काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उनले बताए । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।
कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको र यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले बताए ।
यस्तै पार्टी एकीकरणका बाँकी कामहरु पुरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको र यस्तै स्थायी कमिटी र केन्द्रिय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रिय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने श्रेष्ठले बताए ।