विकासन्युज

कोरोना सङ्क्रमणबाट बच्न गुर्जो रोप्ने क्रम बढ्दाे, गुह्येश्वरी परिसरमा १५० बिरुवा रोपण

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए । आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका छन् । अधिकारसम्पन्न वाग्मतीको कार्यालयमा पनि उनले बिरुवा उपलब्ध गराएको सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । राजलवटले नै उपलब्ध गराएका एक हजार गुर्जोको बिरुवा वाग्मतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए । सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उनले जानकारी दिए । घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लागेका राजलवट आफूले ११ वर्षदेखि नियमित रुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँछन् । गुर्जोका नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए । मधुमेह रोगबाट पीडित भएकाले नियमित रुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउँछन् । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ । रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउछन् । गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ । डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ । आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तोः  तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् । हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका बिरुवा वितरण गरेका छन् । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए । नगरपालिकामार्फत राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ । रासस

वर्षभरको व्यवसाय करमा शतप्रतिशत छुट दिँदै स्थानीय सरकार

अर्घाखाँची । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि अर्घाखाँचीका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६/७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको हो। सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए । उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका ट्याङ्कीहरुलाई लकडाउन अवधिको भाडा मिनाहा गरेको छ । सटरहरुको अवस्था हेरी ५० प्रतिशत भाडा छुट गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताए । शान्ति बगैँचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए । पाणिनि गाउँपालिकाले मालपोत कर बुझाउने समय तीन महिना थप गरेको छ । कोरोनाका कारण स्थानीयवासीमा आर्थिक समस्या हुने देखिएकाले आर्थिक वर्ष २०७६÷७७ को मालपोत कर असार मसान्तसम्म तिर्नुपर्ने भए पनि तीन महिना अर्थात् असोज मसान्तसम्म विलम्ब शुल्क नलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए । व्यवसाय, उद्योगधन्दा धेरै नभएकाले मालपोत कर तीन महिनापछि बुझाए पनि विलम्ब शुल्क नलिने निर्णय भएको उनको भनाइ छ । रासस

सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

काठमाडौं । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने गरी यही भदौ २५ गते बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत बैंकसँग हालै भएको सम्झौतामा उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष रु चार हजार जम्मा गरिने समझदारी भएको हो । सम्झौताअनुसार बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने/झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगरपालिकाको सिफारिसमा खोलिएका खातामा तीन लाख रुपैयाँसम्मको निक्षेप बीमासमेत गरिने छ । यस प्रकारका खातामा बालिका आफैंले वा उनीहरुका अभिभावकले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस कार्यक्रमबाट छात्राको शिक्षामा पहुँच अभिवृद्धि गर्न, उनीहरु अध्ययनका क्रममा बीचमा विद्यालय छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बालविवाह निरुत्साहन गर्न, छोरीको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सो रकम छात्राले १२ कक्षा उत्तीर्ण गरेपश्चात् मात्र झिक्न पाउनेछन् । त्यसैगरी नगरपालिका र बैंकबीच ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत सम्झौता भएको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नगरपालिका क्षेत्रका कृषि तथा पशुपक्षीजन्य व्यवसाय प्रवद्र्धन तथा नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरवासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीलाई ऋण प्रवाह तथा ब्याज अनुदानबाट स्वरोजगारको अवसर तथा उद्यम प्रवद्र्धन गर्न प्रेरित गर्ने बताए । विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न पनि यसबाट सहयोग पुग्ने उनको भनाइ छ ।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही, सर्वसाधारणलाई प्रयोग नगर्न आग्रह

काठमाडाैं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योगहरुलाई कारबाही गरेकाे छ । विभागले काठमाडौंका ४ र भक्तपुरको १ उद्योगहरुलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गराउने गरी कारबाही गरेकाे हाे । विभागले शनिबार सूचना जारी गर्दै नेपाल कयाकल्पा उद्याेगकाे इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर,  हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको जनाएकाे छ । विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।  

कोरोना बीमा भुक्तानी सरकारले गर्दैन- अर्थसचिव

काठमाडौं । काेराेना बीमा दावी भुक्तानीकाे विषयमा अर्थमन्त्रालय र बीमा समितिका अधिकारीहरूकाे भनाइ परस्पर बाझिएकाे छ । काेराेना बीमा मापदण्ड २०७७ मा ३ अर्ब ५० कराेड भन्दा बढी काेराेना बीमा दावी परेकाे सरकारले भुक्तानी  दिने उल्लेख गरिएकाे छ । उक्त मापदण्ड अर्थमन्त्रालयबाट स्वीकृत भइ लागू भएकाेले सरकारले दाहित्व लिने बीमा समितिका अधिकारीहरूले बताएका छन् । तर अर्थ मन्त्रालयकाे अधिकारीहरूले सरकारसँग पैसा नभएकाे र त्यस्ताे भुक्नानी दिने बारे निर्णय पनि नभएकाे दावी गरेका छन् । अर्थसचिव शिशिर कुमार ढुंगानाले कोरोना बीमा दावी भुक्तानी गर्न सरकारसँग बजेट नभएको बताएका छन् । ‘बीमा’ व्यवसाय भएकोले त्यसको नाफा नोक्सान बीमा कम्पनीहरुले बोहोर्नु पर्ने पनि उनले स्पष्ट पारेका छन् । बीमा समितिले जारी गरिएको कोरोना बीमा मापदण्ड २०७७ मा ३ अर्ब ५० करोड भन्दा बढी दावी आएमा नेपाल सरकारले बेहोर्ने उल्लेख गरिएको विषय आफ्नो जानकारीमा नआएको सचिव ढुंगानाले बताए । ‘कोरोना बीमा दावी भुक्तानी गर्न भनेर मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको पनि छैन । अर्थमन्त्रालयले निर्णय गरेको पनि छैन । त्यसको लागि बजेट विनियोजन गरेको पनि छैन’ शनिवार विकासन्युजसँग अर्थसचिव ढुंगानाले भने । स्वास्थ्य बीमा बोर्डबाट आउने बीमा दावी भुक्तानीको लागि मात्र अर्थमन्त्रालयले निश्चित बजेट विनियोजन गरेको उनले बताए । बीमा समितिले गत साउनमा जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ मा १ अर्ब रुपैयाँसम्मको शुरु दावी बीमा कम्पनीहरुले भुक्तानी गर्ने, एक अर्बदेखि दुई अर्बबीचको दावी नेपाल पुर्नबीमा कम्पनीले गर्ने, दुई अर्बदेखि दुई अर्ब ५० करोड रुपैयाँसम्म बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गर्ने, २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मका दावी बीमा समितिले भुक्तानी गर्ने र ३ अर्ब ५० करोडभन्दा बढी दावी आएमा त्यसको सबै दाहित्व नेपाल सरकारले बोहोर्ने उल्लेख गरिएको छ । कोरोना बीमा मापदण्ड अर्थमन्त्रालयले स्वीकृत गरेको तर अहिले अर्थमन्त्रालयको जिम्मेवार अधिकारीहरुले त्यस अनविज्ञता प्रकट गर्नु गैरजिम्मेवारीपन भएको बीमा समितिका अधिकारीहरुले बताएका छन् । ‘कोरोना बीमा मापदण्ड २०७७ को मस्यौदा बीमा समितिले बनाएको हो । त्यसको स्वीकृत अर्थमन्त्रालयबाट भएको छ । अहिले उहाँहरु (अर्थका अधिकारीहरु)ले मिडियामा के भन्नु हुन्छ, त्यसमा हाम्रो प्रतिक्रियाले अर्थ राख्दैन’ बीमा समितिका विज्ञ सञ्चालक कपिलदेव ओलीले भने । बीमा समितिको सञ्चालक समितिमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतमले कोरोना बीमा मापदण्ड अर्थमन्त्रालयबाट स्वीकृत भएर आएपछि लागू गरिएको बताउँदै उल्लेखित मापदण्ड अनुसार भुक्तानी गर्न नेपाल सरकार सहमत भएको बताए । ‘मापदण्ड स्वीकृत भएर लागू भएको छ । अहिले मान्दिन वा जानकारी छैन भन्न मिल्दैन’ कानुन मन्त्रालयका सहसचिव गौतमले भने । अर्थसचिव ढंगानाले भने बीमा पनि अरु जस्तै व्यवसाय भइकाे,  बीमा कम्पनीहरुले बीमा कुनै पनि बीमा पोसिली जारी गर्नुभन्दा पहिला आम्दानी र सम्भावित जोखिमको हिसाव गर्ने गरेकाे, नाफा नोक्सानबारे विश्लेषण गर्ने गरेकाे हुने बताउँदै कोरोना बीमामा पनि बीमा कम्पनीहरुले आय व्यायको सुनिश्चितासहित कारोबार गरेका हुनुपर्ने बताए ।’ बीमा क्षेत्रको नियामक बीमा समिति, बीमा कम्पनीहरु, उसको सर्भेयर, एजेन्टहरुले बीमाका सिद्धान्त, मान्यता, कानुन, राष्ट्रिय, अन्तराष्ट्रिय अभ्यासको आधारमा चलेको विश्वास गर्दै कोरोना बीमामा पनि त्यस्तै भएको हुनुपर्ने अर्थसचिव ढुंगानाको भनाई छ । सम्बन्धित समाचार निजी अस्पताल वा ल्याबकाे पीसीआर रिपोर्टलाई बीमाले स्वीकार गर्नुपर्छ -नेपाल बीमक संघकाे अध्यक्ष दीप प्रकाश पाण्डेसँगकाे अन्तरवार्ता

कोशी अस्पताललाई ३२ लाखकाे आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरे । निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो । यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताए । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् भने । रासस

केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप, म्याग्दीका किसान चिन्तित

गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् । केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका सोवित शर्मा केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले सात रोपनीमा केरा खेती गरेका छन । खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको शर्माले बताए । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । शुरुआतमा सामान्य देखिएपनि केही समय पछि भने खेतीमा ठुलो क्षति पु¥याएको उनको भनाइ छ । हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको छ । उनले भने, “झ्याङ भएको केरामा किरा र रोग लागेपछि शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक शर्माले जानकारी दिए । रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका अर्का कृषक हिरा कुवँरले गुनासो गरे । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उनले भने । बेनी नगरपालिकासँगै जिल्लाका मालिका, अन्नपुर्ण, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् । रासस

विनोद चौधरीको अनुभवः कोरोना केही होइन भन्ने भ्रममा नबसौं (भिडियाेसहित)

कोरोनाको संक्रमणपछि मेरो पीसीआर परीक्षण नेगेटिभ आएपछि मैले तपाईहरुबाट जुन शुभकामना पाएँ । म त्यसबाट साँच्ची कै निकै भावविभोर भएँ । मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । मान्छे न हो कोरोना लागेको थाहा पाउने बित्तीकै एकछिन आत्तिएँ । तर, हिम्मत चाहिँ हारिन । खासै लक्षण पनि केही थिएन । साधारण रुघा, अलिकति नाक बग्ने, टाउको भारी बाहेक अन्य खासै लक्षण नदेखिएकोले पनि मलाई आफ्नो मनाेवल उच्च राख्न सहयोग पुगेको थियो । तत्काल मैले आफुलाई आइसोलेट गरेँ । नर्भिकका डाक्टर विप्लभ र उहाँले खटाउनु भएको सिस्टर दिक्षाको निर्देश्नमा मैले आफ्नो जीवनचर्या अगाडि बढाउन थालेँ । तर, सबैभन्दा ठूलो मेरो आत्मबल को स्रोतनै मैले जब सामाजिक सञ्जालमा मलाई संक्रमणले छोएको जानकारी गराएँ । त्यसबाट आएको प्रतिक्रिया र माया तथा शुभकामनाले मलाई सन्तोषको अनुभुति भयो । त्यतिखेर मैले सम्झेँ की मैले धेरै साथीभाई, इष्ट्रमित्र तथा शुभचिन्तकहरु धेरै नै कमाएको रहेछु भन्ने महसुस गरेँ । त्यसर्थमा सबैभन्दा ठूलो पुँजी पनि हो । मलाई लाग्छ कि यस्तै सकरात्मक सोच सद्भाव र मायाको खाँचो हरेक संक्रमितले अपेक्षा गरेको हुन्छ । म आज यो कोरोना लागेर निको भएको व्यक्तिको हैसियतले मेरो अनुभव बाँड्न लागेको मात्र होइन कि हामीले संक्रमण भएका व्यक्तिहरुलाई पन्छ्याउने होइन उनीहरुको आत्मबल बढ्ने किसिमका हाम्रा अभिव्यत्तिहरुले सहयोग गर्नु पर्दछ । कोरोना खासै केही होइन भन्ने भ्रममा नबसौं । साथसाथै यसको बारेमा सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रचारहरु हुने गरेका छन् । त्यसको पनि खासै स्थान छ जस्तो मलाई लाग्दैन । मेरो आफ्नो अनुभवमा यसको पहिलो लक्षण भनेकै साधारण रुघा जस्तो हो । त्यो रुघालाई हामीले ज्वरोको रुपमा अगाडि बढ्न नदिनु, खोकीको रुपमा अगाडि बढ्न नदिनु पहिलो चरणको चुनौती र सबैभन्दा पहिला गर्नु पर्ने प्रयास पनि हो । मेरो बुझाईमा कोरोना भनेको यस्तो किसिमको रोग होकि यो संक्रमण भएका कतिपयले थाहै नपाइकन गुज्रिसकेको हुन्छ । मान्छेले मलाई साधारण रुघा लाग्यो सोचेर वेवास्ता गरेका होलान् । हाम्रो जस्तो पीसीआर अत्यन्त सीमित रुपमा परीक्षण गर्ने वातावरणको सन्दर्भमा यो झनै सान्दर्भिक छ । कोरोनको लक्षण खोकी ज्वरो नै हो भनिरहेको सन्दर्भमा त्यो समय आउनै नदिऔं । लागेको रुघालाई कुनै हिसाबबाट अगाडि बढ्न नदिऔं । तातो पानी, अदुवा, बेसार, कागती गुरजाे लगायतका विभिन्न घरेलु उत्पादनहरुकाे  निरन्तर सेवन र तापक्रमको मापन गर्न आवश्यक छ । जुन गर्नको लागि कुनै प्रोफेसनल डाक्टरको पनि आवश्यकता पर्दैन । आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी Gepostet von Bikashnews.com am Freitag, 11. September 2020 आफ्नो नियमित व्यायामका साथसाथै योगालाई निरन्तरता दिनुपर्छ । यिनै कुराले मलाई मद्दत पुग्यो । यसमा कुनै डाक्टरको सहयोग चाहिँदैन । कोरोना सँग डराउने होइन । कोरोना अहिलेको अवस्थामा रियालिटी हो । कुनै न कुनै रुपले विश्व यो सँग जुधिरहेको छ । यो कहिले सम्म रहन्छ भन्ने कुरा अझै पनि ठेगान छैन । यसको उपचारको औषधि कहिले बन्छ अझै पनि ठेगान छैन । आफुलाई कोरोना नजिक जान नदिन र आफुलाई कोरोनाको संक्रमण भइहाले पनि अझ त्यसलाई बढ्न नदिनको लागि गर्नुपर्ने सम्पूर्ण प्रयासहरु गर्नै पर्छ । तर, यसबाट आँतिएर समस्याको समाधान हुँदैन । उच्च आत्मबल राख्ने, आफुलाई आइसोलेट राख्ने गर्नु पर्दछ । मैले मेरो परिवारका सदस्यहरुलाई कौसीबाट हात हल्लाएर भेट्थेँ । यिनै कुराहरुले मलाई मद्दत पुर्यायो भन्ने म ठान्दछु । फेरि पनि यहाँहरुबाट पाएको अपार प्रेम, सद्भावका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।