रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्यो, कहिले हाेला ?
काठमाडौं । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।सोमबार पाटन मंगलबाजर स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबिच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिस कृति किरण जोशिले २९ गते विहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए । वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए । त्यस लगत्तै स्थानीय युवाहरु र प्रहरीबिच झडप समेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटी सम्म पुर्याएका थिए ।
भदौ २५ देखि नाडाले व्यवसाय सञ्चालन गर्ने, सरकारले अवराेध गरे बिद्रोह गर्ने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए । उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताएका छन् । ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ । यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन । यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ ।’, उनले भने । उनले सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिए देखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलाले बताए । घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाई छ । ‘सुरुदेखि नै हे¥यो भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन । जतिपनि सरकारी कर्मचारीहरुले के भनेका छन भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छ । किनभने उहाँहरुले तलब बसिबसी पाउनुभएको छ । व्यवसायीहरु बाहेक खोल्नुपर्छ भन्ने मान्छे उद्योगपति बाहेक, व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जतिपनि राजनीतिज्ञ छन्, जतिपनि नेता छन्, जतिपनि कर्मचारी छन सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं ।’, उनले भने । उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको बताए । पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताएका छन् । लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले स्पस्ट पारे । विश्वलाई हेरेर व्यवसाय सूचारु गर्नुको विकल्प नरहेको उनको भनाई छ ।
राष्ट्र बैंकले भन्योः राजश्व संकलन गनुपर्नेछ, भदौ २३ देखि २५ गतेसम्म बैंकका सम्पूर्ण शाखा खोल्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र सार्वजनिक गर्दै भदौ २३, २४ र २५ गते राजस्व बुझ्ने प्रयोजनका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न भनेको हो । हाल धेरै बैक तथा वित्तीय संस्थाहरुका शाखा तथा काउन्टरहरु बन्द रहेको अवस्थामा राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो ।
‘पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ, पुनर्जीवन दिन खर्च कटौतीको विकल्पै छैन’
काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना भाइरसको सङ्क्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘सेजन अर्थ नीति बहसअन्तर्गत पर्यटनको सम्भावना’ विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । उनले कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो सङ्ख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । “अब मास टुरिजमको एरा गयो”, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक भएको र त्यसबाट माथि उठ्नुको विकल्प नभएको उनको भनाइ छ । त्यसैगरी पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्ने बताए । “सन् २०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न । अब, १२ लाख पर्यटक भित्र्याउन कम्तीमा पाँच वर्ष लाग्छ”, उनले भने । पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आवश्यकता पर्नेमा संयोजक शाक्यले जोड दिए । कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि उनले बताए । रासस
होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा, अध्यक्ष भन्छन्- घाटा परिपूर्ति गर्न निकै गाह्राे भयाे
चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् । उहाँका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा , खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती नगरपालिकामा-३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक एक करोड ५० लाख रुपैयाँ बढी कारोबार हुने उनको भनाइ छ । अन्यमा त्यतिनै व्यापार हुने सुवेदीले बताए । यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा ३० लाख रुपैयाँ हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये ४० प्रतिशत भन्दा बढी बैंकिङ् ऋण रहेको सवेदीले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने “यो मौसम पनि त्यत्तिकै जाने भो ।” गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, “दशैंको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।” क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।” सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ । व्यवसायीको व्यवसाय मात्रै होइन, मजदूरको आवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदूरको अवस्था निकै दयनीय भएको बताए । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ । जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कूल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् । रासस
‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरू, घरबाटै सहभागी हुन पाइने, तर कसरी ?
काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरु गरेको छ । आयोजक केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको हो । केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि आफूले गाएको गीत र भिडियो असोज १५ गतेसम्म अनलाइन मार्फत पठाउनु पर्ने छ । पठाइएका गीतहरुमध्येबाट संगीत तथा भाषाविद्हरु डा. कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट १० जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ । प्रतियोगिताको विजयी छनोट गर्ने चरणलाई राष्ट्रिय टेलिभिजन मार्फत प्रशारण गरिने संस्थापक निर्देशक मोक्तानले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गर्ने आयोजकले जनाएको छ । गायन, नृत्य लगायतका विभिन्न सांगितिक विधाहरुमा प्रशिक्षण गर्दै आएको साधना कला केन्द्रले यसअघि ‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को पहिलो संस्करण सम्पन्न गरिसकेको छ । प्रतियोगितामा कसरी सहभागी हुने ? नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ । साथमा आफ्नो पुरा नाम, ठेगाना, गीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक(गायिका र फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ । प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर ण्ण्ज्ञण्द्धद्दठद्दज्ञए मा पठाउनु पर्नेछ । अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु स् इसेवा, प्रभु पे वालेट, ग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्टेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने छ । काठमाडाैं उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सक्नेछन् । अन्य थप जानकारी साधना कला केन्द्रको अफिसियल पेज मार्फत लिन सकिने आयोजकले जनाएको छ ।
महिला लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । जसको लागि संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । लघुवित्तले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
निषेधाज्ञा खुकुलो बनाउन व्यवसायीको आग्रह, अर्थतन्त्रलाई खस्किन नदिने ओलीको प्रतिवद्धता
काठमाडौं । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताए । जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए । ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेको छ । उहाँले त्यसरी नै भन्नुभयो । गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गर्नुछ र सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक उर्जा दिनुको सट्टा नकारात्मक भयो भन्ने उहाँले पनि भन्नुभयो ।’, उनले भने । अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए । अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको बताए । व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शुन्य हुने स्थिति आएकाले आफुहरु समस्यामा परेको कुरा स्पस्टसँग राखेको श्रेष्ठले बताएका छन् । ‘लकडाउनको निरन्तरता चैतदेखि गएकोले हामीले राजश्व तिर्नै पर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्ने पर्ने, अफिसको भाडा तिर्नै पर्ने, कर्मचारी र श्रमीक सै तिर्नुपर्नेलाई तिर्नुपर्यो तर पैसा चाहिं कहिंबाट उठन सेकन । त्यसकारण अहिले हामीलाई यति गाह्रो भइसक्यो की हामीले परिस्थितिलाई कसरी समाना गर्ने भनेर हामी एकदम नसक्ने अवस्थामा आइसकेका छौं ।’, उनले भने । सरकारले गत जेठ महिना सम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताए । सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजिकरण गर्नुपर्ने श्रेष्ठको भनाई छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनरकर्जा कोषलाई पुनरसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनरसंरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उनले बताए । व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएका श्रेष्ठले जानकारी गराए । व्यवसायी र प्रधानमन्त्री ओलीबिचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए ।