निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

  २०७८ चैत ११ गते ९:२२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।

समितिले जीवन कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन तोकेको हो । दुबै किसिमका व्यवसाय गर्ने कम्पनीलाई एक वर्षभित्र पुँजी पुर्याउन समितिको निर्देशन छ ।

समितिको निर्देशनसँगै निर्जीवन बीमा कम्पनीलाई एक वर्षभित्रै कूल २४ अर्ब रुपैयाँ बढी पुँजी थप्न दवाव परेको छ । नेशनल र दी ओरियन्टलबाहेक अन्य १८ वटा निर्जीवन बीमा कम्पनीले २०७९ चैत मसान्तभित्र हालको पुँजीमा २४ अर्ब २४ करोड ३९ लाख रुपैयाँ थप्नु पर्ने देखिएको हो । जुन हालको पुँजीको तुलनामा ११६.८० प्रतिशतले बढी हो ।

तोकिएको पुँजीअनुसार १८ वटा कम्पनीहरुको न्यूनतम पुँजी कूल ४५ अर्ब रुपैयाँ हुनुपर्छ । उनीहरुसँग हाल २० अर्ब ७५ करोड रुपैयाँ (कूल) मात्रै पुँजी छ । जुन गत वर्षको प्रस्तावित बोनस र हकप्रद सेयर समेत गरिको पुँजी हो ।

समितिको निर्देशन अनुसार अन्य कम्पनीको तुलनामा राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले सबैभन्दा बढी पुँजी थप्नुपर्ने देखिन्छ । हाल २६ करोड ६६ लाख रुपैयाँ पुँजी रहेको कम्पनीले एक वर्षभित्रै ८३७.७३ प्रतिशत बढी पुँजी बढाउनुपर्ने छ । जुन रकमको आधारमा २ अर्ब २३ करोड रुपैयाँ बढी हो ।

त्यस्तै, ४ वटा कम्पनीले शतप्रतिशतभन्दा बढीले पुँजी वृद्धि गर्नुपर्ने छ । जसमा यूनाईटेडले ३४३.१७ प्रतिशत, हिमालयन जनरलले ११३.०४, प्रुडेन्सियलले ११०.७९ र प्रिमियर इन्स्योरेन्सले १०३.६५ प्रतिशतले पुँजी बढाउनुपर्ने देखिएको छ ।

समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन शिखर इन्स्योरेन्सले भने सबैभन्दा कम अर्थात ९.३६ प्रतिशतले मात्रै पुँजी बढाए हुन्छ । हाल हकप्रद जारी गरिरहेको कम्पनीको चुक्ता पुँजी हकप्रदपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्ने छ । र, तोकिएको साढे २ अब पुँजी पुर्याउन कम्पनीलाई २१ करोड ४० लाख रुपैयाँ मात्रै आवश्यक छ ।

१८ वटा कम्पनीमा १३ वटा कम्पनीले बोनस तथा हकप्रद सेयर प्रस्ताव गरिसकेका छन् । जसमा शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्दै छन् भने बाँकीले बोनस सेयर प्रस्ताव गरेका छन् । आईएमई जनरलले भने बोनस सेयर पनि प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

राष्ट्रिय बीमा कम्पनीसहित ५ वटा कम्पनीले भने हालसम्म लाभांश तथा हकप्रद केही पनि प्रस्ताव गरेका छैनन् ।

समितिको निर्देशनसँगै सम्पूर्ण कम्पनीहरुलाई पुँजी वृद्धि योजना बनाउन आवश्यक छ । उनीहरुले एक महिनाभित्रै अर्थात बैशाख १० गतेभित्रै आ-आफ्नो पुँजी वृद्धि योजना बोर्डबाट पास गराई बीमा समितिमा पेश गर्नु पर्ने समितिको निर्देशन छ । यससँगै कम्पनीहरुले बोनस तथा हकप्रदबाट पुँजी बढाउन सक्ने छन् ।

तर, बोनस तथा हकप्रदबाट मात्रै पुँजी वृद्धि नभएमा समितिले मर्जरलाई विशेष प्राथमिकतामा राखेको छ । कम्पनीहरुले तोकेको समयमा पुँजी पुर्याउन नसके मर्जर तथा एक्वीजिसन मार्फत पनि पुँजी कायम गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.