आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

  २०७८ चैत ११ गते १३:४३     विकासन्युज

काठमाडौं । बीमा समितिको चैत १० गते बसेको संचालक समिति बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी १५० प्रतिशतले बढाउने निर्णय गर्यो । समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने भयो ।

चुक्ता पुँजी बढाउनको लागि समितिले आगामी २०७९ को चैत मसान्तसम्मको म्याद दिएको छ । अर्थात २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनै पर्छ ।

तर, अहिले संचालनमा रहेका मध्ये ५ वटा जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) नै जारी गरेका छैनन् । आईपीओ जारी गरेका कम्पनीहरुले हकप्रद जारी गरेर वा मर्जर तथा एक्वीजीसनमा गएर तोकिए अनुसार चुक्ता पुँजी बनाउन सक्ने भएपनि आईपीओ जारी नै नगरेका कम्पनीहरुले कसरी पुँजी पुर्याउँछन् भन्ने प्रश्न पनि खडा भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने आईपीओ जारी नगरेका कम्पनीहरुलाई पनि चुक्ता पुँजी बृद्धि गर्न समस्या नहुने बताउँछन् । आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले पुँजी थप्ने र त्यसपछि आईपीओ जारी गर्न सक्ने उनले बताए ।

‘कम्पनीहरुले प्रमोटेरले ७० प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गर्ने भनेका छन्, आईपीओ जारी नगरेका कम्पनीहरुले पहिला प्रमोटरले थप्ने रकम थप गर्नुपर्यो, त्यसपछि ३० प्रतिशतका दरले हुने रकम बराबरको आईपीओ जारी गरे हुन्छ, तर तोकिएको समयभित्रमा (२०७९ चैत मसान्तभित्रै) प्रमोटरले लगानी थपेर आईपीओ पनि जारी गरिसक्नु पर्छ,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

संचालनमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । आईपीओ जारी नगर्ने कम्पनीहरुमा सन् नेपाल, महालक्ष्मी, सिटिजन्स, आइएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरु आईपीओ जारी गर्ने प्रक्रियामा भने गइसकेका थिए ।

आईपीओ जारी गर्ने प्रक्रियामा गइसकेका कम्पनीहरुका प्रमोटरले फेरि पुँजी थप गर्नुपर्ने भएपछि आईपीओ जारी गर्ने समय भने लम्बिने भएको छ । जीवन बीमा कम्पनीहरुको हकमा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनै पर्ने भएकोले प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी (चुक्ता पुँजीको ७० प्रतिशतका दरले हुने रकम) गर्नुपर्छ । बाँकी हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ ।

नयाँ व्यवस्था अनुसार सन् नेपाल, महालक्ष्मी, आईएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमोटरहरुले २ अर्ब १० करोड रुपैयाँका दरले लगानी थप गर्नुपर्ने भएको छ । किनभने यी ४ वटै कम्पनीमा प्रमोटरले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । तर, सिटिजन्स लाइफका प्रमोटरले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरिसकेकाले थप १ अर्ब ७५ करोड रुपैयाँ मात्रै लगानी गर्दा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.