जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

  २०७८ चैत ११ गते १७:४६     विकासन्युज

काठमाडौं । निर्जीवन जस्तै जीवन बीमा कम्पनीले पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भएको हो ।

हालसम्म जीवन बीमा कम्पनीहरुको न्यूनतम पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो । समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ ।

नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी अर्थात ८ अर्ब २० करोड ७८ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीलाई पुँजी वृद्धिको लागि दबाव छैन । बाँकी रहेका कम्पनीमध्ये सबैभन्दा बढी दवाव राष्ट्रिय बीमा संस्थानलाई छ ।

जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आइपीओ जारी गर्न बाँकी छ । जसमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु हुन् । उनीहरुले हाल आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् ।

आईपीओ निष्काशन गर्न बाहेक राष्ट्रिय बीमा संस्थानसहित ७ वटा कम्पनीको पुँजी शतप्रतिशतभन्दा बढीले वृद्धि गर्नुपर्ने छ । सानिमा र प्रभु लाइफले १५०/१५० प्रतिशत, गुराँसले १३९.९०, रिलायन्सले १३८.१० र यूनियन लाइफले १३२.५६ प्रतिशत हकप्रदमार्फत पुँजी बढाउन सक्नेछन् ।

अन्य कम्पनीको तुलनामा नेश्नल लाइफ इन्स्योरेन्सलाई कम दबाव छ । इन्स्योरेन्सले हालको पुँजीमा २३.९१ प्रतिशत मात्रै वृद्धि गरे पुग्छ ।

सञ्चालनमा आएका नयाँ जीवन कम्पनीमध्ये ५ वटा आईपीओ मार्फत २ अर्ब रुपैयाँ पुँजी पुर्‍याउने प्रकृयामा थिए । तर, समितिको नयाँ निर्देशन अनुसार उनीहरुको आईपीओ निष्काशन प्रकृया लम्बिन सक्ने देखिएको छ । चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनको लागि सो कम्पनीका प्रमोटरले ३ अर्ब ५० करोड रुपैयाँ लगानी अर्थात (चुक्ता पुँजीको ७० प्रतिशत रकम) गर्नुपर्छ । उनीहरुले आईपीओ जारी गर्नुभन्दा अघि पुँजी बढाउन संस्थापक तथा सर्वसाधारणको सेयर अनुपात मिलाउनु पर्ने भएकाले आईपीओको प्रकृया थप लम्बिन सक्ने भएको हो ।

हाल १८ वटा कम्पनीको चुक्ता पुँजी ४४ अर्ब ६५ करोड रुपैयाँ छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरुको कूल पुँजी न्यूनतम ९० अर्ब रुपैयाँ पुग्नुपर्छ । जसको लागि कम्पनीहरुले ४५ अर्ब ३४ लाख ६४ हजार रुपैयाँ पुँजी एक वर्षभित्र जुटाउनु पर्ने दवाव छ ।

यससँगै अब अधिकांश जीवन कम्पनीहरुले हकप्रद मार्फत पुँजी बढाउन सक्ने सम्भावना बढी छ । यदि बोनस सेयर दिए भने उक्त हकप्रदको प्रतिशत घट्न आउने छ । तर, बोनस र हकप्रदबाट मात्रै पुँजी नबढ्ने अवस्थामा कम्पनीहरु एक आपसमा मर्ज तथा एक्विजिशनको प्रकृयामा पनि जान सक्नेछन् । तोकिएको समयमा तोकिएको अनुसारको चुक्ता पुँजी नपुगेमा फोर्स मर्जरमा लगिने समितिको निर्देशन छ । साथै, कम्पनीहरुले २०७९ वैशाख १० गतेभित्र आ-आफ्नो पुँजी वृद्धि योजना समितिमा पेश गरिसक्नु पर्ने छ ।

सम्बन्धित समाचार

आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ?

निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दबाव ? (सूचीसहित)

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.