काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) जारी नगर्दा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् ।
सञ्चालनमा आएका जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आईपीओ जारी गरेका छैनन् । यी ५ कम्पनीमध्ये पनि ४ कम्पनीले आईपीओ जारी नगर्दा ग्लोबल आईएमई, मेगा, एनएमबी बैंक सहित ७ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् ।
संचालनमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छैनन् । यसमध्ये सन नेपाल लाइफ बाहेकका कम्पनीले आईपीओ जारी नगर्दा विभिन्न बैंक तथा वित्तीय संस्थालाई तनाब भएको हो ।
आईपीओ जारी गर्न बाँकी रहेका ५ कम्पनीमध्ये ४ वटा कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । तर, सन नेपाल लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको खासै लगानी देखिदैन ।
बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्रमा उक्त सेयर वा डिवेञ्चर सुचिकृत नभएमा लगानी गरेको रकम बराबर नै प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । त्यसैकारण यी ४ बीमा कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् ।
‘धितोपत्र विनिमय बजारमा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिवेञ्चर सुचिकृत नभएको खण्डमा लगानी भए बराबरको रकम संचित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम सेयर तथा डिवेञ्चर सुचिकृत नभएसम्म उपयोग गर्न पाइने छैन,’ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर ८ मा उल्लेख छ ।

अहिलेसम्म आईपीओ जारी नगरेका ५ बीमा कम्पनी संचालनमा आएको ३ वर्ष पूरा भएको छ । संचालनमा आएको ३ वर्ष पूरा भएपनि आईपीओ जारी नगरेका बीमा कम्पनीमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले लगानी गरेको रकम बराबर नै प्राभिजनिङ गर्नुपर्ने भएकोले उनीहरुले वितरण गर्ने नाफा कम हुने देखिएको हो ।
महालक्ष्मी लाइफ, सिटिजन्स लाइफ, रिलायबल नेपाल र आईएमई लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको लगानी रहेको पाइएको छ ।
जसमध्ये महालक्ष्मीमा बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी लगानी छ । सो इन्स्योरेन्समा ५ वटा बैंक तथा वित्तीय संस्थाको ५२ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी छ । महालक्ष्मीमा मेगा बैंकको २० करोड, ज्योति विकास बैंकको १५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ८ करोड, एनएमबि बैंकको ५ करोड र महालक्ष्मी विकास बैंकको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर लगानी छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी २०७५ साल माघ २७ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको तीन वर्ष पूरा भएकोले सो कम्पनीको प्रमोटर सेयरमा लगानी गरेका ५ वटा नै बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरे बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने भएको छ ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा गुडविल फाइनान्सको ३ करोड रुपैयाँ लगानी रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी २०७४ साल भदौ ७ गतेदेखि संचालनमा आएको हो । त्यसैले गुडविल फाइनान्सले सिटिजन लाइफको प्रमोटर सेयरमा लगानी गरे बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ग्लोबल आइएमई बैंकको २० करोड रुपैयाँ बराबरको लगानी छ । सो कम्पनी २०७४ साल भदौ १५ गतेदेखि संचालनमा आएको हो । अहिलेसम्म आईपीओ जारी नगरेका कारण ग्लोबल आईमई बैंकले रिलायवल लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नु परेको छ ।
आईएमई लाइफ इन्स्योरेन्समा पनि ग्लोबल आईएमई बैंकको २० करोड रुपैयाँ लगानी छ । सो कम्पनी २०७४ साल भदौ १ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको ३ वर्ष पुगेपनि आईपीओ जारी नगरेका कारण ग्लोबल आईएमई बैंकले आईएमई लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ ।
सम्बन्धित समाचार