काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकको ढुकुटी लुट्नेहरू विरुद्ध सुरु गरिएको अभियान कुनै पनि हालतमा नरोकिने उद्घोष गरेका छन् ।
पछिल्लो समय भइरहेका अनुसन्धान र कारबाहीलाई लिएर भइरहेका आलोचनाप्रति लक्षित गर्दै उनले आफू आफ्नो कर्तव्यबाट विचलित नहुने स्पष्ट पारे ।
आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले भने, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन् । अहिले देखिएका मिडिया ट्रायल र प्रायोजित हल्लाहरू केवल उनीहरूको छटपटी मात्र हुन् ।’
गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियानमा कुनै सम्झौता नहुने बताउँदै दिनकै करोडौं भ्रष्टाचार गर्नेहरू विरुद्ध राज्य कठोर रूपमा प्रस्तुत हुने संकेत गरे ।
‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिएको थिएन,’ उनले भने, ‘तर अब कारबाही रोकिँदैन र म कति पनि डगमगाउँदिनँ ।’
राज्यको सम्पत्तिमाथि रजाइँ गर्ने गिरोहले बचाउका लागि विभिन्न हत्कण्डा अपनाए पनि कानुनी कठघरामा उभ्याउने गृह प्रशासनको कदम निरन्तर अगाडि बढ्ने उनको दृढता छ ।