बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने

  २०७८ चैत १३ गते १३:४४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु मर्जर वा एक्वीजीसनमा जानै पर्ने भएको छ । समितिले हालै तोकेको न्यूनतम चुक्ता पुँजी हकप्रद सेयर जारी गरेर मात्रै पुर्याउँछु भन्न कम्पनीहरुले नपाउने भएका छन् ।

कम्पनीको संख्या बढी भएकोले घटाउनको लागि चुक्ता पुँजी बढाइएको बीमा समितिले प्रष्ट पारेको छ । संख्या घटाउने उदेश्यले नै चुक्ता पुँजी बढाइएकोले हकप्रद जारी गर्छु भन्ने प्रस्तावलाई कडाईका साथ हेरिने बीमा समितिका एक अधिकारीले बताए ।

‘कम्पनीहरुको संख्या बढी भयो, अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो, सेवाग्राहीले उचित सेवा सुविधा पाउन छोडे, यसमा सुधार गर्न कम्पनीहरुको संख्या घटाउने उदेश्यले चुक्ता पुँजी बढाइएको हो, त्यसैले हकप्रद जारी गरेर मात्रै तोकिए अनुसार चुक्ता पुँजी पुर्याउछु भनेर कम्पनीहरुले छुट पाउँदैनन्,’ समितिका ती अधिकारीले भने ।

गत विहीबार बसेको बीमा समितिको संचालक समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा २ अर्ब ५० करोड रुपैयाँ हुनै पर्ने नीतिगत निर्णय गरेको थियो । अहिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ हुनै पर्ने व्यवस्था छ । समितिले कम्पनीहरुको चुक्ता पुँजी साढे २ गुणाले बढाइदिएको हो ।

समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनु पर्ने समय २०७९ सालको चैत मसान्तसम्म तोकिएको छ । यस्तै, समितिले एक महिनाभित्रमा पुँजी बृद्धिको योजना पेश गर्न कम्पनीहरुलाई समयसीमा दिएको छ । समितिको निर्देशन अनुसार कम्पनीहरुले अबको एक महिनाभित्रमा पुँजी बृद्धिको योजना समितिमा पेश गरिसक्नु पर्नेछ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुबाट पुँजी बृद्धिको योजना आइसकेपछि थप कुरा गर्न सकिने बताए ।

‘कम्पनीहरुलाई एक महिनाभित्रमा पुँजी बृद्धिको योजना पेश गर्न भनिसकिएको छ, उनीहरुले योजना पेश गरेपछि के कस्तो योजना बनाएर ल्याएका रहेछन् त्यसैको आधारमा थप कुरा गर्न सकिएला, अहिले पनि न्यूनतम चुक्ता पुँजी (जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ) मात्रै भएका कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्छु भन्ने योजना त के ल्याउँलान र ?’ कार्यकारी निर्देशक पौडेलले भने ।

नयाँ व्यवस्था अनुसारको चुक्ता पुँजी थोरै नपुग्ने कम्पनीलाई हकप्रद जारी गर्न दिने भएपनि मर्जर वा एक्वीजीसनमा नगई हकप्रदकै भरमा पुँजी बढाउँछु भन्ने प्रस्ताव आए त्यसलाई स्वीकार नगर्ने मुडमा बीमा समिति देखिएको छ ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन

निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.