विकासन्युज

चितवनमा खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचना प्रकाशित गरी तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गरेका छन । सूचनामा अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ । ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भने दिनहुँ बढ्दै गएको छ । रासस

५ चर्चित कार, जसको मूल्य नेपाली बजारमा ३० लाख भन्दा कम छ

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन मान्ने गरिएको भएता पनि अहिलेको व्यस्त जीवनमा यो एउटा आवश्यकता बन्न पुगिसकेको छ । वास्तवमा भन्ने हो भने हाम्रो देशमा एउटा कार किन्नका लागि ठुलै रकम खर्चिनु पर्ने भएकोले पनि यस्तो चाहना पुरा गर्न धेरैलाई हम्मेहम्मे नै पर्दछ । तर यो कुरा पनि सत्य हो कि यहाँ राम्रा विशेषता भएका कम मूल्य पर्ने कारहरु पनि उपलब्ध छन्, जसको वारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी नेपाली बजारमा हाल उपलब्ध भइरहेका ३० लाख रुपैयाँ मूनिका चर्चित कारहरुका वारेमा चर्चा गर्न गइरहेका छौं जसले तपाईंको निजी कार चढ्ने सपनालाई साकार पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मारुती सुजुकी अल्टो अल्टोमा ७९६ सीसीको इञ्जिन समावेस गरिएको छ जसले ४७ बीएचपीको पावर र ६९ एनएमको टर्क उत्पादन गर्दछ । ३५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको अल्टोले २४.७० केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । फिचरहरुका रुपमा यस कारमा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोबिलाइजर, रियर पार्किङ्ग सेन्सर लगायत समावेश छन् । मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले अल्टोको सुरुवाती मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हुण्डाई स्यान्ट्रो १०८६ सीसीको इञ्जिन दिइएको स्यान्ट्रोले ६९ बीएचपीको पावर र ९९ एनएमको टर्क उत्पादन गर्दछ भने २०.३० केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको छ । स्यान्ट्रोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । हुण्डाईले एबीएस, ईबीडी, इञ्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक जस्ता विशेषताहरु यस कारमा समावेश गरेको छ । हुण्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले स्यान्ट्रोको सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । रेनो क्विड रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स्ड अटोमोवाइल्स प्रा.लि.ले क्विडलाई सुरुवाती मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ७९९ सीसीको रहेको छ भने यसले ५३ बीएचपीको पावर र ७२ एनएमको टर्क उत्पादन गर्दछ । क्विडले २५.१७ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ २८ लिटरको रहेको छ । त्यसैगरी १८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । क्विडमा विशेषताहरुको रुपमा रिमोट किलेश इन्ट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एबीएस, ईबीडी, एयरब्याग्स, चाइल्ड सेफ्टी लक, स्पीड अलर्ट लगायत रहेका छन् । टाटा टियागो ११९९ सीसी इञ्जिन दिइएको टियागोले ८४ बीएचपीको पावर र ११४ एनएमको टर्क उत्पादन गर्दछ भने २३.८४ केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको रहेको छ । टियागोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएका छन् भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएका छन् । टाटाले यस कारमा हाइट एडजस्टेवल ड्राइभर सिट, एयरब्याग्स्, टर्न–बाई–टर्न नेभिगेशन एप, कुल्ड ग्लोभ बक्स, मल्टि–ड्राइभ मोड, रियर पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी, स्मोक्ड लेन्स लगायतका विशेषताहरु समावेश गरेको छ । टाटाको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टियागोको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । भक्सवागन पोलो भक्सवागनको नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले पोलोलाई सुरुवाती मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ९९९ सीसीको रहेको छ भने यसले ७५ बीएचपीको पावर र ९५ एनएमको टर्क उत्पादन गर्दछ । पोलोले १८.७८ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी, १६५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । पोलोमा विशेषताहरुको रुपमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, एयरब्याग्स, एबीएस, ईबीडी, यूएसबी सपोर्ट, ब्लुटुथ सपोर्ट, एयर कण्डिस्नर, हिटर, स्टेयरिङ्ग एडजस्टमेन्ट लगायत रहेका छन् ।

कर्मचारीलाई कोरोना देखिएपछि टाेखा नगरपालिका बन्द

काठमाडाैं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए । कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २५७ कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । नगरपालिकाले कोरोना सङ्क्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ । अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पु¥याउने नगरपालिकाले जनाएको छ। होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ ।

विश्व बैंकद्धारा नेपाललाई काेराेनाकाे समयमा शिक्षा सबैकाे पहुँचमा पुर्याउन १ अर्ब ३० कराेड सहयाेग

काठमाडाैं । विश्व बैंकले कोभिड–१९ को सङ्कटकाे बिच नेपालमा आधारभूत शिक्षामा पहुँच कायम गर्न र बच्चाहरूको लागि निरन्तर शिक्षा दिन विद्यालय क्षेत्र विकास कार्यक्रमकाे लागि १ अर्ब ३० करोडकाे आर्थिक सहयाेग गरेकाे छ । विद्यालय क्षेत्र विकास कार्यक्रम आइडिएद्धारा स‌ंचालित कार्यक्रम हाे जसमा एसियन डेभलपमेन्ट बैंक, युराेपियन युनियन, फिनल्यान्ड, गाेल्बल पार्टनरसिप फर एजुकेसन जापान, ईन्टरनेसनल काेर्पेारेशन नरवे, युएसएड र युनिसेफले संयुक्त रुपमा सहयाेग रहेकाे छ । नेपालमा आधारभूत र माध्यमिक शिक्षाको गुणस्तर, समान पहुँच र दक्षता सुधार गर्नु यस कार्यक्रमको उद्देश्य हाे । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘कोभिड १९ काे को प्रभावका कारण बच्चाहरुकाे सीपमा भएकाे हानी कम गर्न सहयोग अनुदानका लागि हामी विश्व बैंक र जीपीईलाई धन्यवाद दिन्छौं,’ सचिव श्रीकृष्ण नेपालले भने। ‘अनुदानले स्कूल बन्द हुने क्रममा शिक्षाको निरन्तरतालाई सक्षम पार्न, विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः सुरु गर्न र विद्यार्थी र शिक्षकहरूमा पर्ने प्रभावहरूलाई कम गर्न सहयाेग पुर्‍याउँछ।’ यस अनुदानले मिडिया वा इन्टरनेटमा पहुँच नभएका बच्चाहरूको लागि टेलिभिजन, रेडियो र लर्निंग पोर्टलको माध्यमबाट टाढाका शिक्षा कार्यक्रमहरूलाई सहयोग पुर्‍याउन गतिविधिहरू सहयाेग गर्नेछ। ‘काेभिडकाे कारण नेपालकाे साथसाथै विश्वकै शिक्षा क्षेत्र सबैभन्दा बढि प्रभावित भएकाे छ र यसले बालबालिककाे सिकाईमा गहिराे असर गरेकाे छ,’  निर्देशक फारिस हदाद जार्भोसले भने । ‘बालबालिका, विशेष गरी केटीहरूको पहुँच र शिक्षाको सुरक्षाका लागि तत्काल आवश्यक समर्थन गर्ने क्रममा यस अनुदानले नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउँछ र नेपालको शिक्षाको क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्दछ।’        

आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्

दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएनन् । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भने, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरे । उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए । कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसे । दिनभर लाइनमा बस्दा पनि उनले मल पाएनन् । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भने, “भोलि पनि आएर पाउने निश्चित छैन ।” केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भने, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उहाँलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उनले प्रश्न गरे । कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताए। चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भने । दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।” प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

कास्की । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेकाे आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ । शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नुपर्नेछ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।

ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी र सुनसान सडक

ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी । विहीबार राताे मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्केका स्थानीयबासी र प्रहरीबीच झडप भएकापछि शुक्रवार कर्फ्यु जारी गरिएकाे छ । प्रकाश माथेमा/एएफपी