विकासन्युज

सिदार्थ बैंककाे दायित्व फेलाेसिपलाई ५ लाख सहयाेग

काठमाडाैं । सिदार्थ बैंकले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख सहयोग प्रदान गरेको छ । युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाईआफुहरुले पु¥याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास रहेकाे बैंकले जनाएकाे छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएकाे छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा कहिलेसम्म गर्ने ? यसो भन्छन् सीडीओहरू

काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए । अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए । ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामीले काठमाडौं भित्र्याउनै पर्छ । प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको । त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ । सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छर भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो की ।’, उनले भने । प्र.जि.अ. दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए । सडका जड्याहालाई उठाउनेदेखि सुन चोर सम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइ नभ्याई भएकाले सिमानामा नेपाली सेनालाई नै खटाउनुपर्ने उनले बताए । भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दवाव आउने गरेको बताइन् । ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निर्णयक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडि ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ ।’, उनले भनिन् । योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यका भित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन् । मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको प्र.जि.अ. पाण्डेले बताइन् । उनले भनिन् -‘एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ ।’ ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिले देखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताइका हुन् । ‘अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैंजस्तो ठुलो चाड आएको छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले व्यहोरीरहेका छौं । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफाल्न पनि तयार हुँदो रहेछ । दशैंमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टीमेन्टमा, यो इमोसनमा झन भयाभह स्थिति हुनसक्छ । त्यसलाई पनि विचार गरेर यो दशैं सम्म अझै सहजिकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।’, उनले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए । विहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजे देखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पाउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताए ।

काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणी कायम गरेकाे

काठमाडौं । काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणीकाे स्तर कायम गरेको छ । सुर्यविनायक नगरपालिकाले साे स्कुललाई विशिष्ट श्रेणीको स्तर कायम गर्न अनुमति दिएको हो । कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालय शहरको भिडभाड र कोलाहलबाट टाढा कोटेश्वर सल्लाघारी हुँदै भक्तपुरको सूर्यविनायक–७, गुण्डुस्थित शान्त मनोरम एवं चारैतिर हरियालीले सुशोभित रमणीय स्थानमा छ । करिब ठुलाे क्षेत्रफल स्थापना गरिएको काठमाडौं वर्ल्ड स्कूल आधारभूत सुविधाभित्रको उत्कृष्ठता र अतिरिक्त सुविधामा व्यापकता रहेको विद्यालय हो । शान्त र सुविधा सम्पन्न शिक्षण वातावरण, अनुभवि शिक्षक रहेकाे यस स्कुलमा लाइब्रेरीको व्यवस्था, अत्याधुनिक कम्युटर सहितको कम्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको साइन्स ल्याब, अनुभवी सेफ सहितको क्यानटिन, उपत्यकाभर कभरेज गर्ने यातायात सुविधा र दिवा आवासीय व्यवस्था जस्ता सुविधाहरु रहेका छन् । त्यतिमात्रै  नभएर विद्यालयकाे आफ्नै स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्ट, नाटक, फाइन आर्ट, फुटसल लगायतका अतिरिक्त क्रियाकलापका लागि भौतिक सुविधा समेत रहेकाे छ । हाल १५०० जना विद्यार्थी क्षमता भएको विद्यालयमा १६० विद्यार्थीका लागि पूर्ण आवासीय व्यवस्था रहेको छ ।

अब सरकारी अस्पतालमा पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

काठमाडौं । अब सरकारी अस्पताल तथा ल्याबहरुमा पनि शुल्क तिरेर कोरोनाको पिसिआर परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबारबाट सबै सरकारी ल्याब तथा अस्पतालहरुले लक्षण नभएका व्यक्तिहरुको शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने अनुमति दिएको हो । यसको अर्थ कुनैपनि व्यक्तिले आफुलाई लक्षण नभए पनि कोरोना परीक्षण गर्न चाहेमा अब सरकारले तोकेको सरकारी अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गर्न सक्नेछन् । यसअघि प्राइभेट अस्पताल तथा ल्याबहरुले मात्र मानिसहरुले चाहेको खण्डमा सशुल्क परीक्षण गर्न पाउने व्यवस्था थियो । मन्त्रालयका प्रवक्ता प्राडा गौतमको अनुसार सरकारी अस्पतालले कुल परीक्षण गर्ने नमुनाको ५० प्रतिशत कोरोना परीक्षण मापदण्डमा नपरेको व्यक्ति अर्थात लक्षण नभएका व्यक्तिको आफ्नै खर्चमा सशुल्क परीक्षण गर्न सक्नेछन् । यसमा प्रयोग हुने सम्पुर्ण रिऐजेन्ट अस्पताल अथवा ल्याब आफैले खरिद गर्नुपर्ने गौतमले बताए ।

लिवर्टी ईनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौतामा लिवर्टी ईनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्ट्रार प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । साथै लिवर्टी ईनर्जी कम्पनीको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि यस प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न सकिने छ ।

अब वीर अस्पतालमा काेराेनाकाे उपचार मात्र हुने

काठमाडाैं । देशकै जेष्ठ वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड अस्पतालकाे रुपमा ताेकेकाे छ । याेसँगै अस्पतालमा अब काेराेनाका बिरामीकाे मात्र उपचार हुने मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । गाैतमकाे अनुसार अस्पतालकाे बाँकी सेवा ट्रमा सेन्टरबाट संचालन हुनेछ ।

उपत्यकामा ३५४ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ५४ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको २९०, ललितपुरको ३२ र भक्तपुरको ३२ जना रहेको गौतमले बताए । आज देशभर ९८० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

नेपालभर आज ९८० काेराेना संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने आजसम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १८१४ जना निकाे भएसँगैं  हालसम्म २८ हजार ९ सय ४१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २८९ पुगेकाे छ ।