प्रेरणादायी पुस्तक ‘श्री अभ्यास’ सार्वजनिक, सकारात्मक सोच विकासमा जोड
काठमाडौं । लेखक अर्पण पौडेलद्वारा लिखित नयाँ उत्प्रेरणात्मक पुस्तक ‘श्री अभ्यास’ प्राज्ञिक विद्यार्थी परिषद, नेपालको स्नेह मिलन कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । हिन्दु पौराणिक दर्शन र आधुनिक जीवनशैलीको अनुपम संगम समेटिएको उक्त पुस्तकले पाठकहरूमा सकारात्मक परिवर्तन ल्याउँदै विजयी विशेषताहरू विकास गर्ने उद्देश्य राखेको लेखकले बताएका छन् । पौडेलले पुस्तकलाई अध्ययन, अनुशरण र अभ्यास गरी तीन व्यावहारिक चरणमा वर्गीकरण गर्दै सनातन धर्मशास्त्रका कालजयी शिक्षाहरूलाई सरल र सहज ढंगले प्रस्तुत गरेका छन् । पुस्तकमा संकल्प, निष्काम कर्म, धैर्य र नेतृत्वजस्ता महत्वपूर्ण विषय समेटिएका छन् । शिखा बुक्सद्वारा प्रकाशित ‘श्री अभ्यास’ पुस्तकघरलगायत देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहेको छ ।
एनसेल डाटा सेन्टरले पायो टियर–३ अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो टीयर–३ स्तरको प्रमाणीकरणले डाटा सेन्टरको उच्च विश्वसनीयता, सुरक्षा तथा गुणस्तरीय पूर्वाधारलाई प्रमाणित गरेको छ। उक्त डाटा सेन्टर नेपालमै पहिलो पटक सरकारद्वारा सूचीकृत इन्टिग्रेटेड डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा पनि चिनिएको छ । यस प्रमाणीकरणले डाटा सेन्टरको संरचना र सञ्चालन ‘रेटेड–३’ मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले उच्च उपलब्धता, समानान्तर मर्मत क्षमता र प्रतिकूल अवस्थाबाट छिटो पुनःस्थापना हुन सक्ने प्रणाली सुनिश्चित गर्दछ । कम्पनीका अनुसार डाटा सेन्टर लगभग ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ, जसले मर्मत वा आकस्मिक अवस्थाहरूमा पनि सेवा अवरुद्ध हुन दिँदैन । यो प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसनबाट अधिकृत अडिट संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ ले मूल्यांकनपछि प्रदान गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसलाई कम्पनी मात्र नभई नेपालकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । 'नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा टीआईए प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,' उनले भने, 'हामी विश्वस्तरीय डिजिटल पूर्वाधारमार्फत स्थानीय व्यवसायको विस्तार र सरकारको डिजिटल रूपान्तरणमा योगदान दिन प्रतिबद्ध छौँ ।' एनसेल डाटा सेन्टरले यसअघि नै सूचना सुरक्षा र गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको छ । साथै, गुणस्तर व्यवस्थापन र वातावरणीय मापदण्डअन्तर्गत आईएसओ ९००१ र १४००१ मान्यता पनि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकायदेखि साना–ठूला व्यवसायसम्मलाई सुरक्षित र भरपर्दो डिजिटल सेवा उपलब्ध गराउने क्षमतामा थप मजबुती ल्याएको छ । यसले महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम न्यून बनाउने, अडिट तथा कम्प्लायन्स प्रक्रिया सहज बनाउने र संवेदनशील डाटाको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्ने बताइएको छ । रेटेड–३ डिजाइनमा आधारित यस पूर्वाधारले बलियो ब्याकअप, रिडन्डेन्सी र विपद् पुनःस्थापनाको क्षमता प्रदान गर्ने भएकाले साइबर जोखिम वा प्राकृतिक विपत्तिका अवस्थामा समेत सेवा निरन्तरता कायम राख्न मद्दत पुग्ने कम्पनीको दाबी छ । एनसेलले यस उपलब्धिले नेपालको डिजिटल रूपान्तरणलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । स्थानीय स्तरमै सुरक्षित डाटा होस्टिङ सम्भव भएसँगै डाटा सार्वभौमिकता बलियो हुने र विदेशी पूर्वाधारमा निर्भरता घट्दै नेपाल डिजिटल हबको रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
न्युरो केजीको ८० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३२, आलु रातो (मुढे) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु ९०, स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३५० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
बजेट छलफल अवरुद्ध गरी म विरुद्ध संगठित अफवाह फैलाइयो: अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा बजेटबारे आयोजित छलफलका क्रममा बोल्दै उनले प्रतिनिधि सभामा बजेट छलफल अवरुद्ध गरेर आफ्नो विरुद्धमा अफबाह फैलाइएको बताए । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएको हुँ ।’
श्रम बजार संकट समाधान गर्न नीतिगत लचकता अनिवार्य: पाण्डे
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सत्रमा नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त धारणा राखेका हुन्। उनले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले सुशासन, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौती कायमै रहेको बताए । ‘नेपालको युवा जनशक्ति रोजगारीका लागि वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ, यो चिन्ताको विषय हो,’ उनले भने । उनका अनुसार लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित र उत्पादकमूलक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ । परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उनले अनलाइन व्यवसाय, राइड-शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवामा युवाहरूको संलग्नता बढिरहेको बताए । यसले नयाँ उद्यमशील अवसर सिर्जना गरे पनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयमा नयाँ चुनौती देखिएको उनको भनाइ छ । नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुभन्दा राष्ट्रिय यथार्थ र आर्थिक अवस्थाअनुसार श्रम सुधार तथा कानुनी व्यवस्था लागू गर्न लचकता आवश्यक रहेको उनले बताए । रोजगारदाताका प्राथमिकता र प्रयासबारे जानकारी दिँदै उनले राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपछि सुरक्षित कार्यस्थलप्रतिको चेतना बढेको उल्लेख गरे। यसअन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रका लागि विशेष निर्देशिका निर्माणको काम अघि बढाइएको छ । त्यस्तै, महासंघले छनोट गरिएका उद्योगमा ‘केयर मोडल’ पाइलट परियोजना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले यसले विशेषगरी महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न र सामाजिक समावेशीकरण बढाउन सहयोग पुग्ने बताए । बाढी, पहिरो र जलवायु परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको असरलाई ध्यानमा राख्दै उनले हरित रोजगारी र जलवायु जोखिममा रहेका मुलुकलाई प्राविधिक सहयोग आवश्यक रहेको बताए । त्यसैगरी, मध्यपूर्वमा जारी भू-राजनीतिक तनावले रेमिट्यान्स, आयात र पर्यटनमा निर्भर नेपाली अर्थतन्त्र प्रभावित भइरहेको उल्लेख गर्दै उनले रोजगारीको रक्षा र व्यवसायको निरन्तरताका लागि संवाद र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष पाण्डेले उत्पादकत्व वृद्धि, सीप विकास र नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गर्दै महासंघ सामाजिक संवाद र मर्यादित श्रमप्रति प्रतिबद्ध रहेको बताए ।
पार्टी त्यागेपछि एमालेले गुमायो ८ वटा वडा अध्यक्ष
काठमाडौं । दल त्याग गरेपछि ८ जना वडा अध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी- एमाले) बाट निर्वाचित ८ जना वडा अध्यक्षले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेको केन्द्रीय समितिबाट प्राप्त निर्णयका आधारमा सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको हो । आयोगका अनुसार जेठ २६ गते बसेको बैठकले ओखलढुङ्गाको मोलुङ गाउँपालिका-१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ-६ का वडा अध्यक्ष कमल तामाङ, चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका-१ का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका-४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका-१ का वडा अध्यक्ष महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको अवस्थामा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।
सार्वजनिक जग्गाको बोधिचित्त वृक्षको दाना बिक्रीमा, मूल्य १५ लाख रुपैयाँ
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित सार्वजनिक जग्गामा रहेको बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्न लागिएको जनाएको छ । नगर कार्यपालिकाको कार्यालयका अनुसार ग्रिनहिल सिटीको मुख्य प्रवेशद्वारको दक्षिणतर्फ प्रहरी चौकी नजिक रमाइलो समाज क्षेत्रमा रहेको सार्वजनिक जग्गाको बोधिचित्त वृक्षमा फलेका दाना बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । नगरपालिकाले बोधिचित्त दाना बिक्रीका लागि न्यूनतम मूल्य १५ लाख ३५० रुपैयाँ तोकेको छ । खरिदकर्ताले वृक्षमा रहेको दाना हालको अवस्थामै सकार्नुपर्नेछ भने आफ्नै संरक्षणमा वृक्षबाट टिपेर लैजानुपर्नेछ । उक्त कार्य कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ अन्तर्गत आय ठेक्का बन्दोबस्त सम्बन्धी व्यवस्थाअनुसार गरिनेछ ।
हिमालबाट कमायो सरकारले १.२६ अर्ब, सगरमाथाबाट मात्रै १ अर्ब ८ करोड रूपैयाँ
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ । यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसीयाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ जना रहेका छन् । पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि १ हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने ४९५ रहेको जानकारी दिए । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए । यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसीयाका १८, अष्ट्रेलीयाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् । यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड ताेडेका हुन् । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी हुन् । सरकारले सगरमाथा आरोहण अनुमतिबाट १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८०० रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २०० रुपैयाँ, कञ्चनजङ्गाबाट १ करोड ६५ लाख ४० हजार ५०० रुपैयाँ, अन्नपूर्ण पहिलोबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।