बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन

  २०७८ चैत १० गते १९:३८     विकासन्युज


काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेको छ । बिहीबार बसेको समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे २ अर्ब पुर्‍याएको हो ।

यससँगै कम्पनीहरूले आगामी ३० दिन अर्थात बैशाख १० गतेभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने  समितिले जनाएको छ ।

साथै, उक्त पुँजी योजनाअनुसार कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको पुँजी पुर्याउनु पर्ने छ । यदि सो समयावधिभित्र पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरुले ‘गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने बीमा समितिको निर्देशन छ ।

समितिले बीमा कम्पनीहरूको नेटवर्थ बढाइ सोअनुरुप कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन, उनीहरुलाई एकअर्कामा गाभ्ने/गाभिने वातावरण सिर्जना भई  संख्या घटाउन र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न सो पुँजी वृद्धिको निर्णय गरेको हो ।

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

हाल पुनर्बीमा कम्पनीबाहेक ३९ वटा बीमा कम्पनीहरु छन् । जसमध्ये १९ वटा कम्पनीले जीवन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने २० वटाले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित सामाग्री

बीमा कम्पनीहरुले पुँजी वृद्धि नगरी सुखै छैन: अध्यक्ष सिलवाल

‘हकप्रद जारी गर्नुस् कि बोनस सेयर दिनुस्, चुक्ता पुँजी साढे २ अर्ब हुनै पर्छ’ 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.