काठमाडौं । नेपाल विदुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिने समय आएसँगै अब प्राधिकरणको प्रमुख को बन्छ भन्ने चर्चा पनि उत्कर्षमा पुगेको छ ।
वर्तमान एमडी घिसिङलाई जनमानसले रुचाएको भएकोले पनि उनको पक्षमा बोल्ने अर्थात कुलमान घिसिङ नै प्राधिकरणको प्रमुख हुनु पर्छ भन्ने दवाव नागरिक तहबाट आइरहेको छ भने एकातर्फ केही व्यक्तिहरु कुलमानलाई प्राधिकरणबाट बिदाई गर्नुपर्छ भन्ने माहोल पनि सिर्जना गरिरहेका छन् ।
तर, अधिकांश मानिसहरु भने कुलमान नै प्राधिकरणमा दोहोरिनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने निर्णय भने आगामी मन्त्रिपरिषद् बैठकले नै गर्नेछ ।
प्राधिकरण स्रोतका अनुसार कुलमान नै प्राधिकरणको प्रमुखमा दोहोरिने सम्भावना रहेको छ । हालसम्मकोे स्थितिको मूल्यांकन गर्दा वर्तमान एमडीनै दोहोरिने सम्भावना छ, यसको प्रस्ताव मन्त्रिपरिषदले समेत तयार पारिसकेको छ, सम्भवतः अब आउने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्ने छ,’प्राधिकरण स्रोतले भन्यो ।
यस्तै, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पनि कुलमान घिसिङ दोहोर्याउनका लागि आफु सकारात्मक भएको बताए । ‘म पहिलेदेखि नै भन्दै आएको छ, हालका एमडीज्यूलाई दोहोर्याउन मेरो कुनै बाधा छैन, म सकारात्म नै छु, मेरो अहिले भन्ने संकेत यति नै हो, यसको यकिन निर्णय अबको मन्त्रिपरिषद्ले नै गर्नेछ,’ उनले विकासन्युजसँग भने ।
उनका अनुसार प्राधिकरणको एमडीका लागि २९ गतेभन्दा अगाडि नै निर्णय भइसक्नेछ । ‘२९ गतेसम्म समय छ, मैले प्रधानमन्त्रीज्यूसँग निर्णय गर्नेछु, त्यसपछि कसलाई बनाउने भन्ने मन्त्रिपरिषद्लै नै निर्णय गर्नेछ,’ उनले भने ।
कार्यकारी निर्देशक घिसिङको समयावधि भदौ २९ गते सकिँदैछ । अहिले घिसिङलाई दोहोर्याउनु पर्छ र दोहोर्याउनु हुन्न भन्ने मासिनहरुको विवाद पनि भइहरेको छ । नेकपाभित्र पनि पूर्व माओवादी पक्षमा नेताहरुले घिसिङलाई नै दोहोर्याउने पक्षमा आवाज उठाइरहेका छन् भने पूर्व एमाले पक्षका नेताहरुले उनको विकल्प खोज्नु पर्ने धारणा राखिरहेका छन् ।
अब घिसिङको समयावधि सकिन करिब ५ दिन मात्र बाँकी छ । अहिले प्राधिकरणका कर्मचारीहरु नै घिसिङ दोहोरिनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । आजभन्दा ४ वर्ष अगाडि अर्थात २०७२ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा १८ घण्टा लोडसेडिङ रहेको अवस्थालाई अन्त्य गर्दै उज्यालो नेपालको परिकल्पना पुरा गरेका घिसिङको अहिले सर्वत्र वाहीवाही छ ।
त्यसैले पनि अहिले नागरिक तहबाट घिसिङनै प्राधिकरणको प्रमुखमा दोहोरिनु पर्छ भन्ने दवाव दिइरहेका छन् । उनले लोडसेडिङमुक्त मात्र बनाएनन् प्राधिकरणलाई सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था समेत बनाउन सफल भए । नियुक्त हुँदा घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजान उनले महत्वपूर्ण भूमिका समेत खेलेका छन् ।