विकासन्युज

साँखु –फट्केश्वर सडक कालोपत्रेकाे हुने, ३१ करोड बजेट व्यवस्थापन

सिन्धुपाल्चाेक । जिल्लाको उत्तरपश्चिमी भेगको ‘लाइफ लाइन’ साँखु –फट्केश्वर सडक कालोपत्रे हुने भएको छ । उक्त सडक काठमाडाैं जिल्लाको शङ्खरापुर नगरपालिकाका साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भई पुष्पलाल मध्यपहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, शङ्खरापुरका प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधि र सरोकार पक्षको विशेष पहलमा कालोपत्रे हुन लागेको हो । सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु गाउंँपालिका, पाँचपोखरी थाङ्पाल गाउंँपालिका र इन्द्रावती गाउँपालिकाको प्रवेशमार्गका रुपमा रहेको सो सडक कालोपत्र गर्नका लागि लामो समयदेखिको मेहनत सफल भएको जनप्रतिनिधिले जनाएका छन् । भविष्यमा काठमाडौंँ र सिन्धुपाल्चोकको उत्तरपश्चिमी भेगका जनताले ठूलो राहत पाउने सांसद तामाङले बताए । शङ्खरापुरका प्रमुख श्रेष्ठले दोस्रो चरणको बोलपत्र प्रक्रिया अगाडि बढिरहेको जनाउँदै करीब रु ३१ करोड बजेट व्यवस्थापन भई केही दिनभित्रै खुल्ने बताए । हाल सो सडकखण्डअन्तर्गत काठमाडौँको जहरसिं पौवादेखि सिन्धुपाल्चोकको फट्केश्वर सडकखण्डको करीब पाँच किमी सडक कालोपत्रका लागि गत महिना बोलपत्र भई कम्पनीका तर्फबाट निर्माणपूर्वको विस्तृत सर्भे भइरहेको छ । आगामी असोज १० गतेदेखि निर्माण शुरु गरिने निर्माण कम्पनी मञ्डनभगवती रतुवाकमलजित निर्माण सेवाका प्रतिनिधि हीरा चौलागाईंँले बताए । रासस

विद्युत प्राधिकरणको प्रमुखमा कुलमाननै दोहोरिने सम्भावना बढी, उर्जामन्त्री पुनले भने ‘म सकारात्मक छु’

काठमाडौं । नेपाल विदुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिने समय आएसँगै अब प्राधिकरणको प्रमुख को बन्छ भन्ने चर्चा पनि उत्कर्षमा पुगेको छ । वर्तमान एमडी घिसिङलाई जनमानसले रुचाएको भएकोले पनि उनको पक्षमा बोल्ने अर्थात कुलमान घिसिङ नै प्राधिकरणको प्रमुख हुनु पर्छ भन्ने दवाव नागरिक तहबाट आइरहेको छ भने एकातर्फ केही व्यक्तिहरु कुलमानलाई प्राधिकरणबाट बिदाई गर्नुपर्छ भन्ने माहोल पनि सिर्जना गरिरहेका छन् । तर, अधिकांश मानिसहरु भने कुलमान नै प्राधिकरणमा दोहोरिनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने निर्णय भने आगामी मन्त्रिपरिषद् बैठकले नै गर्नेछ । प्राधिकरण स्रोतका अनुसार कुलमान नै प्राधिकरणको प्रमुखमा दोहोरिने सम्भावना रहेको छ । हालसम्मकोे स्थितिको मूल्यांकन गर्दा वर्तमान एमडीनै दोहोरिने सम्भावना छ, यसको प्रस्ताव मन्त्रिपरिषदले समेत तयार पारिसकेको छ, सम्भवतः अब आउने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्ने छ,’प्राधिकरण  स्रोतले भन्यो । यस्तै, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पनि कुलमान घिसिङ दोहोर्याउनका लागि आफु सकारात्मक भएको बताए । ‘म पहिलेदेखि नै भन्दै आएको छ, हालका एमडीज्यूलाई दोहोर्याउन मेरो कुनै बाधा छैन, म सकारात्म नै छु, मेरो अहिले भन्ने संकेत यति नै हो, यसको यकिन निर्णय अबको मन्त्रिपरिषद्ले नै गर्नेछ,’ उनले विकासन्युजसँग भने । उनका अनुसार प्राधिकरणको एमडीका लागि २९ गतेभन्दा अगाडि नै निर्णय भइसक्नेछ । ‘२९ गतेसम्म समय छ, मैले प्रधानमन्त्रीज्यूसँग निर्णय गर्नेछु, त्यसपछि कसलाई बनाउने भन्ने मन्त्रिपरिषद्लै नै निर्णय गर्नेछ,’ उनले भने । कार्यकारी निर्देशक घिसिङको समयावधि भदौ २९ गते सकिँदैछ । अहिले घिसिङलाई दोहोर्याउनु पर्छ र दोहोर्याउनु हुन्न भन्ने मासिनहरुको विवाद पनि भइहरेको छ । नेकपाभित्र पनि पूर्व माओवादी पक्षमा नेताहरुले घिसिङलाई नै दोहोर्याउने पक्षमा आवाज उठाइरहेका छन् भने पूर्व एमाले पक्षका नेताहरुले उनको विकल्प खोज्नु पर्ने धारणा राखिरहेका छन् । अब घिसिङको समयावधि सकिन करिब ५ दिन मात्र बाँकी छ । अहिले प्राधिकरणका कर्मचारीहरु नै घिसिङ दोहोरिनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । आजभन्दा ४ वर्ष अगाडि अर्थात २०७२ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा १८ घण्टा लोडसेडिङ रहेको अवस्थालाई अन्त्य गर्दै उज्यालो नेपालको परिकल्पना पुरा गरेका घिसिङको अहिले सर्वत्र वाहीवाही छ । त्यसैले पनि अहिले नागरिक तहबाट घिसिङनै प्राधिकरणको प्रमुखमा दोहोरिनु पर्छ भन्ने दवाव दिइरहेका छन् । उनले लोडसेडिङमुक्त मात्र बनाएनन् प्राधिकरणलाई सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था समेत बनाउन सफल भए । नियुक्त हुँदा घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजान उनले महत्वपूर्ण भूमिका समेत खेलेका छन् ।

कोरोना नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड दिइने

वाग्मती । वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले अनुगमन गरी दिन सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थालाई मात्रै रकम उपलब्ध गराउन लागिएको मन्त्री जम्मकट्टेलले बताए । समितिले प्रदेश सरकारले स्थापना गरेको कोषबाट काठमाडौँको कीर्तिपुर नगरपालिकालाई रु १० लाख, शङ्खरापुर नगरपालिकालाई रु २० लाख, बूढानीलकण्ठ नगरपालिकालाई रु २० लाख, तारकेश्वर नगरपालिकालाई रु १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई रु १५ लाख, चन्द्रागिरि नगरपालिकालाई रु १० लाख, टोखा नगरपालिकालाई रु २० लाख, मकवानपुरको मनहरि गाउँपालिकालाई रु १० लाख, काभे्रको धुलिखेल नगरपालिकालाई रु एक करोड, नमोबुद्ध नगरपालिकालाई रु १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई रु एक करोड, रत्ननगर नगरपालिकालाई रु ५० लाख, दोलखाको भीमेश्वर नगरपालिकालाई रु एक करोड, धादिङ अस्पताललाई रु ७५ लाख, हेटौँडा अस्पताललाई रु ५० लाख, चौतारा अस्पताललाई रु २२ लाख र भक्तपुर अस्पताललाई रु ५० लाख दिने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । यसैगरी ललितपुरको आनन्दवन अस्पताललाई रु १५ लाख, सिन्धुली अस्पताललाई रु ३० लाख, त्रिशूली अस्पताललाई रु ३० लाख, रामेछाप अस्पताललाई रु ९५ लाख उपलब्ध गराइने मन्त्री ढुङ्गेलले बताए । यस्तै प्रदेशका अस्पतालका लागि स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई रु सात करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई रु २५ लाख, मकवानपुर र काठमाडाैंका अञ्चल आयुर्वेद अस्पताललाई रु पाँच/पाँच लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्वेद अस्पताललाई रु पाँच÷पाँच लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई रु तीन÷तीन लाख, रसुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई रु एक लाख र स्वास्थ्य कार्यालय काठमाडाँैलाई रु ५० लाख दिने निर्णय भएको छ । रासस

कर्णाली प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन

कर्णाली । गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् । निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश राजधानी सहरी सडक, जनता सडक र समपुरक प्याकेजअन्तर्गत निर्माण भइरहेको बताए । सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भएका थिए तर कोरोना भाइरसविरुद्ध अपनाइएको लकडाउनका कारण निर्माण रोकिएको थियो । प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठबाट सञ्चालनमा ल्याइएको हो । इन्जिनीयर शाहीका अनुसार रु ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य छ । “लकडाउन खुकुलो भएसँगै असार मसान्तभित्र काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ”, उनले भने, “लकडाउनको शुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो, अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।” हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्रे गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमी कालोपत्रे गर्ने लक्ष्य लिएको छ । रासस

ओखलढुङ्गामा ६ करोड मुआब्जा वितरण

ओखलढुङ्गा । यहाँ विकास आयोजना सञ्चालन गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि रु पाँच करोड ८८ लाख ३२ हजार ८२८ मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिएको छ । मुआब्जा निर्धारण समितिले बितेका दुई आर्थिक वर्षमा उक्त रकम बराबरको मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको हो । समितिले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ओखलढुङ्गा–रुम्जाटार सडक आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार मुआब्जा र क्षतिपूर्ति वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए । प्रशासन कार्यालयले सार्वजनिक गरेको मुआब्जासम्बन्धी अभिलेख २०७७ अनुसार सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनामा १४९ जनालाई रु पाँच करोड २४ लाख ९१ हजार ६७५ मुआब्जा उपलब्ध गराएको उल्लेख छ । यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ओखलढुङ्गा–रुम्जाटार सडक आयोजनामा १९ जनालाई रु २० लाख आठ हजार १०४ मुआब्जा वितरण गरिएको जनाइएको छ । सोही सडकमा पर्ने संरचनाको क्षतिपूर्तिका लागि १५ जनालाई रु ४३ लाख ३३ हजार ४९ उपलब्ध गराइएको छ । यद्यपि केहीलाई भने रकम भुक्तानी गर्न बाँकी रहेको अभिलेखमा देखाइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले जग्गा प्राप्त गर्ने सन्दर्भमा मूल्य निर्धारणका लागि अपनाउनुपर्ने विषय स्थानीय वस्तुस्थिति, जग्गाको प्रकृति, मालपोत दररेट तथा रजिष्ट्रेशन शुल्क, कर प्रयोजनका लागि स्थानीय तहबाट तोकको मूल्य, ऋण प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, प्रचलित चलनचल्तीको मूल्य एवं अन्य उपयुक्त आधारबमोजिम वस्तुनिष्ट तवरबाट जग्गाको मूल्य निर्धारण गरी मुआब्जा गर्दै आएको छ । रासस

बुधबार सुनको मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला ९६ हजार ४ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । मंगलबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ६ सय रुपैयाँ बढी अर्थात ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात मंगलबार १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

उपत्यकाकाे नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै

काठमाडाैं । काठमाडौैं उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । गत साउनमा साँगा नाकाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार ४८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटमा यात्रुको कारोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको थियो । साताअघि साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई सङ्क्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ । उसले ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न आफ्ना प्रहरी कर्मचारीलाई भनेको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण दर बढिरहेको पोष्टको तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हालसम्म बनेपास्थित सङ्घीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा सङ्क्रमण देखिएको छ । “सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्”, झाले भने । उनका अनुसार जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, छ कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म २१२ पुरुष र १२२ महिला सङ्क्रमित भएका छन् । तीमध्ये दुईको मृत्यु भएको छ भने १५९ उपचारपछि घर फर्किएका छन् । अन्य १७३ सक्रिय सङ्क्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ । हाल २३ पुरुष र ३७ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन् । रासस

टिचिङ अस्पतालकाे कार्यकारी निर्देशकमा प्राडा. दिनेश काफ्ले नियुक्त

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)को कार्यकारी निर्देशकमा प्राडा. दिनेश काफ्ले नियुक्त भएका छन् । प्राडा. काफ्ले मंगलबार कार्यकारी  निर्देशक पदमा नियुक्त भएका हुन् । यसअघिका निर्देशक प्राडा प्रेम कृष्ण खडगाले अनिवार्य अवकाश पाएपछि त्रिविले तीन महिनाका लागि प्राडा रोहितकुमार पोखरेललाई निमित्त निर्देशक बनाएको थियो । उनकाे कार्यकाल ४ वर्षकाे रहनेछ ।