मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने
ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकालेकाे साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो । सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए । उनले भने, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उहाँले जानकारी गराए । सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघिदेखि चोखोनितो गरेर बसेका आठ पानेजुले किस्ली अर्थात् माटोको पालामा राखेको अक्षता, केही पैसाका डबल र सुपारी करुणामयलाई चढाएर त्यसपछि पालैपालो ढोगेर ‘हामीले यहाँबाट हजुरलाई आज बुङ्मती प्रस्थान गराउन लाग्यौँ’ भन्नुपर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “गुरुज्यूको पल्टन र सुरक्षाकर्मीसहित पानेजुले खटमा बोकेर मच्छिन्द्रनाथलाई बुङ्मती लानेछन् ।” यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझै गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउन सम्भव नभएकाले बुङ्मतीको हयंग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले यही भदौ १८ गते नै क्षमापूजा गरिसकेको शाक्यले जानकारी गराए । यसैगरी मीननाथको रथ भने गाःबहालबाट टङ्गालसम्म तानेरै लग्ने चलन रहेको १९आँै जातीय खलःपुचःका संयोजक चन्द्र महर्जनले बताए । आर्यावलोकितेश्वरलाई भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथयात्रा र गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । रासस
स्वास्थ्य मन्त्रालयद्वारा ६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ । ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।
कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण
काठमाडौं । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ । गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो । निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ । केही समय पहिलेसम्म निर्माण सामग्रीको अभाव रहेको थियो । धादिङकै कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् । अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनले भने, “केहीले अवरोध गर्न खोजे पनि सम्झाएर, बुझाएर अहिले निर्माण सामग्री ल्याउने वातावरण बनाइएको छ ।” सुरुङमा अहिले काठमाडौँतर्फ काम गर्न नसकिए पनि धादिङतर्फ ‘क्लोज क्याम्प’ मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको प्रमुख थापाले बताउनुभयो । त्यससँगै जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको छ । सरकारले गर्नुपर्ने जग्गा अधिग्रहणको काम अघि बढिरहेको उनले जानकारी दिए । बलम्बुमा फ्लाइओभर निर्माणका लागि जग्गा मुआब्जाको प्रक्रिया बन्दाबन्दी पहिले नै अघि बढेको थियो । धादिङमा भने जग्गा अधिग्रहणको काम कम मात्रै रहेको छ । निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिको मात्रै अधिग्रहण बाँकी छ । उनले भने, “जग्गा रोक्का भएका व्यक्तिको मात्रै जग्गाको मुआब्जा दिन बाँकी छ ।” निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले योजना गरिएभन्दा थोरै ढिलो भए पनि त्यसले समग्रमा असर नगर्ने प्रमुख थापाले बताउनुभयो । निर्माण कम्पनीले बाँकी समयमा काम सञ्चालन गर्न सके समयमै सकिने बताउँदै आएका छन् । जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । त्यस स्थानमा सयौँको सङ्ख्यामा सवारी साधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । बयालीस महिनाको अवधि निर्माण सम्पन्न गर्नका लागि पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिगँ्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङगा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताए । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका स्टल हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु गरिएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । रासस
नेपाल दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीले राहत पाउने
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीले राहत पाउने भएका छन् । कोभिड–१९ को असरलाई ध्यानमा राख्दै प्राधिकरण सञ्चालक समितिले सेवाप्रदायक कम्पनीलाई विभिन्न पाँच क्षेत्रमा राहत दिन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । बन्दाबन्दी र निषेधाज्ञाबाट समस्या भएको भन्दै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा राहत दिन आग्रह गरेका थिए । सेवाप्रदायक कम्पनीको आग्रहअनुसार राहत दिने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार पाँच क्षेत्रमा राहत दिने निर्णयअनुसार चार क्षेत्रमा सिफारिस गरिएको छ । उनका अनुसार सेवाप्रदायकले आयात गर्ने दूरसञ्चार उपकरणमा भन्सार महसुल छुट र नेटवर्क सेवाप्रदायकका लागि आयात हुने अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथमा लाग्ने रिभर्स भ्याटमा सहुलियतका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ । यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनीले विदेशबाट ल्याइने इन्टरनेट ब्याण्डविथको रकम भुक्तानीका लागि तीन महिनाको अवधि थप गरिदिन अन्तर्राष्ट्रिय व्याण्डविथ कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ । इन्टरनेट सेवाप्रदायक र नेटर्वक सर्भिस सेवाप्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज रकम भुक्तानीको समयसीमा एक वर्ष थप गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई सिफारिस गरिएको छ । सेवा प्रदायक कम्पनीले वार्षिकरूपमा रकम जम्मा गर्दै आएको ग्रामीण दुरसञ्चार कोषमा रकम जम्मा गर्ने समयावधि नौ महिना थप गरिएको छ । यसअघि उक्त कोषमा गत आर्थिक वर्ष २०७६/७७ को रकम जम्मा गर्न असोज मसान्तसम्म समय थप गरिएकामा पुनः नौ महिना थप गरेर चालू आर्थिक वर्षको मसान्तसम्म बनाइएको प्राधिकरणले जनाएको छ । सेवाप्रदायक कम्पनीले जम्मा गरेको रकम हाल विभिन्न वडास्तरीय कार्यालयमा इन्टरनेट सेवा पु¥याउनेदेखि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनामा उपयोग गरिएको छ । रासस
काठमाडौंकाे एक सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडाैं । प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस
भोलिदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो, नयाँ मोडल यस्तो छ
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा अब भने केही खुकुलो हुने भएकाे हाे । काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले अब निषधाज्ञा खुकुलो गर्ने गरी गृहमा सिफारिस गरेका छन् । दोस्रो पटक बढाएको निषेधाज्ञाको समय आज राति सकिँदैछ । त्यसैले पनि आज रातिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका सीडीओहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर अनुमोदनका लागि मंगलबार गृह मन्त्रालयमा पठाएका छन् । सो मोडालिटी गृहबाट अनुमोदन भइसकेपछि सीडीओहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएको निर्णय गर्ने छन् । उपत्यकाका एक सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार अब निषेधाज्ञा केही खुकुलाे हुनेछ । उनले नयाँ अबकाे माेडालिटी केही परिवर्तन गरेकाे बताए । नयाँ मोडालिटी यस्तो छ: – दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्न दिने । -निजी सवारीलाई जोर विजोरमा चल्न दिने । -निजी कार्यालय, उद्योग एवम कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने दिने । -होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने खुला गरिने छैन। हिजो मात्रै काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञा खुकुलो बनाउनु पर्ने प्रस्ताव गरेकाे थियाे । फाेरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न पनि माग गरेको थियाे । हिजाे फाेरमले निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको थियाे । साेही प्रस्तावलाई नै आधार मानेर लकडाउन खुकुलाे बनाउने प्रस्ताव गृह मन्त्रालयमा पठाइएकाे ती अधिकारीले बताए । उनका अनुसार अहिले तीन सीडीओहरुकाे बैठक बसिरहेकाे छ । उनका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ । उद्याेगी व्यवसायीहरु पनि व्यापार व्यवसाय खोल्न पाउनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । उनीहरु रोगले भन्दा पनि भोकले मरिने होकि भन्ने चिन्तामा रहेको बताइरहेका छन् । सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । तयो लकडाउनको अन्त्य साउन पहिलो साता भएको थियो । त्यसपछि जिल्ला तथा स्थानीय तहले त्यहाँको अवस्था हेरेर निषेधाज्ञा गरिरहेका छन् । तर, कोरोना भाइरसको संक्रमण दर भने रोकिएको छैन ।
एनआईसीकाे भाइबर क्विजमा सहभागी भई आकर्षक पुरस्कार जिताैं
काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्विज योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् । यस मार्फत भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नुहुने र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ । यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई रिर्चाजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएकाे छ । त्यसैगरी पालसोनिको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड ईन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, ईलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाकोे तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजिको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिने बैंकले जनाएकाे छ । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको एनआइसि एसिया क्विज योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।
५ टिप्स: काठमाडौंमा सस्तोमा कोठा भाडा पाउन यस्तो गर्नुस्
काठमाडाैं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्रलाई असर गरेको छ । सर्वसाधारणदेखि राज्यलाई समेत यसले धेरै ठूलो क्षति पुर्याएकाे छ । मानिसमा अब रोगले भन्दा पनि भोकले मरिने होकि भन्ने चिन्ता बढ्न थालेको छ । काठमाडौं उपत्यकामा नै अहिले धेरै मानिसहरु बस्न नसकेर गाउँ फर्किसकेका छन् । अहिले १८ लाखभन्दा बढी मानिसले काठमाडौं छोडेर घर फर्किसकेका छन् । अहिले काठमाडौंमै बसिरहेकाहरु पनि ठूलो आर्थिक समस्यामा परेका छन् । गुजारा चलाउन समस्या र काठमाडौंको महँगाे कोठा तथा फल्याट भाडा तिर्न पनि धेरैलाई मुस्किल भइहरेको छ । यस तर्फ सरकारले भने खासै चासो देखाएको छैन । बैशाखमा सरकारले घरधनीहरुलाई भाडावाललाई भाडा छुट दिन आग्रह गरेपनिकेहीले छुट दिएपनि धेरैले छुट दिन मानेन् । उनीहरुले आफुहरु पनि आर्थिक समस्या भएको भन्दै सरकारको आग्रहलाई मानेन् । त्यस्तै आग्रह काठमाडौं महानगरपालिकाले पनि गरेको थियो । काठमाडौं महानगरले त भाडाछुट दिने घरधनीलाई घरबाहल करमा छुट दिने व्यवस्था मिलाउने पनि बताएको थियो । तर, भाडावालहरु भने घरबेटीबाट भाडा छुटको अपेक्षा अझै पनि गरिरहेका छन् । घरधनीलाई भाडा छुट गराउन के गर्ने ? यहाँ केही टिप्सहरु दिएका छन् । १. घरधनीलाई सर्वप्रथम वर्तमान कोरोना महामारी र यसले उत्पन्न आर्थिक तथा मनोवैज्ञानिक संकटको बारेमा राम्रोसँग बुझाउने । मानव न हो एक अर्काको समस्या सजिलै बुझ्न सक्छन् । एकले अर्कालाई सहयाेग गर्नुपर्छ भावना हामीहरुसँग हुन्छ । २. महामारीको समयमा आफुलाई परेको आर्थिक तथा अन्य समस्याको बारेमा खुलस्त बताउने । किनकि भाडावालभन्दा घरधनी केही मात्रामै भएपनि आर्थिक जोहो गर्न सक्ने हुन्छन् । जसले उनलाई केही मात्रामा घरभाडा छुट दिँदा त्यति धेरै नोक्सान हुँदैन । ३. सरकारले भाडा छुट दिने घरधनीलाई घरबहाल कर लगायतमा छुट दिने भनेको व्यवस्था राम्रोसँग बुझाउने । घरधनीलाई पनि त्यो व्यवस्थाले सजिलो होस् । एकातर्फ भाडा छुट पनि पाइने अर्को तर्फ घरबेटीले करमा छुट पनि पाउने । ४. त्यति गरेर पनि घरधनी कन्भिन्स हुन सकेनन् भने कोठा अर्थात फल्याट छोड्ने जानकारी गराउने । किनकी कोठा छोड्नसम्म धेरै समस्या परेको रहेछ भन्ने घरधनीले महसुस गर्छन् र भाडा छुट दिन बाध्य हुन्छन् । ५. अन्तिममा त्यति गरेर पनि भएन भने कोठा नै सार्ने । अहिले काठमाडौंका धेरै ठाउँहरुमा कोठा तथा फल्याट खालि नै छन् । आफु बसेको भन्दा धेरै सस्तो मूल्यमा नै कोठा भाडामा पाउन सकिन्छ । अहिले धेरैले अपनाउँदै आएको यो उत्तम उपाय पनि हो ।