँ सबै काम कागजी फाइलमा हुन्छ, सबै काम हातले भाैतिक रूपमा गर्नुपर्छ । पहिला एक दिनमा हुने काम अहिले ३ दिनमा पुरा हुन्छ । उद्याेग विभागले दिने अनलाइन सेवा पनि त्यस्तै हुने हाे कि भन्ने विकासन्युजकाे प्रश्नमा महानिर्देशक भुषालले विभागलाई कागजविहीन कार्यालय बनाउने लक्ष्यका साथ काम भईरहेको उनले बताए । ‘उद्योग विभागलाई पेपरलेस बनाउने र सबै काम डिजिटल्ली गर्ने योजनासहित काम भैरहेको छ’ उनले भने–‘योजना र बजेट सबै स्वीकृत भईसकेको छ । कम्प्यूटर इन्जिनियर हायर पनि गरिसकेका छौं । पूर्ण रुपमा डिजिटल्ली चलेको सरकारी तथा निजी संस्थाहरुले कसरी काम गरिरहेका छन्, त्यसको अध्ययन पनि गरिरहेको छौं । सोही अनुसार नयाँ भवनका कार्यलयको सेटअप बनाइरहेको छौं । उद्याेग विभागमा सेवा लिन आउने सेवाग्राहीले कागजकाे फाइल बाेक्नुपर्ने छैन ।’ उद्योग विभागको आफ्नै नयाँ भवन तयार भएकोले पनि काम गर्न सजिलो भएको उनले बताए । ‘पूर्वाधार पनि राम्रो भएको छ । टिम पनि राम्रो छ । अब हामी हामीले दिने सेवा प्रणाली पूरै परिवर्तन गर्दैछौं’ उनले भने । उद्योग विभागमा ढिला सुस्ती हुन्छ वा निर्णय भएन वा काम भएन भनेर उद्योग व्यवसायीले भन्नु नपर्ने वातावरण बनाउने उनले बताए । ‘विभिन्न ४० प्रकारका उद्योगहरु दर्ता तथा नविकरण गर्दा के के बुझाउनु पर्छ भनेर कानुन बमोजिम चेकलिष्ट तयार गरी उद्योग विभागको वेवसाइटमा सार्वजनिक रुपमा राखेको छौं । उद्योगीहरुले उल्लेखित कागजपत्रसहित निवदेन दिएपछि हामीले हुन्छ वा हुँदैन तत्काल निर्णय दिनसक्छौं’ उनले भने । कोभिड–१९ महामारी र आर्थिक मन्दीको प्रभावले नयाँ फाइल आउन बन्द भएकोले पनि संस्थागत र प्रणालीगत सुधारको काम सहज भईरहेको उनले बताए । ‘निषेधाज्ञा भएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकलको पालना गर्दै हामी अफिस आएर काम गरिरहेको छौं । सेवाग्राही आएको छैनन् । तर पुराना बाँकी काम सिध्याउने र उद्योग विभागलाई नयाँ प्रणालीमा लैजाने काममा व्यस्त छौं’ उनले भने । एक महिनाअघि मात्र उद्योग विभागको महानिर्देशकको जिम्मेवारी पाएका भुसालसँग यसअघि धेरै वर्ष उद्योग विभागमा रहेर काम गरेको अनुभव छ । साथै, चार वटा जिल्लामा स्थानीय विकास अधिकारी भएर काम गरेको अनुभव पनि उनीसँग छ । सहसचिव भएपछि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य मन्त्रालयमा काम गरेको अनुभव उनीसँग छ ।
खतिवडाको बिदाई सम्बोधनः मैले अर्थतन्त्रमा धेरै सुधार गरेँ, बाहिर बसेर पनि देशको सेवा गर्छु
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’ उनले भने । उनले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन पनि अनुरोध गरे । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको पनि बताए । साथै उनले आफु सरकार बाहिर रहेर पनि देशको हितमा हुने काममा सक्रिय रहने बताए । उनी अब केही बेरेमा राजीनामा गर्दैछन् । उनको बिदाई कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए ।
एसईई विद्यार्थीका लागि एनसेलले ल्यायो विषेश अफर, सय रुपैयाँमै वर्षभरी बोनस डेटा पाउने
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रूपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् । यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् । सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् । विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ । पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ । एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाइ निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसि रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानिय प्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामकालागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनको लागि पहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे÷नरहेको बुझेर मात्र सिम लिनको लागि सतर्कता तथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध छ । विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् । विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएका छौं । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।